यदि
प्रतिमान सिवा
ओहायो, अमेरिका
यदि,
म राजा पुनियानी हुनु हो भने,
मेरा सारा ‘एकदिने’कविताहरू,
झुल्के घामको किरणसङ्गै टाँसेर,
ईण्द्रेणीँको पुछरमा गाँसेर,
चँङ्गा जस्तै आकाश भरी उडाई दिन्थेँ ।
यदि,
म मनु मन्जिल हुनु हो भने,
मेरा सारा ‘दुश्मनी’ कविताहरू,
फुलका थुँगाहरु जस्तै फुलाएर,
मेरा प्रतेक दुश्मनहरुको,
आँगनभरी वसन्त फुलाईदिन्थेँ ।
यदि,
म माया एन्जेलेउ हुनु हो भने
मेरा सारा ‘नारिवादी’ कविताहरू,
हौसलाका गुच्छाहरु बुनेर,
मेरा हृदयका सविताहरुलाई,
अन्जुली भरी-भरी पस्किदिन्थेँ ।
तर विडम्बना,
म प्रतिमान,
मेरा कविताहरू,
न त चँङ्गा झैँ उड्छन्
न त सुनाखरी झैँ फुल्छन् ।