लोडसेडिंग प्रेम

प्रकाश आङ्देम्बे / दमक, नेपाल

साश लामो भएर आयो जव याहु मेसेञ्जरमा अचानक पिंकीको आइडि टलक्क बल्यो । आज धेरै दिनपछि मेल चेक गर्नको लागि दमकस्थित इजी साइबरमा छिरेको छु । Offline Massage को प्रतिस्पर्धी खबरहरु फोल्डरभरि खप्टिएर आए । Invisible हुन नपाउँदै उताबाट म्यासेज आयो ।
पिंकी-आरामै हुनुहुन्छ ?
म अप्ठ्यारोमा परे आफैसँग । उत्तर दिउँ कि नदिऊँ भनेर । एक वर्ष भयो उनीसँग मेरो कुनै सम्पर्क नभएको । पिंकी अथार्त मेरी भुतपुर्व प्रेमिका । आफ्नो आफ्नो बाटो हिड्ने सल्लाहअनुसार हामी अलग भएका थियौं छुट्टिनु अघि । मनका इच्छा मनमा नै मारेका थियौं सकिनसकी । मनमा भए पनि देखावटी कुनै खोजखबर हामीमा थिएन । अनलाइनमा हाम्रो भेट कहिले भएको थिएन यसरी । कामको सिलसिलामा छ महिनाअघि उनी जापान गएकी हुन् ।
अर्कोतिर साइबर बन्द गर्न सटर तान्दै गरेको भाइलाई अफलाइन म्यासेजमात्र हेर्छु भनेर पाँच मिनेटको समय मागेको थिएँ । के गरौं म दोधारमा परें, यतिञ्जलसम्ममा पिंकीले निम्न प्रश्नहरु मलाई सेण्ड गरिसकेकी थिइन ।
पिंकी-अनि अहिले कहाँ हुनुहुन्छ ?
पिंकी-हैन कता गायब हुनु भो ?
पिंकी-Buzz ( अनलाइमा बस्दा अन्यत्र ध्यानलाई केन्द्रित गर्न झन्कारसहितको शब्द)
पिंकी-ठिकै छ हामीसँग त अब बोल्नु पनि हुँदैन होइन ?
पिंकी-सायद अव त विर्सनु भो होला ?
उनको म्यासेज पढिसक्दा नसक्दा सोच्न नभ्याइ मेरो हातका औंलाहरु टाइप गरिसकेर एन्टर थिच्न पुगेछ । डिलिट गर्ने सोचले शिर उठाउने अवसरसम्म पाएन । बिर्सिएँ भन्ने भ्रममा मनले झन उसलाई खोजेछ उनको अनुपस्तिथिमा । उनको अनुपस्थितिमा मनले उनीप्रति बनाएका कतिपय नकारात्मक काँडेतारहरु सबै उनी सम्पर्कमा आएपछि आफैं भत्कियो । मस्तिष्कको बिनायोजना मन आफैं रिफ्रेस भयो ।

म-सञ्चै छु,
म-अनि तिमी,
म-के को ठूलो हुनु नि ?
म-बिर्सेर बिर्सन सकिन्छ र ?
कति चाँडो औंला चल्यो त्यो मलाई नै थाहा छैन । मनको आवेगलाई मस्तिष्कले नियन्त्रण गर्न सकेन त्यसबखत । सोचें छाडि आएको बाटोतिर फर्किएर किन समयलाई वर्वाद पारौं ? फेरि सोचें- जिन्दगीको कुनै समय संसारको सबैभन्दा महत्वपूर्ण थिइन् उनी मेरा लागि । उनको उपस्थिति मेरो सामर्थ्य हुन्थ्यो । यावत सोचपछि लाग्यो, बोल्दैमा त के बिग्रन्छ र ?
पिंकी-आजकल पैसा खुव कमाउनु हुन्छ रे नि ?
म-तिमीबिनाको पैसा कमाउनुको के अर्थ र ?
पिंकी-त्यो सब गफ हो तपार्इंको ?
म-त्यसरी नै बुझ्छौ भने मेरो भन्नु केही छैन ?
पिंकी-मेरो माया लाग्दैन ?
म-आफूभन्दा धेरै ।
पिंकी-सब हावा,…साँच्चै कुनै केटी आइन तपार्इंको जीवनमा ? तपार्इंको लागि मर्ने त लाइनमा हज्जारौं थिए ।
म-आजसम्म जे जस्तो भए नि मनमा मात्र तिमी छौ, भोलि के हुन्छ त्यो थाहा छैन ?
पिंकी-सबै झुट । पक्कै लाइनमा थुप्रै हुनुपर्छ ।
म-तिमीलाई लागेको झुट नै मेरो लागि सत्य हो ।
पिंकी-तर म विश्वास गर्न सक्दिन ?
म-त्यो तिम्रो कुरा हो ।
साइबरवाला भाइलार्इ ढिलो भइसकेको म बुझ्छु । उ भित्तामा भएको घडी हेर्दै मलार्इ हेर्दै गर्छ । आदरका कारण उ मलाई केही पनि भन्न सक्दैन । मात्र बाहिरभित्र गरिरहन्छ । आदर पनि घाँडो बन्दोरहेछ कहिले त । भाइलाई हेरेपछि थाहा लाग्थ्यो । म पनि घडी हेर्छु । साँझको साढे आठ बजिसकेको हुन्छ । उसले मलाई हेरेको मौका पारेर म उसको अनुहारमा हेरेर मुसुक्क हाँसी दिन्छु । बिचरा उ लाचार भएर मुस्कुराउँछ । म्यासेन्जरको तिखो आवाजले मेरो ध्यान खिच्छ । हेर्छु पिंकीका प्रश्नहरु फोल्डरभरि लामबद्द छन् । थपिने क्रम जारी छ ।
म-कमसेकम जाने बेलामा भनेको भए हुने थियो ।
पिंकी-तपार्इंको मोवाइलमा गरे अर्कैले उठायो । पछि थाहा भो तपार्इंले नम्बर बदल्नु भएछ । नम्वर र गर्लफ्रेन्ड बदल्नु त तपार्इंलार्इ कसले भेट्छ र ?
म-खै त्यो चाही तिमीलाई नै थाहा रहेछ, आफ्नो त एउटै भएको पनि संयोगवस छुट्यो ।
पिंकी-जोत्नु त तपार्इंबाट सिक्नुपर्छ दुनियाँले ।
म-दुनियाँ तिमीजस्तो सतही छैन ।
पिंकी-ए हो र ?
म-होइन त ?
पिंकी-मेरो रिक्वेस्ट, प्लिज क्या नयाँ रिलेशन थाल्नुहोस ?
म-प्रेमलाई म कसैको अनुरोधमा जोड्ने र तोड्ने विषय मान्न सक्दिनँ ।
पिंकी-किनभने तपार्इं र मेरो सम्वन्ध अब सम्भव छैन । हाम्रो रिलेशन छुटेको विषयमा मैले मेरो फेमिलीलाई विश्वस्त गराइसकें ।
म-तर मैले आफूलाई पनि विश्वस्त गराएको छैन ।
पिंकी-तपार्इंले पनि हाम्रो रिलेशन छुटेको बारे घरमा सबैलाई कन्भिन्स गर्नुस न क्या ?
म-म प्रेमका सामान्य परिणामहरुलाई प्रचारमा ल्याउन उचित ठान्दिनँ ।
पिंकी-तर तपार्इंले एकदिन न एकदिन त भन्नै पर्छ ।
म-नभन्न पनि सक्छु किनकि म दुःखलाई सेयरिंगको विषय ठान्दिनँ ।
पिंकी-तर मैले त सबैलाई भनिसकें ।
म-त्यो तिम्रो निजी कुरा हो ।
पिंकी-तर तपार्इंले मलार्इ साह्रै ठूलो धोका दिनुभो ?
म-कसरी, कारण ?
पिंकी-कारणहरुले भेट्न नसक्ने धोका दिनु भो ।
म-अझसम्म यो मुटुमा तिम्रो नाम लिएर बाँचेकोछु, कसरी धोका दिएँ तिमीलाई ?
पिंकी-उत्तर छैन मसँग ।
केहीक्षण रोकियो वार्ता । मैले पनि यहि मौकामा अनलाइनका साथीहरु ( किशोर शिवाकोटी अमेरिका, देश सुव्वा हंगकंग, लेसरिन इन्डोनेशिया, बिरु भाइ यूके, मेचीपुत्र कतार, जर्ज इटाली) आदिलाई म्यासेज सेण्ड गरें ।
पिंकी-Buzz
पिंकीं-तपार्इंले मलाई साह्रै हेप्नु भो । सम्झदाँ क्या रिस उठ्छ ।
म-त्यसको लागि त मैले कयौं चोटी माफी मागी सकें तर दिएनौ ?
पिंकी-अहँ म माफ त दिनै दिन्न तपार्इंलाई ?
म-एउटा गल्तीको लागि सयौंपटक माफी माग्ने सायद म नै हुँ ला ।
पिंकी-नबुझी तपार्इंले मलाई जीवन बिझाउने गाली गर्नु भो । मेरो प्रेमलाई नाटक भन्नु भो ।
म-मैले नाटक गरेको होइन, प्रेम गरेको हुँ पो भनेको थिएँ त ।
पिंकी-भो भो अहिले कुरा नबनाउनु धेर, आ छाडौं, यस्ता बितेका झ्याउ कुराहरु । बरु भन्नु न नयाँ नौलो के छ ? साँच्चै तपार्इंको कथाको बुक नेपाल छोड्ने बेलामा भेटें र लिएर आएको छु । कथाहरु मन पर्यो तर, अलि हतार गर्नुभएछ छाप्ने बेलामा । विदेश आएको केही समय त साथी नै यही मात्र थियो ।
म-ए हो र ? अब हाम्रो कथा पनि लेख्नु छ ।
पिंकी-भो पर्दैन लेख्न ।
म-अरु दुःखेको मात्र कति लेख्नु, आफू दुःखेको पनि लेखौन यसो कहिलेकाहीं ।
पिंकी-ओभर र्र्याक चाहिं नगर्ने है । बबाल होला नि ।
म-सल्लाह हो कि धम्की ?
पिंकी-त्यो दुवैभन्दा खतरा ।
“दाइ अबचाहिं जाने बेला भयो, कसो पो गरौं”
पसले भाइले सम्झायो । मैले “केही मिनेट ल भाइ” भनेर टारें । लगभग दमक चोकका मुख्य पसलहरु सबै बन्द भैसकेका थिए भन्दा पनि हुन्छ यतिबेलासम्ममा ।
म-तिमी म बिना पनि बाँच्न सक्छौ ?
पिंकी-मर्न नसकिँदो रहेछ त्यसैले कोशिस गर्दैछु ।
म-अनि मेरो याद आउँदैन ।
पिंकी-आउँछ नि आउँन त, तपार्इंबिना पनि बाँच्ने प्रयासमा छु । म के कुरामा विश्वस्त छु भने बाँकी जिन्दगी मैले तपार्इंबिना नै बिताउनु छ । त्यसैले ।
म-तर म तिमीसँगै बाँच्ने प्रणमा छु आजसम्म ।
पिंकी-त्यो भ्रमबाट मुक्त हुनुस अहिलेको घडीदेखि नै ।
म-साँच्चै भनेको म तिमीलाई गुमाउन चाहन्न ।
पिंकी-जिउँदो लाशलाई भुल्नुस यसैमा तपार्इंको भलाइ छ ।
म-तिमी किन यसरी मप्रति नेगेटिभ मात्र हुँदैछौ भन त ।
पिंकी-तपार्इंप्रति मात्र होइन म आफूप्रति पनि नेगेटिभ हुँदैछु ।
म-आखिर किन ?
पिंकी-पोजेटिभ हुँदा सधै दुःख्नु पर्दो रहेछ ।
म-तर म भुल्न सक्दिनँ तिमीलाई ।
पिंकी-आखिर तपार्इं मसँग के चाहनुहुन्छ ? सबै कुरा तपार्इंलाई चढाइसकें, के अब मेरो यही ज्यान बलि दिउँ तपार्इंलाई ? तपार्इंबाट बाँच्नलाई मैले नेपाल छोडें । जीउँदो लाश भएर पनि मैले बाँच्न नपाउनु ? कि म यहीं सुसाइड गरौं ?
म-होइन, यदी तिम्रो जीवनमा कोही नयाँ मान्छे आएको छ भने भन, म साइड लाग्छु ।
पिंकी-प्लिज ल, यस्ता कुराचाहिं बाल निः । तपार्इंको याद नै मलाई काफी छ जिन्दगी जिउनलाई ।
यो याद मलाई तपार्इंभन्दा पनि प्रिय छ बुझ्नु भो । कारण यसले तपार्इंले जस्तो घात गर्दैन
म-एकपटकको गल्ती नै जीवन, सम्बन्धको समप्ति हो र ?
पिंकी-तपार्इंले नै भन्नुभएको होइन, फिल्म त रिसुट पनि हुनसक्छ तर, जिन्दगीमा यो चान्स छैन भनेर ।
म-त्यो त भनेको हुँ तर…
पिंकी-तपार्इंको त्यही कुरालाई जीवनको सार बनाएर जिएको छु । माफी दिने बानीले गर्दा गल्तीहरुले जन्मिने अवसर पाएका हुन् । म चाहन्न अर्को नयाँ गल्तीले संसारमा जन्मन पाओस् ?
म-तिमी त अति दार्शनिक हुन थाल्यौ ?
पिंकी-मैले यी सबै कुराहरु तँपाइवाटै सिकेको हुँ ।
म-भनेपछि तिमीलाई मप्रति वास्ता, प्रेम केही छैन ।
पिंकी-छैन । अब हामीबीच केही रहेनभन्दा पनि हुन्छ, शिवाय मानवताको नाता ।
म-तिमी त साह्रै निष्ठुरी भइसकेछौ यार ।
पिंकी-विश्वास, प्रेम, आत्मियताले घाइते बनाएपछि निष्ठुरी हुनुपर्दो रहेछ । यो मेरो रहर होइन बाध्यता हो ।
म-ठिकै छ, यो पनि नौलो कुरा हो ।
पिंकी-एउटा कुरा भनुँ ?
म-किन एउटा, अरु पनि भन न ।
पिंकी-तपार्इं मलाइ प्रेम गर्न हुन्न रहेछ ।
म-कसरी ?
पिंकी-तिमी र म अलग भयौं भनेर किन भन्नसक्नु हुन्न ? अलग अलग बाँचौ किन भन्न सक्नु हुन्न ?
म-यो त कुनै प्रश्न नै भएन नि ?
पिंकी-हो त्यसैले भनेको तपार्इंले मलाई साँचो प्रेम नै गर्नु हुन्न । न त कहिले गर्नु नै भा थ्यो ।
म-किन यदी अलग भयौं भनें, भनेचाहिं प्रेम गरेको हुन्छ ।
पिंकी-हो । यसलाई तपार्इंको मप्रतिको प्रेम हो भनेर बुझ्नेछु । प्रेमिकाले मागेको माग पूरा गर्ने नै सच्चा प्रेमि हुनसक्छ ।
म-के तिमी सिरियस छौ ?
पिंकी-तपार्इंको यादको कसम । प्लिज क्या अलग भयौं भन्नु न, मेरो लागि, हाम्रो प्रेमको लागि ।
म-ठिकै छ, मनले नमाने पनि यदि तिमी यसरी नै खुशी हुन्छौ भने, यसैलाई प्रेमको प्राप्ति ठान्छौ भने आज उप्रान्त अलग छौं । मबाट स्वतन्त्र छौ ।
पिंकी-Thank you यार
म-Welcome ।
पिंकीको आग्रहलाई, खुशीलाई मैले जब OK गरें । तब मलाई कता कता नमिठो लागेर आयो ।
आफैंमा दुःखेको आभासले अनुभुतिको गहिराइसम्म चिसो बनायो । लामो समयसम्मको प्रेमको भौतिक सम्बन्धको औपचारिक घोषणा भएको थियो आज । वर्षौं दिनसम्म भेट नुहँदा पनि यति नमिठो भाव मडारिएको थिएन । हामी सम्पर्कविहीन भए तापनि छुट्यौं भनेर नै औपचारिक घोषणा यसअघि गरेका थिएनौं ।
वर्षौपछि उनीसँग सम्पर्कमा आएपछि वियोगका सबै घाउहरु मैले बिर्सिसकेको थिएँ तर, अचानक उनलाई हामी अलग भयौं भन्नुपर्दा पुरानो चोटलाई कोट्याएर चुक लाएको महसुस भयो । अन्तमा उनको खुशी आफ्नो खुशी हो सम्झें । यत्तिकैमा पिंकीले म्यासेज Send गरिन् ।
पिंकी-अनि कतिको लेख्दै हुनुहुन्छ ?
म-अलिअलि…., साथी नै यही छ जीवनको ।
पिंकी-ए, उसो भए ठिकै छ, लेख्न नछोड्नु । नयाँ गजल, रुवाइहरु कत्तिको लेख्दै हुनुहुन्छ ?
म-अलिलि…….
पिंकी-उसो भए एक वर्ष यताको मेरो यो आइडीमा मेल गर्दिनु न ल ।
म-खै हेरौं ।
पिंकी-ल भन्नु न क्या ।
म-हुन्छ, हुन्छ ।
पिंकी-सुन्नु त साँच्चै, तपार्इं बिरामी हुनुहुन्छ रे हो ?
म-कसले भन्यो ?
पिंकी-हो कि होइन, पहिला भन्नु न ?
म-हो तर कसरी थाहा पायौ ?
पिंकी-विश्वस्तशुत्रका अनुसार ।
म-पत्रकारिताको भाषा पो बोल्यौ त ?
पिंकी-तपार्इंको संगतले ।
म-हा…..हा……..हा….
पिंकी-यहाँ सुन्नु । टाइममा खाना खानु, आराम गर्नु, धेरै नकुद्नु, पानी उम्लेको तातो मात्र खानु, चिल्लो पिरो नखानु । काम..काम मात्रै भनेर नदौड्नु, हेल्थलाई केयर गर्नु ल……?
पिंकी-ल भन्नु न क्या ।
म-हुन्छ ।
पिंकी-साँच्चै भनेको क्या
म-ल..ल.. साँच्चै ।
पिंकी-चाँडै आराम भएको खबर सुन्नु परोस् । औषधि नियमित खानुस है । तपार्इंको त व्यहोरा छैन नि । प्रोग्राम भने पछि सबै कुरालाई लात मार्नु हुन्छ ।
म-आजकल म त्यसतो छैन । आफ्नो केयर अरुले गर्दैनन्, आफूले नै गर्नुपर्छ भन्ने रियालिटी बुझिसकेको छु ।
पिंकी- Good boy । बल्ल दिमाग पलाएछ । आफूलाई सम्हाल्नु होला । फेरि पनि बिराम भएको थाहा पाएँ भने म रिसाउँछु नि ।
म- हुन्छ, हुन्छ ।
पिंकी- हुन्छ हुन्छ हैन, साँच्चै भनेको, थाहा पाएँ भने मर्नुहुन्छ नि ।
म- प्रोमिश बाबा ।
पिंकीको मप्रतिको अनौठो व्यवहारलाई मैले सही अर्थले खुट्याउनै सकिनँ । किबोर्डमा औंला दगुर्दासम्म उनले मलाई गर्ने प्रेमको रुप, भाषा, शैली र भावलाई सम्झन सकिनँ । आफैंमा असमञ्जस परेको बेलामा अचानक लाइन गयो । पिंकीसँग विदा पनि माग्न पाइएन । लोडसेडिंग भएको रहेछ । फेरि उनले यो देशीय अवस्थालाई नबुझेर मप्रति कस्तो भाव ओकल्ने हुन् थाहा छैन । शहर अँध्यारो भयो । म पनि मोबाइल बालेर मनभरि सम्बन्धको लोडसेडिंग बोकेर रुमतिर लागें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *