यो जन्ममा तिम्रो हुन सकिन
मञ्जु खड्का
एन्.एच्, अमेरिका
विडम्बनाको घडी
प्राकृतिक नियम
दैवको खेल
कसले जाँदो रहेछ र सानु !
दुखाइको पीडामा
एक्लै छटपटिँदै
मुटुको धड्कन थाम्ने
आँट नहुँदा नहुँदै
तिमीलाई
म अर्कैको हातमा सुम्पिन
बाध्य भएको छु प्रिय !
हजार चोटी तिमीलाई
भन्ने चेष्टा
नगरेको होइन मैंले सानु
तिम्रो निश्चल प्रेम
स्वार्थहीन माया-ममताले गर्दा
तिमीलाई मैंले भन्ने आँट
बटुल्न सकिन |
साँच्चै म अभागी रहेछु
आखिर के दिन नै सकें र तिमीलाई
मायाको नाता जोडेर
तिमीलाई सुख र खुसी दिउँला,
सिँगारेर मेरो घरमा
दुलही बनाएर ल्याउँला भन्ने
मेरो पनि त ठूलो रहर थियो
आखिरी यो भन्दा अगावै
मेरो नशाको रगत
कार्यहीन भएपछि
सानु तिमीलाई सबैका सट्टा
आँसु दिनु प-यो मैंले|
साँच्चै तिमी मेरी
सत्य सावित्री हौ
तिमीले बगाएको आँसु
मलाई गरेको माया
तिम्रो त्याग-तपस्या
देखेर होला
यमराज
मेरो सामु आउन डराइराख्या छ
त्यसैले आजसम्म
मेरी आमाले
छोरा भन्न पाएकी छिन्
अनि मेरी बहिनीले
दादा भन्न !
संसारमा भगवान त छैनन् होला सानु
हुनु भने तिम्रो पुकारको जवाफ दिन्थे होला !
अनि मेरो शरीरमा
चमत्कार पनि !
अब छाडिदेउ
निर्दयी प्रस्तरको मूर्ति पुज्न
मेरोलागि आँसु बगाएर
मेरो जीवनको भिख माग्न
अब मेरो शरीरले हार खाइसक्यो प्रिय !
मेरो आँट हरायो
मेरो शरीरको कण-कणबाट
हंसले छोड्दै लाग्यो
अब यो जन्ममा तिम्रो भएर जिउन सकिन
मेरो आत्माले मलाई
के चाहिन्छ भनेर सोध्छ भने
फेरि मानिसको जुनी हुने भए
सिर्फ तिम्रो मात्र भएर
बाँच्न पाउँ !