रेखा: आत्मविश्वासको
डंमर घिमिरे
एडिलेड, अष्ट्रेलिया
भाग्यको रेखा आयातनको चित्ररेखा जस्तो
निश्चित नहुँदो हो र त
भाग्यका रेखाहरु विशाल र अनिश्चित छन्,
कुनै स्वर्गका आलिशानमा त
कोही अनन्त आकाश ओड्या ठान्छन्,
विशाल धर्तीको छाती बिछ्याउना
गरिबीको तुवाँलोले छलेको भाग्य वा
कर्मले ठगेको रेखा आत्मविश्वासको ।
टिठलाग्दो, उजाड, मरूभूमिभित्र
कलंक, द्वेष, क्लेश, कल्मश खेपी
रोइरहन्छ
उपहास चिन्ह टाँसिएको निधारमा,
मरूभूमि सिँगार्छन्-
न मुस्कान छ ओठमा
न गाँस छ
न बास न कपास
अहोरात्र विस्मयले जालेको
या मनस्थिति कोमामा रहेको
अवस्थाले खियाउँदै लगेको
रेखा आत्मविश्वासको।
पैतृक पसिना काटेर धनाड्यको भकारी भर्छन्,
भूपतिको तिरस्कार दिनानुदिन पिउँछन्,
लगानको नाउमा भूप ढिकुटीमा
अर्धपेट गुजारी थुपार्छन्
सुख- शान्ति अमनचयन गुमाई
गुजारा गर्छन् ती विशाल पहाडरूपी
ईशतुल्य मानवहरु
शून्य शून्य आकाश हेरी मन आफ्नो बुझाउँछन् ती,
दु:ख र दर्द आफैँ लुकाउँछन् ती
इसारा गर्छन् दु:खको तर डेग चल्दैन कसैको
रित्तिएर सधैंलाई सिध्दिएको
रेखा आत्मविश्वासको