रातो चुरा

तिलक राई

झमझम पानी पर्यो
वर्षा यामसँगै
गरी खाने किसानहरु
अनि, मजदुरहरु
गड्याङ्ग गुडुङ्ग र
कारखानाको मिश्रित चर्को आवाजसँगै
पलाष्टिक बेरेर
लुसुलुसु छिर्नु पर्ने
बाध्यकारी मनहरुलाई
फेरी एक पल्ट
साउने झरीले मन चिसाउनुको सट्टा
पचास डिग्री सेल्सियसको तापक्रमले
पोलेपछि,उखुं भएपछि
सोध्न बाध्य छन् I
कहिल्यै हिलो नछुने हातहरुमा
हरियो चुरा र मेहंदी किन ?
यो सवाल त अधिकारको रे
नारी पहिचानको रे
नारी श्रृंगारको रे
अनि,
सामाजिक स्तरको झङ्कार रे
यति नभए
महिला अधिकारको सम्मान हुँदैन रे
बिडम्बना !!!
दुई चार महिलाको हात रंगिदैमा
चुल्ठी बाटिदैमा
पेटभरी भोजन मिल्दैमा
शदीऔैं नबाटिएको कपाल
फुस्रो अनुहार कहिल्यै श्रृंगार नदेखेको
आधा पेट खाएर पेटारो कसी-कसी
खेताला-पात धाउनेहरु
आकाशे छानो र
धर्तीको बिस्तारमाथि पल्टिनेहरु
राज्य आतंक अनि
शोषणको चिसोले कठ्याङ्ग्रिएकै छन्
यो बेलासम्म ।
अब मौसमी रोनकहरु सकिनु पर्छ
साउने हरियो चुरा र
खर्चिलो मेहंदी  लजाएर भुतुक्कै भएर
कर्तव्य  अनि मुक्तिको बाटो हिड्नु पर्छ
तिजे रातो साडी
महङ्गो तडक भडक
ससम्मान निहुरिएर
सारा शोषितको आवश्यकतालाई परिपूर्ती गर्दै
नाङ्गो शरीर ढाक्न पुगेपछि मात्र
अतिरिक्त पहिरन दासत्वको चिनारी
भन्ने बोध हुनेछ I
त्यसपछि रातो रङ्गको
सही अर्थ लाग्नेछ
शोषण मुक्त समाज निर्माणको
बाटो उन्मुख हुनेछ
सारा शोषणको साङ्लोहरुसँगै चुटिएर
खुल्ला आकाशमा मुक्त
हात-पाउबाट फुक्लिएर जानेछ
शोषणको चिनारी रातो चुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *