विस्तारै बिर्संदै
हामी देख्ने गर्थ्यौं सपना स्वदेशफिर्तीको । आफ्नो जमीनमा फेरि आफ्नै पौरखी पखुराले अन्न फलाएको, सुन्तला अनि अलैंची लटरम्मै फलाएको । ह…ह…माले भन्दै आफ्नै खेतमा दुई-चार हलगोरु नारेको । पटाहा लगाउँदै हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरेको ।हामी अझै देख्ने गर्थ्यौं सपना फेरि आफ्नै आँगनमा आफ्नै खोरबाट चुनेर निकालेको ४०-५० केजीको कालो खसी फूलपातीको दिन गर्लम्मै ढालेको । तिहारसम्म पुग्ने गरी आफ्नो बाँसघारी अनि बगानबाट ल्याएका खराखरा दाउरा निस्फिक्री बालेर सुकाएको त्यो कालो खसीको सुकुटी राखेको । आफ्नै फराकिलो आँगनबाट देउसी-भैलो प्रारम्भ गरी फेरि राँको बालेर छिमेकीको घरमा देउसी रे भैली रे खेलेको । आफ्नै थलोको गाई, गोरुलाई पुजेको अनि फेरि लाल्मु गाईको आफ्नै हातले काठको दूधेरोमा सर-सर दूध दोहेको ।
हामी अझै देख्ने गर्थ्यौं सपना शान्तिपूर्ण आन्दोलनमार्फत साँच्चिकै सबै जनतलाई सुहाउने जनताको प्रजातन्त्र स्थापना गर्ने अनि नागरिकता गोजीमा हालेर ठाड़ो शिर पारेर स्वाभिमानका साथ जिएको ।फेरि हामीले अर्को सपना देखेका थियौं शान्तिको विकल्प नभए बन्दुक अनि बमको प्रयोगले भएपनि आफ्नो हक-अधिकार स्थापना गरेको अनि सोही स्वाभिमान साथ जिएको । तर हाम्रा ती सपना पूरा हुनसकेनन्, सपना थिए सपनामै सीमित रहे ।
हामी भन्ने गर्थ्यौं तेस्रो देश, विकसित देश, मानवाधिकारको देश, पक्कै पनि हामीजस्ता लुटिएका, कुटिएका, थुकिएका अनि परिचयविहीन बनाइएका मनिसका लागि हाम्रा तमाम समस्या निराकरन हुने देश, अनि भाषण गर्थ्यौं त्यहाँ राष्ट्रपति, मन्त्री, मानवाधिकारवादी अनि संयुक्त राष्ट्रसंघलाई हाम्रा असली समस्या अवगत गराउने । उता रहेकालाई घरफिर्ती गराउन नसके त्यो देश-जसले बन्दुकले हान्दै घाँटीमा नम्बर भिराएर खेदेको थियो-उसलाई लज्जित बनाउँदै, माफी मगाउँदै ती मानिसहरु मेरै हुन भन्न वाध्य गराउने भनेका थियौं हामीले । अनि हामीले दृढसंकल्प र विश्वास राखेका थियौं यी सब गर्छौं भनेर ।
हामी तेश्रो देश आयौं पनि । संगठन पनि स्थापना गर्यौं र केही समय निक्कै तदारुक्ताका साथ सोही विषयमा कलम पनि चलायौं । तर विस्तारै, कामको चापले भनौ वा अल्छि लागेर भनौ, वा आधुनिकताको असरले भनौ-हामीले ती सब कुरा भुल्दै गयौं । हामीले आफूलाई नै भुल्दै गयौं, भुटानीपन अनि भुटानित्वलाई बिर्संदै गयौं । विस्तारै भारतीय, फिलिपिनो अनि चाइनिज हुँदै गयौं; कारण हामीले हामीलाई चिनाउन सकेनौं । ताकी भूटानमा पनि यस्ता मानिस र यस्तो संस्कृति मान्ने अनि मनाउने मानिस छन् भनेर । हामी दशैं मनाउछौं, तीज मनाउछौं, तिहार मनाउछौं अनि नयाँ वर्ष पनि एउटा हल भाडामा लिएर मनाउछौं । तर, पछि भित्तामा नेपालको झण्डा झुण्डाउँछौं, हाम्रो झण्डा, भूटानको झण्डालाई बिर्सन्छौं । हाम्रा आमा, बुवा-हामी सम्झना भए नेपाली राष्ट्रियगान गाउँछौं, भूटानको बिर्सन्छौ । सम्झना गर्दैनौं किनकि हामी भूटानित्व विस्तारै बिर्संदैछौं । हामीलाई चिन्दैन कसैले, हामीलाई जान्दैन कसैले-किनकि हामी कसैलाई चिनाउन मन गर्दैनौ र विस्तारै आफूलाई बिर्संदैछौं ।
दक्षिण भूटानी हामी, नेपालीभाषी भूटानी, नागरिकता खोसिएका अनि आफ्नै घरबाट बन्दुकले हान्दै खेदेका मनिस हामी । परायमुलुकमा उस्तै भाषा बोल्ने भएकाले शरण पाएका हामी । जन्मेदेखि बयोवृद्ध हुँदासम्मका निधारमा फिरन्ते, घुमन्ते, आतंकवादी अनि शरणार्थी नाम ‘टाटू’ खोपिएका हामी ! हजार दु:ख, कष्ट भोग्दै पाँच केजी चामलमा ज्यान बँचाएका मानिस हामी । बलात्कृत आमाहरु, चेलीहरु, कुटिएका अनि काटिएका बुवा-दाजुभाइहरु को मन ! ती थिल्थिलिएका आत्मा-अझै भड्किएका मानिस हामी । स्वदेशफिर्तीका सबै प्रयासहरु बिफल भै अन्ततः कुनै आक्रोशमा हतियार उठाउनसम्म प्रयास गरेका मानिस हामी । आज विभिन्न देशमा छरिएर बसेका हामी विस्तारै विदेशको आधुनिकतामा रमाउँदै ती तमाम काला इतिहासहरु बिर्संदैछौं । हामी आफूले आफूलाई नबिर्सौं, हामीलाई भूटानी शासकले लगाएका आरोप, लाञ्छना, झूट्टा साबित गर्न सकिरहेका छैनौं ! हामी अब देश फर्किन सक्दैनौ, नेपालमा रहेकालाई पनि देशफिर्ता गराउन सक्दैनौं । तर, हाम्रो इच्छा शक्ति भए पक्कै पनि भूटानी शासक गलत थियो-हामी ठीक थियौं भन्ने जगजाहेर गराउन सक्छौं-त्यसैले हामी नबिर्सौं आफूलाई, हाम्रो इतिहासलाई !