राष्ट्रिय दिवस !

Also called by Yati Raj Nyaupane, Yati Raj Ajnabee is an enthusiast of letters who had to leave his parents, siblings and his homeland in the first year of his teens in 1992. He, who was born in Surey, a village in Southern Bhutan, has been living in Australia since September 2008. The chap is convinced that the language and literature of a community reflect how far it has reached in the road to civilization. According to his inner man, underlining promotion and preservation of culture, language and literature in a foreign country when an exodus leaves its indigenous locale for keeps, is so tough and testing that it turns out to be a knack if one does well in doing so. He can be contacted at yrajanabee@gmail.com.

राष्ट्रिय दिवस !
म त्यो आतेस लाग्दो अतीत बिर्सन सक्दिनँ
बिर्सेको जस्तो गर्न पनि सक्दिनँ
बिर्सनु पर्छ भनेर जबरजस्ती अर्कालाई भन्न पनि सक्दिनँ
मसँग मस्तिष्क नभए नि मन छ
चेतना नभए नि चेत छ
विवेचना नभए नि वेदना छ
संवेदना छ
लेख्न-पढ्न पाइनँ मेरो भाषा बोल्न पाइनँ र म बहुलाएँ
जलायो उसले दौरा-चोलो र मैले उसको गो-किरा जलाएँ
मलाई माफ गर यार
मेरो भाषाले पनि त्यहाँको राष्ट्रिय भाषाको मान्यता नपाएसम्म
त्यो भाषालाई म राष्ट्रिय भाषा ठान्न सक्दिनँ !
यौटा जातीको पोसाकलाई म राष्ट्रिय पोसाक मान्न सक्दिनँ !
जलाएँ जुन हातले हिजो आज तीनै हातले गो-किरा लाउन सक्दिनँ !
म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय झन्डा उचाल्न सक्दिनँ !
म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय गीत गाउन सक्दिनँ !
म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय दिवस मनाउन सक्दिनँ !
यताको नुन खाएर उता खुन बगाउन सक्दिनँ !
उताको चुन खाएर यता थुकी मैल्याउन सक्दिनँ !
यताको थुन चुसेर उताको गाईको गुन गाउन सक्दिनँ !
उताको धुन, भजन मञ्चमा यताको गिटारमा बजाउन सक्दिनँ !
यताको जून हेरेर उताको अन्धकार बिर्सिने कसैलाई म सम्झाउन सक्दिनँ !

तिमीले भन्ने राष्ट्रिय पोसाक छ नि गो-किरा
त्यो राष्ट्रिय पोसाक होइन
यौटा जातीय पोसाक हो
याद गर यार राष्ट्रको कुनै पोसाक हुँदैन !
भौगोलिक विविधताले बनेको राष्ट्रमा जातीय अनेकता हुन्छ
त्यो त यौटा जातिको जातीय गीत हो राष्ट्रिय गीत होइन
राष्ट्रिय गीत त त्यो हुन्छ
जो राष्ट्रका सबै जातिको हुन्छ
जो प्रत्येक छातीको हुन्छ
जसले हरेक जातिको
हरेक राष्ट्रबासीको
हरेक राष्ट्रवादीको मर्म बोकेको हुन्छ
जसले राष्ट्रका सबै जातिलाई
बरोबर छुन्छ
बारम्बार छुन्छ

राष्ट्रिय दिवसमा राष्ट्रिय ध्वजा फरफराउन त
ध्वजावाहकको मन पनि फरफराउनु पर्छ
राष्ट्रिय दिवसमा राष्ट्रिय गीत गाउन त
गायकहरूले आफ्नो जातीय गीत पनि मुक्तकण्ठले गाउन पाउनु पर्छ
हामीले त आफैँले बनाएको देउरालीको फलैँचामा बसेर
सिलोक फलाक्न पनि पाइएन
आफ्नो भाका गाउन पनि पाइएन
आफ्नै ध्वजापताका लहराउन पनि पाइएन
आफ्नै आँगनमा च्याब्रुङ ठटाएर कम्मर भाँच्न पनि पाइएन
रोदीमा नाँच्न पनि पाइएन
मन लाग्दालाग्दै पनि खुम्च्याउनु पर्थ्यो मन
खुम्चिएको मन भएको मान्छेका हातले कसरी उठाउन सक्छ झन्डा?
आफ्नै गीत गाउन पनि हाम्रो ओठ थरथराउथ्यो
आफ्नै भाषा बोल्न पनि जिभ्रो लरबराउथ्यो
एक्लै एक्लै हाम्रो मुख बरबराउथ्यो

त्यसरी थरथराउने ओठले
त्यसरी लरबराउने जिभ्रोले
त्यसरी बरबराउने मुखले
कसरी गाउन सक्छ त्यो देशको राष्ट्रिय गीत?
गीत गाउन त ओठलाई स्वच्छन्दता चाहिन्छ
जिभ्रोलाई स्वाधीनता चाहिन्छ
मुखलाई वाक-स्वतन्त्रता चाहिन्छ
यस्तो जाबो कुरा पनि तिमीले कसरी नबुझेको यार?

अंग्रेज क्याटल फारमरले चौपाया चिन्न अङ्कको चिन्ह
तिनका अङ्गमा लगाएर वर्गीकृत गरे झैँ
त्यो राष्ट्रद्वारा सात नम्बरको बिल्ला बाँधिएको
हाँसको बथानभित्रको यौटा बकुल्लो हुँ म
हिजो शोषित भएको सर्वहारा हुँ म
उता उदाएर यता अस्ताएको तारा हुँ म
अराष्ट्रिय घोषित भएको गैर नागरिक हुँ म
नागरिकता खोसिएको अनागरिक हुँ म
हिजो मबाट जुन देशको राष्ट्रियता जफत गरिएको छ
आज त्यही देशको राष्ट्रिय दिवस कसरी मनाऊँ म?

हिजो तिमीले नै भन्यौ गाउँमा सरकारको सवारी हुँदैछ
सरकारका गोडा भए नि सरकार हिँड्न सक्नुहुन्न
सरकारका घोडा भए नि सरकार तिनमा चढ्नु हुन्न
सरकार सवारीमा सैर गर्नु हुन्छ
बाटो बनाउनु पर्छ
स्विकार्नु भन्दा अर्को बाटो मसँग थिएन
तिम्रै लहैलहैमा लागेर
आफ्नो जिन्दगीको गाडी बिसाएर
सरकारको गाडी कुदोस् भनेर
ढुङ्गा खोपेर
त्यसमा बारुदको गोला रोपेर
बाटो बनाउने क्रममा ‘बलास्टिन’ पड्काउँदा मेरा कान बहिरा भए
जिन्दगीभरि नपुरिने घाउ गहिरा भए
तर पनि ती कानमा प्रतिध्वनित भइरहन्छ प्रत्येक पल त्यही पल
तिम्रो कुरा सुन्दा लाग्थ्यो कि सरकार व्यक्ति हो
अहिले थाह पाउँदै छु होइन रहेछ
सरकार समूह वा झुण्ड पनि होइन रहेछ
कुनै अवस्था वा आस्था पनि होइन रहेछ
सरकार त जनताले बनाएको
जनताको हेरविचार गर्ने
जनताको उद्धार गर्ने
जनताको उपचार गर्ने
जनताकै सरोकार राख्ने संस्था पो हुँदोरहेछ
तिम्रो पछि लाग्दा नाथे यौटा शब्दको अर्थ बुझ्न मलाई आधा जुनी लाग्यो
तिम्रो कुरा सुन्दासुन्दै बहिरो भएको छु
अब सक्दिनँ म सुन्न राष्ट्रिय दिवस मनाउने सङ्करभाषी तिम्रो दोचारे कुरा
न सक्छु म सुन्न त्यही दिवसको तिम्रो सङ्करभाषण
सक्दिनँ म अब बादशाह, तानाशाह, चापलुसी, पाखण्डी,
हैकम चलाउने, दादागिरी गर्ने, दागा धड्ने कसैलाई मेरो डाढमा बोक्न
चाहन्न म अब कसैको दबाब वा/र प्रभावमा आएर मेरो प्रकृतिस्थ प्रवाह रोक्न
नुहाउन नपाएर म जिन्दगीभर गनाइरहेँ
चिलाइरहेको आफ्नो ढाड कनाउन छोडेर शासकलाई कनाइरहेँ
आफूलाई हमेसा शोषकलाई चुसाइरहेँ
म अब चाहन्छु नुहाउन न्यायका धाराबाट निरन्तर निष्पक्ष बगि रहने कञ्चन जलले
चाहन्न म अब पर्न पिँजडामा बुनेको कसैको कल, छल वा बलले

हिजो त्यही सरकारका भरौटेले मेरा पाता फर्काएर
मेरै अगाडि मेरी पत्नीको सतीत्व लुटे
हेर्न नसकी विह्वल भएर मैले पानी माग्दा मेरा मुखमा मुते
बाकसको चाबी नदिँदा मेरा नाबालक छोराछोरीलाई कुटे
बिनाकसुर झेल पर्दा मेरा आँखा त्यहीँ फुटे
म अन्धो भए नि मेरा स्मृति-चक्षुमा झलझलती छन् ती दृश्यहरू
अनि कसरी लाऊँ म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय पोसाक?
अनि कसरी बोलूँ म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय भाषा?
अनि कसरी उचालौँ म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय झण्डा?
अनि कसरी गाऊँ म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय गीत?
अनि कसरी मनाऊँ म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय दिवस?

धृतराष्ट्र भए नि मलाई
यो राष्ट्रले अन्तर्दृष्टि दिएको छ
पुनर्जन्म दिएको छ
सारा सृष्टि दिएको छ
मलाई त्यो राष्ट्रले सधैँ दोहन गर्यो
यो राष्ट्रले दान गरेको छ
मलाई टेकेर त्यो राष्ट्र सधैँ माथि उक्लिरह्यो
त्यो दमनले दुख्दा म रोएँ, कराएँ, चिच्याएँ
त्यो राष्ट्रले मलाई द्रोही भन्यो
देशद्रोही भन्यो विग्रही भन्यो विद्रोही भन्यो
कैल्यै नउठ्ने गरी लडेको मलाई
यो राष्ट्रले उसका औँला दिएको छ
तिनलाई समातेर म उठ्न खोजिरहेछु
यो राष्ट्रले मेरो आँसु पुछेको छ
त्यो राष्ट्रले गरेको रोधनबाट निस्केको मेरो रोदन सुनेको छ
मेरो काँध थपथपाएको छ
यसलाई त मैले केही पनि दिन सकेको छैन
मात्र धन्यवाद दिएको छु
तर ऊ मलाई तँ यो देशको भक्त होस् भन्छ
मेरो शरीरमा सधैँ दौडिने रक्त होस् भन्छ
सबै सरह तँ नागरिक सशक्त होस् भन्छ
तर पनि मलाई यो राष्ट्रको राष्ट्रिय दिवसको बारेमा थाह छैन
न यो राष्ट्रको राष्ट्रिय गीत गाउनै आउँछ मलाई
म मेरै व्यञ्जनले बनेको भोजन गर्छु
मेरै पोसाक धर्छु
आफ्नै धर्म मान्छु
यद्यपि यसले मलाई यहाँको राष्ट्रियता दिएको छ
नागरिकता दिएको छ

१७ डिसम्बर ङालोङ जातिको वाङचुक वंशको बीजारोपण भएको दिन हो
विविध जातिका जनताको शिरमा त्यो वंशको पदार्पण भएको दिन हो
शक्तिको आडमा शासक सत्तासीन भएको दिन हो
धर्मतन्त्र अस्ताएको दिन हो
राजतन्त्र उदाएको दिन हो
आफ्नो घरबार बनाउन छोडेर टासिछोजोङ दरबार कसले बनायो?
त्यो जङ्गल-घारी फाँडेर मङ्गलकारी कसले बनायो?
त्यो देश
हँसिया चलाएर जीविका चलाउने घँसीयाहरूले पनि बनाएका हुन्
गाडी गुडाउनेहरूले मात्र होइन हाँडी बनाउनेहरूले पनि बनाएका हुन्
पुस्तक घोक्नेहरूले मात्र होइन माटोमा पसिना पोख्नेहरूले पनि बनाएका हुन्
जुत्ता सिउनेहरूले, मोच्चा धुनेहरूले, झाडु समाउनेहरूले, डाडु बनाउनेहरूले
कपाल काट्नेहरूले, हलो ताछ्नेहरूले, लुगा टाल्नेहरूले, मुर्दा फाल्नेहरूले
जाँतो घुमाउनेहरूले, बातो काड्नेहारूले, डिकी कुट्नेहरूले, गिट्टी चुट्नेहरूले
जमिन जोत्नेहरूले, घर पोत्नेहरूले, बाङचुङ बुन्नेहरूले, तेगो तुन्नेहरूले
चौँरी चराउनेहरूले, शासकको डरले बाघ-भालुसँग नडराउनेहरूले
धुप्पी धुँवाउनेहरूले, टुप्पी घुमाउनेहरूले
बाटो बनाउँदा भीरबाट गिर्नेहरूले, खरखजाना तिर्नेहरूले पनि बनाएका हुन्
त्यो देश सबै सबैको दानले, योगदानले
तिनिहरूको ध्यानले र बलिदानले बनाएको हो

जबसम्म प्राणवायु हुन्छ तबसम्म सबैको आ-आफ्नो आयु हुन्छ
त्यो राष्ट्रमा अब त्यो नक्कली प्रजातन्त्र होइन सक्कली लोकतन्त्र चाहिएको छ
शक्तिमान् शासकको भक्ति गान होइन सबैले जप्न सक्ने उभयनिष्ठ मूलमन्त्र चाहिएको छ
जनताको नाउँमा कुनै षडयन्त्र होइन देशको विकास, निकास र निसाफको लागी
बस अब यही यौटा संयन्त्र चाहिएको छ
मात्र यही संयन्त्र चाहिएको छ
अनि किन १७ डिसम्बरलाई राष्ट्रिय दिवस मान्ने?
अब सबैलाई मान्य हुने
कोही पनि नरुने
राष्ट्रिय दिवस छान्ने!
तिमी मेरै बन्धुबान्धव थियौ त्यसैले होला सायद तिमीले
उचालेको त्यो झन्डाले, बोलेको त्यो भाषाले
गाएको त्यो गीतले, लाएको त्यो बक्खुले
मनाएको त्यो दिवसले खाटा बस्न लागेको घाउ बल्झाउँछ
नुनचुक बनेर चहर्याउँछ
टाढा कतै हरपल हिँड्न खोज्ने मेरा खुट्टाहरू अल्झाउँछ
म कुनै परदेशीलाई, परचक्रीलाई, अपरिचितलाई थबक्कै भाइ
थपक्कै सम्झन सक्छु
म यस्तो गद्दारलाई, कुलाङ्गारलाई, सहोदरलाई बरु चटक्कै बिर्सन सक्छु
तर म समाजको कुष्ठलाई समुदायको दुष्टलाई भाइ भन्न सक्दिनँ !
म यस्तो कोढीलाई कौढीमा पनि गन्न सक्दिनँ !

अहँ म त्यो आतेस लाग्दो अतीत बिलकुल बिर्सिन सक्दिनँ
बिर्सेको जस्तो गर्न पनि पटक्कै सक्दिनँ
बिर्सनु पर्छ भनेर जबरजस्ती अर्कालाई भन्न पनि ठ्याम्मै सक्दिनँ
मसँग मस्तिष्क नभए नि मन छ
चेतना नभए नि चेत छ
विवेचना नभए नि वेदना छ संवेदना छ
लेख्न-पढ्न पाइनँ मेरो भाषा बोल्न पाइनँ र म बहुलाएँ
जलायो उसले दौरा-चोलो र मैले उसको गो-किरा जलाएँ
मलाई माफ गर यार
मेरो भाषाले पनि त्यहाँको राष्ट्रिय भाषाको मान्यता नपाए सम्म
त्यो भाषालाई म राष्ट्रिय भाषा ठान्न सक्दिनँ !
यौटा जातीको पोसाकलाई म राष्ट्रिय पोसाक मान्न सक्दिनँ !
जलाएँ जुन हातले हिजो आज तीनै हातले गो-किरा लाउन सक्दिनँ !
म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय झन्डा उचाल्न सक्दिनँ !
म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय गीत गाउन सक्दिनँ !
म यो राष्ट्रमा त्यो राष्ट्रको राष्ट्रिय दिवस मनाउन सक्दिनँ !
यताको नुन खाएर उता खुन बगाउन सक्दिनँ !
उताको चुन खाएर यता थुकी मैल्याउन सक्दिनँ !
यताको थुन चुसेर उताको गाईको गुन गाउन सक्दिनँ !
उताको धुन, भजन यताको मञ्चमा, गिटारमा बजाउन सक्दिनँ !
यताको जून हेरेर उताको अन्धकार बिर्सिने कसैलाई म सम्झाउन सक्दिनँ !

[कवि अजनबीले आफ्नो ब्लगमा प्रकाशित गर्नुभएको यो कविता कविको अनुमति लिएर यहाँ प्रकाशित गरिएकोछ – संपादक]

Leave a Reply

Your email address will not be published. Required fields are marked *