विपत्तिको बादलले ढाकिदियो !

गंगाराम रिजाल
टेनिसी, अमेरिका
                     १
भयो जाहाॅं ताहाॅं जगत सबमा त्रास बनियो !
अती कालोबादल सरी भुॅंवरी भै रोग खनियो !!
सबै ती निर्दोषी मनुजहरू रून्छन् दिन-दिन !
अकस्मात् हा दैव ! बनिकन गयौ निर्दयी किन !
                   २
बिनासी कोरोना भईकन रह्यो नामकरण !
उनै ईश्वर जानुन् अबपनि कति होनि मरण !!
जता फर्क्यो सारा त्रसित सबछन् छैननि भर !
पुकार्दैछन् तड्पी जसरी अब रक्षा हरि गर !!
                   ३
हुॅंदोहो यो ज्ञान समय अघि नै दैविक गति !
बनी संयम् हामी स्तुतिगरी दिनेथ्यौं शुभमति !!
अनि बन्थ्यो होला सुदिन भवमा ज्ञान र कला !
कठै ! ती आत्माले रहिकन हुॅंदा हुन् कति भला !!
                   ४
निकै पीडा चर्क्यो कठिनसॅंगले स्वास भरिने !
हुॅंदा यस्तै चाल क्षणपछि न वा ! होकि मरिने !!
भनि गर्छन् बिन्ती कुशल जब ती वैद्यसबमा !
दिवाकरमा भर्छन् नयन अतिकोमल ती नभमा !!
                   ५
उता जुट्छन् वैद्य हरघडी सबै सेवक अनि !
गरौं रक्षा चाॅंडै भनिकन दिने औषधिपनि !!
मलम् पट्टी गर्ने विपद घडिका दु:खि मनको !
नमन् गर्दै सारा भुवन भरका देवजनको !!
                     ६
बिपत्तीको बेला अति कठिन मृत्युसॅंग लडी !
दिई जीवन नौलोपन थपिनगो लौ यस घडी !!
सुखीहुन् ती बीर तन हृदयका सागर सरी !
कृपा बन्दै जाओस् सुजनहरूको जीवनभरी !!
                     ७
कठै कस्तो ! कस्तो ! तनमन सबै घायल भयो !
अकस्मात् हादैव ! किन यति छिटै जीवन गयो !!
भए आधा कोही घरजन छुटे सन्तति अनि !
बन्यो घातक यस्तो कति हुनगयो लौ दु:खपनि !!
                    ८
हुॅंदा सङ्कट् जैले कतिपनि नबन्नु बिचलित !
खुसीले बोल्दीनू मनहृदय हाॅंस्तै सबसित !!
सहाराको झोली भरिकन दिनेछन् गुणी जन !
सबै हाम्रा ज्योति अति मृदुलभाषी धनी मन !!
                   ९
गरि नित्यै वेद स्तुति पठन सारा हित गरौं !
सबै रोगी मन्मा अमृतमयवाणी पनि भरौॅं !!
तिनै डाक्टर गर्छन् मन वचनले मानव हित !
भयो यै हो धन्य परमहित गर्नु सबसित ।।
                   १०
यहि आशा हाम्रो रहिकन अहोरात्र तिनको !
नमन गर्छु सेवा अविरल पुगोस् दु:खि मनको !!
दिवंगत आत्माको चिरसुखी बनोस् दिब्य गमन !
दिएँ भावुक बन्दै मन वचन श्रद्धाञ्जलिकन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *