युद्ध
शिवलाल दाहाल
केन्टकी, अमेरिका
हामीसँग एउटा विश्वास थियो
मान्छेका लागि मान्छेभन्दा अरू ठुलो शत्रु हुँदैन
त्यही मानेमा हामीले
अरूलाई हराउन सधैँ तयारी गरिरह्यौँ
र बनायौँ गोला–बारुद र बमहरू
र बनायौँ मिसाइल र रोकेटहरु
सङ्ख्या भोकापेट र नाङ्गा आङ्हरुलाई
बली चढाएर ……………….
हामीसँग एउटा विश्वास थियो
युद्धमा हतार हुन्छ
त्यसैले भरपुर तयारी गर्यौँ
बलियो सेना, द्रुतगामी पानीजहाज
वेगवान हवाईजहाज र अन्तर्देशीय क्षेप्यास्त्रहरू
हामीसँग एउटा विश्वास थियो
युद्ध जित्न त सबै किल्ला बाँध्नु पर्छ
त्यसो भएर हामीले तयारी गर्यौँ
जमिनबाट हुने आक्रमणका विरुद्ध
समुद्रबाट हुने आक्रमणका विरुद्ध
आकाशबाट हुने प्रहारका विरुद्ध
हामीसँग एउटा विश्वास थियो
शत्रु त कुनै एउटा दिशाबाट आउन सक्छ
शत्रु त कुनै एउटा सिमानाबाट आउन सक्छ
त्यसैले हामीले अखडा बनायौँ
जमिनमा, पानीमा, आकाशमा
र सेना उभ्यायौँ
ती ती सिमाना र दिशाहरूमा
तर ………………………
हामीले कहिल्यै यस्तो कल्पना गरेनौँ
युद्ध जित्न यति सानो कुरा पनि चाहिँदो रहेछ
–एक जोर हातमा लाउने पञ्जा
–नाक छोप्ने एक बित्ते टालो
–हात धुने एक पित्को साबुन
हामीले यस्तो कहिल्यै कल्पना गरेनौँ
युद्ध जित्न त विश्राम पनि गर्नु पर्दो रहेछ
आफ्नै परिवार, छिमेकी र इस्टमित्रहरुसित पनि भाग्नु पर्दो रहेछ
अस्त्रसस्त्र र कलकारखाना बिसाएर
आफ्नै घरमा आश्रय लिनु पनि पर्दो रहेछ
हामीले यस्तो कहिल्यै कल्पना गरेनौँ
कुनै अज्ञात बुसिफ्यालस
सूक्ष्मभन्दा सूक्ष्म रूप धारण गरेर
यति वेगले दौडन सक्दो रहेछ
यति तेजले टाप मार्न सक्दो रहेछ
मायावी बुसिफ्यालस जहाँ पनि पुग्न सक्दो रहेछ
असंख्या मान्छेहरूका छातीमा परेड खेल्दै
असंख्या मानिसहरूको चित्तकारमा खित्का उडाउँदै
आँक छ आज
अश्वमेध यज्ञबाट हिँडेको बुसिफ्यालसको
पकड्न
– यस युगका सिकन्दरहरूलार्इ
– यस युगका महामहिमहरूलार्इ
– यस युगका धनुर्धारी अर्जुनहरूलार्इ
– यस युगका ब्रम्बअस्त्र निमार्ताहरुलाई
– यस युगका आचार्य र मनिषीहरूलार्इ