रिक्सावाल, महिला र टिनको घर

शुकदेव अधिकारी
ओहाइयो, अमेरिका

“रिक्सा !” चोकको मौनतामाथि अचानक हमला गर्छ एक टुक्रा आवाज । तरङ्गिछ हावामा । ठोकिन्छ एक रिक्सावालाका कानमा । बोल्छ रिक्सावाला “कहाँ जानुहुन्छ ?”

“राधाकृष्ण मन्दिर” तयारी उत्तर हाम फाल्छ महिलाका मुखबाट ।

“बस्नोस्” बोल्यो रिक्सावाल ।

बसिन् महिला रिक्सामा । उनी पहिलो चोटि जाँदै छिन् राधाकृष्ण मन्दिर । आज भाइ टीका । बजार बन्दछ । पसल विरलै खुलेका छन् ।

आज भाइ टीका छ बजारमा वा बजार भाइटिकामा छ ।

बग्छ रिक्सा काले पत्रेमा । सधैँ व्यस्त रहने सडक फुर्सदिलो छ आज । “दिदीको घर कहाँ नि <” बोल्छ रिक्सावाला । ऊ बोलक्कड छ । उसका रिक्सामा सवार जो कोही पनि उसको मिजासिलोपनको साथी बन्छ नै ।

“यही इटहरी–१ मा हो । पूर्वलाइनमा किराना पसल छ ।” बोलिन् महिला ।

“कुन पसल ?” “मिनाक्षी किराना पसल ।”

“ए त्यो पसलमा त म धेरै चोटि गएको छु । सहरको सबै भन्दा ठुलो किराना पसल हो त्यो । लाखौँको सामान चल्छ दिनमा । त्यहाँको साहुजी त धेरै राम्रो मान्छे हुनुहुन्छ । उधारो पनि खाएको छु मैले धेरै पटक त्यहाँको । उहाँ मलाई राम्रोसँग चिन्नुहुन्छ ।” गफियो मजदुर ।

“होला” सम्भावनाको समर्थन जनाइन् महिलाले ।

“अनि तपाइको आफ्नो भाइ छैन र ?”

“खोइ छैन कसरी भन्ने अनि छ पनि कसरी भन्ने । मेरो भाइ थियो तर हरायो सानैमा ।” पोको फुकाइन् महिलाले अतीतको ।

“हरायो ! कसरी ? ” अझ जिज्ञासु बन्छ रिक्सावाला ।

मौनता रमायो रिक्सामा केही बेर ।

पोखिइन् महिला भरिएर । पल्टाइन् पाना अतीतका । पढ्न थालिन् अक्षरहरू “हाम्रो घर भोजपुरको रानीटारमा थियो । हाम्रा बा गाउँका नामुक पण्डित थिए । खान–लाउन कुनै समस्या थिएन हामी काँ । पण्डित बा भनेपछि सानै अर्को हुन्थ्यो गाउँमा । हामी दुई दिदी–बहिनी र एउटा भाइ थियौँ उनका सन्तति । गाउँमा राम्रै सम्मान हुन्थ्यो हाम्रो पनि बाका नाउँले । बा हामीलाई भन्दा भाइलाई धेरै माया गर्नुहुन्थ्यो ।”

राधाकृष्ण मन्दिर आइपुग्यो अनि काटियो तर रिक्सा रोकिएन । बग्यो एकनासले बिना कुनै अवरोध । मन्दिर आइपुगेको कुश बताउँदैन रिक्सावाल ।

हरायो ऊ महिलाको अतीतमा ।

उनी सुनाउँदै छिन् – ऊ सुन्दै छ ।

“आज भन्दा बाइस वर्ष अघि आजकै दिन घरमा धूमधामसँग तयारी थियो भाइटिकाको । सयपत्री हाँसेका थिए नाङलामा माला बनेर । सेलरोटी खातिएका थिए डालामा । बा व्यस्त हुनुहुन्थ्यो पूजापाठमा ।”

छिमेकीका आँगनमा मच्चिएको थियो जुवा । धुर्वेले झिकेछ पाँच रुपियाँ बाका खल्तीबाट । बसेछ जुवामा । बाले बोलाएर एक चड्कन लगाउनु भयो । ऊ रुँदै भित्र पस्यो । निस्कियो बाहिर केही बेरमै उसको सानो झोला लिएर । त्यस बेला तेह्रवर्षको थियो ऊ । उसका सामान राख्थ्यो ऊ त्यै झोलामा ।

ऊ ओर्लियो सिकुवाबाट आँगनमा । हेरेन कसैको अनुहार । झर्‍यो ओरालो ढुङ्गाका खुड्किलाहरू नाङदै । आमा पछि लाग्नु भो कराउँदै । केही सीप लागेन । आमालाई धेरै टाढा छोडेर छिचोल्यो उसले गाउँको पुछार । तर्‍यो खोला । समात्यो जङ्गलको बाटो ।

म र बहिनी गएर फकायौँ आमालाई घर ।

बा भन्नुहुन्थ्यो केही बेर पछि फर्कन्छ ऊ ।

हामी टीका तयार गरेर पर्खिरह्यौ । घण्टौँ बित्यो घाम ओरालो लाग्यो तर ऊ फर्केन । बिस्तारै पश्चिमी पहाडले घामलाई निल्दै गयो । घरमा पनि आँखा नभिजाई सकेनौ रहन ।

“म लिएर आउँछु त्यसलाई । नाथेले ठुलै इख पो बोकेछ । फेरि त्यसो नगरोस् भनेर प्याट्ट पारेथे त ।” सान्त्वनाको स्वरमा बोल्दै डिँड्नुभो बा । छिचोल्नु भो गाउँ । तर्नु भो खोला । पस्नु भो जङ्गल ।

साँझ पस्यो घरभित्र । हामी बस्यौँ प्रतीक्षामा । राति नौबजेतिर फर्कनु भो बा तर एकलै । ‘जङ्गल कटिसकेछ क्यार, कतै भेटिएन ।’ मलिन आवाज निस्कियो बाका मुखबाट ।

कंड्कलो स्वरमा रूबासी चल्यो घरमा । छिमेकीहरू भेला भए । वास्तविकता थाहा पाए । बोले ढाडसको भाषा “चिन्ता लिइहाल्नु पर्दैन । त्यै पल्लो गाउँतिर होला । भोलि खोजेर फर्काउँला ।”

हामी कोही पनि सुत्न सकेनौँ रातभरि । आमा कहिले रुनुहुन्थ्यो त कहिले गाली गर्नुहुन्थ्यो बालाई ।

यत्तिकैमा चिप्लियो रात । बास्यो भाले गाउँमा ।

दुई जना छिमेकी दाइहरूलाई साथ लिएर निक्लनु भो बा झिसमिसेमै । त्रासको रकेटमा हुइँकिएको हुइँकिएकै थियौँ हामी दिनभरि भाइको प्रतीक्षामा ।

बा फर्कनु भो साँझमा तर भाइ थिएन साथमा । हामी तीनै वटी एकैसाथ चिच्यायौँ ‘खोइ भाइ ?’ बा बोल्नुभएन । उहाँको उदास अनुहारले भनिरहेको थियो ‘भेटिएन’ ।

सारा गाउँमा हल्ला भयो । पुलिस प्रशासनमा खबर गरियो । टाढा रहेका आफन्त काँ मान्छे पठाइयो । भारत छिर्ने नाकामा रिपोर्ट लेखाइयो । फोटो दिइयो । टेलिभिजनमा प्रसार गरियो । अफ्सोच ! सबै प्रयासहरू बालुवामा पानी भए ।

समय बाँधिएन । दिन, हप्ता र महिना गर्दै बगिरयो ।

झरे पातहरू रुखलाई निर्वस्त्र पारेर । बरफको तन्ना बाक्लिन थाल्यो सडकमा । तर भाइ फर्किएन । समय हुइँकिरह्यो । वसन्त आयो फुलायो फूल तर फुलाउन सकेन हाम्रो मन ।

आकाश झरी बनेर रोयो । रानीटारले रोप्यो धान–असार बोलाएर ।

आकाश मुस्कायो पर्दा हटाएर तर हाँस्न सकेन हाम्रो आँगन ।

शरदको सुगन्दिधत मोहक बोकेर छिर्‍यो हावा गाउँमा तर टेकेन हाम्रो आँगन घटना निदाउन सकेन कसैका दिमागमा । आमाको शरीर भाटो भयो सुकेर । छट्पटिमै बित्न थाले उनका जिन्दगी बाँकी प्रहरहरू ।

आफूले गरेको भुल कबुलल्दै पश्चतापको आँसु झार्न रोक्नु भएन बाले मेरो विश्वासको डिल नाघेर पैतालाको पिदँमा पुग्थ्यो अनि फर्कन्थ्यो फेरि भाइलाई लिएर । तर ऊ फर्केन ।

त्यसदिनदेखि हराएको मुस्कान बाको अनुहारमाम नफर्कँदै उहाँले संसार छोड्नु भो । सायद भाइकै खोजीमा ।

बाले सबै सम्पत्ति मेरो र बहिनीको नाममा सारिदिनुभयो आफ्नो मृत्यु अघि । बिहेपछि समयले हुत्त्याएर ल्यायो मलाई सोह्र वर्ष भयो यहाँ आएको । आमा मसँगै हुनुहुन्छ । हिँडडुल गर्न सक्नुहुन्न । हात – खुट्टा बाँधिएका छन् नियतिका डोरीले ।

हरेक भाइटीकामा रुनुहुन्छ आमा अनि म पनि । आज पनि आमा……………. ।” महिलाको आवाज गाँठो पर्‍यो गलामा । रिक्सावालाका कानले पर्खे एक छिन आवाजको निरन्तरतालाई । तर फुटेन वाक्य । ऊ पछि फर्कियो । देख्यो मूल फुटेको उनका आँखामा । सागर डढेर आयो उसको पनि । आँधी चल्यो मनमा । बगायो खहरे ताता आँसुको । निस्किएन मुखबाट कुनै समवेदनाको शब्द । एक्कासि उसका हात पुगे रिक्साको ब्रेकमा । फर्कियो रिक्सा अघि आएकै बाटो । महिलाले थाहा नै पाइनन् ।

केहीक्षणमै मोडियो रिक्सा पश्चिमतिर राजमार्ग छोडेर । रिक्सा छिर्‍यो साँगुरो गल्ली भएर । फेरि मोडियो दक्षिण अझ साँगुरो बाटो टेकेर । केही अघि बढ्छ रिक्सा अनि रोकिन्छ । ओर्लन्छ रिक्सावाल । ओर्लन्छिन् महिला ।

ठुला – ठुला दुईवटा गगनचुम्बी भवनका साँगुरा चेपबाट सोजियो रिक्सावाल महिलालाई उसको पछि लाग्ने सङ्केत गर्दै । छिर्छिन् महिला पछि –पछि पसिन् । उनले सोचेको राधाकृष्ण मन्दिर थिएन त्यो ।

न पेटी छ न सिकुवानै । बाटो सिधै छिर्छ घरभित्र । ‘यस्तो पनि मन्दिर हुँदो हो’ शङ्का गर्छिन् उनी । ‘मलाई कतै गलत ठाउँमा त ल्याएन यस मान्छेले । कतै म बर्बाद हुने त होइन आज !’ चिसो पस्छ उनको मनमा ।

रिक्सावाला निस्कियो बाहिर अनि बोल्यो – “भित्रै आउनुहोस् न ।” महिला अन्कनाइन् अनि बोलिन् “हैन मन्दिर चैँ कहाँ छ ?” त्यसै बेला निस्किन् एउटी झुत्रो कपडामा सजिएकी महिला टिनको घरबाट । “भित्रै आउनुहोस् न दिदी” बोलिन् उनी ।

आग्रहलाई स्विकारेर पसिन् महिला भित्र ।

सानो साँगुरो कोठा । त्यही भान्सा, त्यही वेडरुम । त्यही पूजा कोठा, त्यही पाउनाकोठा ।

प्वालै – प्वाल भएका टिनले बनाइएको एक कोठे घर । टिनकै छानो, टिनकै भित्ता । टिनकै झ्याल टिनकै ढोका । लाग्छ यहाँ बस्ने प्राणी पनि टिनकै छ ।

दुई विशाल भवनका पछाडिको टिनको झुपडी । कोठामा उज्यालो अन्कनाउँदै छिर्छ ।

केहीबेरमै घरवाली कहिलाले एउटा थालमा एक मुठी चामल, एक दुई थुङगा फूल राखेर सल्काइन् दियो । रङका पुरियाहरु मिलाएर राखिन् त्यसमै । रिक्सावाला पलयाँटी कसेर बस्यो अगाडि । “दिदी लगाइदिनुहोस् टीका ।” बोल्यो ऊ ।

महिला झस्किन र बोलिन “तपाइका पनि दिदी बहिनी छैनन् र ?”

भावनामा छचल्किँदै बोल्यो रिक्सावाला “आज भन्दा बाइस वर्ष अघि बाका खल्तीबाट पाँच रुपैयाँ चोरेर जुवा खेल्न बसेको तपाइको भाइ मै हुँ । मै हुँ तपाईँको भाइ ध्रुवचन्द्र खतिवडा ।”

महिला ना– जवाब रहिन् तर स्विकारेन उनका मनले, त्यो भाइ । त्यसबेलाको भाइको तस्बिर नाच्छ उनका आँखामा, अनि हेर्छिन् रिक्सावालालाई । एक छेवै नमिल्दो । त्यस्तो गोरो, झर्झराउदो भाइ– यस्तो कालो ख्याउटे रिक्सावाला ।

“पत्याउनु भएन ? ल हेर्नुहोस् ।” पुरानो टिनको बाकस खोल्यो उसले । निकाल्यो त्यै झोला जुन उसले घरबाट लिएर हिँडेको थियो बाइस वर्ष अघि ।

झोला चिनिन् महिलाले । झोलाको तुना फुकायो उसले । निकाल्यो जमनाका फोटाहरू । बा–आमाको फोटो । उनीहरू दिदी–बहिनी र भाइ एकै ठाउँ भएको फोटो । उनैले दिएको रुमाल र सानो डायरी ।

महिला बोल्न सकिनन् तर हालिन् अँगालो रिक्सावालालाई । घुँक्क……घुँक्क……घुँक्क…… आवाज आइरह्यो पुनर्मिलनको ।

One Reply to “रिक्सावाल, महिला र टिनको घर”

  1. जे एन दाहाल

    निक्कै सुन्दर कथा। लेखाई निरन्तरताको कामना गरें।

Leave a Reply

Your email address will not be published. Required fields are marked *