लुटिएको मान्छे
बि.बि. पौडेल (भूटानी)
सिन्सिनाटी ओहायो
हो म हजारौँ चोटि पटक पटक लुटिएको मान्छे।
अनि सयौं पटक ठगिनसम्म ठगिएको मान्छे।
भिडमा, गन्दागन्दै गन्तिमा हराएको मान्छे।
बोल्दाबोल्दै कैयौं पटक बोली भासिएको मान्छे।
बस्दाबस्दै बसेकै ठाउँबाट लखेटिएको मान्छे।
हो, म आफ्नै देशबाट निकालिएको मान्छे।
रोग, भोक अनि नाङ्गो शरीर बुझेको मान्छे।
देशमा सुनगाभा र सुनखरी रोप्न खोज्दै गर्दा मन फाटेको मान्छे।
साँच्चै हो, म आफ्नै देशबाट लखेटिएको मान्छे।
गाँस, बास र कपासको भिख तिमीसँग माग्ने मान्छे।
पक्का हो, धेरैसँग हात फिँजाई मागी खाएको मान्छे।
हो, म त असजिलो समय र परिवेशमा भिजेको मान्छे।
पीडा, माया ममता अनि दु:ख सुख सबै बोकेको मान्छे।
तर, अझै पनि आकाश छुने लक्ष्य बोकेर अघि बढेको मान्छे।
देशमा परिवर्तन हेर्ने, भिखको ऋण तिर्ने जोस भएको मान्छे।
पछाडिबाट छुरा रोप्ने साथीभन्दा अगाडिबाट
छुरा रोप्ने दुश्मन प्यारो मान्ने मान्छे।
त्यसैले शान नदेखाउ तिमी, म बिना कसुरको मान्छे।
हो, म आफ्नै देशबाट निकालिएको मान्छे।
साँच्चै हो, म आफ्नै देशबाट लखेटिएको मान्छे।