‘म सती हैन शक्ति हूँ, शक्ति’
सिएम निरौला,
न्यू ह्याम्पशायर,अमेरिका
अपरिचित तर, हाम्रै समाजकी एक चेली मसित समय मागेरै भेट्न आइन् । केही कुरा गर्नु छ भनेपछि आफ्नो पनि विदाको दिन परेकोले मैले समय दिएँ । कोठामै स-सम्मान राखेर भनें-“लु भन्नुस, कुरा के हो ?” उनी खरर…बोल्न थालिन् ।
दाइ मेरो नाम धुम्मी हो, म विवाह गर्ने बिचारमा छु । न फेसबुकको भित्तामा कुनै तिग्रेहरूको फोटो ठुलो बनाएर उनीहरुको छाति र पाखुरा ठुलो बनाई-बनाई हेरें, न त आमाको काखमा बसेर टिभीमा महाभारत हेर्दा १६ हजार गोपिनीलाई एक्लै नचाउने कुनै कृष्णहरूको रासलिलामा रमाउन नै चाहें । न त म कलियुगका ठगहरुको लिलामा रमाएँ । म गंगाझैं निश्चल बगिरहेछु । लहरा, पहराहरु साथी-संगी बनेर ममा बेह्रिन धेरै आए, कोही मेरो प्रवाहलाई रोक्ने पर्खाल बनेर चुनौतीको रूपमा पनि खडा भए । तर, आजसम्म मेरो ज्ञानरूपी शक्तिले ती सबैलाई परास्त पार्दै आएकी छु ।
हो दाइ, न म सीताझैं अग्नि परीक्षामा बस्ने छु, जो पतिले दनदनी दन्किरहेको आगोमा गएर जल्न भन्दा खुरुक्क सवार भई चितामा पसिन् । म त काली हूँ, रगत पिएर हजाम गरिदिन्छु । न त म सती-सावित्री हूँ जो लोग्निको खुट्टा धोएर त्यो फोहोर पानी पिउनलाई ! म त देवी हूँ देवी…समाजमा दैंत्यको रूपमा रहेको कुसंस्कारलाई परास्त गर्नलाई ! हो दाइ म सती होइन; शक्ति हूँ शक्ति !
म यस्तो घर खोज्दैछु जहाँ नारीलाई कमारी होइन, भगवतीको रूप दिइयोस, चुला र चम्कामा होइन आकाशको पंक्षीझैं सभ्य-स्वतन्त्रता मिलोस् । मलाई कोठाको सोभा दिने वस्तुको रूपमा होइन प्रकृतिझैं हेरियोस् ! हो दाइ मलाई बुहारी होइन छोरी बनाइयोस, म त्यस्तो घरानको खोजीमा छु ।
म पिँडुलामा घामको किरणले स्पर्श गरूञ्जेल लम्पसार परेर ओछ्यानमा लड्न पाउँ, सासुले बाक्लो दूधै दूध भएको चिया दिएपछि उठ्दा नन्दले खाना पकाइराखेकी होस । खाना खाई सकेपछि ससुराले धन्दा गरून्; म सोफामा ढल्कँदा जेठाजुले सिरियल हेर बाबु भन्दै ल्यपटप ल्यइदिउन् । मेरा पतिले हरेक साँझ गोडामा चिल्लो लगाइदिउन्, म त्यस्तो घर खोज्दैछु जहाँ म मालिक्नी र परिवारका अरू सबै मेरा रैती बनुन् । किनकि यहाँ यस्तो चलन छ, जहाँ महिला मरेको देखिन्न, उति नै काम गर्दा लोग्ने हुरुक्क । तपाईंले कहिल्यै यो महसुस गर्नु भएको छ, भाउजुको त्याग? आफ्ना सारा खुशी त्यागेर तपाईंसँग आउनु भयो, हो म त्यस्तो घर खोज्दैछु जहाँ मलाई बुहारी होइन छोरी बनाइयोस् !
अचम्ममा त पक्कै पर्नु भयो होला ! तर सुन्नु’स; तपाईं लोग्ने मान्छेहरू घरकी देवीलाई छलेर बजारकी बेश्यासँग रमाउने-यस्ता कुरा बुझ्न पनि के बुझ्नु। त्यसलाई वेश्या कसले बनानो ? हामी महिलाले या तपाईंहरू घरकी लक्ष्मी छल्ने वीरपुरुषहरुले? भन्दिनु हुन्छ कि?
अशक्त भएको बेला हामीले छुनै हुन्न रे, के खाउँ र कसो गरौं जस्तो छट्पटी हुँदा तपाईंहरूको सस्कार रे-हामी पर पन्सिएर बस्नुपर्ने ? मैले तपाईंले मानेको धर्मको बिरोध गरेकी होइन- कुसंस्कारको प्रतिरोध गर्न मात्र खोजेकी हूँ, अन्यथा लिए पनि भन्नु केही छैन- किनकि यो यथार्थ हो । र यति भन्न चाहन्छु; यो कुरा त्यसलाई पच्दैन जो हामी महिलालाई नालिको कीरा झै गन्दैन, हो हामीलाई यस्तै छ दाइ !
एक घन्टा हामी हराउँदा प्रलय भएझैं हुन्छ, छोरा मान्छे महिनौ घर छाडेर हिँड्दा कसैले केही भन्छ ? यो कस्तो संस्कार र संस्कृति तपाईंहरुको ? बोल्नु न दाइ ! किन चुप ? तपाईं पनि यो समाजको हिस्सा होइन र?
अस्ति तल्लाघरे काका आएका थिए, खूब भाषण ठोके पहिलाझैं । मैले पनि के फुइँ लडाउँछौ, ऊबेला पनि भाषण र जुलुस गर्यौ, सारा महिलालाई ताँति लाएर घन्टौ धूलोमा हिडायौ अनि महिला हिंसाको ठूलो स्वरमा कुरा गर्यौ ! तर, घरमा सिन्को भाचेनौ । यस्ता कुरीति फाल्नलाई त आफैंबाट शुरु गर्नुपर्ने हैन र ? मैले यति भनेको त काकाले घरको काम त छोरीले नै गर्ने हो पो भने । अनि मलाई पनि निक्कै जंगी चजल्यो भन्दिएँ,“अमेरिकी राष्ट्रपति उम्मेदवार हिलारि क्लिन्टन चैं के तिमीजस्तो लोग्ने मान्छे हुन् ? काकाको जवाफ आएन बरु “नकरा चौंठे” भनेर गाली पो गरे । हिलारीले चुनाव हारेर के भो र, संसार जितिन उनले । मान्छेका छोरी हिलारी बने, आङशाङ सुकी बने, फ्लोरेन्स नाइटेङल बने, हुँदाहुँदा विद्या भण्डारी बन्दा हामी चैं विचरी चुल्हो-चौकामै सीमित ? किन ?
दाइ, मलाई त्यो द्वापर युगको लक्ष्मण चाहिँदैन जसले मलाई रेखीभित्र खुम्च्याएर सुपर्णखाँको नाक छेदन् गरे- बरु रावण नै होस, हरण गरेपनि इज्जतका साथ मनको यौनेच्छा त्यागेर वनमै स-सम्मान राखोस् ।
जन्म दिने बाबु-आमाको अन्तिम संस्कार पनि हामीले गर्नै नपाउने रे, अनि सारा चुलो र चम्को चैं हामीले नै रङ्गाउनु पर्ने रे ! मलाई त्यस्तो होइन- बेग्लै किसिमको घर चाहिएको छ । जहाँ कथित महिलालाई जीवन्त अदृश्य रूपमा हिंसा होइन, श्रीमानले पनि चुलामा खटुन् र स्वास्नी गल्दा उनले महसुस् गरून् । म बाहिरी खुल्ला आकाशमा उड्न पाऊँ । मेरा पतिले पनि परेको बेला घरको रेखदेख गर्नुका साथ घर धानुन् । म कहिलेकाहीं मदिराले लठ्ठ भएर घर आएँ भने सरक्क ओछ्यानसम्म लगेर स्याहार गरून् । विदाको दिन सबेरै उठेर घर आगन सरसफाई सकी मिठो कफी लिएर मलाई सप्रेम उठाउन्, हो त्यस्तो घर कतै देख्नु भा’छ दाइ?
दाइ, टोलाउनु भयो त; अपाच्य भयो कि के हो? यति भन्दै मज्जाले हाँसिन् उनी !
हैन के भन्दैछन यिनि? समय सान्दर्भिक कुरा हो कि, मलाई ब्यङ्ग्य मात्र ? न मैले केही बुझें न उनले बुझाइन् ! कुरा कुरामै सीमित रह्यो । यतिकैमा चार्जमा राखेको मेरो फोनको घण्टी बज्यो, कुनामा गएर बोल्न थालें । पछी हेर्दा उनी थिइनन्; अघि उठेर गइसकिछन् ! न उनलाई फेरि भेटें न कुनै दोहोरो कुरा भयो । उनका कुराले म अझ पनि अन्योल मै छु ।