म वेश्या होइन
विशु निछा
अस्ट्रेलिया
ऊ यस घरमा बिहे गरेर आउँदा धेरै सपनाहरू बोकेर आएकी थिई । उसले ती सपनाहरुमा इन्द्रेणीहरु लिएर आएकी थिई । झरनाहरु, फूलबारीहरु, धेरैधेरै बासन्ती गीतहरू बोकेर आएकी थिई ।
अहिले ती सपनाहरू फुटिसकेका छन्। इन्द्रेणीहरु हराई सकेका छन् । ती फूलबारी र झरनाहरु सुकिसकेका छन् । ती गीतहरू बिर्सिई सकेका छन् । अहिले उसको मनका फाँटहरुमा काँडाहरु झ्याँगिएका छन् । सुख्खा बगरहरु फैलिएका छन् । चट्याङहरु परेका छन् ।
“कहाँ जान लागेकी?”
उसलाई घरमा बस्न मन लाग्दैन । रत्तिभर मन लाग्दैन । उसलाई यो घर, घर होइन, झ्यालखानाजस्तो लाग्छ । हो त, घरमा बस्न मन लाग्नलाई त घर पनि घरजस्तो हुनुपर्यो । घर, घरजस्तो हुनका लागि घरमा थोरै भए पनि घरमा हुनुपर्ने वातावरण हुनुपर्यो । अलिकति भए पनि मायाप्रेम हुनुपर्यो । सुखी हुनु नै खुसी हुनु हो भन्ने सोच सही होइन पनि । तर, घर, घर हुनलाई सुख नभए पनि अलिकति खुसी त अवश्य हुनुपर्यो। थोरै सही शान्ति हुनुपर्यो । ऊ यो घरमा त्यो मायाप्रेम पाउँदिन। अलिकति त्यो खुसी, थोरै त्यो शान्ति पनि कहिले भेट्टाउँदिन । एक दिन होइन, दुईदिन होइन, उसको रक्स्याहा लोग्ने जहिले नशामा चुर भइराख्छ । बिनबिच्चमा निहुँ खोजिराख्छ । बम्किराख्छ । नाहकमा उसलाई भकुरी राख्छ । पहिलेपहिले उसले लोग्नेको यो ताडना सही । अब सहन छाडी । किनभने सहनुको पनि त सीमा हुन्छ ।
र, उसलाई घरमा बस्न मन लाग्दैन।
“बोल्दिनस् कप्टिनी, कहाँ जान लागिस् भन्या?”
“म जहाँसुकै जाउँ, तँलाई केको खसखस?”
“हेर यसको आफ्नो लोग्नेसँग बोल्ने ढङ्ग !”
“ईस् तँ मेरो लोग्ने । रक्स्याहा चुत्थो।”
“लोपार्छेस् डंकिनी, म तेरो लोग्ने हुँ, बुझिस् ?”
ऊ लोग्नेलाई घृणा गर्छे । मनैदेखि तिरस्कार गर्छे । उसको हृदयमा लोग्नेप्रति रहेको श्रद्धा र प्रेम धेरैअघि मरिसकेको छ ।हो, नमर्ने श्रद्धा, नमर्ने प्रेम मरिसकेको छ । हुन पनि हरहमेसा रक्सीको नशामा डुबिरहने लोग्नेबाट आँसु र पीडाबाहेक अरू केही पाएकी होइन ।एउटी स्वास्नीले आफ्नो लोग्नेबाट पाउनुपर्ने भौतिक, मानसिक र दैहिक कुनै सुख पाएकी होइन । उसको पनि वरपरका विवाहिताहरुले जस्तै रहरलाग्दा सन्तान जन्माउने, हुर्काउने इच्छा छ । उसलाई पनि मातृसुख भोग्ने प्रगाढ चाहना छ । तर, भित्तातिर फर्केर सुतेको उसको लोग्ने ऊतिर फर्किने होइन । फर्के पनि उठ्ने होइन । उठे पनि कहिले तातिने होइन । सधैँ रक्सीको नशाले सेलाएको हुन्छ । ऊर्जाहीन। चिसो । त्यसैले ऊ आफ्नो लोग्नेलाई घृणा गर्छे । मनैदेखि तिरस्कार गर्छे ।
“तँ नामर्द होस् । रक्सीले तेरो पुरुषत्व खाइसकेको छ । नत्र हाम्रो बिहे भएको यत्रो भयो । एक दिन मलाई छोएको छस् ? तँ त नपुंसक होस् ।”
“जेजस्तो भए पनि म तेरो लोग्ने हुँ, बुझिस् ?”
उसलाई दिक्क लाग्छ । बोल्दिन । बरु, सिकुवामा बसेर जिब्रो लर्बराउँदै भुत्भुताई रहेको लोग्नेको सामुबाट ऊ बाहिर निस्किन्छे र बेपत्ता हुन्छे ।
उसको लोग्ने धारेहात पारेर उसलाई तथानाम गाली गर्छ । सराप्छ। थुक्छ। बोतलको पीँधमा रहेको एक घुट्को रक्सी मुखमा लाउँछ र घुटुक्क निल्छ । सुरुवाल मुत्छ र त्यहीँ सुत्छ ।
घरबाट बेपत्ता भएकी ऊ आधाघन्टा बस चढेर सहर आइपुग्छे। ऊ सहर आइरहन्छे । पहिलेपहिले ऊ यस सहरमा आफ्नो पीडालाई भुलाउन आउँथी । हराएको आफ्नो ओठको हाँसो खोज्न आउँथी । घुम्थी । डुल्थी । कसैसँग चिनजान थिएन। ऊ दृश्यहरुसँग एक्लै बोल्थी । एक्लै मुस्कुराउँथी । हाँस्थी । आउनेजाने क्रममा उसले बिस्तारै मान्छेहरू चिन्न थाली। रिक्सावाल, टेम्पोवाल, पानपसले, चियापसले हुँदै ट्याक्सीवालहरु चिन्न थाली । चिनजानको क्रम अझ अगाडि बढ्दै जाँदा उसले ठूल्ठूला होटेल र बारवालाहरु चिन्न थाली। अझ अगाडि उसले ती होटेल र बारहरुमा आउने पुरुषहरुलाई चिन्न थाली । अहिले ऊ यस सहरलाई नै चिन्छे । अँ, यो सहरले पनि उसलाई चिन्छ । तर ऊ आफूले खोजेको र चाहेको कुरा अर्थात् माया भेट्टाइन । आफूलाई चोखो हृदयले प्रेम गर्ने कोही पाइन । बरु अनगिन्ती नोटका बिटाहरु भेट्टाई जसको उसलाई वास्ता छैन ।
“म यस्तो काम गर्ने आइमाई होइन”- ऊ कारुणिक स्वरमा भन्छे।
“मसँग गरिस् त ?”- नोट दिने भन्छ ।
“मलाई, मलाई माया गर्ने लोग्ने र फूलजस्ता सन्तान भए पुग्छ।”- उसको स्वर अझ कारुणिक हुन्छ ।
“वेश्याको लोग्ने, सन्तान केही हुँदैन ।”- नोट दिनेको कठोर पुरुषस्वर उसका कानमा थुरिन्छन् ।
ऊ छातीका भक्कानोहरुलाई थामेर घर फर्किन्छे । लोग्नेको काखमा घोप्टिएर बेस्सरी रुन्छे।
“म वेश्या होइन । तिमी मलाई लोग्नेको माया र सन्तान देऊ । म वेश्या होइन ।”- ऊ लोग्नेको हात चुम्दै रोदनीय स्वरमा भन्छे ।
रक्सीको बोतल हातमा लिएको लोग्नेले आफ्नो हात झड्काल्छ ।
“तँ वेश्या होस् ।”
“म वेश्या होइन।”
“आफ्नो लोग्ने र घर छाडेर आफू खुसी हिँड्ने आइमाई वेश्या नै हुन्छे।”-
उसले लोग्नेको स्वर र नोट दिनेको स्वर एकजस्तो सुनी । यो कर्कश स्वर उसको कर्णविवरमा निकैबेरसम्म प्रतिध्वनित भइराख्छ ।
“म वेश्या होइन ।”- ऊ चिच्याउँछे ।
“तँ वेश्या होस् ।”- प्रतिध्वनित हुन्छ ।
“म वेश्या होइन ।”- ऊ चिच्याउँछे ।
“तँ वेश्या होस् ।”- प्रतिध्वनित हुन्छ ।
अचानक उसका आँखा आग्नेय हुन्छन् । ती आग्नेय आँखा भित्तामा झुन्ड्याई राखेको सिरुपाते खुकुरीमा पुगेर स्थिर हुन्छन्।
“म वेश्या होइन । म वेश्या होइन । म…।”
ऊ केहीबेर चिच्याई राख्छे । अनि थाक्छे ।चिच्याउँदाचिच्याउँदा थाकेकी ऊ चिच्याउन छाडेर लोग्नेतिर हेर्छे। उसलाई थाहा भएन, चिच्याउँदाचिच्याउँदै आफूले कतिखेर कतिपटक लोग्नेलाई खुकुरी प्रहार गरी । देख्छे, उसको लोग्ने शान्त भएर भुइँमा लम्पसार परेको छ, आफ्नै रगतको आहालमा।