म हिँडिरहेको छु

तिलक राई
बेलडाँगी, नेपाल

मैले शिखर चढौँ भने
तिमी मैदान खोज्दै-खोज्दै
सुगम बाटोहरूलाई पछ्याउँदै
झिलिमिली शहरहरूसँग मितेरी लगाउँदै
हिमालहरूको​ उपेक्षामा
एउटा मोर्चा खडा गरौ -भन्यौ ।

शोषण र भोकमरी विरुद्ध लडौँ भने
सहरिया जीवनशैलीमा तिमीले
गाउँलाई दोषी करार गरी
कहिल्यै नफर्कने भन्दै
वास्तविकताको बिस्कुन असरल्ल छोडेर
गाउँ र शहर बिचको मतभेदमा
नाफाखोरी प्रतियोगिता आयोजना गरौ -भन्यौ ।

मैले राष्ट्रघात गर्न नमाने पछि
तिमीले मलाई सुटुक्कै मिल्कायौ
तिम्रो साथीको लामो सूचीबाट
अनि त म स्वतन्त्र यात्री भएँ
यो अभियानमा म एक्लै एक्लै
वर्षाैँकाे कालरात्रि शोषण विरुद्ध लड्न
निरन्तर खडा भइरहेको छु ।

मैले भूलेको छैन नि साथी
मेरो जीवन कालमा भुल्दिन पनि
तिमीले भनेका कुराहरू
जब मैले काँडाको विरुद्ध उठौँ भने
तब तिमीले साथीको परिभाषा दिँदै भन्यौ
साथी भनेको यस्तो हुनु पर्छ
उखु जस्तो गुलियो न कि चपल जस्तो
टाउकोभरी हिलो छ्याप्ने
अनि त बुझेँ जीवनको अर्थ ।

तिमी छुट्ने बेला तिमीले लगाएको
खुट्टाको सुकिला जुत्ता कस्तो भयो
त्यो फेरियो कि फेरिएन
कुनै जानकारी छैन यस बेलासम्म
तर मेरो त्यो बेलाको सङ्कल्प फेरिएको छैन
कोसौँ दूरको लक्ष्य भेट्न
अझै उही फित्ते चपल खुट्टामा लगाएर
फ्याट-फ्याट पार्दै निरन्तर-निरन्तर
म हिँडिरहेको छु ।

………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *