यहाँ होली खेल्न मनाही छ

दिल भुटानी

उसलाई रङ्गहरूको फोवीया छ
त्यसैले यहाँ होली खेल्न मनाही छ
रङ्गीचङ्गी रङ्गहरूको।

कालो बाहेक अरू सप्पै रङ्गहरूले
उसलाई तर्साउँछ
उसको सातो लान्छ
हो, यसैले हुनुपर्छ
रातो झन्डाहरूको फोवीया
सेतो, हरियो, निलो ब्यानरको फोवीया
पहेँलो ध्वजा पताकाहरूको फोवीया

कालो पर्दा भित्र मात्र
ऊ उसको संसार देख्छ
जनताका आँखाहरूमा
बाँधेर कालो पट्टी
अनि मात्र
ऊ निदाउन सक्छ।
सायद ऊ लाटोकोसेरो हो
त्यसैले अन्धकार खोजिरहन्छ।

अब त उसलाई
कालरात्रिहरूमा मात्र
रमाउने बानी परिसकेको छ
त्यसैले ऊ खाली रातहरू खोज्छ।

उसलाई अचेल
उज्यालो दिनहरू वाक्क लाग्छ
सूर्य उदाएको सहन सक्दैन
जून तारा हाँसेको पटक्कै मन पर्दैन
त्यसैले अझै
देश अन्धकारमा छ
समाज निरङ्कुशताले थिचेको छ
देश र जनताको मुहार निन्याउरो छ।

उसलाई थाहा छ
रङ्गहरूको विविधता भनेको
त्यसैले ऊ
विचारहरू फुल्न दिँदैन
जून उदाउन दिँदैन
बगैँचामा थरथरी फूलहरू
स्वइच्छाले फुल्न दिँदैन
किनकि उसलाई रङ्गहरूको फोवीया छ।
सायद त्यसैले हुनुपर्छ
रङ्गहरूको होली खेल्न यहाँ मनाही छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *