वार्ता

तिलक राई

समस्या सुल्झाउन होइन
त्यसलाई बल्झाउन र अल्झाउन
नाटक मञ्चनमा भाग लिँदै
प्रमुख पात्रको भूमिका खोज्यौ
र पायौ पनि तिमीले
तर तिम्रो भूमिका फिक्का भयो
तसर्थ सामु बसेर
दोहोरो संवाद होइन
मुखदर्शक श्रोता भएर
उपदेश र झोलाभरी उपहार लिएर आयौ ।

बिमारीको कुरै नसुनी
आफ्नो मनोमानी औषधी लेख्ने
बडो जान्ने डाक्टर भएर उभियौ तिमी
र त,
विस्तारवादले हातमा राखि दियो
द्विपक्षीय रोगको एक्सरे
अनि हामीलाई ग्यास च्याम्बरमा कोचेर
श्वास फेर्नै नदिईकन
पूर्वी ढोका बन्द गर्दै
पश्चिमा कारङ्कुरूङ र बकुलाहरू
हाम्रो छातीमाथि टेकेर
हाम्रै वन मनपरी चर्ने
अवसर प्रदान गर्यौ
तब हाम्रा झुपडीका बन्दनहरू टुटे
चैते हुरीको भुमरीमा
उड्दै उड्दै कता पुगे कता ।

सिनो खाने भन्दै अरूमाथि
गिद्दले आरोप लगाउदै घृणा गर्छ भने
के गिद्द साहकारी बन्न सक्छ ?
यो त सारा उच्छेदित भूटानीलाई
अपराधिकरण गर्दासम्म नभएर
छ वर्षे बालिका अपराधी घोषणा हुँदा
तिम्रो वार्ता घमण्डले फुलिएर हाँस्दै हाँस्दै
मानव तस्करी अड्डामा हरियो झण्डा हल्लाउदै
वैधता साबित गरिरह्यो
तर तस्करहरूले नै उल्टै
अपराधी घोषणा गरे पछि
भत्किएर छरिएका भाटाहरू रन्थनिएर
प्रश्न तेर्साईरहेका छन्
के तिम्रो देश अपराधी उत्पादन गर्ने फ्याक्ट्रि हो ?
यति धेरै अपराधी किन पाल्यौ ?
यदि यो सत्य होइन भने
तिमी बिचमा बसेर पुल झै चाँडै
बहुपक्षीय टेबुलमा मिलाउन सक्छौ
वाङ्चे सत्तासँग निर्णयक वार्ता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *