शरणार्थी जीवनका केही पानाभित्र

गंगाराम रिजाल
टेनिसी,अमेरिका

सानैथ्यो झुपडी थिएन त्यसमा आशा कुनै हुर्किने।
टार्नुथ्यो दुईछाक जीवन कठै संझेर त्यो भन्दिने॥
मागेका भरमा जहान घरमा रून्थे सधैँ धर्धरी।
यस्तै जीवनका कठीन क्षणका राख्दैछु पानाभरी॥

काटिन्थ्यो दिन,रात कस्ट बहुतै भोगेर सन्तानले !
हाँसो ओठभरी थिएन मनमा सन्त्रासमै दुःखले॥
मीठो खान बनाई मग्मग त्यहाँ चल्दैनथ्यो वासन।
सानो खाट सिरानी मिल्दछ कुनै पत्ता थिए आसन॥

फाटेकाजति वस्र टाल्नु सबले ढाक्नैथियो ईज्जत।
आफ्नोकेहि थिएन भन्नु कसरी यस्तै थियो हुर्मत॥
हुन्थ्यो रोग अनेक खप्ननसकि भोग्दै बितायौँ दिन !
झर्ने आँशु बयानले हृदयमा त्यो चोट संझिकन॥

होला रात बिहान हुन्छ कसरी भन्ने यही चिन्तन।
हावा बेगसरी चलेर कहिले पोल्थ्यो सबैको मन॥
हुन्थ्यो गर्मी प्रचण्ड ताप कहिले वर्षा धुलो खट्पटी।
मान्छे हौँ यसरी भयो कति कति हुन्थ्योनिकै छट्पटी॥

दुख्थ्योघाऊ चरक्क मूर्छितहुने पोल्थे घटीराहरू ।
यस्तैरोग अनेक नै शिविरमा मर्ने निकैथे अरू॥
हुन्थ्यो दूषित बस्तीमा वरिपरी फोहोर फाल्ने त्यहीँ।
के छुट्थ्यो जब गन्धले लहरमा हुन्थ्यौँ बिरामी वहीँ॥

जान्थ्यौँ हाटबजार पैदलसबै वर्षाहुरीमा पनि ।
बाढीले त्यहीँ रोक्दथ्यो झुपडीमा केपुग्नसक्नु अनि॥
उर्लिँन्थ्यो खहरे निकै गजबले सन्त्रासले तर्दथ्यौँ।
भारी बोकी दगुर्दथ्यौँ घरिघरी सङ्कष्टमा पर्दथ्यौँ॥

बारी खेत बगान संझीमनले चर्चा यही चल्दथ्यो।
कोदो फापर अन्नका लहरमा पाकेर नै ढल्दथ्यो॥
भित्रिन्थ्यो रसिलो सबै ढिकुटिमा भन्थे सबै सादर।
अर्को मंसीर सम्मलाई सहजै हुन्थ्यो त्यही आदर॥

यस्तै छट्पटीले सताई रहने निद्राकहाँ पर्दथ्यो।
झुप्रोनै दरबार संझनु थियो यस्तै हुँदै टर्दथ्यो॥
झुल्किन्थे शशि सूर्य माथि नभमा हेर्दै दिवा रातमा।
आशामात्र थियो थिएन त्यसमा संझिदिने साथमा॥

टार्नूछाक दुई सहेर जसरी बाँचीदिनुथ्यो जब।
हाम्रैहुन् ईतिहासका यी घटना लेख्दैछु सँझी अब॥
आफ्ना सन्ततिका निमित्त सबले सङ्घर्षगर्दै यहाँ।
होला शान्ति सुयोग्य पाई खुसीको मिल्नेछ भन्दै जहाँ॥
१०
लाग्यौँ लस्करभै धुरूधुरू रूँदै साथै सबै सज्जन।
छुट्नेहुन् कि कतै पति र गृहिणी हुन्थ्योसबैको मन॥
बाँच्ने आशयले हिड्यौँ मनभरी लाखौँथिए वेदना।
होलागाऊँ कहाँ पुगिन्छ कसरी के हुन्छ त्यो सिर्जना॥
११
हाम्रो संस्कृति सभ्यता भनि यहाँ भाषा कला कौशल ।
राखौँलानि बचाई आखिर सबै भन्ने सबैको बल।
गर्दै हिम्मतले भयो कति त्यहाँ सङ्घर्ष ठूलो जब।
मिल्दा सौख्य नभुल्नु बुझ्नु सबले पर्नेछ आजै अब ॥

छन्दः शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *