यस्तै छ आजभोलि हाम्रो समाजमा

लेखक
लेखक

नैनासिंह मगर
रोचेस्टर, अमेरिका

एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर, विभिन्न पंक्षीहरु आ-आफ्नै सुरमा गन्थन् गर्दै खाईरहेका थिए। घाम तेती चर्को थिएन। घरी घरी वायुयामको आगमन हुने गर्थ्यो। त्यही समयमा एक गोठालो वस्तुहरू लिएर त्यही बनतिर प्रवेश गर्‍यो। केही छिनमा त्यो गोठालो आँपको बोट नजिक पुग्यो अनि उनका वस्तुहरू पनि त्यही झरेका आँप खान पुगे। वस्तुहरू सारै भोकाएका थिए। कतै नहेरिकन भुँइका आँपहरू खान थाले। गोठालोले मनमनै सोच्यो, “उ त्यो हलेसो खसाउन पाए त ! यही पोलेर खान्थेँ तर लाग्छ कि लाग्दैन। “भनेर घाँटीमा झुन्डाएको ग्याटिस निकालेर मट्याङ्ग्रो लगायो। त्यसपछि राम्ररी निसाना लगाएर हान्यो। नभन्दै आँप खाइरहेको हलेसो फ्या..ट्या..त्या गर्दै आँपको हाँगामा ठोकिँदै भुईँमा झर्‍यो। हलेसोलाई प्राण त्याग्न निक्कै गाह्रो भयो। यसरी छट्पट्टी रहेको देखेर उनका वस्तुहरू पनि आँप खान छोडेर वाल्ल परेर हेर्न थाले। आफूले खाएको आँप मुखबाट उलुक्क निकाले पछि त्यो चरीको प्राण गयो। सम्भवत: त्यसको बचेराहरू पो गुँडमा थिए कि ? अनि तिमीहरूलाई माम लिएर आउन सकिन भनेर उसको मुखबाट आँप निस्किएको हो कि ? यता चराको प्राण राम्रो सङ्ग जान पाएको छैन, उता गोठालाले दाउराका झिटिमिटी भेला गरेर आगो बाल्यो अनि हलेसोलाई पोल्न सुरु गर्‍यो। सायद आगोको धुवाँले होला, माथि रुखमा बसेर खाईरहेका चरा-चुरुङ्गिहरु र तल जमिनमा भएका वस्तुहरू सबै त्यति मीठो फल खान छोडेर लोप भए। केही समय पछि त्यो गोठालो पनि चरीको मासु पोलेर खाई सकेर पातले मुख पुछ्दै घरतिर हिँड्यो।

समय बेलुकीको तीन बजी सकेको थियो। आँपको रुखको वरिपरि सुन्नाटा छाइसकेको थियो। दिउसो गोठालोले फालेको हलेसोको आन्द्रा-भुँडी र खुनको गन्धले एउटा ठुलो मुसो त्यहाँ आयो र खान थाल्यो। त्यो मुसो निकै चतुर भएकाले गर्दा वातावरणको राम्रो अद्ध्यान गर्दै खाँदै थियो। बेला बेला आफ्नो शिर उठाएर वस्तुस्थितिको बिचार पनि गर्दै थियो र आफू जतिको होसियार को छ र भन्ने घम्ण्डले फुलिन्थ्यो पनि।

टाढैबाट यो दृश्य अघि देखि नियाली रहेको एउटा बडेमानको बन-बिरालोले बल्ल सिकार हात पर्‍यो भन्ने सोच्दै सुस्तरी अघि बढी रहेको थियो केवल मुसोलाई निसाना बनाएर। बिजुलीको रफ्तारमा अकास्मात आएको बन-बिरालोको आक्रमणले मुसोको होस हावास उडायो र ज्यान बचाउने सुरमा द्रुत गतिमा भाग्न सफल भयो।

चीँ..चीँ.. गर्दै अघि अघि मुसो भागी रहेको थियो भने आफ्नो सिकार नउम्काउन बन-बिरालो भने पछि पछि खेदी रहेको थियो। तर, मुसोले छेवैको दुलोमा पसेर आफ्नो ज्यान बचाउन सफल भयो भने बन-बिरालो हिसृक्क परेर फर्कियो। गोठालो सिकारी, बन-बिरालो सिकारी अनि मुसो पनि सिकारी। बाँच्नलाई सबैले सिकार गर्नै पर्‍यो भने यो संसार पनि सिकारीको संसार बन्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *