रोल नम्बर १३

शुकदेव अधिकारी
ओहायो ,अमेरिका

स्कूलमा नियुक्ति भएको पहिलो दिन,पहिलो क्लाशमा कक्षा तीनमा पठाइयो मलाई । सम्भवत त्यस कक्षाको कक्षा शिक्षक हुनेवाला छु भन्ने अनुमान लगाएँ । कलिला अनुहारहरूमा कौतुहलता, जिज्ञासा र डरको मिश्रित भाव स्पष्ट देखिन्थ्यो, जुन ममा पनि थियो । पिठ्युँमा झोला भिरेर भविष्य किन्न निस्किएका यी बिरुवाहरूमाझ एकजना बैँसले छोडिसकेका मानिस बसेका थिए पछाडिको कुर्सीमा । सतर्क भएँ । ‘मेरो कक्षा अवलोकनका लागि बसेका यस स्कूलका राम्रै ओहदाका मान्छे हुनुपर्छ यिनी । अन्तिम परीक्षा हुन बाँकी नै रहेछ ।’ त्यही बुझ्यो दिमागले । जानेका जति प्रायः सबै शब्द लगाएर अङ्ग्रेजीमा बोलेँ । नानीहरूले बुझे बुझेनन् त्यो मैले बुझिनँ । बढो होसियारीसाथ कक्षा सञ्चालन भयो ।
मास्टरको रिमोट कन्ट्रोल पिउन दाइका हातमा रहेछ । रिमोट थिचे दाइले । क्लाश सिधियो । स्टाफरूममा फर्किएँ । त्यो बुढो कतिबेला बाहिर निस्केला भनेर ढोकाबाट बाहिर हेरिरहेँ । अर्का शिक्षक गए कक्षा तीनमा । बुढा बाहिर आएनन् । दिनभरिमा पटक पटक गरेर त्यसदिन उपस्थित सबै शिक्षकहरूसँग परिचय भयो । बुढा शिक्षक थिएनन् । लाग्यो प्रशासनतिरको कुनै मान्छे हुन ।
भोलिपल्ट एउटा रेजिस्टर थमाएर त्यही कक्षामा पठाइयो पहिलै क्लाशमा । ती हिजोका बुढा त्यही छन्, त्यही कुर्सीमा । नाम बोलाउन थालेँ । रोल नं.तेह्र बोलाउँदा कलिलो गलाको तार बजेन । धोद्रे स्वर बज्यो ‘यस सर ’ आवाजमा । आँखा चनाखा भएर त्यता मिल्किए । तिनै बुढा मान्छे उठेर बोल्दै थिए । अब मेरो आश्चर्यको सीमा रहेन । मेरो हिजोदेखि गुट्मुटिएर बसेको डरको थैलो हावामा उडेर गयो । केको हुनु प्रशासनको मान्छे । राम्ररी नियालेँ तिनलाई । अरू विद्यार्थी सरह पेन्ट र सर्ट लगाएको छ । टाउकाका रौँ थोरैमात्र काला देखिन्छन्, गन्न सकिन्छ । जवानीले दिएको अनुहारको चमक बुढौलीले खोसिसकेको छ । आँखा भने सहपाठीका सरह उज्ज्याला छन्, सफा छन् । आफू अगाडिको टेबलमा पाना च्यतिएको पुस्तक छ, कापी छ । मोटो टुप्पो भएको पेन्सिल छ, कालो न कालो इरेजर छ ।
ती वृद्ध विद्यार्थीलाई केही सोध्ने साहस आएन ममा । लागिरह्यो–‘आफ्नो पढ्ने उमेरमा कुन ओडारमा पसेका थिए यी मान्छे । जवानीका रङ्गिन पानाहरू कसरी पढिसके होलान् । कस्तो ऊर्जा पसेछ यिनमा यो बसिखाने बेलामा । कि त यिनको जीवनमा कुनै भयानक घटना घटेको हुनसक्छ, कि त यिनले जङ्गलमै बिताएको हुनुपर्छ यस अघिको यात्रा ।’
यो अमिल्दो समीकरणले पीङ्ग खेल्न थाल्यो दिमागमा । हल्लायो बेस्सरी । प्रश्नैप्रश्नको भारी थुप्रियो ।
कक्षाबाट बाहिर निस्कनेक्रममा एक जना सरसँग ठोकिन पुगेछु । “यी मास्टरले बिहानै चढाएर आएछन् की क्या हो ?” राम्रै झटारो हाने बराल बुढाले ।
“त्यो कक्षा तीनको बुढो विद्यार्थी को हो ?” मेरो जिज्ञासाको एक चोइटो उकियो ।
“ए.. त्यो ! त्यो खुस्किएको मान्छे हो ।” बराल सरका लागि त्यो कुनै अनौठो कुरा थिएन ।
मलाई भने यी बराल सर पनि एक अनौठै पात्र लागे ।
हुन त प्रत्येक मान्छे एउटा सिङ्गो कथा हो । मौलिक कथा हो । विशाल ब्रह्माण्डको सृष्टिदेखि प्रलयसम्मको यो अनन्त समयरेखामा एउटा मान्छे बाँच्ने संयम कति छोटो र क्षणभंगुर छ, तैपनि मान्छे एउटा हृदयविदारक कथा बन्नपुग्छ । मनोरन्जनात्मक उपन्यास बन्नपुग्छ । सुन्दर कविता बन्न पुग्छ । इतिहासका पानामा टाँसिएर युगौँ युगसम्म रहन्छ । विद्यार्थीहरूका लागि पाठ्यसामग्री बन्न पुग्छ । तर यो कक्षा तीनको रोल नम्बर तेह्र चाहिँ एउटा निकै नै अनौंठो कथा हुन सक्छ भन्ने लागिरह्यो…. ।
स्टाफ रुममा पुगेँ । खरेल सर कुनै एउटा पुस्तकका पानामा हराइरहेका थिए ।
“सर कक्षा तीनको त्यो बुढो विद्यार्थी को हो ?” उनको एकाग्र टुटायो मेरो प्रश्नले ।
“हेर्नुहोस्, तिनी स्मृति गुमाएका मान्छे हुन् । पहिला भयङ्कर विद्वान् थिए रे । कक्षा एक देखिनै यहाँ पढ्दै आएका छन् । तिनका छोराछोरी पनि विद्वान छन् । पढेलेखेका छन् । यी बुढाका अतीत कोट्याउन चाहँदैनन् छोराछोरीहरू बताउँदैनन् । बुढा आफू केही जान्दैनन् । थाहा छैन भन्छन् । यो एउटा रहस्य नै छ । मैले थाहा पाएको यत्ति हो ।” खरेल सरका दिमागमा यतिमात्र पस्न भ्याएछन् बुढा ।
यो रहस्य खोतल्ने रहरले पिरोल्न थाल्यो मलाई ।
कक्षामा जान्छु । राम्ररी हेर्छु तिनको अनुहार । जीवनको कुनै मोडमा भेटेका मान्छे हुन् जस्तो पनि लाग्छ । स्मृतिका पत्र–पत्र पल्टाउँछु । तस्बिर भेटिँदैन । हैरान हुन्छु । बेलुका घर फर्कन्छु । रातभरि तिनकै निन्याउरो अनुहार आइरहन्छ आँखामा । बुढा बिझाइरहन्छन् । छट्पटिमै बित्न थाले मेरा नयाँ स्कुलका नयाँ दिनहरू । समय आफ्नो गतिमा बगिरह्यो ।
दोस्रो त्रैमासिक परीक्षा चलिरहेको छ स्कुलमा आज । म कक्षा तीनको कक्षा शिक्षक । त्यही कक्षाको ग्रेडमा छु । रोल न. तेह्रले लेखिसकेर कापी बुझाए । कापीमा लेखिएका अक्षरहरू सफा छैनन्, बुझिँदैनन् । पोको पारेर फालेको कपालको गुजुल्टो जस्ता अक्षर, पढी साध्य छैनन् । यो यही अक्षर होला भन्ने अन्दाजसम्म गर्न गाह्रो छ ।
परीक्षा सिद्दियो ।
रिजल्टको दिन छ । सबै विद्यार्थीहरू आ–आफ्ना अभिभावकसँग आएका छन् । रोल न. तेह्रसँग एक जवान आए रिजल्ट लिनलाई ।
“सर, नमस्कार ।” भन्दै उनी छेवैमा आए I
“नमस्कार, बसौँ । हजुर उहाँको अभिभावक हो ? मैले प्रश्न गरेँ I
“हो सर । सर नयाँ आउनु भएको हो ?” उत्तर सहित प्रश्न थपे उनले I
“हो । म यसैपालि आएको ।” “हजुरको उहाँ को पर्नुहुन्छ ?” मैले सोध्न ढिलाइनँ I
“उहाँ मेरो बुबा हुनुहुन्छ । सर म अलिक हतारमा छु । लाग्छु है सर ।” भन्दै रिजल्ट लिएर गए बाबुछोरा । मैले उनका बाबुका विषयमा सोध्छु भन्ने त्रास पस्यो सायद, गए उनी ।
मैले पढाउने स्कुलको छेवैबाट साँगुरो ग्रावेलबाटो भएर करिब डेढ किलोमिटर पश्चिममा एउटा चोक छ । यहाँबाट करिब पाँचसय मिटर उत्तर पुग्दा हाँगा पलाउँछ बाटामा । हाँगो पूर्व मोडिन्छ । पूर्व मोडिएर लगभग पचास पाइला हिँड्दा बाटाका उत्तरतिर एउटा घर देखिन्छ एक तले । त्यही घर हो रो.न. तेह्रको । यति जानकारी स्कूलका शिक्षक साथीहरूबाट पाएपछि उनकै घरमा जाने निधो गरेँ ।
शनिवारको दिन । सम्भवत: दिनको दुई बजेको छ । म त्यही एक तले घरको आँगनमा उभिएको छु । घर अगाडिको बराण्डामा बसेर केही खाइरहेकाछन् रो.न.तेह्र । मलाई देख्छन् र लुसुक्क भित्र पस्छन् । केहीबेरपछि एकजना अर्धवैंसे बाहिर निस्कन्छन् । यी तिनै मान्छे हुन जो बाबुको रिजल्ट लिन गएका थिए । “अहो, सर पो, नमस्कार सर । आउनोस् न सर, बसौँ ।” केही चिन्तित आवाजमा उनले मेरो स्वागत गरे ।
साधारण गफगाफ भयो । परिवारजनसँग चिना जानी भयो । चिया ल्याइन् एउटी युवतीले । केही बेरपछि खाजा आयो, ल्याउने तिनै युवती । ती महिला बुढाकी छोरी रहिछन् । मैले सिधासिधी उनीहरूका बाबुको विषयमा कुरा कोट्याउने दुशहास गरिन । सुनेको छु, उनीहरूका बाबुका विषयमा सोध्न चाहने मानिस उनीहरूका लागि दुश्मन सरह ठानिनेछ । कहिले काहीँ प्रसङ्गवश कुरा निस्कन आँटेको छ भने पनि प्रसङ्ग मोडिहाल्थे उनी । बरु छोराछोरीका विषयमा चाहिँ दुई–चार कुरा हात लागे । ती छोरा टी.यु का प्रोफेसर रहेछन् । क्यामेस्ट्रीका एम्.एस.सी । दुईटी छोरी । एउटी पब्लिक हेल्थमा ब्याचलर्स गर्दै, अर्की एम्.वी.वी.एस । आमदानी ठिकैमात्र रहेछ परिवारको ।
आजको उपलब्धि यति नै ठानेर फर्किएँ ।
मेरो त्यो घरमा धाउने क्रम चलिरह्यो । प्रत्येक चोटि जाँदा उत्तिकै हार्दिक्ता पाइन्थ्यो त्यही एउटा कुरा बाहेक । केही न केही जानकारी लिएरै फर्कन्थेँ । हुँदा हुँदा त्यो परिवारसँग मेरो भावना मिल्न थाल्यो, गाँसिन थाल्यो, साटिन थाल्यो । उनीहरू मलाई आफ्नै घरको सदस्य सरह मान्न थाले ।
एकदिन घरमा ती छोरी मात्र थिइन् जो एम्.वी.वी.एस. गर्दैथिइिन् । मैले साहस बटुलेर सोधेँ उनका बाबुका विषयमा । उनको अनुहार सुरुमा रातो भयो । आँखा ठुल्ठूला भए । म डराएँ । केहीक्षणमै अनुहारको रातो रङ्ग बिलाएर गयो । पसिना पलाए । अनुहार भरी समस्यै समस्याको जालो देखिन थाल्यो । मभित्र क्षामाप्रार्थी मनले जन्म लियो । नसोधेको भए हुने रहेछ भन्ने लाग्यो । फेरि सोचेँ, हैन सोधेकै ठिक भयो । कति दिन पालेर राख्ने यो जिज्ञासालाई ?
पसिनाको हार्दिक तलाउमा नुहाएपछि उनको अनुहारको जालो बगेछ । केही उज्ज्यालो देखियो मुहार । साहसी देखियो, दृढ देखियो ।
“सर, तपाईँ यही रहस्यको गाँठो फुकाउनका लागि हाम्रो परिवारसँग नजिकिनु भएको हो जुन आजसम्म हामीले कसैलाई खोलेका छैनौँ ?”
“मेरो प्रश्न यहाँको मनमा बिझायो भने क्षमाप्रार्थि छु । मैले त परिवारका सबैजनाका विषयमा जान्ने रहरमात्र गरेको हो । भई गयो बताउन नमिल्ने भए आइन्दा कहिल्यै पनि सोध्ने छैन ।”
“ सर तपाईँ रिसाउनु भएको ?”
“छैन, तर उहाँका बारेमा बताउनै नहुने अतीत कस्तो होला भन्ने कौतुहलताले पिरोलिएको चाहिँ धेरै भयो ।”
“त्यस्तो वर्जनीय त केही हैन । तर आजसम्म हामीले कसैलाई पनि यस कारणले उहाँको स्मृति गुमेको हो भनेर थाहा दिएका छैनौँ । यो पूर्वीय सभ्यतामा हुर्केको समाजले हामीलाई घृणा गर्ला भन्ने डर छ हामीमा । कारण त्यति हो । सर, हजुर पढेलेखेको र संसार बुझ्ने मान्छे भएको हुनाले अप्ठ्यारो सोच्नुहुन्न सायद । तर सर म एउटा बिन्ती गर्छु कि यो कुरा हजुरका दिमागभन्दा बाहिर कहिल्यै ननिक्लियोस् । यदि हजुर प्रोमिस् गर्नुहुन्छ भने म भन्छु ।”
“ अवश्य, म प्रोमिस् गर्छु । एकचोटी होइन सयचोटी प्रोमिस् गर्छु कि यो रहस्य मेरा दिमागबाट कुनै अवस्थामा पनि पोखिने छैन ।”
“ठिक छ म तपाईँलाई सबै कुरा सुनाउँछु जति मेरी आमाले मलाई सुनाउनु भयो ।”
उनी खोल्न तयार भइन् आजसम्म परिवारभित्र गुम्सिएर रहेको रहस्य । रोल न. तेह्रको अतीत पोखिन आँटेको छ । म अँजुली थाप्न आतुर भएको छु । उनले आरम्भ गरिन् I
“ मैले थाहा पाउँदा मेरो बाबा यस्तै हुनुहुन्थ्यो । अहिले म अठाह्र वर्षकी भएँ र मेरी दिदी पनि ।”
दिदी बहिनी नि अठाह्र वर्ष, फेरी रिँगाटियो दिमाग । मुखले केही बोलेन ।
उनी बोल्दै गइन्, “हामी जुम्ल्याहा हौँ ।”
“थुक्क, दिमाग ” जिब्रोले अहम पोख्यो बिना कुनै आवाज ।
“आज भन्दा अठाह्र वर्ष पहिला हाम्रो परिवार अमेरिकामा थियो । मेरो बाबा नेपालकै पहिलो वैज्ञानिक हुनुहुन्थ्यो जसलाई नासा वैज्ञानिक अनुसन्धान केन्द्रले त्यहीँ बसेर काम गर्नका लागि बोलायो । मानव मस्तिष्कको कार्य क्षमता, त्यसमा सञ्चित आँकडाहरूको फेरबदल र स्थानान्तरण सम्बन्धमा बाबाले गर्नु भएको अनुसन्धान र तयार पार्नु भएको कार्यपत्र नासा पठाएपछि उहाँलाई बोलाइएको हो ।
मेरो बाबा जीव विज्ञानमा पी.एच.डी हुनुहुन्थ्यो । उहाँ मस्तिष्क र त्यसको क्षमता सम्बन्धीको गहन स्टडीमा धेरै अघिदेखि नै चर्चामा हुनुहुन्थ्यो नेपालमै छँदा पनि । भारत लगायत विभिन्न देशहरूमा भएका साईन्टिफिक कन्फरेन्सहरूमा उहाँको राम्रो प्रभाव थियो । उहाँको बुद्धिको सम्मान गर्थे, क्षमताको कदर गर्थे वैज्ञानिकहरू ।
दुई वर्षको परीक्षणपछि नासाले वैज्ञानिकको उपाधि दियो बाबालाई । उहाँ ‘ द साईन्टिस्ट अफ हिमालय’ उपाधिले सम्मानित हुनुभयो । उहाँको कामले विश्वभरि चर्चा पायो ।
हामी दिदी बहिनी अमेरिकामै जन्मेका हौँ । दाइचाहिँ नेपालमा । हाम्रो जन्मले बा–आमालाई त्यति खुसी बनाएन जति दाइ जन्मँदा हुनुभएको थियो । बरु उल्टै पीडा थप्यो जीवन भरकालागि, जुन अहिले हाम्रो परिवारले भोगिरहेको छ । हामी जन्मँदा डाक्टरहरूकालागि ठुलो चुनौती बन्न पुगेछौँ । हामी दुई, शरीर फरक फरक टाउको चाहिँ एउटै लिएर जन्मेयौँ । देश विदेशका वरिष्ठ चिकित्सकहरूको जमघट भयो । छुट्ट्याउन मिल्ने वा नमिल्ने, छुट्ट्याउँदा एउटा मात्र बच्चा बच्ने वा दुवै बचाउन सकिने, वा दुवै नबच्ने, बचे भने अपाङ्ग हुने वा सपाङ्ग जस्ता आशङ्काहरूमा महिनौसम्म बहस र खोज चलेछ । अन्त्यमा टाउको छुट्ट्याएर दुवैलाई बचाउन सकिने निर्णयमा पुगेछन् डाक्टरहरू । सफल भए उनीहरू, जसको परिणाम म जीवित छु अहिले तपाईँका अगाडि ।”
उनले आफ्नो देब्रे कान भन्दा माथिको एक चप्परी कपाल झिक्दै भनिन् “हेर्नुहोस् प्रमाण” ! कपाल कृत्रिम रहेछ । कपाल झिकिएको भाग राम्ररी नियालेँ । पहाडका टुप्पाबाट पहिरो गएजस्तो जहाँ झारपात उम्रन सकेका छैनन् । प्राकृतिक कपालको दर्शनै पाएनछ यो ठाउँले जुन भाग उनका दिदीको टाउकोसँग जोडाएको थियो अपरेसन हुनु अघि ।
“अ हो, कस्तो विचित्र रहेछ । के के हुनु परेको मान्छेलाई । त्यसपछि के भयो नि ?”
“हाम्रो अपरेसन सफल बनाइदिए बापत अस्पतालले ठुलो रकम दाबी गर्‍यो जो हाम्रो बाबासँग थिएन । हुन सम्भव नै थिएन । धेरै ठाउँमा सहयोगको अपेक्षा गरी हात थाप्नु भयो । एक दुई ठाउँबाट केही रकम मिल्यो । नेपाल सरकारलाई पनि अनुरोध गर्नु भयो । केही मिलेन । सरकार लाचार देखियो । नेपालमा रहेको थोरै आफ्नो पुर्खौली सम्पत्ति सबै बेच्नु भयो । यति गरेर भेला भएको जम्मा जम्मी रकम अस्पतालमा बुझाउनु पर्ने रकमको एक चौथाइ सम्ममात्र भयो ।
हैरान हुनुभएछ बाबा । केही नलागेपछि एउटा कठोर निर्णय लिनुभएछ नासा वैज्ञानिक अनुसन्धान केन्द्रमा गएर । उहाँले आफ्नो मस्तिष्कमा सञ्चित पुरै वस्तु बेच्नु भएछ नासालाई । आजसम्म सङ्कलन गरेका ज्ञान, बुद्धि, निर्णायक क्षमता, स्मरण शक्ति, सम्भावना र अरू–अरू जे जति अनुभवहरू थिए सबैको एउटै पोको पारेर अत्याधुनिक वैज्ञानिक उपकरणद्वारा बाबाको मस्तिष्कबाट अर्को स्टोरेज डिभाइसमा सारियो । बिलकुल रित्तो भयो सेरिब्रम । प्रचुर क्षमता भएको मेमोरी पाएर प्रफुल्ल देखिन्थे वैज्ञानिकहरू । उनीहरू, यो मेमोरी कुनै अर्को जीवित सेरिब्रममा इन्सर्ट गर्न सकिने सम्भावना देखेर खुसी भएका थिए । बाबाकै अनुसन्धान थियो त्यो । आफ्नो अनुसन्धानको सिकार आफै बन्नु भयो मेरो बाबा ।
त्यहाँबाट आएको पैसाले अस्पतालको बिल तिर्नु भयो आमाले । बाँकी केही रकम लिएर नेपाल फर्क्यौँ हामी ।
बाबा न आमालाई चिन्नुहुन्थ्यो न हामीलाई । तीन वर्षसम्म बोली नै आएन, हामी नानीहरू जस्तै । बिस्तारै एक दुई शब्द बोल्न थाल्नु भयो । हामी दिदी बहिनी स्कुल जाने उमेरका भयौँ, जानथाल्यौं । बाबालाई पनि स्कुल पठाउँदा केही कुरा भरिन सक्छ खाली दिमागमा भनेर भर्ना गरियो चार वर्ष पछि । सुरुका केही वर्ष उहाँ पटक्कै मान्नु भएन स्कुल जान । असाध्यै डराउनु हुन्थ्यो । नयाँ मान्छे देख्नासाथ भाग्नुहुन्थ्यो, लुक्नुहुन्थ्यो । दिमागको गति एकदमै सुस्त र भद्द्दा थियो । सम्झने शक्ति अति नै न्यून थियो, त्यस्तै छ अहिले पनि । साउँ अक्षर भर्न नै चार पाँच वर्ष लाग्यो ।
यसरी नै समयले लखेटिरह्यो, हामी भागिरह्यौँ आजसम्म ।”
उनको अनुहारमा एक प्रकारको अँध्यारो छरियो । आँखा टप्प भरिएर आए । रुमालले मुख छोप्दै घरभित्र पसिन् उनी । म पनि भारी मन लिएर फर्केँ । मनले रोल नम्बर तेह्रको महानताको कदर गरिरह्यो, आदर गरिरह्यो, सम्मान गरिरह्यो ।
भोलिपल्ट कक्षाकोठामा ती रो.न.तेह्रलाई हेर्छु त्यहीँ छन्, त्यस्तै छन् । उनलाई हेर्ने मेरा आँखा भने बदलिएका छन् । सम्मानपूर्वक हेर्छन् । हिजोसम्म कुनै कुनामा घृणाभाव बोकेको मेरो चेतना चुर्लुम्मै डुबेर निस्किएको छ उनको अतीतमा । सफा भएको छ मन । प्रत्येक पत्रपत्रमा उनकै प्रशंसा र आदरभावले भरिएको छ । हिजोसम्म उसलाई बुढो भनेर गिज्याउने, कपाल तानेर भाग्ने, खुट्टामा छेस्की लगाएर लडाउने जस्ता उनका सहपाठी बालकहरूका क्रियाकलापमा नजानिदोरूपमा मनोरञ्जन लिइरहेको थिएँ म । आजबाट त्यस्ता क्रियाकलापहरू दण्डनीय भएका छन् । कोही चल्दैन उनीसँग अब ।
त्यस्तै महिना दिन पछि हुनुपर्छ, उनका छोरा स्कुलमा आए ।
“सर उहाँलाई एक महिना जतिको बिदा दिनु पर्‍यो ।”
“ए, के पर्‍यो र त्यस्तो ?”
“केही हैन । केही दिनका लागि बाहिर जाँदै छौँ हामी सपरिवार ।”
मैले कुनै प्रतिक्रिया दिन नपाउँदै आफ्ना बाबुलाई लिएर गए उनी । म हेरिमात्र रहेँ ।
लगतैको कुनै एक दिन चोकमा अग्ला–अग्ला घरका टुप्पा–टुप्पा आँखा डौढाउँदै टहलिरहेको म एकासी “सर नमस्ते” आवाजले झसङ्ग भएँ । मान्छेको आकृति आँखामा बन्नु पहिल्यै जिब्रोले नमस्ते बोल्यो । अगाडि तिनै युवती थिइन् जसले मलाई ती वृद्ध विद्यार्थीको अतीत बताइन् ।
“तपाईँहरू त बाहिर जाने कुरा थियो, हैन र ?”
“हामी गएनौँ सर । दाइ र बुवामात्र जानुभयो ।” अनुहार प्रफुल्लित थियो युवतीको, आवाज प्रस्ट ।
“ए…. । साँची, कहाँ जानुभएको हो उहाँहरू ?”
“अमेरिका । नासाबाट मेल आएको थियो । ”
“नासाबाट ? कस्तो मेल ?”
“अब बुवाको विस्मृति हट्ने भयो सर । हाम्रो तपस्या पूरा भयो । बुवाका दिमागबाट लिएको स्मृति अरू कसैको सेरिब्रममा पनि राख्न सफल भएनछन् वैज्ञानिकहरू । यतिका वर्षसम्मको प्रयास विफल भएपछि त्यो स्मृति बुवाकै दिमागमा पूनस्र्थापना गर्ने निर्णयमा पुगेछन् उनीहरू । वास्तवमा त्यो सिद्धान्त बाबाबाटै प्रतिपादन भएको हुनाले उहाँको विस्मृति हटाएर यस विषयमा गहन अध्ययन र छलफल गर्न जरुरी ठानेछन् उनीहरूले ।
बाबाको स्मृतिको मोल फिर्ता गर्नु पर्ने छैन हामीले अब । परीक्षणकालागि अरू नै कसैको मेमोरी छ उनीहरूकहाँ । त्यसैले बोलाइएको हो ।”
“राम्रो भएछ । उहाँहरू फर्किएपछि भेट्न आउने छु ।”
हामी छुटियौँ । लागिरह्यो– ‘कस्ता कस्ता मोडहरू छिचोल्नु पर्ने जिन्दगीमा ’।
केही दिनपछि ती बाबुछोरै आए स्कुलमा । मैले परै बाट नमस्ते भने । दुवैले नमस्ते फर्काए । बुढा मुसुक्क हाँसे र मलाई धाप मार्दै भने, “तपाईँ फलानो होइन ?”
“हो ।”
“तपाईँको वि.यस.सी. को प्रेक्टिकल हुँदा तपाईँको एक्सटर्नलसँग तपाईँको कलेज पुगेको थिएँ म । याद छ ?”
“छैन सर ।” मनमनै सोचेँ, वा बुढाको मेमोरी । त्यसै हुन्छन् वैज्ञानिक ।
म लगायत स्कुलका थुप्रै सरहरू रहेछन् अठाह्र वर्षसम्म नासा प्रयोगशालामा थन्क्याइएको स्मृतिमा ।
आज पुरै स्कुल आश्चर्यचकित छ रोल न. तेह्रदेखि । वातावरण उल्लासमय छ । फूलमाला र अविरले रङ्गगाएर फ्यरवेल दियो स्कुलले कक्षा तीनको रोल न.तेह्रलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *