विकृति

खेम खनाल
ओहायो अमेरिका

विकृति फैलियो गाउँ गाउँमा
कलह बड्नगो भाइ भाइमा
मनुज भासिए मद्यपानमा
असल सोचमा छैन चाहना ।१।

कुसल कर्ममा छैन साधना
गलत बानिले बड्छ वेदना
बहस गर्दछन् छैन नोकरी
सवल जिन्दगी रम्नु के गरी ! ।२।

अधम चालमा थाल्छ धाउन
बहुत दु:ख भो खान लाउन
समय सक्दछन् खेलमा बसी
सकस आउँदा बन्छ बन्धकी ।३।

नजर देखियो ताप क्लेशमा
वदन भेटिए छद्म भेषमा
सबल सभ्यता धेर मैलियो
विषय वासना मात्र फैलियो ।४।

भजन भक्तिमा छैन चिन्तन
भुवन जानिए कर्म वन्धन
नयन पापमा मात्र लाउँछन्
मनुज के गरी मुक्ति पाउँछन् ।५।

युवक व्यर्थमा गर्छ नाटक
उदित यौवना गर्भ धारक
कुलत बानिले बिग्रिए कति
विकृति आउँदा बड्छ दुर्गति ।६।

सहर ढाकियो नीच कर्मले
सकस मात्र भो धूम्रपानले
वदन शुद्धहोस् छोड दुर्मति
मनन गर्नु है सभ्य संस्क्रिति ।७।

छन्द-इन्दिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *