वा ! हिन्दुस्तान
टी पी मिश्र
नर्थ क्यारोलिना, अमेरिका
तिम्रो दादागिरीले उहिलै सीमा नाघेको
तर एकोहोरो हेरिरहयौँ
कोही बेला टोलाउँदै त
कोही बेला छलफल गर्दै
फेरि कोही बखत चुपचाप रहँदै
कतै आफैँ सुध्रिन्छौ कि ठान्दै
वा ! तिम्रो प्रजातन्त्र ।
सीमा नाघ्नुको एउटा हद हुन्छ नि !
हेर त आज तिम्रो हर्कत दार्जेलिङ्गमा ?
अहमताको माद
गोर्खाली रगतमा पौडिँदै
गोर्खाली मुखमा बुजो लगाउँदै
प्रजातान्त्रको ठुल्दाई
वा ! तिम्रो प्रजातन्त्र ।
दार्जेलिङ्गका सपूत मार्दै जाऊ
माग प्रति कानमा ठेडी खाँद्दै जाऊ
गोर्खाली रगतमा आहाल खेल्दै जाऊ
तिम्रो अहमता त्यही बोल्दै छ
तर बेला-बखत यसो हेक्का पनि राख
कुनै पनि बेला अन्यायको स्वर विश्वभर धन्किन सक्छ
तब तिम्रो रिक्त प्रजातन्त्र नांगिन सक्छ
लाज छोप्न उही गोर्खालीको स्मरण हुन सक्छ
वा ! तिम्रो प्रजातन्त्र ।
यस्ता-उस्ता खेलमा उसै पनि तिमी निपुण छौ
तिम्रो लामो अनुभव छ
भूटानका नेपालीलाई देश बिहिन बनाउन होस् कि
नेपालका नेपालीहरूलाई सिंगौरी खेलाउनेमा
काँधमा हलो नपरेको साँढे गोरुले झैँ
स-साना बर-बाछाहरुलाई मिच्दै हिँड्न
खुब रमाउँछौ अरूलाई सताउनमा
हेर त!!
तराईका नेपालीको छुट्टै राज्यको पक्षमा उभिएको तिमी
आज गोर्खाल्याण्डको खिलाफमा किन?
वा! तिम्रो प्रजातन्त्र !
एसियामा तिम्रो अहमताको तागत
धिमिलो पानीमा माछा मार्ने पुरानै बानी,
तिम्रा गल्ली गल्लीमा दिनहुँ नांगिने नारी-अस्मिता र
लाखौँ भोका जनताको आँसुले सिचाईँ भरेर
हुर्काएको उन्माद
आज गोर्खालीको माग दबाउन उत्रिएको छ
विश्वको ठुलो र पुरानो प्रजातन्त्रिक देश
एक छिनलाई तिमी नै हौ भन्दिउँला
वा ! तँ हिन्दुस्तान ।