विमर्शः नोबेल शान्ति पुरस्कार

भक्त घिमिरे
अमेरिका

 

“हिट्लरको सर्वसत्तावाद विरोधी हुँदाहुँदै पनि समाजवादी राज्यव्यवस्था र अर्थतन्त्रको वकालत गरेका कारण जर्मनीका चर्चित कवि बर्तोल्त ब्रेख्तले नोबेल पुरस्कार गुमाए । अमेरिकी राज्यव्यवस्थामा सुधार ल्याउनुपर्छ भनेर बारम्बार खबरदारी गरेका कारण नोमचोम्स्कीजस्ता विश्वविख्यात समालोचक यो पुरस्कारबाट वञ्चित रहिरहेका छन् । अमेरिकाका हवार्ड फास्ट र ज्याक (लण्डन)-ले पनि समाजवादप्रति झुकाउ दर्शाएकाले नोबेल पुरस्कार पाएनन् । दरिद्रनारायणजस्ता चर्चित उपन्यासका रचनाकार फ्योदोर दोस्तोएब्स्की, अन्तोन चेखव, अमेरिकाका ओ हेनरी, अस्कर वाइल्ड र बेलायतका भर्जिनिया उल्फ आदि प्रतक्ष्यरूपमा समाजवादका पक्षधर थिएनन् । तथापि, तिनीहरु आफ्नो साहित्यमा शोषित, उत्पीडित जनताका दबिएका आवाजहरु बाहिर निकालेर घन्काउँथे । तिनीहरु जनताका हक-हित चाहने विश्वप्रसिद्ध लेखक भएर पनि नोबेल पुरस्कार पाउन सकेनन् । अपवादका रूपमा केही समाजवादी भनिएकाहरुले यो पुरस्कार पाए ! तर, विभिन्न परिबन्द निर्माण गरी उनीहरुलाई पूर्णतः समाजवादी सोचबाट पालयन गराएर मात्र यो पुरस्कार दिइएको इतिहास छ ।”

केही महिना अघिको कुरा हो । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुतीनसमेतलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नुपर्ने भनेर प्रस्ताव गरिएको कुरा सञ्चार जगतमा डढेलोजस्तै फैलियो ।
आफू ३६ वर्षसम्म लगातार सत्तामा रहिरहनलाई देशको संविधानमै संशोधन गर्ने भ्लादमिर पुतीनजस्ता लोकतन्त्रविरोधी र श्वेत-सर्वोपरिताको वकालत गर्ने, आफ्नै संसदभित्र कूटिलतापूर्वक हमला गराउने डोनाल्ड ट्रम्पजस्ता व्यक्तिहरुलाई नोबेल शान्ति पुरस्कारको लागि यसरी मनोनयन प्रस्ताव आएपछि विश्वव्यापी रूपमा नोबेल फाउण्डेशनप्रति सन्देहको तरंग-शृंखला पैदा भएको थियो ।

हुन त यतिमै अचम्म पो के मान्नुपरेको छ र ! हिंसा र हत्याको खुलेयाम शंखनाद गरेर विश्व हल्लाउने नाजीवादका संस्थापक एडोल्फ हिट्लर पनि एकपटक नोबेल पुरस्कारको लागि मनोनयनको प्रस्तावमा नपरेका होइनन् !

बेलाबेला आउने यस्ता उट्पट्याङ प्रस्तावहरुले नोबेल पुरस्कार भनेको यस्तै दुरुह चेतनाका अभियन्ताहरुलाई दिने उपहार पो रहेछ कि ! भन्ने गम्भीर अन्योल खडा गरिदिएको छ । शान्ति र अहिंसाको वकालत गरेर विश्वव्यापीस्तरमा मानवताको मर्म प्रवर्द्धन गर्ने व्यक्तित्वहरुलाई सम्मानस्वरूप प्रदान गरिने यो उपाधिले अहिलेसम्म उद्देश्य अनुसारकै व्यक्तित्व र कृतित्वलाई अलंकृत गरिरहेको छ ? भन्ने खुल्दुली बढेपछि प्रश्नमाथि प्रश्न थपिँदै गए ! यस सम्बन्धमा केही अनुसन्धान गर्ने मलाई पनि हुट्हुटी जाग्यो ।

नोबेल शान्ति पुरस्कार न्याय र समानताको, मानवीय मूल्यको उद्देश्यमा काम गर्ने व्यक्तिहरुलाई मात्र दिइन्थ्यो भने महात्मा गान्धीले पनि पाउने हुन् ! तर, गान्धीले यो पुरस्कार पाएनन् ! किन ? अर्को खरो प्रश्न अनुत्तरित छ ।

वास्तवमा गान्धीलाई यो पुरस्कार दिइनुपर्ने सम्बन्धमा कुरै नउठेको भने होइन । सन् १९३७ मा पहिलोपटक उनी यो पुरस्कारका लागि मनोनित भएका थिए । त्यसपछि लगातार पाँचपटकसम्म मनोनयनमा परे पनि उनले कहिल्यै यो पुरस्कार पाउन सकेनन् । तर, गान्धीका पक्का अनुयायी मार्टिन लुथर किङलाई भने १९६४ को नोबेल पुरस्कार प्रदान गरियो ।

पुरस्कार ग्रहण गर्दैगर्दा किङको वक्तव्य थियो,“म यस्तो समयमा यो सम्मान हासिल गरिरहेको छु जतिबेला अमेरिकामा २२ लाख अश्वेत नागरिकहरुले रंगभेदी दमनका विरुद्धमा न्यायिक आन्दोलन गरिरहेका छन् । मलाई आशा छ, अब चाँडै अश्वेतहरुमाथि भइरहेको दमन, अन्याय र अत्याचारको अन्त्य हुनेछ । विश्वमा मानव मूल्यको पुनर्स्थापना भई सम्मानजनक शान्तिको सन्देश फैलिनेछ ।”

किङका मार्गदर्शक महात्मा गान्धीले भारतमा अहिंसात्मक असंलग्न आन्दोलन चलाएर आगन्तुक गोराहरुलाई बेलायत फर्कन बाध्य पारेका थिए । श्वेत बेलायतीहरुले गरेको एकपक्षीय दमनका विरुद्धमा भारतीयहरुको स्वराज अभियानलाई गान्धीले नेतृत्व गरेका थिए । गान्धीकै अनुयायी बनेर अहिंसात्मक अभियानमार्फत किङले अमेरिकामा रंगभेदी दमनको कानूनी अन्त्य गराएका थिए ।

महात्मा गान्धीमा नोबेल पुरस्कार पाउने योग्यता यदि थिएन भने प्यालेस्टाइनी हिंसात्मक आन्दोलनका नायक यासेर अराफत कसरी यो पुरस्कारका लागि योग्य भए ? अराफतलाई १९९४ को नोबेल पुरस्कार प्रदान गरिएको थियो । जीवनभरि इजरायसित युद्ध गरेका अराफत नोबेल पुरस्कारका लागि योग्य बन्नुमा पक्कै पनि गम्भीर रहस्य हुनुपर्छ !

तिब्बती नेता दलाई लामा, कोरियाली राष्ट्रपति किमदायी जुङजस्ता मानिसहरु के नै त्यस्तो उल्लेख्य काम गरेर यो पुरस्कारका लागि योग्य भए ? दलाई लामालाई सन् १९८९ र जुङलाई सन् २००० को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

अभियन्ता र आविष्कारक मात्र होइन, नोबेल पुरस्कार समितिले लेखक-साहित्यकारहरुलाई पनि यो पुरस्कार प्रदान गर्दै आएको छ । तर, कस्तो लेखनप्रवृत्तिलाई यो पुरस्कारद्वारा सुशोभित गरिँदैछ ? भन्ने प्रसंग बारम्बार उठ्ने गरेको छ ।
साहित्यतर्फ दिइने नोबेल पुरस्कारको पृष्ठभूमि केलाउँदा यसको इतिहासमा जनताको स्वतन्त्रता विरोधी, समाजलाई आमूल परिवर्तनतर्फको संघर्षबाट विचलित बनाउँदै नकारात्मक दिशातिर तान्ने लेखनलाई बढी प्रश्रय दिइएको हो कि भन्ने सन्देह उत्पन्न हुन्छ ।

लेखनमा नोबेल पुरस्कार त्यस्ता व्यक्ति वा कृतिहरुले नै पाएका छन् जसले आफ्नो साहित्यमा समन्ती, पूँजीवादी, प्रतिक्रियावादी, यथास्थितिवादी सामाजिक अन्तरविरोधहरुलाई बिर्सिएर परिवर्तनमुखी अभियानहरुको एकोहोरो विरोध गरेका छन् । समाजलाई गम्भीर विचलनतर्फ डोऱ्याउने ‘लोलिता’ जस्तो कामुक उपन्यासले नोबेल पुरस्कार पायो । सन् १९५५ मा प्रकाशित भ्लादमिर नभोकोवद्वारा लिखित यो उपन्यासमा एउटा सौतेलो बाबुले छोरीमाथि यौनाशक्ति राखेको वर्णन छ ।

एज्रा पाउण्डजस्ता फासिस्ट कविले पनि नोबेल पुरस्कार पाए । एज्रा पाउण्ड दोस्रो विश्वयुद्धताका इटलीमा फासीवादी वैचारिक अभियानका नायक थिए ।
विश्वमा जति पनि जनहितमा लक्षित परिवर्तनका विरोधी कृतिहरु छन्, तिनले नै नोबल पुरस्कार पाएका छन् । यो उदाहरण सन् १९४९ मा प्रकाशित जर्ज अर्वेलको ‘१९८४’-नामक उपन्यासमा छर्लङ्ग बुझ्ने गरी खुलाइएको छ । उपन्यासमा अर्वेलको क्रान्तिविरोधी योद्धा जेसुकै गर्न पनि तयार छ । यो उपन्यासको पात्रसंवादका केही हरफहरु यस्ता छन्-“के तिमी ठग्न, किर्ते काम गर्न, धम्की दिन, बालबालिकाको मनलाई भ्रष्ट पार्न, कुलतको बानी गराउने लागू-पदार्थहरु वितरण गर्न, बेश्यावृत्तिलाई प्रोत्साहित गर्न, यौनरोगहरु फैलाउन, समाजमा भ्रष्टता पैदा गर्ने र नैतिकरूपमा बलिया राजनीतिक दलहरुको शक्तिलाई कमजोर पार्ने कुनै पनि काम गर्न तयार छौ ?” यसको उत्तरमा क्रान्तिविरोधी योद्धा प्रफुल्ल मुस्कुराउँदै भन्छ,“म तयार छु ।”

उसलाई फेरि अर्को प्रश्न सोधिन्छ,“यदि कुनै बच्चाको मुखमा सल्फ्युरिक एसिड फाल्दा हाम्रो स्वार्थको सेवा हुन्छ भने के तिमी त्यसो गर्न पनि तयार छौ ?” यहाँ पनि विरोधी योद्धाले मस्केर जवाफ दिन्छ,“किन नहुने, म जेसुकै कामको लागि तयार छु । केवल मलाई निर्देशन चाहिन्छ ।” यसरी प्रायोजित उत्तर दिँदै गएपछि उपन्यासको कथनानुसार संस्थापन पक्षले सो योद्धालाई नोबेल पुरस्कारको लागि ‘योग्य उम्मेदवार’ भनेर घोषणा गर्दछ । यसरी माथि सोधिएका झैं प्रश्नहरुमा “म समाजको अहित हुने कुनै पनि त्यस्तो अपराध गर्न सक्तिनँ” भनेर प्रतिक्रिया दिने प्रसिद्ध रुसी उपन्यासकार बोरिस पास्तारनकलाई नोबेल पुरस्कारका लागि अयोग्य घोषणा गरिएको सत्यतालाई अर्को बलियो उदाहरणका रूपमा लिन सकिन्छ ।

न्याय र परिवर्तनमुखी क्रान्तिका पक्षधर लेखकहरुले त आजसम्म नोबेल पुरस्कार पाएकै छैनन् भने पनि हुन्छ । मार्क्सवादी-अर्थशास्त्रप्रति आस्था राखेर समाजको बेथिति हटाउनुपर्छ भन्ने कविहरु, जसका कविता विश्वका अरबौं न्याप्रेमी, दासताबाट मुक्ति चाहने जनताका जिब्राहरुमा झुण्डिए, त्यस्ता कविहरुले कहिल्यै नोबेल पुरस्कार पाएनन् !

विश्वव्यापी रूपमा फैलिइरहेका इस्लाम कट्टरपन्थीहरुको जर्जर मानसिकता फेर्न सजिलो छैन । टर्कीजस्तो देशमा आज पनि मुसलमान निरंकुशता जारी छ । त्यस्तो हिंसक परम्परा तोड्न मार्क्सवाद नै उपयुक्त चिन्तनधारा थियो । तर, मार्क्सवादप्रति आस्था राखेकै कारण टर्कीका कवि नाजिम हिक्मतले नोबेल पुरस्कार पाएनन् ! जति गहिरो घाउ उति कठीन उपचार भन्ने वैज्ञानिकता नबुझेका मान्छे पक्कै पनि त्यसबेला नोबेल फाउण्डेशनमा थिएनन् । यही कारण फासिजमका विरोधी स्पेनका सुविख्यात कवि फ्रेडरिक गार्सियाले पनि यो पुरस्कार पाउन सकेनन् ! समाजवादी यथार्थवादका प्रणेता मेक्सिम गोर्की यसका अर्का ज्वलन्त उदाहरण हुन् । रुसका अर्का प्रसिद्ध भ्लादमिर मायाकोब्स्कीसमेत पुरस्कारबाट वञ्चित रहे । कारण सबैका उस्तै उस्तै थिए ।

हिट्लरको सर्वसत्तावाद विरोधी हुँदाहुँदै पनि समाजवादी राज्यव्यवस्था र अर्थतन्त्रको वकालत गरेका कारण जर्मनीका चर्चित कवि बर्तोल्त ब्रेख्तले नोबेल पुरस्कार गुमाए । अमेरिकी राज्यव्यवस्थामा सुधार ल्याउनुपर्छ भनेर बारम्बार खबरदारी गरेका कारण नोमचोम्स्कीजस्ता विश्वविख्यात समालोचक यो पुरस्कारबाट वञ्चित रहिरहेका छन् । अमेरिकाका हवार्ड फास्ट र ज्याक (लण्डन)-ले पनि समाजवादप्रति झुकाउ दर्शाएकाले नोबेल पुरस्कार पाएनन् । दरिद्रनारायणजस्ता चर्चित उपन्यासका रचनाकार फ्योदोर दोस्तोएब्स्की, अन्तोन चेखव, अमेरिकाका ओ हेनरी, अस्कर वाइल्ड र बेलायतका भर्जिनिया उल्फ आदि प्रतक्ष्यरूपमा समाजवादका पक्षधर थिएनन् । तथापि, तिनीहरु आफ्नो साहित्यमा शोषित, उत्पीडित जनताका दबिएका आवाजहरु बाहिर निकालेर घन्काउँथे । तिनीहरु जनताका हक-हित चाहने विश्वप्रसिद्ध लेखक भएर पनि नोबेल पुरस्कार पाउन सकेनन् । अपवादका रूपमा केही समाजवादी भनिएकाहरुले यो पुरस्कार पाए ! तर, विभिन्न परिबन्द निर्माण गरी उनीहरुलाई पूर्णतः समाजवादी सोचबाट पालयन गराएर मात्र यो पुरस्कार दिइएको इतिहास छ ।

उदाहरण हेर्नुहोस्, जतिबेला रुसका विख्यात उपन्यासका मिखाइल सोलोखोवले नेता स्टालिनलाई आफ्नो मार्गदर्शक मानिरहेका थिए, त्यसबेलासम्म उनले नोबेल पुरस्कार पाएनन् । तर, जब उनी पलायन भएर ख्रुस्चेवपन्थी बने, त्यसको लगत्तै उनले नोबेल पुरस्कार पाइहाले ।

स्टालिनलाई पछ्याउँदा होस् वा ख्रुस्चेवको गोठमा बसाईँ सर्दा, मिखाइल सोलोखोवको लेखनमा कुनै आमूल परिवर्तन थिएन । तर, ख्रुस्चेवले पुराना कम्युनिष्टहरुको राजनीतिक शैलीलाई संशोधन गरेर आफ्नो नयाँ वर्चस्व कीर्तिमान खडा गरेका थिए । नेपाली साहित्यका वीरकालीन कवि, सुन्दरानन्द बाँडा र सुवानन्द दासहरुले पृथ्वीनारायण शाहलाई ‘ईश्वरसमान’ भनेर जसरी बखान गरे, मिखाइलले त्यसरी नै ख्रुस्चेवको एकोहोरो भजनमात्र गाएका थिए, यसैमा उनले नोबेल पुरस्कार पाइहाले ।

चिलीका प्रसिद्ध कवि पाब्लो नेरुदाको कथा पनि मिखाइलको जस्तै छ । नेरुदा विद्रोही कवि थिए । ‘क्रुएल फायर’ (दुष्ट अग्नि) मा कविताले उनको विद्रोही प्रवृत्तिलाई स्पष्ट बनाउँछ । उनी संसदमा पसेर जनताको आस्थाविपरित देखिने जस्तोसुकै कानूनको ठाडो विरोध गरिदिन्थे, लेखिदिन्थे ! सांसद भएर आफ्नै पार्टीका विरुद्ध लेखेको भनेर चिली कम्युनिष्ट पार्टीका नेता गोन्जाले भिदेलाले सन् १९४८ मा नेरुदालाई संसदबाट हटाई पक्राउको आदेश गरे । यद्यपि, चातुर्यपूर्वक नेरुदा चिलीबाट उम्किएर भागे । घोडामा चढेर महिनौं जंगलको बाटो भागिरहेका नेरुदा देशको सिमानामा पुगेपछि भावुक हुँदै लेखेका छन्,“अलविदा मेरो देश, म तिमीलाई छोडेर जाँदैछु ! तर, म तिमीलाई साथमा लिएर पनि जाँदैछु । कुनै दिन लिएर फर्किनेछु !” सन् १९७१ को नोबेल पुरस्कार ग्रहण गर्दैगर्दाको मन्तव्यमा पनि उनले सो कुरा यथेष्ट उल्लेख गरेका छन् ।

सन् १९५२ मा गोञ्जालेको सरकार अपदस्थ भएपछि नेरुदा चिली फर्किए । सन् १९५३ मा उनलाई ‘स्टालिन शान्ति पुरस्कार’ले सोशोभित गरियो । यतिञ्जेलसम्म नेरुदाको लेखन, निर्वासन र संघर्षमय जीवनयात्राका कुरालाई नोबेल पुरस्कार समितिले कुनै महत्व दिइएकै थिएन । तर, सन् १९७० मा जब उनले चिलीको कम्युनिष्ट पार्टीको अध्यक्ष पदमा मनोनित भएर पनि साल्भाडोर अलेण्डेलाई आफ्नो पद सुम्पिदिए, त्यसको अर्को वर्ष, यानिकि सन् १९७१ मा थपक्कै नेरुदालाई नोबेल पुरस्कार प्रदान गरियो ।

पाठकहरुलाई ‘यी त धेरै पुराना कुरा भए, पुराना कुरा गरेर के लाभ’ भन्ने लाग्दो हो ! २५-३० वर्षभित्रकै कुरा गरौं न त ! सन् २००५ कै कुरा हेरौं ! साहित्यतर्फ २००५ को नोबेल साहित्य पुरस्कार बेलायती नाटककार हेरल्ड पिन्टरले पाएका छन् । भी.एस. नैपालपछि साहित्यको नोबेल पुरस्कार पाउने दोस्रो बेलायती साहित्यकार पिन्टर नै हुन् । नौपालले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार पाएका थिए । त्यसअघि नोबेल पुरस्कार पाउने बेलायती नागरिकहरु साहित्यबाहेक अन्य विषयका कारिगरहरु थिए ।

हेरल्ड पिन्टरले २९ वटा नाटक लेखेका छन् भने २९ वटै रङ्गमञ्चको निर्देशन पनि गरेका छन् । यसरी नै उनले २१ वटा टेलिफ्लिमको पटकथा लेखन गरेका छन् । उनले अमेरिकाद्वारा इराक र अफ्गानिस्तानमाथि गरेको आक्रमणलाई विरोध गरेका छन् तर, उनको विरोध मानवीय भाइचाराको भावनाबाट नभई गोरा जातिमाथि खतरा आउने सन्त्रासबाट मात्र अभिप्रेरित छ ।

सन् १९५० को दशकमा पहिलो नाटक ‘द रुम’ बाट शुरु भएको उनको नाटक लेखन २००० मा ‘रिमम्बरेन्स अफ् थिङ्ग्स पास्ट’-सम्म आइपुगेको छ । तर, सबै कृतिमा उनले सकारात्मक सामाजिक परिवर्तनको, आमूल रुपान्तरणको धुवाँधार विरोध गर्दै शान्तिको नाममा मुर्दा शान्ति-को वकालत गरेका छन् । सन् १९७५ मा प्रकाशित उनको ‘बर्थ डे पार्टी’-बाट नाटककारका रुपमा स्थापित पिन्टरको सो कृति पनि संघर्ष र परिश्रमलाई घृणा गर्ने दौवतकुवेर रइसहरुको रमाइलोकै पक्षमा उभिएको छ ।

सर्वीयाका विवादास्पद नेता स्लोभोदान मिलोसेभिकलाई हेगको अन्तर्राष्ट्रिय अदालतमा नरसंहार युद्ध-अपराधबारे मुद्धा चलाइएकोमा ठूलो स्वरमा पिन्टरले विरोध गरेका छन् । सन् १९८८ मा उनले लेखेको ‘माउण्टेन ल्याङ्ग्वेज’ नामक कृतिमा उनले युद्ध-अपराधीहरुलाई कानूनी कारबाही गर्न नहुने दलीलसमेत पेश गरेका छन् । यसमा पनि उनको दलील मानवीय सद्भावनाबाट अभिप्रेरित नभई बाल्कन क्षेत्रमा बस्ने अल्पमतका वासिन्दामाथि नकारात्मक सोच पैदा भए बेलायती गोरा जातिमाथि संकट आइलाग्ने खतराको सम्भावनातर्फ लक्षित छ । निहित स्वार्थको परिधिबाट बाहिर निस्किएर लेख्न नसक्ने, सामाजिक उत्थानका, प्रगति र उन्नतिका, संघर्ष र आमूल परिवर्तनका विरोधी सोच भएका यस्ता कृतिहरुलाई मात्र किन दिइन्छ नोबेल पुरस्कार ?

स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको स्मृतिमा शान्ति, भौतिकी, रसायन, चिकित्सा विज्ञान, अर्थशास्त्र र साहित्य सिर्जनामा संसारका उत्कृष्ट अभियन्ताहरुलाई सम्मान गर्ने परम्परास्वरूप सन् १९०० को जून महिनामा नोबेल फाउण्डेशनको स्थापना भएको थियो ।

सन् १९०१ मा अन्तर्राष्ट्रिय रेडक्रश कमिटीका संस्थापक स्वीडेनकै हेनरी डुनान्ट र तत्कालीन विश्वव्यापी शान्तिका अभियन्ता फ्राञ्सेली नागरिक फ्रेडरिक पास्सीलाई पहिलो नोबेल पुरस्कार संयुक्तरूपमा प्राप्त गरिएको थियो । त्यसपछि आजका दिनसम्म प्रत्येक वर्ष १० दिसम्बरमा स्वीडेनको स्कट होममा प्रदान गरिने १३ लाख अमेरिकी डलर बराबरको यो पुरस्कार राशीले वास्तवमा जनकल्याणको अवधारणालाई प्रोत्साहित नगरेर उल्टा प्रत्यक्ष-परोक्ष ढंगले दमन र अन्यायका शृंखलाहरुलाई नै उकासिरहेको पो छ कि ! सम्बन्धित सरोकारवालाहरुले यस कुरामा कहिले विचार मन्थन गर्ने हुन् …प्रतीक्षाको विषय भएको छ ।

यी सब कुराको विश्लेषण गरिरहँदा यदि कुनै नेपाली भाषा-संस्कृतिको अभियन्ता पनि यो पुरस्कार पाउने लहरमा उभिन पुगेका भए त्यो नाम र अनुहार कसको वा कस्तो हुन्थ्यो होला…! हामी केवल कल्पना गर्नसक्छौं !
नोबेल पुरस्कारको नेपाली रुपान्तरणकै तहमा लिइने मदन पुरस्कार नेपाल र वरिपरिका क्षेत्रमा बहुचर्चित छ । तुलनात्मक अध्ययन गर्दा नेपालमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको मदन पुरस्कारको हैसियत पनि नोबेल पुरस्कारको जस्तै जस्तै देखिन्छ । भन्नलाई मदन पुरस्कार जनताको बौद्धिक, आर्थिक, सामाजिक र सम्पूर्ण मानसिक स्थितिलाई उकास्ने उद्देश्यमा लेखिएको साहित्य वा साहित्यकारलाई प्रदान गरिन्छ । तर, यो पुरस्कार त्यस्ता व्यक्तिहरुलाई दिइँदैछ जसका साहित्यहरुले छायाँरुपी, अस्वस्थ अनि यातनाद्वारा थिल्थिलिएको मानवताप्रति गिल्ला गर्ने संसार निर्माणतर्फ विशेष योगदान दिएको छ ।

जसको साहित्यले नारीलाई उत्पादनको साधन र उपभोग्य वस्तु बनाएको छ; अनि शोषित-पीडित जनताको दुर्दशामाथि व्यंग्य गरिएको छ; ती कृतिहरु तुलनात्मक रूपमा अलि सहजै पुरस्कृति हुँदै गरेको देखिन्छ । जसको साहित्यले एकाधिकारवादी विश्वसत्ताको कठोर विरोध गर्दै जनतालाई विद्रोहका लागि उठ्न प्रोत्साहित गरेको छैन, उसैलाई नोबेल पुरस्कार दिइएझैं मदन पुरस्कार पनि सामाजिक अन्याय र असमानतालाई भाग्यको बिडम्बना मात्र ठान्ने अनि ‘दैवको लीला’तर्फ मानसिकता डोऱ्याउने साहित्यकारहरुलाई दिइएको छ अहिलेसम्म ।

सन् २००७ को मदन पुरस्कार पाउने महेशविक्रम शाह पूर्व वरिष्ठ पुलिस अधिकारी हुन् । उनले आफ्नो प्रशासनिक कार्यकालमा बितेका घटनाक्रमलाई ‘छापामारको छोरो’-कृतिको रूप दिएका छन् । आफ्नो मूलपात्रलाई छोरोको दर्जा दिएर ‘छापामार’ बाबुप्रति व्यापक घृणा जन्माउँदै उनले नेपालको आमूल परिवर्तनका लागि संघर्ष गर्ने उत्पीडितहरुको छविलाई धमिल्याउने प्रयास गरेका छन् ।

हुनसक्छ तत्कालीन छापामारहरुले प्रशस्तै अन्याय गरे ! तर, परिवर्तन र सुधार चाहने त्यो पक्षमात्र अपराधी थिएन । राज्यपक्ष र छापामार दुवैतिरको आपसी भिडन्तमा अनेकौं ज्यादतीका काण्डहरु भएका थिए ! ज्यानमालको क्षति दुवैतर्फबाट भएको थियो । गृहयुद्धझैं लाग्ने त्यो द्वन्द कुनै दमन र अन्यायको पृष्ठभूमिबिना उत्पन्न भएको पनि थिएन । यद्यपि, शाहको कृतिमा द्वन्दको समग्र इतिहासिक पृष्ठभूमि समेटिएको छैन । उनले केवल प्रशासनको पक्षबाट आफू पूरा गरेको दायित्वको वर्णन गरेका छन् । यसरी सामाजिक क्रान्ति र त्यसका संवाहकहरुतर्फ कठोरता अपनाउने, व्यापक घृणा जन्माउनेदेखि जुनसुकै तहमा सत्ताद्वारा सताइएकाहरुको मानसिकतालाई –यस्तै रहेछ जीवन-जहाँ सुख पाइन्छ, त्यतै पलायन भएर क्षणिक जीवन बाँचौं भन्ने दिशातिर घिस्याई लाने लेखनले किन पाउँछन् यस्ता पुरस्कारहरु ?

अमेरिकी उपन्यासकार हावर्ड फास्टका अनुसार साहित्य त त्यस्तो साधन हो, जसमा व्यंग्योक्ति, उपहास तथा विम्बहरुको प्रयोग गरेर जुनसुकै पक्षबाट भएको आतंक, अत्याचार, मूर्खता र दमनको भण्डाफोर गरिन्छ । नेपाली साहित्यका डा. ध्रुवचन्द्र गौतमको ‘अलिखित उपन्यास’-फास्टको भनाइलाई पुष्टि गर्ने ज्वलन्त उदाहरण हो । डा.गौतमको उपन्यासबाट पाठकहरुमा निरंकुशता र रुढ समाज-व्यवस्थाप्रति व्यापक घृणा र आक्रोश भरिन्छ ! न्यायिक विद्रोहतर्फ मानिसहरु उत्प्रेरित हुन्छन् । तर, अलिकति समाजवादी धारणा अभिव्यक्त भएको साहित्यलाई साहित्य नै नमान्ने पूँजीवाला गुठीहरुले मदन पुरस्कारलाई पनि शक्ति र सत्ताको पृष्ठपोषक बनाइदिए कि भन्ने गन्ध आइरहेको छ ! पारिजातको ‘शिरिषको फूल’ले मदन पुरस्कार पायो तर, ‘अनिदो पहाड’ले पाएन । शिरिषको फूल आंशिक रूपमा पूँजीवादी विचारधाराले ओतप्रोत थियो भने ‘अनिदो पहाड’ समाजवादी धारामा खिपिएको थियो ।

नेपाली लोकसाहित्यका जन-कविकेशरी धर्मराज थापा र जनकवि गोकुल जोशी एकसमयका सहपाठी थिए । जब धर्मराज थापाले राजा महेन्द्रको निरंकुश कदमलाई समर्थन गरे उनले मदन पुरस्कार पाइहाले । तर, जोशीले पाएनन् । जोशीका जागरण गीतहरु आज पनि नेपालीहरुको जनजिब्रोमा झुण्डिएकै छन् ।

“गरीबले बनाउँछ साततले महल
महलमा शोषकले गर्छन् चहल-पहल
गरीबले बनाउँछन् बन्दुकका गोली तर,
गरीबकै रगतमा मनाइन्छ होली !”

यी उनका गीतका बोलहरु हुन् । आज पनि यी कवितापंक्तिहरु नेपालको स्थितिमा सान्दर्भिक छन् । फासिस्ट सत्ता बँचाउने बलमा नेपालका गरीबहरुको परिश्रमले कारखानामा बनाएको गोली बारम्बार गरीबहरुमाथि नै वर्षाइएको छ । जनताको रगतमा सत्ताका हिमायतीहरुले होली खेलेका छन् । जनान्दोलनका त्यस्ता हृदयविदारक घटनाप्रति कवि, कविता र तमाम साहित्यकारहरुले व्यंग्य गर्दछन्, गरिरहन्छन् ।

अर्का चर्चित नेपाली कवि युद्धप्रदास मिश्रले पनि कहिल्यै मदन पुरस्कार पाउन सकेनन् । भनिन्छ समाजवादप्रति उनको गहिरो आस्था थियो ।

उनी गाउँथे-

“रक्तक्रान्तिको, ज्वालामुखीमा
आज उठेको यो बलिदान
शिर नढलेका युवा-युवतीको
हृदयको यो स्वाभिमान !”

मिश्र पनि मदन पुरस्कारका लागि साहित्यिक योग्यता नभएका व्यक्ति पक्कै थिएनन् ।
उनले पनि नारायण वाग्लेका भन्दा कम चर्चित कृतिहरु रचेका थिएनन् । केही वर्षअघि नारायण वाग्लेको पल्पसा क्याफेले मदन पुरस्कार पाएको थियो । वाग्लेको पल्पसा क्याफे प्रस्तुति र आकृतिको हिसाबले विस्तृत भएर पनि महेशविक्रम शाहको ‘छापामारको छोरो’-भन्दा विषयवस्तुको दृष्टिकोणले धेरै पृथक छैन । सत्ताद्वारा प्रताडित, दमित, उपेक्षितहरुले गरेको न्यायिक संघर्षमाथि नजानिदो पाराले घृणा दर्शाउने, मोसो पोत्ने रइसी परिपाटीलाई ‘शब्दका गहुँत छर्केर’ चोख्याउने यस्ता कृति र कृतिकारलाई मात्र किन दिइन्छ हँ सम्मानित पुरस्कारहरु ?

सन्दर्भ सौजन्यः
1.नोबेल शान्ति पुरस्कारको इतिहासः राष्ट्रिय अन्तर्राष्ट्रिय पत्र-पत्रिका र विभिन्न सञ्चारस्रोतहरुः साथै
(https://www.nobelpeaceprize.org)
2.नोबेल शान्ति पुरस्कारका लागि डोनाल्ड ट्रम्पको मनोनयन (https://www.bbc.com/news/world-us-canada-54092960)
3.नोबेल शान्ति पुरस्कारका लागि भ्लादमिर पुतीन मनोनित (https://thehill.com/policy/international/russia/517964-putin-nominated-for-nobel-peace-prize)
4.सन् २०१५, अक्टोबर ९ को दिन टाइम् म्यागाजीनमा प्रकाशित लिली रोथ्म्यानको ‘नोबेल शान्ति पुरस्कार एकचोटि किन खारेज भयो?’ शीर्षकीय लेख
5.नोबेल शान्ति पुरस्कारबारे तथ्यहरु (https://www.nobelprize.org/prizes/facts/facts-on-the-nobel-peace-prize)
6.‘मदन पुरस्कार स्थापनाको अन्तर्कथा’ शीर्षकमा २०६९ वैशाख १६ गते, सौर्य अनलाइन-मा प्रकाशित प्रदीप खतिवडाको लेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *