रुढिग्रस्त सामाजिक परम्परामा लैंगिक चेतना

भक्त घिमिरे / अमेरिका

सामन्ती युगबाट फष्टाउँदै आएर आजको पूँजीवादी युगमा चरमोत्कर्ष टेकेको नारी र पुरुषबीचको फाटोलाई कायम राख्न ‘धर्म’ भनिने जडताले महत्वपूर्ण टेवा पुर्यादएका छन् । वास्तवमा धर्म नै दोषी होइनन् तर, धर्मको नाममा सामाजिक वर्गसत्ता टिकाउने ठालूहरूको धूर्त्याइँको परिणाम हो यो । धर्मको आड़मा बनेका सारा नियम, नीतिशास्त्रहरू ठालूवर्गका पुरुषहरूले बनाएकाले जहिल्यै उनीहरूको हालीमुहाली चल्ने आशय तिनमा समेटिएको कुरा अबको पुस्ताले बुझ्न जरूरी छ । धर्म भनिने सबै जडताका यस्ता स्रोतहरूले समाजमा पुरातन रुढता भरिएका मान्यताहरूलाई नै बल दिने गरेका छन् । बलिष्ठ पुरुषको पासोमा बाँधिएर नारीहरूले सधैं कुनै न कुनै रूपमा बन्दी जीवन बिताउनुपर्ने मान्यता यी धर्मका नाममा उदाएका रुढिग्रस्त अन्धविश्वासकै कारण विद्यमान छन् । भनिन्छ, अन्य धर्महरूको तुलनामा बौद्ध धर्मले नारीहरूलाई बढी प्रोत्साहन दिएको छ । बौद्ध भिक्षुहरूको जमातमा नारीहरूको पनि सहभागिता छ । नारी र पुरुषबीच विभेद छैन । तर, यो कुरा पनि पूर्णसत्य भने होइन !
केही वर्षअघि मात्रको कुरा हो, भूटानको पारोमा आयोजित एउटा धार्मिक सम्मेलनमा बौद्ध गुम्बाहरूको भित्री कक्षमा नारीहरूलाई किन ‘प्रवेश निषेध गरिन्छ ?’ भनेर प्रश्न उठेको थियो । बुद्धदर्शनले समन्वय र अंगिकारको, मानवीय आत्मीयताको शिक्षा दिएको कुरालाई त्यागेर गुम्बाका रखवाला पुरुषवर्गले नारीलाई तिरस्कार गरेको आवाज सम्मेलनका सहभागीहरूले उठाएका थिए । भूटान विश्वकै स्वच्छ र शुद्ध बौद्ध धर्मावलम्बी राष्ट्र हो र यहाँ मातृसत्ता सदियौंदेखि कायम छ भनेर त्यहाँका शासकहरूले संसारभरि ढोल पिटाएका छन् । तर, अहिलेसम्म त्यहाँ धार्मिक राष्ट्रप्रमुखमा कुनै पनि नारीलाई पदस्थापित गरिएको छैन । मठहरूमा धार्मिक शिक्षा-दीक्षा दिने नारी गुरुहरू कहिल्यै राखिएको छैन । कुनै पनि गुम्बा र छ्योर्तेनहरूमा नारी मठाधिकारी अहिलेसम्म देखिएका छैनन् । खोइ त त्यहाँ बुद्धदर्शन ? खोइ त नारी समानता ? वास्तबमा शासकहरूले आफ्नो सामन्ती वर्गसत्ता टिकाउन त्यहाँका जनतालाई अहिंसात्मक बुद्ध धर्मको ‘ट्रेडमार्क’ मात्र बेचिरहेका छन् !
अन्य धर्महरूमा जस्तै बुद्धधर्ममा पनि नारीहरूलाई गुम्बा, मठ-मन्दिरको भित्री कक्षमा प्रवेश नदिइने कारण उनीहरूमा हुने मासिक धर्म (रक्तश्राव)-लाई देखाइने गरिएको छ । यसरी नै इस्लामले पनि नारीलाई मासिक धर्मको बेला ‘अशुद्ध प्राणी’-को संज्ञा दिनेगरेको छ । इशाईहरू पनि नारीलाई मासिक धर्मको बेला यिशुको दीक्षा नलिन आग्रह गर्छन् । हिन्दू नारीहरू त सबैभन्दा यसबेला उपेक्षित र तिरस्कृत हुने गर्दछन् । साँच्चै कट्टर परम्परावादी घर पर्यो भने मन्दिर र पूजाकोठामात्र होइन, उनीहरू भान्साकोठामा समेत प्रवेश गर्न पाउँदैनन् यसबेला । नारीहरूलाई महिनामा एकपटक यसरी ‘अशुद्ध प्राणी’-को संज्ञा दिने ‘बाह्रैमास शुद्ध प्राणी’ यी पुरुषहरूचाहिं महिनामा कतिपटक अशुद्ध हुन्छन् ? कसैले यो प्रश्न उठाउने आँट गरेको छैन अहिलेसम्म ! मासिक रक्तश्राव नारीहरूको प्रजनन् प्रक्रियाको संकेत हो । यही प्रकृयाबाट जन्मिएको पुरुषचाहिं सधैं कसरी शुद्ध हुनसक्छ हँ ? यो कुरालाई धर्मको नाममा जडता फैलाउने सामन्तीहरूले कहिल्यै पनि नसोचेका हुन सक्छन् ! अर्कोतिर सामाजिक परम्परामा हेर्नुस त- घरमा चारवटी स्वास्नी राख्ने भलाद्मी पण्डित गाउँमा गएर सेतो वस्त्र पहिरिएकी विधवालाई कहिल्यै ‘परपुरुष’को अनुहार नहेर्न उपदेश दिन्छ ! यो न्याय हो ? विधवाले सेतो वस्त्र लाउनुपर्ने नियम पनि त सजिलै उसको इमानदारीमाथि दाग लगाउन सकियोस्, सम्मान र प्रतिष्ठामाथि प्रश्न उठाउन सकियोस् भनेर तिनै पुरुषवर्गले बनाएको सामाजिक, सांस्कृतिक कानून हो । भनाइ नै छ, धर्मको नाममा “संसारका एक थरी पुरुषहरू नारीलाई लुगाले छोपेर गुम्स्याउन लागिपरेका छन्’’, भने पूँजीको बलमा, “अर्का थरी पुरुषहरू नारीलाई दिनदिनै नंग्याउँदै छन् !” इस्लाम संस्कारमा नारीले बुर्का लाउने र आधुनिक भनिएका नारीले आज ‘नांगिएर सुन्दरताको प्रतिस्पर्धा’ गर्ने चलनलाई माथिको भनाइले इंगित गरेको छ ।
वास्तवमा पुरुषप्रधान सामाजिक विश्वव्यवस्थामा नारीलाई मान्छे वा मानिसको रूपमा आजसम्म गनिएकै छैन । एकाध नारीहरू पढे-लेखेर विद्वान् भए पनि सुविधामुखी जीवनमै सीमित रहने प्रवृत्तिमा भुलिएर समानताको कुरातर्फ उदासीन रहेकै कारण यो अवस्था अहिलेसम्म विद्यमान छ । पुरुषको आदेश र आशीर्वादबिना नारीले कुनै पनि काम गर्न नसक्ने मानसिकता नारीहरूले नै बोकेका छन् । जतिसुकै बठ्याइँ र चातुर्य भएर पनि नारीहरू पुरुषको इशाराबिना कुनै चुनौती र कठिनाइहरूको सामना गर्न अघि सर्दैनन् । बेगम खालिद, शेख हसिना, इन्दिरा गान्धी, सिरी मावो बन्दरा नायके, बेनजीर भुट्टो र हिलारी क्लिन्टनजस्ता केही नारीको नाम उच्चकोटिमा आए पनि यस्ता नामहरूले कुनै पुरुष खानदान वा वंशजलाई नै प्रतिनिधित्व गरिरहेका छन् । उनीहरूले नारीको सार्वभौम अस्तित्व खडा गर्न खोजेका भए त आजका तसलिमा नासरिन र आङ साङ सुकीसरह बन्ने थिए उनीहरू पनि ! पुरुषहरूको वीरता र वंशजको दम्भलाई अगाडि नराखी स्वसिर्जना र नवनिर्माणमा एक कदम पनि नसार्ने हीनताबोध विद्यमान छ नारीहरूमा । नारीहरूको यस कमजोरीले पुरुषको स्वार्थ र घमण्डलाई शिखरमा पुर्या उने गरेको छ । सधैं ‘नजान्ने’ र ‘नसक्ने’ भएर पछि सर्ने नारीहरूले आफ्नो न अरु नारी, कसैको भलो गर्न सक्दैनन् !
एउटी नारीले अर्की नारीको प्रशंसा गरे त्यो व्यंग्य हुन्छ, इर्ष्या र डाहको संकेत हुन्छ तर, एउटा जँड्याहा पुरुषले कुटिल कटाक्षमा ‘तिमी कति राम्री’ भनिदिए उनीहरू मख्खै हुन्छन् । एकजना जर्मन डाक्टरले लेखेका छन्-“हिंस्रक पुरुषहरूले सधैं राम्रा नारीहरूलाई शिकार बनाउने मनाशय राख्दछन् । यसैकारण नारीहरू नमानेर भाग्ने नियत देखाए पनि भाग्न नसकून् भनेर पुरुष डिजाइनरहरूले हाईहील स्याण्डल बनाए । हाईहील स्याण्डल लगाएका नारीहरू दौडिन सक्दैनन् ! तर, विडम्बना ! आजभोलि खोक्रो सभ्यता दर्शाउने घमण्डमा अधिकांश पढे-लेखेका नारीहरू नै हाईहील स्याण्डल लगाउँछन् ।” तिनै डाक्टरले अगाडि भनेका छन्-“ठूल्ठूला पूँजीपतिहरूले बनाएका महलहरूमा शृंगारको रूपमा सजाउन ल्याइएका नारीहरू नै पछि ‘महिला’ भए । त्यसको अर्थ, आज महिला भनिने नारीहरू महलका गहना हुन् ।” उनको भनाइमा ‘नरं+नारी’-‘स्त्री+पुरुष’ हुनुपर्छ लैंगिक सम्बोधनमा । ‘महिला’ शब्दको विपरीतार्थक कुनै पुंलिंग शब्द छैन । व्याकरणीय विधिमा गएर लैंगिक भेद छुट्याउँदा महल+महिला नै हुन्छ ! किनभने सामन्त पुरुषहरूले बनाएका महलमा साज-सज्जाको वस्तुका रूपमा राखिएका नारीहरू नै महलका गहना अर्थात ‘महिला’ भएका हुन् । त्यतिमात्र कहाँ हो र ! ‘तिमी कति राम्री इन्द्रेणीजस्ती, तिम्रो आँखामा बादल लागे अझ कति राम्री हुनेछौ’, भनेर सर्काउँदा नारीहरूले आँखामा गाजलको बादल बनाउने परम्परा नै बनाए ! कुनै वस्तुलाई सरल र सहज ढंगमा हेर्नै नपाओस् भन्ने नियतले नारीको आँखामा बादल लगाउने यो कुरा नारीविरोधी पुरुष मानसिकताकै उपज थियो । हातमा चुरा र खुट्टामा कल्ली भिराएर नारीलाई सधैं हत्कडी-नेलमा बन्दी बनाउने नियत नबुझेर गहना सम्झँदै नारीहरू मख्ख छन् अझै पनि ! कानमा गहनाको भारी बोकाएर सुन्न कठिनाइ हुने स्थिति सृजना गराइएको पनि उनीहरूले बुझेनन् !
राम्रो गहना र छालाको सुन्दरता अनि अर्काको ढोंगी, आडम्बरी मायामा लुटुपुटु हुने मोजप्राप्तिको कुराले कहिल्यै नारीलाई त्यसभन्दा माथि उठ्ने फुर्सद मिलेको छैन । आजभोलि लेखे-पढेका नारीहरू पढेकै लोग्ने भेट्टाउने लक्ष्यमा मात्र आफ्नो पढाइको अर्थ लगाइरहेका छन् । प्रौढ सामन्ती समाज, कुरीति, पुरातन संस्कार र नारी समानताप्रतिको चिन्तन उनीहरूको व्यवहारमा रत्तिभर देखिँदैन ! विश्वमा नारीसत्ताको प्रसंग एकाध राष्ट्रहरूमा अपवादको रूपमा देखिए पनि विकासशील चेतनाले लैस भएको नारी वैभव त्यहाँ पनि देख्न पाइएको छैन । नारीहरू चन्द्रमामा पुगे, वैज्ञानिक बने, जुनसुकै युद्धहरूमा नारी योद्धाको कमी छैन ! यद्यपि, नारीलाई आजसम्म एउटा सिंगो मान्छे, समूल मनुष्यको संज्ञा दिइएको छैन, किन ?
अंग्रेजी शब्कोशमा ‘गऽल’ शब्दलाई, “केटी, ठिटी, छोरी, स्त्री, आइमाई, कार्यालय वा पसल आदिमा काम गर्ने स्त्री”, भनिएको छ । ‘लेडी’ शब्दलाई पनि “महिला, भद्र महिला”, इत्यादि भनिएको छ । यसैगरि ‘वुमेन’ शब्दलाई “स्त्री, आइमाई, नारी जाति, स्वास्नी वा प्रेमिका”, मात्र भनिएको छ । तुलनात्मक रूपमा ‘म्यान’ शब्दमा “मान्छे , मानव वा पुरुष”, अर्थ दिइएको छ । यसको तात्पर्य के पुरुषमात्र मान्छे वा मानव ? नेपाली शब्दकोशहरूले पनि नारीलाई सिंगो मान्छेका रूपमा उभ्याउन सकेका छैनन् । ‘आइमाई’ शब्दको अर्थमा लेखिएको छ-महिला, स्त्री, स्वास्नी वा प्रेमिका । ‘नारी’ शब्दको अर्थमा-स्त्री, महिला, आमा, दिदी, बहिनी, आइमाई, जननी, धरती, माता, ललना इत्यादि लेखिएको छ भने ‘महिला’ शब्दमा पनि -स्वास्नी, नारी र स्त्रीभन्दा अरु केही उल्लेख गरिएको छैन ! नारीलाई समूल मान्छे भनेर कतै सम्बोधन गरिएको भेटिँदैन । नारीलाई सिंगो मान्छे वा मानिसको दर्जा दिन किन यति कञ्जुस्याइँ ???

2 Replies to “रुढिग्रस्त सामाजिक परम्परामा लैंगिक चेतना”

  1. Pranjal

    श्रींगार र नारि सजावटका साधनहरुका माध्यमद्वारा प्राचिन पुरुषप्रधान समाजले नारीहरुलाई कसरी आफ्नो बहसमा राख्यो त भन्ने कुरालाई जसरि लेखाक्ज्यूले उदाहरण सहित सरल ढङ्गबाट ब्याख्या गर्नुभएको छ, त्यो सह्रानीय छ l लेखकज्यूका यस्ता लेखहरुले नारि मुक्ति आन्दोलनमा पक्कै केहि टेवा पुर्याउनेछन् l

  2. Marie

    यस्ता विचार लेख्ने पनि त पुरुष नै चाहिँदो रै’छ निः होइन र ? खइ त नारीले लेखेका ? कि दाइ… तपाईं पनि नारी बन्नु भो कि कसो ? जे होस्, लेख अत्यन्त मार्मिक र यथार्थमुखी छ । परिवर्तित समाज तथा नारी-पुरुष समानताको खोक्रो नारा दिनेहरूले यो लेख पढ़ून र बुझून् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *