विचारहरुले आजकल प्वाँख उमार्दैछन्
युवराज घले भाई
मेरो तर्क, वितर्क र
विचारहरुले आजकल
आफै प्वाँख उमार्दैछन्
रत म –
उज्यालोमा पनि
बत्ती बाल्ने गर्दछु । अँध्यारोले मलाई
उति खप्पिस पारेको छैन
जतिको उज्यालोले पारेको छ ।
यी प्वाँखे विचारहरु
कसरी छोटिएर, चाउरिएर
माराकमुरुक भएर,
सानो भएर आफूभित्र
उकुसमुकुस हुँदै
प्रवेश-द्वार खोज्दैछन् ।
यो सानो आकाशभित्र
अटाइ-नअटाई
यसैले त होला
आजकल ‘म’
आकाशसित झुण्डिने
जमर्को गर्छु ।
तर , आकाश त
खोक्रो रहेछ….खोक्रो
बाहिरी मात्र बोक्रो रहेछ…… बोक्रो !
गहिरो छायाँ
सागरको छायाँलाई
सागरले पैंचो लिएको
आवरण मात्र
‘म’ पनि अरु-अरु
पिण्डहरु सरह ब्रह्माण्डमा
झुन्डिएको मात्र रहेछु ।
यी आफै-आफ
कोचिएका विचारहरु
उकेल्न खोज्छु
तर , ओकल्न सक्दिनँ !
कस्तो अभिशाप
यही अभिशापले होला
कतै मलाई
आकाशले थाम्न नसकेर
खसाल्न पनि सक्छ ।
यसरी खस्दा-खस्दै
एक चोक्टा
आकाशको बोक्रा पनि
हातमा लिएर ‘म’
झट्टारिन कहिले नपरोस् ।
यो संसारमा ! धर्तीमा !!