राष्ट्रिय खुशियालीको सन्दुकभित्र
भक्त घिमिरे
अमेरिका
डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी बम र बन्दुकको दोहोरो आवाज सुन्यो । गाउँलेहरूले त्यति नै सुने, घटनाको यथार्थ कसैले बुझ्न पाएनन् ।
च्याङबा आशेङ बिहानभरि खेत जोतेर गोरु फुकाई फर्किँदै थिए । गाई-वस्तुका पछि पछि लौरो हुइँक्याउँदै हिँड़िरहेका नरहरी काकाले काँधमा जुवा बोकेर मेलोबाट फर्किएका च्याङबा आशेङको अनुहारमा मणि हराएको सर्पले झैं हेरे । हेरिमात्र रहे, आपसी हेराहेरबाहेक उनीहरू दुवैको बोली फुटेन !
मौनतामा उनीहरूका आँखामात्र बोले जुन संकेतले एक किसिमको भयातंकित सामाजिक अवस्था झल्कन्थ्यो । त्यो ठाउँमा कोलाहलपूर्ण सफेद राज्यातंकले गाउँलेहरूलाई त्राहीमाम बनाएको कुरो सीमापारका बजारहरूमा चर्चा सुनिन्थ्यो ।
विभिन्न विदेशी सञ्चारमाध्मयहरूमा यस्ता विषय समाचार समेटिने क्रम चलिरहेकै थियो, तर चेतनाको दृष्टिले निर्जन टापूझैं बनेको त्यो देशका गाउँ-घरमा केही कुरा पनि खुलस्त थिएन ।
नरहरी काकाले च्याङबा आशेङका अगाड़ि बिना आवाज ओठले मात्र गुन्गुनाउँदै भने–‘‘गाउँलेहरुलाई दिशानिर्देश गर्ने कोही विद्वान् छैन यस घड़ीमा । सबै अलमल्ल । के गर्ने-के नगर्ने कसैलाई केही पनि थाहा छैन । अरु सहज परिस्थितिमा बाठा र अगुवा भइखाएकाहरू संकटको बेला कोही रहेनन् । हे दैव ! कसैलाई ‘राजकीय सरकार’ भन्ने दुष्टहरूको दलले बाँध्यो, कसैले आफैं भागेर लुक्नलाई डाँड़ो काटे ।’’
विस्फोटको आवाज आएपछिका केही घण्टासम्म गाउँ चकमन्न रह्यो । चरा-मुसाबाहेक गाउँमा कसैले आवाज निकालेन । त्यसपश्चात विस्तारै गाउँमा मान्छेहरूको आवत-जावत शुरु भयो । घटनास्थलतिर जान भने कसैको आँट पुगेन । खासखुस कुरा भने चल्यो घटनाबारे । त्यो कौतुहल र उत्सुकतापूर्ण त्रासदीमा गरिएका साउती आवाजबाट आएका कुरा अनुसार गाउँका किसान र गोठालाहरूले -सेतो रंगको हाइलक्स सरकारी गाड़ी बम्जन डाँड़ाको डिलैडिल बनाइएको कच्ची सड़क छोड़ेर भित्तैभित्ता झरेर खेतैखेत गुड़ेको देखे । केही क्षणमा त्यो गाड़ीले लंखरधापको ससाना आली भएको मैदानी खेत नाघेर पुनः सड़क भेट्यो र वाणको गतिमा द्रूत रफ्तार लियो । त्यसपछि फेरि चकमन्न भयो ! कसैले केही बोल्ने आँट गरेन ।
एकैचोटि बेलुकी रेडियो बीबीएसले ल्होत्छाम कार्यक्रमअन्तर्गत थिम्पूबाट समाचार प्रसारण गर्यो-‘‘दक्षिण भूटानको सर्भाङ जिल्ला-गेलेफू ड्रुङ्खागका ड्रुङ्पा छिमी दोर्जीलाई पूर्वी क्षेत्रको तक्लाई ब्लकमा ‘देशविरोधी’, ‘आतंककारी’को एक समूहले गोली हानी निर्मम तरिकाले हत्या गरेको छ ।’’
त्यस समाचार पछिमात्र समग्रले घटनाबारे विभिन्न अनुमानको आधार पाए अनि खासखुस गाउँमा कुरा गरे बम्जनडाँड़ा गोलीकाण्डबारे । तथापि, घटनाको यथार्थता जगजाहेर थिएन । सबैले आ-आफ्नै अनुमानका भारी बोकेर मनलाई थकित बनाइरहे ।
त्यसताका देश हिंसा र प्रतिहिंसाको ज्वालोमा निस्सासिएको थियो ! आतंकको भुंग्रोमा देशवासी पाकिरहेका थिए । आतंकको मार खेप्न नसकेर कैयौंले सुरक्षित आत्मविश्वासको लागि देशको सिमाना पनि काटिसकेका थिए भने शासकीय अड्डाको निकट हुन कतिले थिम्पूको गन्तव्य पनि लिएका थिए ।
सञ्चारमाध्यम र अन्य जानकारहरूका अनुसार प्रष्टै थियो त्यतिबेला देशमा दुईखाले सत्ता हावी भएको । दुई धारमा थिम्पूबाट सरकारी आदेशहरू जारी हुन्थे । दरबारबाट राजा भ्रमणमा सवार हुँदै देशवासीलाई सम्बोधन गरी भन्थे-‘तिमीहरू मेरा रैती हौ…देश छोड़ेर कतै नजानू…सुरक्षा दिने काम स्थानीय सरकारले गर्नेछ । कसैले पनि अन्याय-अत्याचार भएकोमा सरकारलाई जानकारी गर्नू ।’ राजाबाट यस्तो मनकारी कुरा सुनेर उनका अघि गई एक-दुई कसैले विन्ति पनि बिसाउँथे-‘‘मौसुफ सरकार; आतंककारी को हो हामीलाई थाहा छैन …तर, स्थानीय सरकार (जिल्ला)-कै मान्छेहरू हामीलाई सताउँदैछन् !’’
सोझा गाउँलेहरूबाट यस्ता कुरा आएपछि ती सरकारी कर्मचारीको व्यवहारमाथि अनुसन्धान र कारबाही गर्ने आश्वासन दिँदै राजाको फिर्तीसवारी हुन्थ्यो ! र, लगत्तै कुरा राख्ने जनसाधारणलाई स्थानीय सरकारले पाता कसेर भक्कुर्थ्यो । ‘‘राजालाई पोल खोल्ने तँ-हाम्रो देशमा अर्को राजा हुन खोजेको ? जा..तेरै देशमा । गिरिजाले खानु दिन्छा । गएन पछि तिमी मार्नु लागि हामीलाई सरकारले गोली दिएको छ’’, सरकारी डासोहरू यसै भन्थे । यस्ता कुरा सुनेपछि सर्वसाधारण गाउँलेहरू आतंकित नहुने कुरै भएन !
क, ख वा ग जसले भए पनि ड्रुङपा छिमी दोर्जीको हत्या त गरेकै हो । सारा गाउँलेहरूले अल्प अल्प भए पनि प्रत्यक्ष देखेका छन् र जिल्लावासीले संक्षेप बुझेका छन् ! समग्र देशवासीले घटनाबारे सुनेका छन् । दक्षिण भूटानको निकै जनघनत्व भएको र विभिन्न दृष्टिले महत्त्वपूर्ण इलाका सर्भाङ जिल्लान्तर्गत गेलेफू उप-जिल्लाका प्रशासक छिमी दोर्जी नरहेपछि प्रशासनफाँट खाली भयो ।
त्यसताका दक्षिण भूटानका सर्भाङ, चिराङ र साम्ची-तीनवटा जिल्लाबाट अधिकतम जनतालाई देशनिकाला गर्नुपर्ने थिम्पूमा रहेको अदृश्य सरकारको हुकूम नै छ भनिन्थ्यो । यही काममा प्रशासकहरूबीच प्रतिस्पर्धा नै चलिरहेको थियो । साम्ची जिल्लाको सिब्सु ड्रुङखाग, जनतालाई खेतीमा आएको वनचर लखेटेझैं धपाएर ड्रुङपा ल्हाक्पा दोर्जीले रित्तै पारिसकेका थिए । उनी सिब्सुमा यसरी प्रशासन चलाउँथे मानौं सिब्सु छुट्टै एउटा देश हो र ल्हाक्पा दोर्जी त्यहाँका निरंकुश राजा । सन् १९९०-को जनप्रदर्शनका बेला सिब्सु-गोलाबजारमा प्रदर्शनकारीको भीड़माथि डोजर चढाउन आदेशसमेत दिनसक्ने उनको ख्याती देशभरि नै फैलिएको थियो । स्वः छिमी दोर्जीको स्थानमा तिनै ल्हाक्पा दोर्जीलाई गेलेफू जोङ्दाको रूपमा प्रतिस्थापित गर्यो तत्कालिन राजकीय सरकारले ।
पहिले जोङ्दा रिञ्जिन गेन्छेनको अधिपत्यमा चलेको सर्भाङ जिल्लामा अहिले ल्हाक्पा दोर्जी आएपछि उनको व्यवहार सामचीमा भन्दा अराजक किसिमको भएको गाउँलेहरूको गुनासो थियो । केहीले भन्थे,‘‘रिञ्जिन गेल्छेन त देउता थिए । तर, ल्हाक्पा दोर्जी नै सर्भाङको राजा जस्तो छ ।’’
सामाजिक गतिविधिमा निकै चासो दिएर काम गर्ने धनपति दाइ र मानवीर कारबारी पनि भन्दै थिए-‘‘यो रिञ्जिन गेल्छेन थिम्पूको बेग्लै सरकारको मान्छे हो र ल्हाक्पा बेग्लै सरकारको ।’’ साँच्चै व्यवहारगत रूपमा पनि उनीहरूबीच धेरै पार्थक्य भेटिन्थ्यो । गेल्छेन उच्च वैचारिक तथा कूटनीतिक ढाँचामा काम गर्न रुचाउँथे । केही हदसम्म मानवता थियो भन्थे कर्मचारीहरू पनि । तर, ल्हाक्पा थिए जंगलबाट समातेर आजै ल्याएको भालुजस्तो । कसैले उजूर-आपत्ति गर्नुपरे पनि छेउमा जानै डराउँथे । कार्यालयमा बोल्ने उसको शैली पनि सबै अश्लील हुन्थ्यो । नागरिकमाथि सोझै दुर्व्यवहार गर्नु उसका लागि कुनै आपत्तिको कुरो थिएन ।
ड्रुङपा छिमी दोर्जी हत्याको केही सातापछि गाउँमा पसेको सेनाले गाउँभरिका बुढा-पाका, युवा र बाल-बालिकासमेतलाई पक्रेर लग्यो । गाउँलेहरूको त्यही समूहमा परे पण्डित षड़ानन्द अधिकारी पनि । कतिलाई कथित अनुसन्धानपछि शारीरिक यातनाले थिलथिलो पारेर छोड़ियो भने कतिलाई कैद सजाय नै सुनाइयो । षड़ानन्द पण्डित छिमी दोर्जीको हत्या अभियोगमा सहयोगीको रूपमा कैद भए । उनलाई पनि अरु अरु धेरैलाई झैं थिम्पूको चेम्गाङ जेल लगियो ।
यो परिस्थिति आउनभन्दा केही समयअघिको कुरो हो । उनको नामसित पण्डित उपनाम जोड़िए पनि सामान्य खेती-किसानी नै उनको खास पेशा थियो । स्वरोजगारको परिश्रम गरेर गाउँले जीवन धानिरहेका षड़ानन्द बाजे मध्यमवर्गीय सोझा ब्राह्मण थिए । तथापि धनको कुरामा उनी निकै चिम्टा थिए अनि जात-धर्मका कुरामा बढी नै कट्टर । सामान्य गाउँघरका मान्छेभन्दा हुनेखाने ठहरिएका पण्डित गाउँमा शिर खड़ा गरेर, छात्ती चौढा खोलेर हिन्थे । सामान्तः गाउँलेहरूले जवाफ वा प्रतिप्रश्न गरेको उनलाई पटक्क मन पर्दैनथ्यो । उनलाई जवाफ लाउनु शत्रुता मोल्नुसरह भएको ठान्थे पण्डित बाजे । घमण्ड र अभिमान बोकेर पनि उनी मेहनती चाहिं पक्का थिए । बिहानै उठेर नित्यकर्म सकी नुहाइ-धुवाइ धरो फेर्ने, ठूलो चन्दन टीका लाउने, अनिमात्र खेतीको काम अथवा गाई-वस्तुको हेर्चाहमा निस्कने उनको दैनिकी नै थियो ।
सधैंजसो पण्डित बाजे खेतीमा गएकै बेला त्यो दिन पनि गाउँका ठिटाहरू उनको खेतमा गुच्चा खेलीरहेका भेटेर उनी धेरै रिसाए, सत्तो-सराप गरे । खेतको गरामा गुच्चा खेलेर ठिटाहरूले माटो बिगारिदिए भन्ने उनको गुनासो हुन्थ्यो । माथ्लाघरे ढकाल बा’को छोरो गंगाराम उमेरले निकै ठूलो भए पनि व्यवहारले काँचो थियो, ससाना भुराभुरीसित गुच्चा खेल्नु उसको दैनिकी सौख थियो । बाजेले धेरै सरापेको सुनेर गंगारामले झोंकिँदै भन्यो पनि-‘‘अरु अरु कुरा भने त ठिकै छ, तेरो घरमा आर्मी पसोस्, आर्मीले ‘एन.टी.’ भनेर लगिहालोस् चाहिं किन भन्छौ ए काका?’’
बाजे अझ रन्किएर बोल्नथाले-‘‘एइ गंगे, तँ मेरै ससुरालीले पुजेको पुरोहितको छोरो परिस्, नत्र म तेरा नलीखुट्टा भाँचिसक्थें-मसँग जोरी खोज्ने, मुख ठूलो गरिस्, देख्लास् अब, तँलाई ठिक नगरी कहाँ छोड़ौंला र !’’ पण्डित बाजेको कुरो सुनेर गंगारामको पनि रिसको पारा चढ्यो । ‘‘के लछारौला र काका, हाम्रा हातमा निः दही जमेको छ र?’’ गंगारामको कुरा सुनेपछि पण्डित बाजे तात्तिए । जोतेको बेला गोरुलाई सोंड्क्याउने लौरोले गंगारामलाई बजाए पण्डितले । उमेर छिप्पिएको र थोरै अजीर स्वभावको गंगारामले पण्डितका हातको लौरी खोसेर त्यसैको जवाफ फर्कायो पनि, अरु ठिटाहरू पहिले नै कुलेलम ठोकिसकेका थिए ।
त्यसबेला धेरैले प्रायोजित देशद्रोहको अभियोगमा कैदी जीवन भोगिरहेका थिए भने परिबन्दले धेरै भूटानीहरूलाई देशबाट पाखा लगाएर कन्काई किनारमा थुपारेको थियो । विस्तारै नेपालमा कार्यरत विभिन्न मानवीय संस्थाहरूले भूटानीहरूलाई शरणार्थीको दर्जा प्रदान गर्दै झापा र मोरंग जिल्लाका विभिन्न ठाउँमा व्यवस्थित गर्नथाले । विरक्त लाग्दो शरणार्थी जीवनको रनाहामा रन्थनिँदै रहेका भूटानी युवाहरूको जमातमा विभिन्न उद्देश्य र सोचाइअनुसार आ-आफ्नो बाटोमा हिन्ने युवाका भीड़ जताततै । प्रतिशोधको ज्वालामा रन्किरहेका र उत्ताउला, अवारा ठिटाहरूको संगतमा लागेर आफ्नो परिवार छोड़ी गंगाराम ढकाल पनि एकदिन भूटान फिर्ता गएर आफ्नो गाउँ हेर्ने, आफूहरूलाई देशनिकाला गर्ने सरकारी कर्मचारी र आसेपासेहरूको सेखी झार्ने, वनबाट मह र अन्य वनस्पति ल्याएर बेची पैसा कमाउने इत्यादि सोचमा पुग्यो ।
आज बिहानै सर्भाङ जिल्लान्गर्त सुरे ब्लकबाट पुलिसमा एउटा रिपोर्ट दर्ता भयो-‘‘चुङसिङ नजिकको एउटा अलैंची बगानमा अपरिचित केही मानिसहरू अलैंची टिपेर लाँदैछन् ।’’
रिपोर्टअनुसार पुलिसले उल्लिखित अलैंची बगानमा छापा मार्यो । बाठा-टाठा ठिटाहरू फुत्किए, गंगाराम पर्यो पुलिसको फन्दामा । पुलिसलाई गंगारामले बयान दिँदै भन्यो-‘‘केही ठिटाहरूको दल नेपालका शरणार्थी शिविरबाट भौंतारिँदै सर्भाङ जिल्लाको ललाई प्रवेश गर्यो । दानाबारी ब्लक हुँदै जंगलको बाटो भई सुरे पुगेर चिनजानका सबैलाई भेट्न कोशिश गरे उनीहरूले तर, कसैले भेट दिन मानेनन् । नाता पर्ने र गाउँका सबै मान्छेले जंगलको जनावरलाई झैं व्यवहार गरे । देशबाट धपाइएको अवस्था, त्यहाँमाथि बेरोजगार शरणार्थी । फर्केर शिविर पुग्ने बाटो खर्चको जोहो थिएन, कसैको सहयोग लिने कुनै जुक्ति पनि थिएन । त्यसैले गाउँको अलैंची टिप्ने र अवैध बिक्री गरेर वैध पैसा कमाउने उनीहरूको निर्णय भयो । निर्णय अनुसारको काम गर्दै गयौं । यही क्रममा अरु भागे, म गंगे पक्राउ परें ।’’
बयानपछि पुलिसले गंगारामलाई अलैंची चोरीको अभियोगमा कैद गर्यो । केही दिन गेलेफूको हिरासतमा राखेर गंगारामलाई पनि चेम्गाङ जेल चलान गर्यो ।
पण्डित षड़ानन्द अधिकारीलाई पाँच वर्षको कैद सजायपछि भोलि मुक्त गरिने कुरा जेलभरि चलिरहेको थियो । सबैको मुहारमा एक अञ्जुली खुशीको झल्का त थियो नै । पण्डित बा’ भने खुशीले उर्लिरहेका थिए । मन नपर्दा पशुको व्यवहार गर्ने, इच्छाविपरीत खानेकुरा कोच्याउने र दुर्व्यवहार गरे पनि मनपरेको बेला जे माग्यो त्यही दिने, जे भन्यो त्यही मान्ने पुलिस अफिसरहरूले चेम्गाङ जेलभित्रै पनि पण्डित बाजेको इच्छानुसार स्वयंपाक्य खाने अनुमति दिएका थिए । त्यसैले षड़ानन्द बाजे जेलका सबैलाई खाना पकाएर खुवाउँथे र आफू पनि स्वयंपाक्य खान पाएर रमाउँथे । अझ आज त भोलिदेखि जेलबाट मुक्ति पाउने कुराले उनलाई कुत्कुत्याइरहेको थियो । विदाईको घड़ीमा अझ मिठो मिठो पकाएर खुवाई बन्दी मित्रहरूको सहानुभूति बटुल्ने आशामा बाजेको मनले हर्षको दीयो बाल्दैथ्यो ।
यसैबेला उनका मनमा एक्कासी पाँचवर्ष अघिको झल्को आयो । गाउँबाट उनलाई अन्यायपूर्वक गिरफ्तार गरिएको, नचाहिँदो आरोप थुपारेर ड्रूङपा छिमी दोर्जीको हत्यारालाई सघाएको अभियोग लगाइएको अनि बनावटी मुद्दामा गाउँका धेरै मान्छेका विरुद्ध बोल्न जबरजस्ती यातना दिँदै बाध्य बनाइएको कुरो उनको मनसपटलमा सिनेमाको रिल झैं घुम्यो । उनले गाउँबाट आफूलाई सेनाले पक्राउ गर्ने सिलसिलामा कुटेर थिल्थिलो पारेको, औंलाका नंगहरूमा सियो गाड़ेर कायल गराइएको, जिब्रोमा आगोले झोसेर झूटलाई सत्य बनाई बयान दिन लगाइएका कुरा, जाड़ो यामको मध्यमा चिसो र गर्मी याममा तातो पानीभित्र डुबाउँदै विद्धुत तरंग लगाएर यातनाको पाशविकता दर्शाइएको कुरा सबै सम्झे ! सेनाले कोर्रा बर्साएर घाउ नै घाउ बनेको आफ्नो ढाड़ सुम्सुम्याइदिँदै, घाउका पाप्रा उक्काउँदै डाँड़ागाउँको रसाइली कान्छाले जेलभित्र मह्लम-मालिस गरिदिएको सम्झेर पण्डित बाजे बेला बिताएरै भए पनि आज तरक्क रोए । आखिर जातैले मान्छेलाई कहाँ तलमाथि बनाउँदो रहेछ र-मानवीय सहृदयता भए त सबै उस्तै रहेछन् ! बाजेलाई यो कुराको ज्ञान प्रशस्त थियो तर, ज्ञानले उनीभित्रको अभिमान र घमण्डलाई जित्न चाहिं सकेकै थिएन ! गाउँमा आफ्नो सम्मानमा सबै मान्छे झुक्ने गरेका उनले सम्झे अनि गंगारामले आफ्नो अपमानसहित लौरोको मार चखाएको पनि सम्झे । गंगारामलाई सम्झनासाथ उनलाई पुरानो रिसको झोंक अहिले पनि उत्तिकै ताजा भयो ।
यता गंगारामलाई चेम्गाङ चलान गरिएकोले उसलाई लिएर आज एकजना पुलिस अफिसर जेलको रसोई घर-आसपासबाटै जेलतिर आयो । रसोईघरमा हतारिँदै बन्दी भतेरको तयारीमा लागेका षड़ानन्द पण्डितले गंगारामलाई देखे अनि गंगारामले पनि । महाभारत कथामा भीष्म पितामहले दूर्योधनको अधिपत्यमा बसेर नूनको सोझो गरेका थिए रे ! पाण्डवपक्ष सत्यवादी र जीतका हकदार भएको थाहा पाएरै पनि पितामहले दुर्योधनका लागि राजगद्दी जोगाउन पाण्डवविरुद्ध लड़ेझैं पण्डित बाजेले पनि निरंकुशताको सखिलो हुन तीन हात उफ्रिएर पुलिस अफिसरसमक्ष भने-‘‘ड्रुङपा छिमी दोर्जीको खास हत्यारा त यही हो नि डासू, मैले खूदै देखेको । यही गंगेले मारेको छिमी दोर्जीलाई । गोली हान्ने मूल मान्छे यही हो ।’’
बाजेका कुरा सुनेर गंगारामको होस उड्यो । सोच्यो उसले-उशृङ्खल युवाहरूको संगत लागेर आफ्नो मातृस्थल हेर्न आउँदा कताको अनाहक हत्या अभियोगमा फँसियो । उसलाई थाहा थियो हत्यामा पण्डित बाजे जति निर्दोष छन् उ स्वयं पनि उतिकै निर्दोष छ । तर बाजेले वाहियातमा फँसाउने कुरा गरेपछि गंगारामले पनि जुक्ति सोच्यो ।
अफिसरले सोध्यो गंगारामलाई-‘‘ओई गांगाराम, के भन्छो यो बाजे, कुरा ठिकी हो कि ?’’
होइन भनम् भने नतिजा के हुन्छ भन्ने हिरासतमै राम्ररी बुझिसकेर आएको गंगारामले ‘होइन’को सट्टा ‘हो’ नै भन्यो । अफिसर लेख्तै गयो ऊ भन्दै गयो-‘‘सन् १९९१ को मध्यतिर एक दिन, गेलेफू बजारबाट घरफिर्दा रात परेपछि गंगाराम टुप्लुक्क पण्डितको घरमा बास माग्न पुगेको थियो । पाहुनालाई सत्कार गरिवरि पण्डित बाजेले राति गंगारामसित कुरा गरे -भोलि गाउँमा जनताका घर-घरमा आगो लगाउन ड्रुङपा छिमी दोर्जीको भ्रमण हुँदैछ, बाटो ढुकेर बस्नुपर्छ । मौका पर्नेसाथ फायरिङ आक्रमण गर्नुपर्छ । ‘फायरिङ भनेको के नि?’ गंगारामले उत्सुकतावश सोध्यो । पण्डित बाजेले भने-‘फायरिङ भन्या बन्दुक पड़काउने । गाउँमा सरकारले लाइसेन्स दिएको शिकार खेल्ने भरुवा बन्दुक हुन्छ निः, त्यसबाट फायरिङ गर्ने भनेको ।’ यदि सोचे अनुसार योजना सफल भए पण्डितले पाँच सय रुपियाँ बक्सिस दिने कबुलसमेत गरेपछि मैले ड्रूङपालाई गोली हानेको हुँ ।’’ गंगारामले यसरी बयान फेर्यो तर, सरकारको स्वार्थलाभमा । त्यसैले उसले बयान फेरेकोमा प्रशासनको पक्षबाट कुनै आपत्ति आएन । नत्र बयान फेरेकै कारण उनसले धेरै सास्ती खेप्नुपर्ने थियो । आफू बन्दुकको निशानेबाज भएको बयान त दियो गंगारामले यद्यपि वास्तविकतामा उसले विस्फोटक बन्दुक कता समाएर पढ्काउनुपर्छ भन्नेसमेत जानेको थिएन भन्थे उसलाई चिन्नेहरू ।
गंगारामको बयानपछि आफूले प्रोमोशन पाउने आशामा खुशी भएको पुलिस अफिसरले कार्यालयमा लगेर रिपोर्टसहित बुझायो । अलैंची चोरीको अभियोगमा पक्रा परेको गंगाराम अब सरकारी कर्मचारीको हत्या अभियोगमा थुना पर्यो । लामो कारावास यातनापछि मुक्त हुन लागेका षड़ानन्द पण्डित पनि हत्याको योजनाकारका रूपमा पुनः १२ वर्षका लागि थुनामा परे ।
थप १२ वर्षको कारावासपछि मुक्त हुनलाग्दा षड़ानन्द पण्डितलाई आफूले गंगारामलाई उहिलेको इवीमा फँसाएकोमा सारै पछुतो पनि लाग्यो । रोई-कराई गरेर गंगारामलाई कैदमुक्त गराउन उनलाई मनलाग्यो तर, पण्डितको मनभित्रको करुणगाथा कसैले सुनेन, बुझेन । गंगारामको माया लाग्यो उनलाई तर, गर्न केही सकेनन् । खास्सै गंगेले हत्या गरेको होइन ड्रुङ्पा छिमी दोर्जीको, ऊ पनि अरू गाउँलेजस्तै सोझो थियो भन्न उनलाई मनलाग्यो । तर, फेरि कतिवर्षको कैदमा फर्किनुपर्ला भन्ने त्रासले उनलाई त्यसो गर्न दिएन, उनी रोकिए ।
सबैले पण्डित भनेरै चिन्ने भए पनि पेशामा उनी किसानी र पुरोहित्याइँ नै गर्थे । धेरै यजमानकहाँ जाने र सबै क्षेत्रमा सम्पर्क रहेका कारण आखिर पण्डितलाई अरू गाउँलेको तुलनामा धेरै कुरा थाहा हुन्थ्यो नै । शिविरमा रहेका पण्डित षड़ानन्दका आफन्तहरू उनीबारे कुरा चल्दा भन्थे-षड़ानन्द पण्डितले हामीलाई कहिल्यै नसुनेका कुरा सुनाउँथे । समाचारको एकमात्र आधार उनी नै थिए हाम्रो लागि । उनले सुनाएका सन्देशअनुसार ड्रूङपा छिमी दोर्जीको हत्या हुँदाताका देशमा अदेख सरकारको बोलावाला निकै बढेको थियो ।
अदेख सरकारका सेनाहरू रातमा आएर गाउँमा मनमौजी गरी फर्कन्थे अनि दिनमा देख सरकारका सेना आएर गाउँलाई नै अराजक, देशद्रोहीको आरोप लगाउँदै समातेर लान्थ्यो । मानौं त्यतिबेला सरकार भनेको ‘‘आफैं बोक्सी आफैं झाँक्री’’ भन्ने उखानलाई चरितार्थ गर्ने खालको थियो । खासखुस चलेका कुरा अनुसार सिब्सुका ड्रुङपा ल्हाक्पा दोर्जीलाई छिमेकी दार्जीलिङमा गोर्खाल्याण्ड आन्दोलनको बोलवाला रहेको कारण सिब्सुतिर नेपालीभाषीहरूमाथि दमन मच्चाउन निकै कठिन भइरहेको थियो । यद्धपि उनले गर्नसम्म गरिसकेकै थिए ।
त्यसैले सीमान्तर भारतको दार्जीलिङ जिल्लाबाट कुनैदिन आफूमाथि दमनको बदला हुने सम्भावनादेखि डराएर उनी अन्य जिल्लातिर सरुवा मागिरहेका थिए । तर, सरकारले दक्षता परीक्षणको रूपमा उनलाई दक्षिण भूटानमा कायम गरेको थियो । त्यतिबेला ल्हाक्पाको रोजाईमा सर्भाङको उपजिल्ला गेलेफू नै रहेको कुरा पण्डित बाजेले सुनेका थिए । यता पदासीन उपजिल्लाधिकारी छिमी दोर्जीले आफ्नो कार्यक्षेत्र कुनै हालतमा नछोड़्ने अड्डी लिएका थिए । त्यसै क्रममा ल्हाक्पा दोर्जीले आफ्ना प्रायोजित हत्याराहरू प्रयोग गरी छिमी दोर्जीको हत्या गराएर उनको स्थान आफूले लिएको कुरा जिल्लाका केही कर्मचारीहरूबाटै पण्डितले सुनेका थिए । तर, यो कुरा खुल्ला रूपमा बाहिर ल्याउने आँट त कसैमा पनि थिएन ।
त्यसताक दक्षिण भूटानका विभिन्न गाउँहरूमा ल्हाक्पा दोर्जी र उनका मतियारहरूले सैनिककै भेषमा भिजिलान्ते समूहहरू गठन गरी क्रियाशील राखेको कुरा गाइँगुईं चल्दैथ्यो । यी भिजिलान्तेहरूलाई मनपरी गराउने र गाउँका सोझा नागरिकलाई ती कारबाहीको दोष बोकाउने सरकारी अभियान चलिरहेकै थियो । छिमी दोर्जीको हत्या हुन अघिल्लो रात पनि सेनाको भेषमा थुप्रै मान्छेहरू आएर षड़ानन्द पण्डितको घरमा धुमतमास मच्चाए । पण्डित बाजेको मानसपटलमा विगतको घटना झल्झली प्रतिविम्बित भयो । त्यो साँझ बाल्टीको दूध, हर्पेको घ्यू, ठेकीको दही, सबै खाने कुरा खाएर, भण्डारको अन्न छरेर, घर भत्काइदिएर, गोठमा बाँधेका पशुलाई कतै खुट्टा काटिदिएर बिथोल्दै ती सरकारी नरपशुहरूले आतंक मच्चाएका थिए । हिन्नेबेला उनीहरूले भोलिपल्ट पनि खाने कुरा पकाएर ठिक्क राख्न भन्दै पण्डितकी श्रीमतीलाई सैन्यशिविरमा भात पकाउने कामदारको रूपमा पठाउनसमेत आदेश दिएका थिए । त्यसैको भोलिपल्ट छिमी दोर्जीको रहस्यमयी हत्या भयो ।
ल्हाक्पा दोर्जीको व्यक्तिगत योजनानुसार स्वः छिमी दोर्जीको जिल्लामा उनी पदस्थापित पनि भए । त्यसपछि लगातार रूपमा सिब्सुमा चलाएको हैकम गेलेफूमा पनि ल्हाक्पाले दोहोर्याए । असंख्य भूटानी नागरिकहरूलाई उनले देशबाट पाखा लगाए । अधिकांश जानकारहरू यसै भन्थे- आफ्नो कार्यक्षेत्रमा मात्र होइन, देशका जुनसुकै भागमा ‘‘न्याय- स्वतन्त्रता’’ भन्ने शब्द सुन्नमा आए त्यो उच्चारण गर्ने व्यक्तिलाई नै समाप्त पार्न थिम्पूको अदृश्य सरकारले ल्हाक्पालाई प्रयोग गर्थ्यो । नभन्दै गोलेफूमा उच्च दक्षताका साथ जनता लखेट्ने काम सिध्याएपछि ल्हाक्पा सन् १९९७ तिर पूर्वी भूटानको नागरिक स्वतान्त्रता आन्दोलनमा अगुवा बनेका ल्हामा गोम्छेन कर्माको हत्यामा पनि संलग्न भए । देशका सर्वसाधारण नागरिक अधिकांशलाई थाहा थियो, ल्हाक्पाले जति अन्यायको शृङ्खला मच्चायो सरकारले उसलाई अझ प्रोत्साहित गर्दै लग्यो ।
सन् १९६० कै दशकमा शुरु भएको पूर्व राजा जिग्मे सिंगेको वंशज र मावली दोर्जी खलकबीचको दरवारीय द्वन्द आजसम्मै देशको राजनीतिमा हावी भइरहेको कुरा अलि अलि पण्डित बाजेले पनि आफ्ना बाबु धरणीधर उपाध्यायबाट सुनेर बुझेकै थिए । ‘यसैको परिणतीमा आज देश डुब्दै गएको छ, यसको कसैलाई मतलब छैन’-पण्डित बाजे मनमनै भन्थे । यथार्थ एकातिर यस्तो हुँदाहुँदै आफूले सरकारको सखिलो हुन गंगारामलाई फँसाएको कुरामा उनी सारै खिन्न भए, मनमनै लज्जित भए ।
जेलबाट घर फिर्दा पण्डितले थाहा पाए- आफ्नो श्री सम्पत्ति सरकारले जफत गरी अर्कैलाई दिइसकेको रहेछ । आफू जेल गएपछि वर्षौंदेखि स्वास्नी र छोराछोरी अर्काकै ग्वालीमा बास मागेर दिन-रात काट्दै रहेछन् । आफ्नै जस्तो छिमेकी लिम्बू काका, रने राई, श्याङदेन कान्छा र मिजार अन्तरेको जमीनमा पनि अरु नै नचिनेका मान्छेहरू आएर बसेको पण्डितले देखे । पण्डित घर आए भन्ने सुनेर स्याँ स्याँ गर्दै दौड़ेर आएको बाघमारे कार्कीले हतार हतार भन्यो –‘‘लिम्बू काकाको कान्छो छोरोलाई आर्मीले मार्यो, उनीहरू कता गए थाहा भएन, रने राईकी स्वास्नीलाई आर्मीले र्याप हो कि के गर्यो भन्थे, भोलिपल्ट गाउँलेहरू लाशमात्र भेटे । रनेलाई वाङ्दीको जेलमा राखेको छ भन्ने हल्ला गाउँमा चलेको छ, तर सही कुरो त कसैलाई थाहा छैन । श्याङदेन कान्छाको परिवार मालिभिट्टाको पिप्ला महाजनकोमा पाहुना बसेका थिए रे केही दिन, त्यसपछि कता गए, जानकारी छैन ।’’ यति कुरा साउतीमा भनिसकेर बाघमारे लुसुक्क बाटो लाग्यो । गाउँ एउटैजस्तो भए पनि देशको अन्तर्राष्ट्रिय सिमाना नाघेर आएको कार्की बेलैमा फिर्ती सीमा नकटे भरे सेनाले बित्यास पार्ला भन्ने डर थियो । किनकि देशको हिसाबले भारतीय नागरिक भएर पनि सामाजिक, सांस्कृतिक नाता र जातीय तादाम्यले ऊ र पण्डित बाजे, रने राई र अरुहरूसित कुनै पार्थक्य थिएन, समानता थियो । सबै एक घरका परिवार झैं थिए । बाघमारे कार्कीका यति कुरा सुनेपछि ती सबै भूटानीहरू कहाँ गए भन्ने प्रष्ट नभए पनि पण्डितले अनुमान गरे । सुनेकै भरमा उनको दिमागमा नेपालका शिविरहरूको कल्पना फुर्यो ।
यति हुँदाहुँदै पनि झिनो इवी लिएर आफ्नै मान्छे गंगाराम ढकालका विरुद्ध चम्चागिरी गरेको अपगालबाट बाँच्न उनले शिविरतिर नआउने अठोट गरे । जेलबाट छुटेर उनले जतिसुकै दमन र अत्याचार सहेर, अर्काकैमा रोजगारी पेशा, मजदूरी गरेर पनि भूटानमै बस्ने अठोट लिए । उनको यो अठोटभित्र अगाध राष्ट्रप्रेम पनि मुछिएकै थियो । तर, जे भए एकपटक शिविरमा पुगेर गंगारामको परिवारलाई देख्ने-भेट्ने र आत्मग्लानीबाट मुक्त हुने सोच उनले बनाए । गंगारामलाई हत्या अभियोगमा फँसाएर आफूले ठूलो अपराध गरेको स्वीकार गर्दै उनले बेल्डाँगी १ शिविर-सेक्टर ईको भ्रमण गरी ढकाल परिवारसित भेटघाट गरे । तर, दुर्भाग्य भनौं कि नियति, पण्डित षड़ानन्दले आफ्नै गाउँले पुरोहित ढकाल बाजेलाई शिविरमा भेटेनन् । ढकाल बाजे कान्छो छोरो गंगारामको वियोगमा धेरै वर्ष तड़्पिएर यमराजको प्यारो भैसकेका थिए । आफ्नै हितैषी दौंतरी ढकाल बाजेको मृत्युशोकमा षड़ानन्द पण्डित ढिलै भए पनि धेरैबेर रोइरहे । ढकाल परिवारका सदस्यहरूलाई चेम्गाङ जेलमा पुगेर गंगारामलाई भेट्न आग्रह गरीवरि उनी देश फिरे ।
आज शिविरमा रहेका ढकाल दाजु-भाइ र परिवारहरू क्यानाडा र अमेरिकामा छरिएका छन् भने गंगाराम चेम्गाङ जेलमै कथित अपराधको सजाय भोग्दै मुक्तिको प्रतीक्षा गरिरहेको छ । षड़ानन्द पण्डितको जेठो छोरो गोविन्दप्रसाद देशविरोधीहरूलाई सहायता गरेको कथित अभियोगमा जन्मजेल परेको छ । उनका अरु छोराहरूलाई ‘एनओसी’ नपाएका कारण पढ्न दिइएन । उनकी श्रीमती यही पीरले पोहोर साल मरिन् रे । पण्डित षड़ानन्दका शिविरमा रहेका आफन्तहरूको कुरा अनुसार उनले श्रीमतीको उपचार गराउन धेरै प्रयत्न गरे । शरणार्थी पुनर्वाश कार्यक्रम अन्तर्गत अष्ट्रेलिया पुगेकी पण्डितकी भाञ्जी यशोदाले माइजूको उपचारका लागि भनेर केही रकम पठाइदिइन् । नोर्वे र डेनमार्कबाट पनि पण्डितका आफन्तहरूले उनलाई आर्थिक सहयोग गर्ने वचन दिए । तर एकपटक देशद्रोहको अभियोगमा जेल परेको मानिसले विदेशबाट आएको पैसा भूटानको कुनै ब्यांकबाट झिक्न नपाउने कुरा पण्डित बाजेले सुने । त्यस्ता मानिसका घरमा सरकारी सिफारिसबिना स्वास्थ्योपचार पनि नहुने कुरा जनाएर सरकारी दफ्तरबाट उनलाई पत्रसमेत आयो । यसपछि जर्मनी र नेदरल्याण्डमा पुनर्स्थापित भूटानीहरूको समूहले पण्डित बाजेको पक्षमा न्यायिक वकालतको बन्दोबस्त मिलाउने र उनकी श्रीमतीको उपचारको प्रबन्ध गरिदिने आश्वासनसमेत दियो तर, बुझेर हो या नबुझेर-बाजेले यस कुराप्रति कुनै चासो राखेनन् । त्यतिकै हैरान भए पण्डित बाजे, भन्थे मानिसहरू, ‘सास रहेसम्म आश रहन्छ ।’ तर पण्डितले श्रीमतीलाई सास हुँदै मनबाट विदा गरिसकेका थिए । आखिर पण्डित दम्पतिको वियोगान्त यात्रा कसैले रोकेर रोकिएन । उनकी श्रीमतीले उनलाई छोड़ेर गइन् । मर्नेबेला पण्डितनी बज्यैले जेठो छोरो गोबिन्दलाई धेरैपटक बोलाइन् रे…तर, उनको रोदनपूर्ण पुकार न गोबिन्दले सुन्यो न त कैदखानाको यातनाले गोबिन्द चिच्याएको आवाज काल पर्खिएकी बज्यैले नै सुनिन् ।
यस्ता कैयौं हण्डर खाए पण्डित बाजेले । तथापि, षड़ानन्द पण्डित अनेकौं दमन र प्रताड़्नाहरू सहँदै, कथित प्रजातन्त्रको अमूर्त नक्शा हेर्दै देश नामको सन्दुकभित्रै बसिरहे । भरखरै उनले अमेरिकातिर उड़्नलागेका शिविरका आफन्तलाई पठाएको समाचारको एक अंश देशबाहिरका विभिन्न सञ्चारमाध्यममा यसरी सार्वजनिक भयो-‘‘मेरा आँखाबाट बगेका आँसुका धाराले सुखसित भुइँमा झरेर बिलाउने स्वतन्त्रता पनि पाएनन् । मेरै माटोमा मेरो आँसुले सिञ्चित हुने अधिकार पनि पाएन ! ‘राष्ट्रिय खुशीयाली’ अंकित वाटरप्रुफ ट्रेडमार्कको झण्डा ओछ्याएर मेरो आँसुलाई माथि नै अल्झाइएको छ । म यतिबेला आडम्बरी राष्ट्रिय खुशियालीको सन्दुकभित्र परिवारबाटै वियोगान्त नुनिलो आँसु पिएर रुञ्चे हाँसो हाँसिरहेको छु !’’
यो लेख हेर्दा सारै खुसि लागो. मैले पदी सक्न बाकि छ. पुन आफ्नु विचार लेखिने छ,
Yo Katha katha ho ki byatha ho ? Malai Chai Desh Dukheko
byatha jasto lagyo…
तपै को अनुभवनई धरेहुनले गर्दा होला सारे रम्रो…….
राम्रो लेख अनी यथार्थ/
यतार्थ अनि बास्तबिकता भित्र सन्दुक साचै खुलेको छ/काल्पनिक भन्दा पनि बास्तबिकता को झझल्को प्रतिबिम्बित छ/अन्य श्रीजना हरु पनि पदन पाउ/
तपाइको रचना राम्रो लग्यो | यसलाई थोरै विचार वा छोटो कुरोले समेट्न निश्चय नै सकिन्न | घटनाले वास्तविकता समेटेको छ | वास्तविकताको गोरेटोमा हिड्ने तपाइको कलमको गति अघि बढी रहोस,
हार्दिक शुभेच्छा ब्यक्त गर्दछु |
सुशील पोखरेल
तपाईंको कलमले यथर्ता पस्केछ – धन्यवाद ।
लोप हुँदै गरेको यथर्ता ईतिहासलाई रचनामा उतारेर पर्दफाँस गर्नु भएकोमा पनि धन्यवाद ।
तपाईंको कलमम! अज धेरै सक्ती जागोस – शुभकामना !!