यो कथा झुटो साबित होस् ।
विशु निछा
अस्ट्रलिया
“धन्यवाद लुसिया ।”
“अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।”
“किनेर कि साथीबाट ल्याएर पढ्यौ?”
“म कदापि पुस्तक मागेर पढ्दिनँ।”
“माफ गर । म तिमीसँग यसै जिस्किँदै थिएँ ।”
“मैले बुझेँ ।”
“अनि पुस्तक कस्तो लाग्यो नि ?”
“राम्रो छ ।”
“म फेरि चाँडै अर्को पुस्तक निकाल्ने सोचमा छु।”
“तिम्रो सोच सफल होस् , कामना ।”
“धन्यवाद !”
“तिमी त साँच्ची नेपाली होइन ?”
“भुटानी मूलको नेपाली ।”
“अँ, तिमीहरूको आफ्नो भाषालिपि हुन्छ कि हुन्न ?”
लुसियाको यो अनपेक्षित प्रश्नले प्रोफेसर निराजन झसङ्ग भयो । झसङ्ग मात्र भएन, एक छिन अकमकिएजस्तो भयो । उसले लुसियाको प्रश्नको उत्तर नदिएर उल्टै प्रश्न तेर्स्यायो-
“किन?”
“तिमी घरमा परिवारसँग पनि अङ्ग्रेजी नै बोलिरहेका हुन्छौ, र सोधेको नि ।”- लुसियाले आफूले देखिआएकी साँचो कुरा भनिन् ।
“घरमा अङ्ग्रेजी बोल्नु हुन्न र?”- अभरमा पर्न आँटेको निराजन अलिकति बाङ्गिएको हो कि !
“मैले त्यसो भन्न खोजेको होइन, निराजन।”
“तिमी आफ्नो परिवारमा कुन भाषा प्रयोग गर्छौ?”
“हामी परिवारमा इटाली नै बोल्छौँ । बच्चाहरू पनि बोल्छन् । लेख्छन् ।”
“ए…!”- निराजनले यतिमात्र भन्यो ।
“आफ्नो देशबाट टाढा रहे पनि आफ्नो भाषा र लिपि नानीहरूलाई राम्रोसँग सिकाउन सकियो भने कम्तीमा आफ्नो जातीय पहिचान हराउँदैनजस्तो लाग्छ।”
लुसियाको कुराले प्रोफेसरलाई लज्जाबोध हुन थाल्यो ।
“हाम्रो पनि हुन्छ, भाषा र लिपि ।”- भन्न करै लागेपछि निराजनले गला सुकेको आवाजमा भन्यो ।
“भनेपछि तिमीले आफ्नो भाषामा पनि पुस्तक लेखेका होलाऔ । हेरौँ न, कस्तो हुन्छ तिम्रो भाषालिपि ?”
निराजन फसादमा पर्यो । भन्ने के? ऊ किंकर्तव्यविमूढ भयो । बिचराको प्रोफेसर निधारमा चिट्चिट पसिना आयो।
“तिमीले लेख्या छौ?”
“मैले दुईवटा लेखेकी छु । एउटा प्रेसमा छ । कुनै दिन एक प्रति तिमीलाई उपहार दिउँला।”
लुसियाले अन्यथा भन्लिन् र त्यसैको सहाराले आफू पनि उम्किन पाइएला कि भन्ने झिनो आशा थियो, त्यो पनि सफल भएन । अब कसो गर्ने ? लुसिया उसको अनुहारमा हेरेर बसेकी छिन् , उत्तर पर्खेर ।
“मैले आफ्नो भाषामा पुस्तक लेख्या छैन ।”- निराजनले भुईँतिर हेर्दै भन्यो ।
“एउटा पनि छैन ?!”
“अहँ ! छैन ।”
“अङ्ग्रेजीमा यतिका पुस्तक लेखिसक्यौ। आफ्नै भाषामा लेख्नचाहिँ किन कन्जुस्याइँ नि?”
विश्वविद्यालयको अङ्ग्रेजी प्रोफेसर, मोटिवेसनल स्पिकर आफ्नै सहकर्मीको प्रश्नहरूको घेराबन्दीमा फँस्दै झन् फँस्दै जान थाल्यो । निस्किने उपाय कहिँकतै देखिएभेटिएको होइन । सत्य बोल्नु सजिलो हुन्छ भन्छन्। तर आज उसलाई अनुभूत भयो, सत्य बोल्नु फलामको चिउरा चपाउनुभन्दा गाह्रो पनि हुँदो रहेछ ।
“मलाई आफ्नो भाषा आउँदैन ।”- लुखास्त! अन्ततः निराजन प्रोफेसरले आत्मसमर्पण गर्यो नै ।
“विश्वविद्यालयको प्रोफेसरलाई आफ्नो मातृभाषा आउँदैन ? यो त हाँसउठ्दो कुरा भएन र ?”
लुसियाको बोली हथौडा होइन हम्मर झैँ बज्रियो, निराजनको प्रोफेसर छातीमा, मुटुमा । ऊ फिस्स हाँस्योमात्र, एउटा विवश र शब्दहीन हाँसो ।
“सायद तिमी सत्य कुरा नबोलेर मसँग जिस्किँदैछौ, हो?”- पुनः लुसिया नै बोली।
“होइन लुसिया । तिमीसँग म साँचोसाँचो बोल्दै छु । म आफ्नो भाषा लिपि केही जान्दिनँ ।”
“यो त बडो दु:खद कुरा भयो, प्रोफेसर निराजन ।”
“छोराछोरीले अलिकति अङ्ग्रेजी बोलिदिँदा पनि ठुलो गर्व महसुस गर्छन् हाम्रा नेपाली आमाबाबुहरू । अङ्ग्रेजी बोल्नेलाई निक्कै ठुलो, ज्ञानी र प्रबुद्ध ठान्छन्। असाध्यै इज्जत र मानसम्मान दिन्छन् ।”
आत्मसमर्पित निराजनले बयान दिन थाल्यो । र, बयानमा आफूलाई सक्दो निर्दोष साबित गर्न प्रयासरत ऊ आफ्नो टाउकामा थुप्रो लागेको दोष भरसक अरूको टाउकामाथि थोपर्यो ।
“आफ्नै लिपि र भाषा नजान्ने छोराछोरी देखेरचाहिँ कस्तो पनि महसुस गर्दैनन् भुटानी मूलका नेपाली आमाबाबुहरू?” लुसियाले यसो भनेकी भए निराजनको उत्तर के हुन्थ्यो होला ? उसको अनुहारको रङ्ग अथवा भङ्गिमा कस्तो हुन्थ्यो होला ? सायद अझ हेर्नलायकको हुन्थ्यो होला । तर उसले त्यसो भनिन ।
“यो त सबैमा हुन्छ । हाम्रा आमाबाबु पनि हामीले अङ्ग्रेजी जानेकोमा गर्व गर्नुहुन्छ । अन्य भाषा जान्नु, त्यसमा दक्षता हासिल गर्नु निसन्देह गर्वको विषय हो । तर अन्य भाषामा दक्षता हासिल गरिरहँदा आफ्नै भाषा, जुन भाषा आफ्ना परापूर्खाले लेखिबोली ल्याए, त्यै भाषामा चाहिँ शून्य हुनु, योजस्तो लज्जास्पद कुरा अर्को के हुन सक्ला र! प्रोफेसरज्यू ?”- लुसियाले भनी ।
“मैले उनीहरूलाई औँल्याएको होइन । तर, छोराछोरीले अङ्ग्रेजी बोल्दा गर्व गर्ने अभिभावकहरू जब यो पुनर्वासित मुलुकमा आइपुगे, तब उनीहरूले आफ्नो भाषा र लिपि आफ्ना बालबच्चालाई सिकाएनन्। सिक्ने प्रेरणा र प्रोत्साहन कहिले दिएनन् । बरु मजस्ता अङ्ग्रेजीको प्रोफेसरहरू बनाउन उत्सुक भए र छन् ।”- प्रोफेसरको अहङ्कार चकनाचुर भएको निराजन आत्मरक्षा गर्ने झिनो यत्न गर्दै बोल्यो ।
“आफ्नो लिपि र भाषा हराएपछि संस्कृति विलुप्त हुन्छ। संस्कृति विलुप्त हुनु भनेको आफ्नो पहिचान गुमाउनु हो । यहाँलाई यो कुरा पक्कै थाहा हुनुपर्छ ?”
“थाहा छ।”- भन्न सकेन प्रोफेसरले । भन्दा फेरि “त्यसो भए किन…?” भन्ने अर्को प्रश्न गर्लिन् र अर्को अंभरमा परिएला भन्ने डरले ।
निराजनलाई कसरी उम्कौँ भइरहेको थियो । सौभाग्यवश लुसियाको मोबाइलको रिङटोन बज्यो । ऊ कानमा मोबाइल टाँस्दै बिदाको हात हल्लाएर हिँडिन्।