लुकेका मानवजातीहरु

राकेश कार्की
लस एन्जेलस, अमेरिका

बाहिर जान मनाही छ
जान पनि त सुरक्षित छैन
कोठा भित्र खुम्चिएर, डल्लिएर
कोरोना भाइरसको डरले लुकेका
चिडियाखानाको जन्तुजस्तो
कोठाभित्र बसेका
दुलोभित्रका साँपजस्तो
कोठाभित्र पसेका
मानवजातीहरु

बाहिर खुल्ला आकाशमा स्वच्छन्द
उडेका चराचुरुङ्गी
सुनसान जमिनमा निष्फिक्री
रमाइरहेका कुकुर बिरालाहरू
सानो परिधिको बन्द कोठाभित्र लुकेर
झ्याल र चेपबाट चियाइरहेछन्
मानवजातीहरु

सबैको दिन आउँदो रहेछ

बाघ, भालु, सिंहजस्तो हिंस्रक जन्तुलाई
चिडियाखानामा थुन्ने
अबोध जनावरको स्वतन्त्रता हरेर
पैसा असुल्ने
अहिले सूक्ष्म भन्दा सूक्ष्म
आँखाले देख्न नसकिने जीवाणुले
घर घरमै थुनिरहेछ
तमासा बनाएर
यस्ता मानवजातीहरुलाई

चार पर्खाले घेरेको भित्ताभित्र पनि
आनन्द र स्वतन्त्रता छैन
एउटा मानिस अर्कोसँग
६ फिटको दुरीमा बस्छ
अलिकति पनि विश्वास छैन
रोग सार्छ कि भनेर
दुवै हात पन्जाले ढाकेको छ
आफ्नै मुखमा मोहोलो लगाएर बस्छ
आफूलाई आफैसँग विश्वास छैन
कोरोना बोकेको छु कि भनेर
संसारै भरी यति लाख सङ्क्रमित
यति हजार मानवको मृत्यु
हरेक दिन टिभीमा समाचार सुन्दै
आफ्नो आफ्नो घरको कोठामा
अनिश्चितता र अन्योलतामा
लुकेका मानवजातीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *