रक्तिम गुराँस र धवलागिरी
टङ्क उप्रेती
कुरा एउटा काल्पनिक प्रसंगबाट थाल्छु । मैले बितेको समयमा फर्किन पाएँ भने गत हप्ता (०६६ चैत्रको अन्तिम) सम्पन्न चारदिने पदयात्रामा फर्किन चाहन्छु ।
कास्कीको बिरेठाँटीबाट सुरु भएको पदयात्रा, चुचेढुंगा, नेपाने, उल्लेरी, घोडेपानी, पुनहिल, घान्द्रुक हुँदै नयाँपुल आएर टुंगिएको थियो । यो पदयात्रा मेरो लागि संघर्ष, शिक्षा, परीक्षा, सूचना, उत्प्रेरणा एवं जीवन र जगत्को सूक्ष्म अवलोकन गर्ने अवसर पनि थियो ।
एकहजार पचास मिटरको उचाईबाट प्रारम्भ भएको पदयात्राको लक्ष्य तीनहजार दुईसय दस मिटरको उचाइ चुम्ने थियो । यो आफैँमा एउटा चुनौती थियो हाम्रा लागि । जीवन र संघर्ष एक अर्काका पयार्य हुन् । विकासशील मुलुकको सहरिया जीवनका बहुआयामिक जटिलताको जालोभित्र हामी दैनिक संघर्ष गरिरहेका छौँ । त्यसैले जीवित छौँ । केही समाजलाई दिन खोज्दैछौ र केही समाजबाट लिँदैछौँ । जीवित रहने ऊर्जा नै यही अनिवार्य संघर्षले पैदा गरिरहन्छ र यही ऊर्जाले नै उचाइको नजिक पु-याउँछ । यदि जीवनमा संघर्ष गर्ने ऊर्जा रहँदैन भने बँचाई निरर्थक हुन्छ ।
जीवनलाई एउटा पदयात्रा भन्छु, दौडभन्दा । पदयात्राका लागि लक्ष्य, ऊर्जा, स्थिरगति, अत्यावश्यक साधन र सहयात्री चाहियो । दौडमा सहयात्रीलाई छोडेर धेरै चाँडो निस्कन सकिन्छ तर सबैलाई छोडेर एक्लै निक्लनुको कुनै अर्थ छैन । पदयात्रामा अन्र्तनिहित ऊर्जाले लक्ष्यमा पहिले पुग्न सकिन्छ तर सहयात्रीलाई पनि छोड्नु पर्दैन । पदयात्राका स–साना लक्ष्यहरु हुन्छन् । कुर्नु पर्ने केही दुरीका गन्तव्यहरु । जीवनको दियोमा सधैँ तेल राखेर निरन्तर शिखा प्रज्वलित भइरहेजस्तो संघर्षको निरन्तरता । यस्तै स–साना गन्तव्य प्राप्त गर्ने संघर्षहरुको कुलयोग नै हो एउटा सार्थक जीवन— पदयात्राजस्तो ।
मेरा लागि पदयात्रा सिमलको भुवाजस्तो निर्बन्ध भई उड्न पाउने अवसर पनि हो । बिहानैदेखि रातीसम्म व्यस्त भई काम गर्नैपर्ने नियमित जिन्दगीबाट चराको प्वाँखजस्तो गरी उड्न पाउने मौका जीवनमा कमै हुन्छन् । पदयात्रा मेरो लागि यस्तै मौका पनि हो । भुरंदीको शुद्ध पानीमा पौडिनेदेखि चुचेढुंगाको प्रदूषणहीन चिसो हावामा सास लिने अवसरसम्म ।
मानिस प्रकृतिको महत्वपूर्ण सिर्जना हो । मेरा लागि प्रकृतिको अर्थ मानिसका लागि हुने उपयोगितामा निर्भर गर्दछ । मेरो दृष्टिले आममानिसलाई केन्द्रमा राख्छ र बाँकी सम्पूर्ण चिजहरुको अर्थ यही आधारमा खोज्दछ । पर्यावरणीय सन्तुलनको खाँचो पनि मानिसकै जीवन सरल बनाउन हो ।
अहिले म एउटा विपत्तिको अघिल्तिर उभिएको छु । कास्कीको नेपाने २८ जनाको ज्यान लिई गएको भयानक पहिरोको अघिल्तिर । रातभरि परेको मुसलधारे पानीले यहाँ डाँडै भत्काएर घरै र जीवनै बगाएको थियो । मेरो मस्तिष्कले नेपाने डाँडोको फेदीमा रुख रोप्ने र पहिलो रोक्ने कुरा कल्प्यो । केवल नेपानेको डाँडा मात्र होइन, मेरो वरिपरि शक्तिका कैयौँ डाँडाहरु उभिएका छन् पहिरोसँगै । देशमा छरिएर रहेका मुलुक र जनताप्रति गैरजिम्मेवार डाँडाहरु आफू त पहिरोको जोखिममा छन् नै । यिनले आममानिस र तिनका सपना, जमिन र देशलाई पहिरोको आतंकमा होमेका छन् । विश्वासका साथ म निरन्तर प्रयत्न गरिरहेको छु, यी डाँडाहरुको फेदीमा रुख रोप्ने ।
नेपाने पार भएपछि भयानक उकालो सुरु हुन्छ । ठाडो उकालो– उल्लेरीको । सानो छँदा— उक्लिएको थिएँ बर्नेको उकालो— झापामा । किशोरावस्थामा पढेको थिएँ— घनस्याको उकालो र चढेको थिएँ इलाम— सोक्तिमको ठाडो उकालो । तर ती सबै फुच्चे लागे उल्लेरीको उकालोका अघि ।
कवि तुलसी दिवसले भनेकै छन् ः
ओर्लिँदा ओर्लिँदै ओरालोमा
ओर्लिएको बाटो नै उक्लिएपछि
ओर्लिनेको पनि केही लाग्दो रहेनछ
पदयात्रा आफ्नो तन्दुरुस्तीको परीक्षा पनि हो । जीवनमा जस्तै पदयात्रामा पनि आफैँ नहिँडीकन बाटो पार गर्न सकिन्न । केही बाटाहरु निर्विकल्प हुन्छन्, केही यात्राहरु साधनविहीन हुन्छन् । आफ्नै खुट्टालाई विश्वास गर्नु र तन्दुरुस्त राख्नुजस्तो जीतको आधार अरु केही हुन्न जीवनमा । मैले उल्लेरीको उकालो काट्दा फोक्सो नै बाहिर निस्केलाजस्तो भएको बेला यहीँ सिकेँ ।
जीवनका बाटाहरु उकालो मात्र हुन्न, कहीँसम्म र कहीँ ओरालो पनि आइपर्छन् यात्रामा । बाटाहरुमा केवल चट्टान र काँडाहरु मात्र हुन्नन् । यस्ता बाटाहरु पार गरेपछि फूल भेट्ने अवसर पनि प्राप्त हुन्छन् । म्याग्दीको घोडेपानीतर्फ हिँड्दै गर्दा हाम्रो बाटो गुराँसको जंगलभित्र पस्छ । रोमाञ्चित हुन्छ हृदय । नौ जातका गुराँस पाइने बहुरंगी वनभित्र हिँड्ने सुनौलो अवसर कतिले पाएका होलान् जीवनमा ।
गुराँसको सुरुङ छिचोलेर अघि बढ्दै जाँदा स्वागतमा उभिन्छ— सुन्दर धवलागिरी सामुन्ने । कठिन यात्रा पार गरेपछि प्राप्त भएको छ धवलागिरी यहाँ । धवलागिरीको शितलता उचाई र सुन्दरता प्राप्ति हो यो यात्राको । यात्रा त धेरै गरिन सक्छन्, तर सबै यात्रामा यस्तै प्राप्ति हुन्छ नै भन्ने छैन । हृदय झस्किन्छ, यात्रा, गुराँस र धवलागिरीका बिम्बहरु एकै ठाउँ उभिँदा । मेरो राष्ट्रिय यथार्थको आधारभूमिमा कठिन यात्रा चलिरहेको छ— निश्चित उद्देश्यका साथमा । यो यात्रा हज्जारौँ सहिदहरुको रगतले छ्याप्पै भिजेको लालिगुराँसको सुरुङबाट अगाडि बढिरहेको छ । म चिन्तित बनिरहेको छ र एउटा गम्भीर प्रश्नले मलाई निरन्तर लखेटिरहेको छ, के प्राप्त होला सुन्दर धवलागिरी मेरो देशको यथार्थमा ?
मैले अन्नपूर्ण र धवलागिरी शृंखलाहरु अंगालो मारेर उभिएको आँखै सामुन्ने देखेँ— पुनहिलबाट । सूर्योदयको कलिलो सुनौलो प्रकाशमा चम्किएका ती हिमालका हाँसो हेर्न पुनहिलको यो उचाइबाट मात्र सम्भव छ । कतिपय चिजहरु निश्चित उचाई हासिल गरेपछि मात्र देख्न सकिन्छन्, र प्राप्त हुन्छन् । निरन्तर संघर्षको आवश्यकता पनि त्यसैले पर्छ जीवनमा । यो यात्राको सर्वाधिक उचाइबाट मैले जुन सुन्दरता देखेँ, त्यति नउक्लिएको भए त्यो देख्न असम्भव थियो । जगतमा अझ उचाइहरु छन् र त्यहाँबाट देखिने र अनुभूत गरिने अझ सुन्दर गन्तव्यहरु छन् । तर एउटै यात्रा र एउटै संघर्षबाट यी सबै चिजहरु पाउन असम्भव छ । मैले पुनहिलबाट हिमालहरुले अंकमाल गरेको सिधा आँखा अगाडि देखेपछि मनमा विचित्रको अनुभूति भयो र अपेक्षा कोपिलाएझैँ भयो मस्तिष्कमा— जनादेशबाट उठेका राष्ट्रिय शान्तिका हिमालहरुले पनि राष्ट्रिय समस्या समाधानका लागि यसरी नै अंकमाल कहिले गर्ने होला ।
यो पदयात्राको सर्वाधिक उचाईमा पुगेर जोडिएका शक्तिशाली हिमालका हारहरु देखेपछि अंकुरायो आशा— ढुंगा, माटो र पानीबाट निर्मित हिमालहरु त मिलेका छन् । हाड, मासु र मस्तिष्क भएका शक्तिशाली हिमालहरु मिल्ने छैनन् त ?
यात्राको नियमले नै सर्वाधिक उचाईमा सधैँ रहिरहन सकिँदैन । यात्रामा उकालो उक्लिइसकेपछि वास्तवमा आधा मात्र प्राप्ति हुन्छ । गन्तव्यमा पुग्नु जत्तिकै चुनौति फर्किनुमा पनि छ । उक्लिनु जत्तिकै कठिनाई सुरक्षित ओलिर्नुमा पनि छ । पासाङ ल्हामु पनि उक्लिइन सगरमाथा र हेरिन सर्वाधिक उचाइमा टेकेर संसारलाई, तर जित्न सकिनन् ओर्लिने चुनोतिलाई । मिलिन् पृथ्वीमा यात्रामै ।
उचाइबाट हेर्दा साना देखिन्छन् । चिजहरु, मानिसहरु, डाँडाहरु र नजिकै देखिन्छन् । पुग्नुपर्ने ठाउँहरु । तर वास्तविकता फरक हुन्छ । सिधै देखिएका यी ठाउँमा पुग्न हिँड्ने बाटो सिधा हुँदैन । ओरालो, उकालो उक्लनुभन्दा धेरै गुना भयानक हुन्छ । आफूलाई थाम्न र सह्माल्न कठिन हुन्छ— ओरालो यात्रामा । जीवनमा पनि यही हो, ओर्लिन पनि जानिएन भने सकिन्न आफूलाई थाम्न । उचाईबाट सोच्दा यात्रालाई सरल रेखामा सोचिन्छ तर वास्तविकता भने बाङ्गाटिङ्गा बाटाहरुबाट उक्लिन्छ र ओर्लन्छ ।
देउरालीबाट तल ठाडो ओरालो झर्दा मलाई बोध भएको वास्तविकता यही हो । ठाडो र घुमाउरो ओरालोमा ज्यानै थाम्न गाह्रो । अर्को कुरा यात्रामा थाकिन्छ तर थाकियो भनेर हिडिएन भने कहीँ पुग्न सकिन्न । तब मात्र यात्रा एक पाइला अघि बढ्छ जब हिडिन्छ एक पाइला आफ्नै खुट्टाले । यात्रा जतिसुकै कष्टकर किन नहोस्, पार लगाउन आफैँले हिँड्नु पर्छ पदयात्रामा र जीवनमा पनि ।
कोटेश्वर, काठमाडौँ
maile dherai pachhi Tanka Upretiko nibandha padhna payen. Chhota ra vichar mulak kasila nibandha rachanakar upretiko ma fan hun pahile dhekhinai. Kam lekhne unka Garima ka nibandhaharu pachhilla samayaka utkrista rachana hun. Lamo antaral pachhi aaeko yo nibandha ajha khandilo ra chintanmulak lagyo.