वैशाखमा आउँछ

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

धर्तीमा नव पालुवा र पिपिरा फुल्ने अनेकौं तरु
ऑंखामा हरियो दिमाग भरिलो माधुर्य बढ्ने अरू
सेतो स्वच्छ हिमाल साथ शिरमा डाँफे चरी गाउँछ
मेरो वर्ष नयाँ उमङ्ग बटुली वैशाखमा आउँछ १

डन्डेली गुनकेशरी मखमली उद्यानमा फुल्दछन्
लाखौं लाख अनन्त दिव्य सपना मस्तिष्कमा डुल्दछन्
क्वैलीले अझ कन्दरा वन डुली गाना मिठो गाउँछ
मेरो वर्ष नयाँ उमङ्ग बटुली वैशाखमा आउँछ २

पाखा पर्वत खेत खोंच छहरा खोला र खोल्साहरू
गाई गोठ र खर्क चोक पहरा भित्ता र काँन्लाहरू
फेर्छन् रूप स्वरूप चट्ट दुनियाँ सौन्दर्य मौलाउँछ
मेरो वर्ष नयाँ उमङ्ग बटुली वैशाखमा आउँछ ३

नीलो स्वच्छ अकाश हेर्न गतिलो इच्छा अनेकौं बढे
नौला भाव अपार प्रेम मनमा आस्था इरादा बढे
नौला कर्मसँगै नवीन पलको उत्प्रेरणा ल्याउँछ
मेरो वर्ष नयाँ उमङ्ग बटुली वैशाखमा आउँछ ४

चीसो छैन र छैन डम्म कुहिरो कालो तुवॉंलो पनि
छैनन् ती हिम श्रृंखला अब कतै धुस्रा र फुस्रा पनि
गर्दा हिम्मत ऑंट धैर्य जगमा ऐश्वर्य वर्षाउँछ
मेरो वर्ष नयाँ उमङ्ग बटुली वैशाखमा आउँछ ५

छन्द-शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *