विगत भुल्ने बहानामा आफैंलाई नभुलौं

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरे /पेन्सिल्भिन्या, अमेरिका

लेखक

 

मान्छेहरु भन्छन् हिजो भनेको विगत हो । त्यसलाई भुल्नुपर्छ । विगतलाई सम्झेर वर्तमानमा रुनु हुँदैन । मुर्मुरिनु हुँदैन । तर, म भन्छु विगत सबै भुल्न लायक हुँदैन । विगत बिर्सिन चाहनेहरुले विगतमा भएका आफ्नै अस्तित्वबोधका आधारहरु पनि भुल्नुपर्छ ! विगत भुल्ने मान्छेले आफैंलाई भुले हुन्छ ।

इतिहासका नमीठा, तिता घटनाक्रमहरु, दर्द र वेदनाका आर्तनादहरु बिर्सनलाई मान्छेले विगत भुल्ने कुरा गरेका हुन् । तथापि मान्छेले जतिसुकै भुल्छु भने पनि आफैंलाई कोक्याउने पीडाका कथाहरु कहिल्यै भुल्न सक्तैन । विगत सम्झिनु कुनै अपराध पनि होइन । मेरी आमाले मलाई जन्माउन गर्भाधान गरेको पनि विगतमै हो । विगत भुल्ने लहै लहैमा मेरी आमा र आफैंलाई म कसरी भुलुँ ? हिँजो नभएको आज र आजबिनाको भोलि कल्पना गर्न सकिँदैन ! विगतलाई बिर्सिएर वर्तमान र भविष्यनिर्माणको आधार खुस्काउन हामी सक्तैनौं !

भुल्नु हुँदैन हाम्रो विगत । अझ त्यसलाई संरक्षण गरी जतनले राख्नुपर्छ । हाम्रो इतिहास व्यथा र पीडाको पोकोमात्र होइन । त्यसमा पर्याप्त गौरवगाथाहरु पनि छन् । आगामी जीवनका हरेक पाइलामा काम लाग्ने सामाजिक सिद्धान्तहरु पनि इतिहासमा थिए । हाम्रो समाजको जीवनदर्शनमा पर्याप्त मानवता थियो ।

पश्चिमेली र पूर्वेली संस्कृतिको तुलना गरेर पश्चिममा मात्र मानवता र सभ्यता भएको ठान्ने हाम्रा केही मान्छेहरु आफैंलाई बिर्साउन बल गरिरहेका छन् । पूर्वतिर सतीप्रथा थियो । त्यो कुरा पक्कै पनि अपराध थियो । पूर्वतिर कमारा-कमारी राख्ने प्रचलन थियो, त्यो पनि मानवताविपरीत नै थियो । त्यस्ता तमाम बितण्डाहरुको संरक्षण गर्ने कुरो म गरिरहेको छैन । तिनको समूल नष्ट गर्नुपर्छ ।

यद्यपि, पूर्वमा सबैभन्दा कठोर, दमनकारी, निरंकुश राजाहरुको शासन चल्दै गर्दा मानवमूल्यका आधारहरु खडा भएका अनेक उदाहरणहरु छन् ।  नेपाल र नेपालीहरुकै कुरा गर्दा कठोर परम्परावादी भनेर चिनिएको कुवँरहरुको शासन (राणाशासन)- ले कमारा-कमारी र सतीप्रथाको निर्मूलन गर्दैगर्दा पश्चिमतिर कालो रङ्गका मानिसहरुलाई बेचबिखन गर्ने चलन कानुनमै समेटिएको थियो । काला जाति र नारीहरुलाई चुनावमा भाग लिन नदिने कुरा सामान्य थियो । उनीहरुलाई गिर्जाघरमा प्रार्थना गर्नपाउने छुट पनि थिएन । पूर्वमा सामाजिक न्याय, समानता र दर्शनचेतनाका कुरा उठिरहेका बेला यूरोपतिर लाखौं यहुदीलाई ग्यासच्याम्बरमा हालेर जिउँदै डढाइँदै थियो । पूर्वीय सभ्यताको सबैभन्दा ठूलो कलंक भनेको जातीय विभेद र छुवाछूत हो । यसमा कुनै किसिमको ‘कम्प्रमाइज’ हुन सक्तैन । तर पनि कुकुरझैं साङ्लाले बाँधेर पशुहट्टीमा मान्छेको सौदा गर्ने चलन कम से कम पूर्वमा थिएन ।

केही हजारवर्ष अघि नै पूर्वेलीहरुले ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ (सबै प्राणी सुखी होउन् र सबै निरोगी रहुन्) भनेर विश्वलाई सन्देश दिइसकेका थिए  ।  यसरी नै “असतोमा सत्गमय…”, “बसुधैव कुटुम्बकम..” जस्ता नाराहरु तीन हजार वर्षअघि नै लागेका थिए । ‘पण्डिता: समदर्शिनः’ भनेर गीताले शताब्दियौं पहिले सबैलाई समान देख्नु नै पण्डित बन्नु हो भनेर शिक्षा दिएकै थियो ।

कुरा यतिमात्र होइन, खोज अनुसन्धानको बाटो हराएर बिलखबन्द परेको आधुनिक विज्ञानलाई शून्य संख्या आविष्कार गरिदिएर आर्यभट्टले बाटो खुलाइदिएका थिए । ज्योतिषशास्त्रले खगोल विज्ञानको बाटो खुलाएको थियो । न्यायदर्शनले प्रकृति र भूगर्भशास्त्रको अनुसन्धानको बाटो खोलिदियो । त्यसमाथि थप बुद्धदर्शनले फैलाएको अहिंसाको सन्देश, जैनदर्शनले फैलाएको निर्गुण आस्थाका कुराबाटै आधुनिक विज्ञानतर्फ जाने बाटो खुलेको मान्न सकिन्छ । भर्खरै पनि जगदिशचन्द्र बोशले वनस्पतिमा प्राण छ भनेर वैज्ञानिक खोजमार्फत प्रमाणित गरिदिएका छन् ।

तपाईंले विचार गर्नुभएको छ, नर-नारी अथवा स्त्री-पुरुष दुवैलाई देवता र देवीजस्ता दैवीशक्तिको रुपमा मानेर सम्मान गर्ने परम्परा पूर्वीय दर्शनमा मात्र विद्यमान छ ।  शिवले अर्धनारीश्वरको रुप लिएर एउटा सिंगो जीवन बन्नका लागि नारी र पुरुष बराबर हुन् भन्ने सन्देश दिएका छन् । महाभारतमा बृहन्नला, षण्ढक र शिखण्डीजस्ता पात्रहरुको अस्तित्व खडा गरेर तेस्रो लिङ्गीय मानवसमाजको पहिचान र मान्यता पनि दर्शाइएको छ ।

नारीलाई सम्मानित दर्जामा राखिएको संस्कारको नमूना हेर्नलाई देवी महात्म्य वा देवीसूक्त हेर्नुपर्ने हुन्छ ।

“या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः !” (देवी सूक्त)

‘जुन देवी चेतनाका रूपमा सबै प्राणीमा विद्यमान् छिन् ती देवीलाई बारम्बार नमस्कार छ ।’ यो अर्थमा सबै प्राणी देवीमय छन्, ईश्वरीय छन् । त्यसर्थ मानिसबीचमा स्त्री-पुरुष भेद, जातीय विभेद आदि ईश्वरीय दृष्टिमा पनि अपराध हो । त्यसो त केही अपवादका राजनीतिक बितण्डाबाहेक सबैजसो शास्त्रले मानव समाजलाई समानता र न्यायकै उपदेश दिएका छन् ।

तर, शास्त्रीय मर्म बुझ्नभन्दा पाठ गरेरै धर्म हुन्छ भन्नेतिर लागेर हाम्रो समाजले बाटो बिराएको छ । विभिन्न समयका तात्कालीन राजनीतिक परिवन्दका विषयहरुलाई सामाजिक परिवेशमा मिसाएर तिनलाई धर्मको आवरण दिइएपछि सबै प्राकृतिक र शास्त्रीय विधिहरु लथालिंग भएको कुरा हाम्रो समाजले आजसम्म महसूस गरेकै छैन । अब खोज्नुपर्छ, अनुसन्धान गर्नुपर्छ । हाम्रो समाजले हिँजोसम्म धर्मको नाममा मान्दै आएका परम्पराहरु कसरी स्थापित भए भनेर खोज्नु, बुझ्नु, अध्ययन अनुसन्धान गर्नु पक्कै पनि अपराध हैन ! अतः तल राखिएका बुँदाहरुमा ठोस निष्कर्ष ठिम्याउन सकियो र तिनलाई सफा गर्न सकियो भने हिन्दू वा सनातन संस्कृति अब्बल भएर युग युगसम्म अघि जानेछ ।

  • स्त्री र पुरुषबीचको समागमी प्रजनन् प्रक्रियाबाट छोरैमात्र जन्मिनुपर्ने, छोरैले मात्र स्वर्ग, वैकुण्ठ पठाउन सक्ने !

कृषियुगो शुरु भएपछि भूमिमाथिको स्वामित्व बढाउने सिलसिलामा युद्धहरु भइरहन्थे । त्यस दौरानमा विभिन्न ठाउँमा राजाहरु हुन्थे । एक राजाले अर्को राजाप्रति अविश्वास र शंकाको दृष्टिले हेर्नु स्वाभाविक थियो । त्यो परिस्थितिमा छोरीहरुलाई विवाह गरेर अर्को इलाकाको राजाले लैजाने हुनाले छोरीको नाममा वंश र सम्पत्तिको हक कायम गर्दा राजाहरुको उत्तराधिकार तथा सम्पत्तिको सुरक्षामा प्रश्न चिह्न खडा भयो । त्यसपछि छोरीलाई सम्पत्ति र वंशको उत्तराधिकारबाट वञ्चित गरी मरेपछि गरिने किरियासमेत गरेर अर्काको हातमा ‘कन्यादान’ गर्ने चलन शुरु भयो । यसरी छोरोमात्र पितृ तार्ने वा बैकुण्ठ पुऱ्याउने आधार बन्यो ! अहिले त्यो परिस्थिति छैन । तर समाजमा विश्वासको आधार त्यही रूपमा स्थिर छ ।

  • लोग्ने मरेपछि स्वास्नीले जिउँदै अग्निदाहमा होमिनुपर्ने !

अंग्रेजी गणनाको तेस्रो शताब्दिपछि विस्तारै बढ्दै गएको आर्य र अनार्यबीचको द्वन्दले सातौं शताब्दितिर आइपुग्दा हिन्दू र मुसलमानबीचको शत्रुताको रूप लिइसकेको थियो । (Early India: From the Origins to A.D. 1300 by Romila Thapar) । लोग्ने नभएका हिन्दू स्त्रीहरुलाई मुसलमानहरुले लगेर बलात्कार गर्ने, यौनदास बनाउने र अनेक यातना दिँदै मार्ने भएका कारण लोग्ने मरेपछि केही हिन्दू स्त्रीहरुले लोग्नेको चितामा हामफाले । यही किंवदन्ती कथालाई समाजमा ल्याएर पतिपरायण औरतले बैकुण्ठसम्म लोग्नेको सेवा गर्नुपर्ने बताउँदै परिस्थिति फेरिँदा पनि जबरजस्ती नारीहरुलाई ज्यूँदै जलाउने आपराधिक परम्परालाई धर्मको आवरणमा लपेटियो । भारतमा राममनोहर लोहिया र नेपालमा चन्द्रशमशेरले यो प्रथालाई राजनीतिक अंकुश लगाएर जबरजस्ती रोकिदिए । त्यसो नभएको हुँदो हो त आज पनि समाजमा आमाभन्दा बाबु पहिले गुमाउने हामीहरुमध्येकै कतिले ज्यूँदै आमा चितामा चिच्याउँदै पोलिएका हेरिरहनुपर्ने थियो !

  • छोरी हुनेहरुले ऋतुस्राव नभइकन कन्यादान दिएमात्र धर्मको फल मिल्ने !

यस सवालमा ऋतुस्राव भइसकेका हिन्दू बालिकाहरुलाई मुसलमानले जबरजस्ती उठाएर लाने एउटा कारण थियो । एउटी हिन्दू कन्या बिहे गरे अथवा उसबाट मुसलमान सन्तान जन्माएको खण्डमा पुरस्कृत हुने लोभमा मुसलमानहरुले हिन्दूकन्या अपहरण गर्ने अभियान नै चलाएका थिए । स्त्रीहरुको ऋतुस्राव नभई सन्तान पैदा नहुने भएकाले ऋतुस्राव शुरु हुनासाथ हिन्दू युवतीहरुलाई तत्काल उठाएर लान्थे । यो भयो एउटा कारण ! अर्को कारण त्यसबेलाका राजाहरुले पनि ऋतुस्राव नभएका कलिला बालिकाहरुलाई भोग गर्ने चलन बनाएका थिए । तक्षशीलाका राजा धनानन्ददेखि अनेकौं तत्कालीन राजघरानाका कथात्मक विवरणहरु हेरे यो कुरो सहजै बुझिन्छ ।

यो सवाल आजको समाजसम्म पनि चल्दै आएको छ । हिन्दू परम्परा नभएका देशहरुमा पनि ‘भर्जिनिटी’ को सवाल उठिरहेकै छ । यस्ता कुराहरुले कथित धर्मको रूप लिएपछि हाम्रो समाजमा अन्जानपूर्ण अपराध भएको कुरा धार्मिक अभियन्ताहरुले कहिल्यै बुझेजस्तो गर्दैनन् !

  • छोरीले खुशी भएर हाँस्न नमिल्ने !

हाँस्नेहरु बेश्या हुन्छन् भन्ने मानसिकता अझै छ । स्त्रीले छोटा लुगा लगाएर बलात्कृत भएका भन्नेहरु सबै यही मानसिकताका हुन् । उहिले लोग्ने मान्छेले दुइ अमलको लगौंटी लगाएर अगेनामा पिँडुला फर्काएर आगो ताप्थे, कुनै आइमाईले ती बुढाहरुलाई बलात्कार गरेको घटना बाहिर आएको थिएन । छोटै लुगाको कारण भए त्यसबेला पनि हुनुपर्थ्यो । यस्ता कुराले कठोर पितृसत्तात्मक सामाजिक परिपाटीको झल्को दिन्छन् कि दिँदैनन् ? यी सवालमा धार्मिक अभियन्ताहरु बोल्नुपर्छ !

  • गुणकर्मले जेसुकै होस् जन्मवंशले राजाको छोरो राजै हुनुपर्ने; बाहुनको छोरो बाहुनै हुनुपर्ने !

जन्मना जायते शूद्रः संस्कारात् भवेत् द्विजः वेद-पाठात् भवेत् विप्रः ब्रह्म जानातीति ब्राह्मणः । (अत्री स्मृति १४१)

ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।  कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणैः॥ (भगवत्गीता अध्याय १८ श्लोक ४१) ।

यस्ता श्लोकहरुको सार समाजले बुझ्ने गरी पुनर्व्याख्या गरिनुपर्छ ।  

  • सभ्य, शालीन, लज्जालु, इमानदार, प्रेममयी हुनुपर्छ भन्ने उपदेश छोरीका लागि मात्र दिइने !

छोराहरु अधिकांश युद्धमा जाने हुनाले नैतिकता र अनुशासन छोरीहरुलाई मात्र भिराइएको थियो । तर, युद्ध सकिएर सामाजिक अमन-चयनको सन्तुलित व्यवस्थामा पनि त्यो चलनले परम्पराको रूप लियो । उपनिषदजस्ता शास्त्रदर्शनले समाजको तत्कालीन व्यवस्थाबारे बताएका छन् । तर, वर्तमान व्यवस्था आधुनिक संविधान र कानूनद्वारा निर्देशित छ । यो बद्लिँदो परिस्थितिबारे धार्मिक अभियन्ताहरुबाट पुनर्व्याख्या हुनुपर्छ ।

  • पुर्ख्यौली सम्पत्तिमा छोरैमात्र उत्तराधिकारी बन्ने !

वंषजको उत्तराधिकार जसले लियो उसैले सम्पत्ति लिने चलन राजाहरुबाटै शुरु भएको थियो । त्यही भएर सम्पत्ति लिनका लागि पनि कसैले अपुत्राको काजकिरिया गरेर सम्पत्ति हडप्ने परम्परा बन्यो । दानको नाममा सम्पत्ति पाउने पण्डितहरु गलत परम्पराका बारेमा बोल्नै सकेनन् !

  • एउटै देवी-देवता मान्ने, पूज्नेहरुलाई ‘पानी अचल’, अनि सनातनीहरुले लक्ष्मी वा माता मानेको गाईलाई आहार बनाउनेहरुचाहिं ‘पानी चल’ मान्नुपर्ने !

पानी ‘चल’ र ‘अचल’ को परिभाषित व्याख्या अहिलेसम्म कुनै धार्मिक अभियन्ताले गर्नसकेको छैन । उहिलेको समाजमा कमारा कमारी र अहिलेको समाजमा ज्यामी- मजदूरहरुमाथि यो नियम हाबी छ । तर, बौद्धिक, बलिष्ठ र धनवान भएमा कोही पनि पानी अचल रहेको छैन । अर्कै संस्कार संस्कृति भएको, रंगरुपै पनि अर्को भएको कोही मानिस टुप्पी पालेर, पहेंलो धोत्ती लाएर धार्मिक अनुष्ठान भएका स्थानतिर आइपुगेमा यज्ञकर्ताहरु परैबाट ताँदो लगाएको धनुष मुद्रामा ढोग्दै स्वागत गर्दछन् । तर, एउटै संस्कार संस्कृति भएको बीरे लोहार टुप्पी पालेर, धोत्ती लाएर यज्ञस्थलमा प्रवेश गऱ्यो भने कर्ताहरुले कि लाठो उज्याएर लखेट्छन् कि त यज्ञ अपुरै छोडेर आफू भाग्छन् ।

  • धर्मलाई सामाजिक प्रतिष्ठा, रवाफ र सम्पत्तिको मोलमा तौलिने ! धर्मको आसनबाट शासनको सिंहासन ताक्ने !

जसको नाममा ठूलो र राम्रो मन्दिर छ, जसले धेरै मानिसहरुलाई निम्त्याएर भोज खुवाउन सक्छ, जसले दानको नाममा धेरै सम्पत्ति प्रदर्शन गर्न सक्छ, त्यो नै धर्मात्मा कहलाउँछ । यो चलन कसले बनायो ?

  • गरिबीका कारण मकै र कोदोमात्र खान पाउने घरका मानिसहरु मरेपछि नर्क जाने र धानको चामल खानेहरु मात्र स्वर्ग जाने !

उहिले गरीबका घरमा मात्र सिस्नो र कोदाको खोले पाक्थ्यो । अहिले धनीहरुका घरमा औषधिका रूपमा त्यही पाक्छ । सेतो चामल र चिनी रोगका रूपमा दर्जिएका छन् । तर, त्यो चिनी र सेतो चामल नभएमा यज्ञकर्म अझै पनि चल्दैन !

  • गलामा माल भएको र अलिकति जुरो उठेको गाइको दूध-गहुँतमात्र चल्ने !

जुरो र गला नभएको गाई अछूत ठानिन्थ्यो । सुँगुरको शुक्राणुबाट संक्रमित गराई जन्माइएको भन्दै त्यस्ता गाईलाई अछूत ठानिन्थ्यो । विस्तारै गोदानमा यी गाईहरु चल्नथाले अनि दूध र गोबर-गहुँत पनि चल्यो ! अहिले त गोबर न गहुँत; जायन्ट इगल, वालमार्ट जस्ता स्टोरहरुमा राखेको दूध नै शुद्ध-पवित्र छ !

यी माथि उल्लेख गरिएका कतिपय कुराहरु आज चल्तीमा छैनन् भनेर चुपचाप कन्दनीमा लुकाउने हैन । तिनको इतिहास खोतलेर अन्वेषण गर्नु जरुरी छ । लु त यति कुरालाई बाहिर ल्याएर छलफल र चर्चा गरौं ! किन, कसरी, के अर्थ र औचित्यमा धर्मको बहानाबाट यी चलन स्थापित भएका रहेछन् भनेर टुंगो गरौं । अनि हाम्रो सामाजिक संस्कार र ऐतिहासिक सांस्कृतिक आधारमाथि कसले प्रश्न उठाउँदो रहेछ, कसले औंलो ठड्याउँदो रहेछ; हेरौंला ! नभए त भित्र कुहेको फर्सीमा बाहिरबाट पालिस धसेर पसलमा राखेजस्तै हुन्छ हाम्रो संस्कार !

आजभोलि पूर्वीय दर्शनशास्त्रको मर्मबारे न चर्चा हुन्छ न त कसैले तिनको अध्ययन नै गर्छ । धर्मको नाममा उदाएका सम्प्रदायका हुद्दाहरु एकातिर छँदैछन् । तर, एउटै सम्प्रदायका भए पनि उपाध्याय, जैसी र त्यसभन्दा तलका तहमा राखिएका विभेदहरु जातीय सत्ताको आडमा टिकेका छन् । कर्मकाण्डमा लागू हुने विधानका एकाध पुस्तकभन्दा अरु दर्शनका कुरा कसैले पढ्दैन । हिन्दू हिन्दू भनेर आफ्नो निहित साम्प्रदायिक स्वार्थलाई धर्मको खोल ओडाएर ‘सनातन संस्कृति’को उपमा दिन्छन् । यद्यपि, सनातन संस्कृतिको अठवत्र जप गर्नेहरु आफ्नै सम्प्रदायको इतिहास पनि खास्सै बुझ्दैनन् । हिन्दू भनेको त भौगोलिक पहिचानमात्र हो, धर्म होइन । भक्तिदर्शन शास्त्रले भन्छ, कुनै सामाजिक तह र विभेदलाई ईश्वरप्रतिको समर्पणले समाप्त पारिदिन्छ ! तर, त्यही ईश्वरको सन्देश बाँड्ने पुरोहित र पण्डितहरु एउटै सम्प्रदाय अँगालेका भए पनि आजैसम्म उपाध्याय बाहुन आफूबाहेकका घरमा कर्मकाण्ड गर्न गएका बखत कि लुकेरमात्र यजमानले पकाएको खान्छन्, कि त आफैं पकाएर खाएको भान पार्छन् । त्यसो गर्दा धर्म अडिएको, बाहुनको शाख बाँचेको स्वाङ उनीहरु पारिरहेकै छन् ।  जातीय कट्टरता र कर्मकाण्डीय ढिप्पीलाई निस्तेज पारेर निर्गुणभक्तिको आस्थालाई उजागर गर्ने उद्देश्यमा सम्प्रदायहरु स्थापित भएका थिए । तर, निरंकुश राजाहरुले जनताको मनोदशा बुझेर त्यसलाई ढाकछोप गर्न आफ्नै तजबिजमा लगाएको बुख्याँचा प्रजातन्त्रको खेतीजस्तो समाजले एकातिर कर्मकाण्डी ब्राह्मणवादलाई टेवा दिइरहेको छ भने अर्कातिर सम्प्रदायको रोपाईं पनि गरिरहेको छ । यस्तो अवस्थामा दर्शनशास्त्रहरुको अध्ययन उन्नति सम्भव हुँदैन ! शास्त्रको वैज्ञानिक विश्लेषण हुँदैन !

यद्यपि, यस्ता तमाम कमजोरीहरुका वाब्जुद पनि हाम्रो सभ्यताको इतिहास जम्मै कालो छ भन्ने होइन । हाम्रा पुर्खाहरुले तीन हजारवर्षदेखि पालन गर्दै ल्याएको उपवास बस्ने परम्परा स्वास्थ्यविज्ञानमा आधारित थियो भन्ने भक्खरै पुष्टि भएको छ । योशिनोरी ओशुमी भन्ने जापानी वैज्ञानिकले सन् २०१६ को ‘अटोफ्यागी’ नामक तत्वविज्ञानमा नोबल पुरस्कार पाएका छन् । यसरी नै ‘इम्युनो चेकपोइन्ट थेरापी’ नामक क्यान्सरविरुद्ध शारीरिक प्रतिरोधी क्षमताको आधारमा हुने चिकित्सा विज्ञान आविष्कारका लागि सन् २०१८ को नोबल पुरस्कार एकजना अमेरिकी र अर्का एक जापानी वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिएको छ ।

उनीहरूले विकसित गरेको पद्धति क्यान्सरविरुद्ध उपचारमा ‘अभूतपूर्व प्रभावकारी’ सिद्ध भएको विज्ञहरूको भनाइ छ । अमेरिकाको टेक्सास विश्वविद्यालयका प्राध्यापक एलिसन र जापानको क्योटो विश्वविद्यालयका प्राध्यापक होन्जोले संयुक्तरूपमा सो आविष्कार गरेका  हुन् ।

यी दुवै आविष्कारले हाम्रो सामाजिक परम्परामा विद्यमान उपवास अथवा ब्रत बस्ने परम्परालाई यथेष्टरूपमा पुष्टि गरिदिएका छन् ।

आविष्कारको तथ्यांक अनुसार सामान्यतः क्यान्सर संक्रमणको शुरुवात अवस्था भएमा सम्बन्धित व्यक्तिले एक सातामा कमसे कम ४८ देखि  ७२ घण्टसम्म निराहार रहनु पर्दछ । यसो गर्दै वर्षदिनसम्म अघि बढेमा सो व्यक्तिको शरीरमा रहेका क्यान्सर संक्रमित जीवाणु आफैं समाप्त भएर जानेछन् । अथवा क्यान्सर संक्रमणको अवस्था दोस्रो स्तरमा पुगिसकेको भए सो व्यक्तिले कम से कम लगातार  २१ दिनसम्म निराहार रहनुपर्दछ । दिनको २४ घण्टाको हिसाबले २१ दिनमा जम्मा ५०४ घण्टा हुन्छ । अतः कम्तिमा लगातार ५०४ घण्टा (सकेसम्म त्योभन्दा बढी पनि) भोकै रहन सकेमा क्यान्सरको औषधि खोज्न कतै जानुपर्दैन ।

यता पूर्वीय सामाजिक परम्परामा वर्षभरिमा जम्मा २४ एकादशी हुन्छन् । मलमाश परेको वर्षमा २६ वटा एकादशीहरु हुन्छन् । एकादशीमा ब्रत बस्ने (उपवास गर्ने) चलन त सबैलाई थाहा हुनुपर्छ । यसरी हिसाब गर्ने हो भने सामान्यतः २४ दिन एकादशी परेको वर्षमा सधैं एकादशी ब्रत लिने व्यक्तिले ५७६ घण्टा उपवास गर्छ । यसरी नै मलमाश परेको वर्ष २६ एकादशी हुनाले जम्मा ६२४ घण्टासम्म उपवास गर्छ । उल्लिखित अनुच्छेदको वर्णनसँग तुलना गर्दा यहाँनेर लगातार २१ दिन गर्ने आधुनिक विज्ञानसम्मत उपवास र वर्षभरि मिलाएर गर्ने पूर्वीय दर्शनमा आधारित उपवासमा केही तात्विक फरकहरु हुनसक्छन्  । तर, उपवास त दुवै उपवास नै हुन् । ती दुवैखाले उपवासमा निहित केही भिन्नताबारे  चर्चा पनि गराहालौं न त !

पूर्वीय दर्शनमा आधारित उपवासलाई बाहिरबाट आशातीत फलप्राप्तिको उद्देश्यमा परिभाषित गरियो । जस्तैः विवाहित स्त्रीले पतिको आयु बढाउने र अविवाहित स्त्रीले योग्यपति पाउने याचनामा । त्यही भएर निराहार बसेर प्राप्त गर्ने स्वास्थ्यलाभको उपायलाई ‘भगवान’ उपासनाका निर्देशक- कथित महात्माहरुले नै फापरको रोटी खाएर बसे पनि हुने चलनको रूपमा परिणत गरिदिए । मान्छेको शरीरलाई एक महिनामा करीब दुइपटक जति खान रुच्तैन । त्यो शरीरविज्ञानको विधि हो । त्यही समय पारेर निराहार बसे शरीरमा ऊर्जा भरिएर मानिस निरोगी हुन्छ भन्ने ज्ञान ती पण्डाहरुलाई के हुन्थ्यो जसले आफ्ना यजमानहरुलाई दाल-तरकारीसित भात नखाए पनि दूध र महसित चारमाना सातु मुक्याउँदै एकादशीको ब्रत लिन सिकाए !

कुरो जति तन्काए पनि तन्की रहन्छ । यद्यपि, निष्कर्षमा यति भन्नैपर्ने हुन्छ कि दश-बाह्र सयवर्ष अघिदेखि निरन्तर अधोगतिमा बगेको हाम्रो समाजले अझै पनि सभ्यतातर्फ टाउको उठाउन सकेको छैन । उपवास बसेर देउता खुशी हुने विश्वासको विषयलाई नै उदाहरण बनाएर हेरौं । स्वास्थ्यविज्ञान, नैतिकता, सामाजिक अनुशासन आदिका लागि तय गरिएका तत्कालका कानूनहरुलाई धर्म धर्म भनेर, स्वर्ग जाने सिँढीको रूपमा व्याख्या गर्दै गलत नजीर स्थापना गरिएको छ । अनुसन्धान र अभ्यासका विषयहरुलाई स्त्रोत्र, खुस्खुस कानेखुशी गर्ने र गुन्गुनाउने मन्त्र बनाइदिएपछि अधिकांश उपलब्धिका साधनहरु निरर्थक बनेका हुन् । नत्र पूर्वीय दर्शनमा यथेष्ट विज्ञान छ जुन अझै पनि सर्व-मानवकल्याणको लागि उपयोगी हुनसक्छ ।

उपवासको प्रसंगले सबैको मनमा एउटा हुटहुटी पैदा गरिदिएको हुनसक्छ-के हाम्रा पुर्खाले तीन हजारवर्ष पहिले नै शरिरविज्ञानको अध्ययन गरी आन्तरिक उपचारविधिसमेत पत्तो लगाइसकेका थिए ? निश्चय पनि त्यसो भएको थियो भन्न हिच्किचाउनु पर्दैन । किनभने त्यस्तो अनुसन्धान नभएको भए तेस्रो शताब्दिमै फष्टाएको चरक प्रतिपादित आयुर्वेद विज्ञान संसारभरि फैलिने थिएन । तत्कालीन तक्षशीला विश्वविद्यालयका विद्यार्थी चरकले विद्यार्थीकालमै औषधिविज्ञानको अनुसन्धान, आविष्कार र अभ्याससमेत गरेका थिए । उनको कृति चरकसंहिता अरबी र ल्याटिन भाषाहरुमा अनुवाद भएको थियो भने अंग्रेजीभाषीहरुले पर्याप्तरूपमा चरकको जीवनी र उनको शील्पबारे अनुसन्धान गरेका थिए । डाक्टर चार्ल्स डाना, डाक्टर जोसेफ कोलिन्सलगायत जम्मा पाँचजना चिकित्सकहरु मिलेर अमेरिकाको न्यूयोर्कमा सन् १८९८ मा स्थापना गरेको ‘चरक क्लब’को इतिहास केलाउने हो भने चरकऋषिको जीवनी र पूर्वीय चिकित्साविज्ञानको गौरवगाथा सजिलै बुझ्न सकिन्छ ।

इतिहासका तमाम गौरवगाथाहरु बिर्सिएर हाम्रो समाजका सारा उपलब्धिहरु किन विसर्जित भए ? सबै हाम्रै कारण ! पूर्वीय दर्शनलाई केवल पाठ गर्ने सामग्री साबित गर्दै हरदम पिताम्बरको टालोमा बेह्रेर ताकमा राख्ने चलन नै यसो हुनुको मूल कारण हो । त्यसपछि शिक्षामा जात, वर्ग र हैसियतको सीमाबन्दी गर्ने चलन अर्को कारण हुनसक्छ । पढ्नु भनेको जीवनको सार बुझ्नलाई नभएर कर्मकाण्ड भट्याएर रोजीरोटी चलाउने आदि उद्देश्यमा केन्द्रित गरिएपछि हाम्रा सारा कुरा बिलाए । आयातीत संस्कार, संस्कृति, सभ्यता, गौरवगाथा र खानपानसमेत प्यारा भए ! यो क्रम अहिलेसम्म चलेर आएको छ । युट्यूब र फेसबुकका भित्तामा अडेसिएर विज्ञानको काफी विरोध गर्ने कथित महात्माहरु धेरै देखिए तर, हाम्रो दर्शन र सभ्यताको सापेक्ष अध्ययन अध्यापन गराउन उत्सुक कोही देखिएनन् । समाजका तमाम सवालहरुमा चिन्तन गर्ने जिम्मेवारी समाजकै हो । तथापि, सम्प्रदायको सदस्यसंख्या बढाउने भर्तीकेन्द्रबाहेक समाजमा दीर्घकालीन अस्तित्व तय गर्नेतर्फ चिन्तन गर्ने खास मान्छेहरु देखिँदैनन् !

पूर्वीयदर्शनका साधकहरुले विभिन्न मतका, अलग अलग नाराका, एक एकजना साधुका झण्डा बोक्ने लठैतका रूपमा सम्प्रदायका सेनामात्र बन्ने होइन । पूर्वीय दर्शनशास्त्रहरुको उचित अध्ययन, अनुसन्धान र विश्लेषण हुनसकेमा कसैले पनि कसैको लागि स्वर्ग जाने सिँढी बनाइदिनु पर्दैन । आज स्वर्गद्वारको टिकट बेच्नेहरुले बरु सम्पूर्ण सभ्यता र संस्कृतिको अध्ययन अनुसन्धान गर्दै त्यसभित्र रहेका गलत पक्षहरुलाई धुँदै-पखाल्दै पुनःप्रयोजनाका लागि तयार गरिदिए सबै धन्य हुनेछन् । काम नलाग्ने ठहर भएका विगतका राजनीतिक उद्देश्यहरुलाई दूधबाट झिँगो निकालेझैं मिल्काउने र इतिहासका सकारात्मक पक्षहरुलाई पुनः उपयोगका लागि प्रस्तुत गर्ने, गौरवगाथाहरुलाई पुनर्व्याख्या गर्ने दायित्व बुझ्नु आजको आवश्यकता हो ।

पत्रपत्रिकाहरु

-डॉ. चन्द्रप्रकाश द्वेवेदीको ‘उपनिषद गंगा’

Early India: From the Origins to A.D. 1300 by Romila Thapar

(मगधीय नन्दवंशको इतिहास र कौटिल्य/ चाणक्य- नीति ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *