म स्काफोल्डर
हरि पराजुली
झापा-नेपाल
थोरै आशा धेरै भरोसा
धेरै मेहनत थोरै प्राप्ति
एउटा शून्य बस्तीहरुबाट
एउटा भीड सल्बलाउँछ
त्यही भीडमा म हराउँछु
कहिले यता, कहिले उता
असफल घेराहरु तोडेर
लम्कन्छु लमतन्न …
सुदर्शन चक्र झैँ घुम्छ ‘स्पानर’
नियमित सिर्फ हातका औंलाहरुमा
आकाशमा देवताहरु बस्छन् रे,
म आकाश छेड्ने प्रयासमा छु
‘स्टेन’ बढ्छ आकाशतिर
मानौं, अब
आकाश छेडिने छ,
उदांगो बन्नेछ पृथ्वी
खस्नेछन् देवताहरु आकाशका
यत्र तत्र …
लाखेश !
म वार्ता गर्ने छु ती निर्दयी देवताहरुसँग
मिटिङ्ग गर्ने छु ,
के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ?
खोइ हामी निरीह मान्छेहरूको बाँच्ने आधार ?
खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ?
कहाँ छन् मान्छेहरुमा स्वतन्त्रताका स्वर्गहरु ?
के हामीमा स्वर्ग प्राप्त गर्ने अधिकार छैन ?
म स्वर्ग जाने एक्सिस ल्याडर बनाइरहेछु
हुक लगाएर ‘हर्नेशहरु’ स्टेनमा
डबलहरु बाँधेर विचारको
लेबल हेरिरहेछु ‘लेजर’ समयको
चौकट स्टेनहरु,
ब्रेस बाँधेर हातकढी झैँ
न चट्पटाउँछ मान्छे न चट्पटाउँछ मन ।
जीवन सिर्फ डवलका नटहरुमा अल्झेर
जवानी तेर्स्याएर “ट्रांसम्हरू”
भविष्य बाँधिरहेछ “सिन्गल्हरुले”
छापेर फट्टा लमतन्न
“प्लेटफार्म” सिँढीको लागि
बिस्तार विश्रामको लागि
झर्नु, झुण्डिनु बाँच्नको लागि
चढ्नु बढ्नु, गन्तव्यको लागि !
ए मेरा आफन्तजनहरु !
अनौठो छ मेरो मजा,
मृत्यु उत्सब
फुटेका अभागी कर्महरु
प ..र ..दे ..श …
विदेशिनुको छट्पटाहट्
पसिनाका समुन्द्र शरीरमा
आकासे महल विदेशमा
फगत आँसु भित्रिन्छ स्वदेशमा !