लघु दृष्टि

यतिराज अजनवी
अष्ट्रेलिया

लघु दृष्टि
मेरो ‘इमेज’
बहुत विराट बनेकोमा
उसले उत्सव मनायो
प्रसन्नताको पञ्चामृत बनायो
अमृतमा अविश्वास भएकोले
त्यो ग्रहण गर्न असमर्थ बनेँ म

कायाको भन्दा छाँयाको बढी विश्वास हुनेले
देख्ने त्यही मरीचिका हो
जो बिहान विशाल
मध्यान्न माध्यम
अपराह्न फेरि वृहत् हुन्छ
अनि बेलुका हराउँछ

रङ्गहरू पोतिएर बनेको छ भने
त्यो मेरो अमूर्त इमेजको होइन
मलाई मेरो चित्र रहेको
मूर्त क्यानभासमा माउ लाग्ला
भन्ने पिर हुन्छ हरबखत
क्यानभासै नरहे मेरो त्यो
तथाकथित इमेज कहाँ रहला?

साभार : https://yatirajajnabee.wordpress.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *