वियोगी पल
पौषको महिना अमेरिकाका प्रायःसबै राज्यहरुमा हिउँले बाटो-घाटो, रुख-बुटा, डाँडा-काँडा सबै सेतै पारेर पोतिदिएको हुन्छ । हिजो रातिदेखि नै ओहायो राज्यका सबै सहरहरुमा हिउँ परिरहेको थियो । म बसेको सहर एक्रोन पनि हिउँले चुर्लुम्मै डुबेको थियो; त्यसैले मलाई भने बिहान दश बज्दा पनि आफ्नो कोठाबाट बाहिर निस्कन मन लागेको थिएन। छेउकै टेबुलमा राखेको सेलफोन उठाएर फेसबुक लग ईन गरें । हिँजो बेलुका पोस्ट गरेको गजलमा आएको प्रतिक्रिया हेर्दैथिएँ । सबैले प्रतिक्रियाहरु हँस्यौली पाराले लेखेको भेटें र प्रतिक्रिया दिनेहरू सबै चिनेकै तर; एकजना भने विल्कुलै नयाँ नाम जस्तो लाग्यो । सायद हुनुपर्छ फेसबुकको लागि नाम फेरिएको थियो ! नयाँ नामबाट आएको प्रतिक्रिया विल्कुलै गजलको परिवेशभन्दा भिन्न प्रकारको थियो । मैले पनि झट्टसँग नयाँ नामको प्रोफाइल खोलिहालें ।
म छाँगाबाट खसेझैं भएँ । साँच्चै त्यो तस्वीर देखेर छ्क्क परें अनि अलिअलि खुशी पनि । त्यो तस्वीर एउटी शान्त, भद्र अनि सुशिल केटीको थियो जसलाई म दश साल अगाडि चिन्दथें । तर, अचम्म परिरहेको थिएँ कि कसरी त्यो अनुहार फेरि पहिले झैं भयो भनेर । मलाई सँच्चाई जान्न मन लाग्यो।मलाई उनले पठाएको फ्रेण्ड रिक्वेस्ट एस्सेप्ट गरें । अनि गफ गर्ने मनशायले ‘हेल्लो, नमस्कार’ लेखें । ‘नमस्कार’, जवाफ आयो चार दिनपछि । मैले फोन गर्नलाई झट्ट नम्बर मागें । अर्को अचम्ममा परें फोन कोड सिकागो सहरको थियो । अरे अमेरिकाको नम्बर कसरी ? उनले जवाफ दिइन् दुईवर्ष भयो डिवी परेर अमेरिका आएको । “अनि अनुहार ?” उनले हाँस्दै, “अमेरिकामा छु जे पनि गर्न मिल्छ सर्जरी गरे निः यहाँ आएर”, भन्ने जवाफ दिइन् । म त्यो पल साँच्चै खुशी भएँ तर खुशीको पल मेरो मुहारमा धेरै समय रहेन, किनकि म त विवाहित थिएँ फेरि उनलाई पाउने आशा राख्न कहाँ मिल्यो र मैले। हो उनी मेरि प्रेमिका थिइन् कुनै समयमा ।
आठ वर्ष पहिलेको कुरो हो, जब मैले इन्टरमिडिएट परीक्षा दिएँ अनि टिचिङ गर्न भनी सुन्सरी नेपालको एउटा गाउँमा छिमेकी दाइसँग गएको थिएँ । त्यहाँ मधेशीर थारूहरूको बसोवास सरोबरी थियो । केही पहाडियाहरू पनि थिए । म प्राइमरी स्कूलमा पढाउथेँ भने नजिकैको सरकारी सेकेन्डरी स्कूलका केही विद्यार्थीलाई ईंग्लिश ट्यूसन पनि पढाउने गर्थें ।
एकदिन म स्कूल समयसकेर आफ्नै धूनमा कोठामा जाँदैथिएँ, कसैले पछाडिबाट ‘नमस्कार सर’, भनेको सुनेर झस्किएँ । पछि फर्केर हेर्छु-कोही अति सुन्दरी केटीलाई देख्छु; यस्तो लाग्यो कि यति सुन्दरी आज पहिलोचोटि देख्दै छु । म हेरेको हेरेकै भएँछु । उनले फेरि ‘सर’ भनिन् । मैले पनि अलि सम्हालिएर भने ‘नमस्कार, कुनै सहयोग गर्न सक्छु।’ उनले थोरै सर्माउँदै ‘सरकोमा ट्यूसन पढ्न आउने भनेर’, जवाफ दिइन् । मैले नाम अनि कतिमा पढ्छौ सोधें? “मेरो नाम शिला, यसपाली एसएलसी दिने, त्यसैले अंग्रेजी र गणित विषय पढाउनुहुन्छ भनेको सुनेर सरसँग पढन आउने”-निकै लामो जवाफ आयो । मैले ठिकै छ, भोलिदेखि आउनु भनिदिएँ । त्यत्रो मधेशी समुदायको बीचमा एउटी पहाडी केटी देखेर मन साँच्चै खुशी भएको थियो मेरो ।
पढाउँदै जाने क्रममा मैले उनलाई विद्यार्थीभन्दा पनि अलि बिग्लै तवरले हेर्नथालें । नहेरौं पनि कसरी; त्यति सुन्दरी एका बिहानै दर्शन दिन आई पुग्छिन् । मैले बिस्तारै थाहा पाउन थालें उनले पनि मलाई मन पराउँछिन् भनेर । तर उनको पढाइ नबिग्रियोस् भनेर मैले कैहिल्यै उनलाई त्यसरी जिक्याउने या फ्लोट गर्न चाहिनँ । यति थाहा थियो कि म उनको एसएलसी नतिजा आएको दिन मनको कुरो भन्छु।
त्यस्तै भयो उनीपरीक्षा पास गरेर खुशी बाँट्न मसँग आइन्, मैले सोझै प्रेम प्रस्ताव राखिदिएँ । उनलाई मेरो बारेमा र शिविर बसाईको पीडा सबै सुनाएँ, पछि उनले नराम्रो नसोचुन् भनेर। उनले मेरा सबै कुराहरु स्वीकार गर्ने भइन्, विहेचाहिं बाह्र कक्षा सकेरमात्र गर्ने निर्णयमा पुगेर । हाम्रो जिन्दगीले अब एउटा नयाँ मोड लिन थाल्यो । गाउँ-घर या मसँगै पढाउन जाने साथीहरुलाई पनि केही थाहा थिएन हाम्रो प्रेम सम्बन्धबारे । अनि उनी इन्टरमिडियटको लागि बिराटनगर गएर पढ्न थालिन् ।
एक शनिबार उनी घर आएकी थिइन्; उनीसँग भेट हुने क्रममा भन्दै थिइन्, कोही उनकै छिमेकी मेहेता केटोले उनलाई प्रेम प्रस्ताव राख्यो रे । मैले मजाकमा भनिदिएँ-“राम्रो कुरो हो माइत पनि छेउमै हुने, गरे भयो नि लभ”, तर, उनी यो विषयमा साँच्चै गम्भीर थिइन् । बिस्तारै बिस्तारै यो केटाले उनलाई बारम्बार प्रस्ताव राखेर हैरान पार्न थालिसकेको थियो । उनलाई मैले हाम्रो सम्बन्धबारे भन्न लगाएँ र उनले त्यसै गरिन् । तर त्यसको नतिजा साँच्चै तीनवटा जिन्दगी बर्बाद पार्ने भयो । त्यो दिन जब त्यो केटोले मेरो र उनको सम्बन्धबारे थाहा पायो खोई-उसको मनमा कस्तो असर पर्यो, त्यही साँझ उसले जहर पिएछ । घर परिवारले छिट्टै थाहा पाएर अस्पताल पुर्याएछन्र उ बाच्न सफल भयो । केही दिनको अस्पताल बसाईपछि उसलाई घर ल्याइएछ । घरमा धन्न उसले जहर सेवनको कारण बताएनछ तर, मनमनै खतरनाक सोच बनाउँदै रहेछ ।
घटनाक्रम अघि बढ्दै गयो । एक साँझ जब शिला हटिया भरेर घर फर्किदैं थिइन् बाटोमा त्यो मेहेता केटोसँग भेट भयो । शिलाले उसलाई नदेखेझैं गरिन् तर, उसले बाटो छेकेर विहे गर्ने प्रस्ताव राख्यो । शिलाले नमानेपछि यदि त मेरी हुन्नस् भने अरुको पनि हुन दिन्न भन्यो र (Acid) छ्याप्ने प्रयास गर्यो । जोग्गिने क्रममा अलिअलि त देब्रे गालामा लाग्यो । हतारहतार त्यो केटालाई पुलिसको जिम्मा लगाएर शिलालाई अस्पताल लगियो । त्यो घटना थाहा हुनासाथ म पनि हतारहतार अस्पतालतिर दौडिएँ । यता केटालाई त्यसो गर्नुको कारण सोधिएछ र उसले सबै कुरा, मेरो बारेमा समेत बताएछ ।गाउँका कोही खराब आदत भएका मान्छेहरु जुटेर यो सबै त्यो पहाडियाको कारणले भएको भन्दै मलाई मार्ने भए।
मैले यो कुरो अस्पतालमै थाहा पाएँ र उनलाई केही नभनी त्यहाँबाट आफ्नो घरतिर भागें । त्यसपछि मैले उनीसँग बारम्बार सम्पर्क प्रयास गरें तर, सफलता मिलेन । पछि थाहा भयो उनको फोन खोसिएछ र अन्तै पठाइएछ । उनको त्यो सुन्दर मुहारको देब्रे गाला एसिडले डढेर विग्रिएछ । यता मैले पनि नम्बर फेरिसकेको थिएँ ।
म केही वर्षपछि यता अमेरिका आइहालें । त्यसपछि आज उनीसँग गफ् गर्दैथिएँ । मैले यो सम्मरमा भेट्न आउँछु भनेर फोन राखिदिएँ । विगत सम्झिएर मलाई रून मन लाग्यो । तर, त्यो पनि गर्न सकिनँ, किनकि छोरो नजिकै बसेर मेरो अनुहार नियालेर हेरिरहेको थियो । मैले पनि कताकता उनलई धोका दिएको थिएँ, उनको त्यो हालतमा साथ नदिएर । खल्लो मान्दै म मेरो नित्य कर्मतिर लागें।