वृद्धाश्रम
डिल्लीराम रेग्मी
अमेरिका
“पानी सँग सँगै यो बरफालु हिउँ
कति पर्न सक्या होला यसपालि”
आफ्नो सवारीलाई अर्कै ठाउँको पार्किङ लटमा राखेर
आफू चैँ बस चढी अस्पताल(काम) तर्फ हुइँकिएँ
बस उत्रिएर पैदल चल्दै जाँदा
मनमा यस्तै के के बिचार खेलिरहे
पैदल बाटो थोरै भए पनि
यो बरफले झन्डै बीस मिनेट लगाइदिन्छ।
एउटा वृद्धाश्रम काटेर अनि मात्रै अस्पताल आइपुगिन्छ।
वृद्धाश्रम आइपुग्दा
मेरो सोचाइले अर्कै मोड लिइसकेछ
यो उमेर बढ्नु भनेको पनि दुनियाँको एउटा नियम मात्र हो
यदि महसुस गर्ने हो भने
उमेर कहाँ बढ्छ र, घट्दै जान्छ
उमेर घट्दै जाँदा शरीरका हड्डी सँग सँगै
सम्बन्धहरू पनि मकिँदै जाँदा रहेछन् यहाँ
एक प्रकारले आश्चर्य पनि लाग्छ
की
आफ्नै शरीरबाट विभक्त निस्किएको अर्को शरीरले
वृद्धाश्रम लगेर छोड्छ भन्ने त
कसैले सोचेको हुँदैन होला
जन्माउनु भन्दा अघि कसैले सोच्दो हो त
सायद वृद्धाश्रम नै नहुँदो हो
कि त जन्म नै नहुँदो हो
तर,
यो त सायद यहाँको नियम होला।
साँच्चै,
वृद्धाश्रम बस्नेहरूलाई कस्तो लाग्दो हो?
कस्तो सोचाई आउँदो हो?
सोच दिमागमा आउला कि मनमा ????