यस्तै यस्तै लाग्छ

भक्त घिमिरे / अमेरिका

अन्योलको आकाशले निलेको यो
हाम्रो अवस्था र वास्तविकता नियाल्दा
कता-कता विश्वास हराए झैं लाग्छ
आस्था र दृढताहरू बिलाए झैं लाग्छ ।
ब्रह्माण्ड डुलेका हाम्रा बुद्धिजिवीहरू
चार इञ्चको पेट र
चारफिटे शरीरकै निम्ति,
अल्मलिएका देख्ता कतै,
समाज नै हराए झैं लाग्छ
मौजमै समाज भुले झैं लाग्छ ।

दुईदिने सम्पन्नताकै निम्ति
हामी अरुका बन्दा,
स्वत्व सबै हराए झैं लाग्छ
समाजका मुखियाहरू अलमल्ल गोत्र,
उच्च भए ‘मपाईं’ र निच भए ‘तपाईं’
भन्नेहरूका भीड़मा मलाई
भण्डार खनेर आगन पुर्नेहरू पनि
देखिएलान् झैं लाग्छ ।
मैले पनि सम्पन्नतामा रमाउन नखोजेको होइन,
तर, अनेकौं पीडा सहँदै मेरी आमाले
हुर्काएकी मलाई उच्च आस्थाले
ममाथिको उनको आस्था पूरा हुन नपाउँदै
आमाबाट टाढ़ा हुनुपर्ने बाध्यता,
मेरा बाबुलाई ज्यूँदै गाडेको चिहान हेर्दै
मानसपटलमा आमा र बहिनीको
निर्ममतापूर्वक बलात्कृत शरीर समेटेर
मातृत्व र सारा आस्थाहरू आजीवनलाई
त्याग्नुपरेको विगत बाध्यताले मलाई
सम्पन्नतातर्फ फर्कनै दिएको छैन,
त्यसैले मेरो मनको शब्दकोषबाट
सुख र सम्पन्नता शब्दहरू
हटिसके झैं लाग्छ,
मेरा उज्याला दिनहरूमा
सधैंलाई बादल लागे झैं लाग्छ ।
यद्धपि, दुःखहरूकै जन्जालमा मलाई,
जीवन रमाइरहे झैं लाग्छ,
हो हजूर, मलाई यस्तै यस्तै लाग्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *