शरणार्थी साहित्य परम्परामा ‘साक्षी’ र ‘अलबिदा बेलडाँगी’को त्रासदीय पक्ष
गीता त्रिपाठी
१.विषय प्रवेश
पूर्वमा शरण वा शरणागत शब्द आध्यात्मिक चिन्तन र भक्ति साहित्य–सङ्गीतमा परम्परादेखि नै प्रचलित शब्द हो । यही शरण तत्सम व्युत्पन्न शब्दमा आर्थी प्रत्यय लागेर बनेको शरणार्थी शब्दको प्रयोग भने वर्तमान परिस्थितिमा अङ्ग्रेजीको रिफ्युजी कै पर्यार्थमा भएको छ । विभिन्न कारणले देशबाट भागेर अन्यत्र शरण मागी बसोबास गरिरहेका विवश मानिस नै आज बुझिने शरणार्थी विशेषण शब्दको अर्थ हो । यही मानवीय समस्यामाथि केन्द्रित भई लेखिने साहित्यलाई नै शरणार्थी साहित्य भन्ने गरिएको छ । शरणार्थी समस्या मूलतः राजनीतिक समस्या हो । यो राष्ट्रको आन्तरिक समस्याबाट निकास पाउन नसक्दा अन्तराष्ट्र्रिय बनेको समस्या पनि हो । विश्वमा शरणार्थी समस्याको आरम्भ शक्तिको दाउपेच र नेतृत्व तहको अभिमान र तानाशाही प्रवृत्तिकै कारण उब्जिएको इतिहास छ । शरणार्थी समस्याको आरम्भ र विस्तारका आआफ्नै इतिहास, परिघटना, स्वरूप र आयाम छन् । यस विषयमा विश्व साहित्यमा धेरै लेखिएका पनि छन् । नेपालमा शरणार्थी समस्या लिएर आउने क्रम भारतमा ब्रिटिसहरूको शासन भएदेखि नै आरम्भ भएको देखिन्छ तापनि यहाँ नेपाली भूमिमा शरणार्थी जीवन बिताउन बाध्य भइरहेका भुटानी नेपाली भाषी जनताहरूको समस्या र यसै विषयमा लेखिएको पछिल्लो उपन्यास साक्षी र निबन्ध अलबिदा बेलडाँगीका केन्दी्रयतामा अध्ययन–विश्लेषण प्रस्तुत गरिएको छ ।
साक्षी उपन्यासका लेखक वाई.एन. चौलागाईं हुन् । २३९ पृष्ठको यस कृतिमा सात अध्यायहरू छन् । केवल अङ्कले विभाजन गरिएका अध्यायहरूलाई कुनै उपशीर्षक दिइएको छैन । कमलेन्द्र शर्मा नामका स्थानीय बासिन्दालाई समाख्याता बनाएर लेखिएको यस उपन्यासमा भुटानी सरकारले पक्षपातपूर्ण तरिकाले दमन गरेका अनेक पात्रका कथाहरू तिनकै मुखबाट व्यक्त गर्न लगाइएको छ । जोङ्खाभाषी भुटानी सरकारले जनतामाथि गरेको कारवाही र त्यसबाट आतङ्कित बनेर देशबाट पलायन हुनपुगेका जनताका भयानक जीवनपीडालाई भोक्ता पात्रबाटै आत्मसंस्मरण प्रस्तुत गर्न लगाइएकाले कथानक झनै मार्मिक बनेको छ । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापनाका लागि चलिरहेको दोस्रो जनआन्दोलन २०४६-०४७ को समयमा भुटानमा भने मानव अधिकारको स्थापनाका लागि केही सचेत नेपाली भाषीहरूले उठाएको आवाजलाई राज्य सरकारले दबाउने सिलसिला जारी थियो । निर्दोष नेपाली भाषीलाई राज्यबाट खेद्ने अभियानै बनाएर योजनाबद्ध तरिकाले रातको समयमा बर्बरतापूर्ण कारवाही चलाउन थालेपछि अधिकांश नेपाली भाषी थात थलो र सम्पत्ति छोडेर भारतको आसामी इलाका हुँदै नेपाल भित्रिन बाध्य भएका हुन् । एउटा जाति र उसको भाषा–संस्कृतिमाथि नै प्रहार गर्नेजस्ता अमानवीय यातना र विवशताको सिङ्गो दिग्दर्शन साक्षी उपन्यासको केन्द्रीय विषय हो । यस मूल विषयभित्र जोडिएर आएका दलित समस्या, महिला समस्या, विदेशी महिलासँग विवाह गरी जन्मिएका सन्तान र पत्नीसमेत अनागरिक मानी देश निकाला गरिएको समस्या साक्षी उपन्यासमा सीमान्तीकृत र अभिघात समस्याका रूपमा आएका छन् ।
अलबिदा बेलडाँगीका लेखक शिवलाल दाहाल हुन् । उनी अहिले अमेरिकाका आप्रवासी भएर उतै बसोबास गर्दै छन् । उनले जानुपूर्व आफ्नो जन्मभूमि भुटानसँग जोडिएका मिठा सम्झनाहरूलाई वियोगान्तका मार्मिक अभिव्यक्ति दिएका छन् । अध्ययनशील स्वभाव र तीक्ष्ण मस्तिष्कका दाहालले प्रस्तुत कृतिमा केही आत्मसंस्मरण, केही यात्रासंस्मरण, आफूले भेटेका महत्त्वपूर्ण साहित्यिक व्यक्तित्वहरूसँगका सामीप्य र कुराकानीका सन्दर्भका साथै परिचयको संकट झेल्न विवश भुटानी शरणार्थीहरूले लेखेका केही साहित्य कृतिमाथि निबन्धात्मक समीक्षा र नेपाली भाषी भुटानीका लोक साहित्य र लिखित साहित्यको विकास, प्रवृत्ति र योगदानसम्मलाई चियाउने प्रयास गरेका छन् । शरणार्थी समस्यामै केन्द्रित तीन वटा कृतिहरू डा. तारालाल श्रेष्ठको सपनाको समाधि र वाई.एन. चौलागाईको साक्षी उपन्यास तथा तुम्बेहाङ लिम्बूको भग्न पर्खालको सयपत्री कविता सङ्ग्रहका कथ्य र प्रवृत्तिको लामो विश्लेषणसमेत प्रस्तुत गरेका छन् । कृतिमा उनले शरणार्थी भएर नेपाल आउनुपरेको कहालीलाग्दो जीवन भोगाइ, नेपालमा शरणार्थी भएर बस्दाको अन्योल, अभाव र परिचयको सङ्कट, त्यसबिच स्थानीय नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा नेपाल सरकारले गरेको सहयोग, अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनले तेस्रो मुलुकमा लैजान थाले पछिका नयाँ समस्या र थोरै आशाका किरण पहिल्याएर कलात्मक शिल्पका साथ यस कृतिको संरचना गरेका छन् । यसरी आफ्नो जन्मभूमिबाट पलायन भई विश्वका अनेक शक्ति राष्ट्रमा आप्रवासीका रूपमा छरिनुपर्दा आफूहरूले लेखेको साहित्य नै यायावरीय साहित्य हुने भएकाले यसले कस्तो स्वरूप लेला भन्ने विषयमा पनि उनले चिन्ता व्यक्त गरी यसमा बहस चलाउन अनुरोध गरेका छन् । प्रतीकात्मक र बिम्बात्मक शैलीले पठनीय बनेको प्रस्तुत कृतिमा दाहालको साहित्यिक व्यक्तित्व र प्रखर समालोचकीय क्षमता प्रकट भएको छ ।
प्रस्तुत अध्ययनमा भारतबाट नेपालको काँकडभिट्टासम्म ल्याएर छाडिएका भोका नाङ्गा भुटानीहरूको कारूणिक जीवनको चित्रण भएको साक्षी उपन्यासलाई अलबिदा बेलडाँगीको सन्दर्भ समीक्षासमेतलाई आधार मानी नवीन समालोचना पद्धतिबाट हेर्ने प्रयास गरिएको छ । भुटानमा नेपालीहरूको बसोबास आरम्भ भएको ऐतिहासिक तथ्य र तिनले आफ्नो परिश्रमले बनाएको स्थानलाई राज्य सरकारले छिन्नभिन्न पारेको र कल्पनातीत द्वन्द्वको अवस्थामा पुर्याएको मार्मिक चित्रण यस उपन्यासमा छ । यसपछि कन्काई नदीको किनारबाट आरम्भ भएको शरणार्थी सभ्यतामा भोक, रोग र मृत्यु नै सर्वव्याप्त व्यवस्था थियो । शब्द शब्दमा घोलिएका पीडाका अनेक कथा र उपकथामा विगत २५ वर्ष अघिको भुटानमा नेपाली भाषीमाथि गरिएको दमन र अझै ताजा रहेका चोट र दुखाइहरू यथावत देखिन्छन् । यस अध्ययनमा आफ्नै देशभित्र असहाय बनेका निर्दोष र निमुखा मिहेनती जनतालाई दमन गर्ने, उपेक्षा गर्ने केन्द्रीय सरकारको अमानवीयता र शोषणलाई सीमान्तीकृत समालोचना र अभिघात सिद्धान्तका कोणबाट नियाल्ने प्रयास गरिएको छ ।
२. नेपालमा शरणार्थीहरूको प्रवेश र शरणार्थी साहित्य लेखनको आरम्भ र विकास
शरणार्थी समस्याको आरम्भ निकै अघिबाट भए पनि पछिल्लो विश्वमा स्पष्टतः यो समस्या प्रथम र दोस्रो विश्वयुद्धबाट मानव सभ्यताले प्राप्त गरेको अभिसाप हो । नेपालमा शरणार्थीहरूको आगमनको ऐतिहासिक घटनातिर फर्कंदा भारतमा ब्रिटिस शासनले मुसलमानहरूमाथि गरेको आक्रमण र दमनको पृष्ठभूमिसम्म पुग्नुपर्ने देखिन्छ । यसको सङ्केत उमराव जानद्वारा लिखित र पत्रकार खुशवन्त सिंहद्वारा सम्पादित ‘मै उमराव जान अदा हुँ’ पुस्तकमा उल्लिखित छ । ब्रिटिस शासकले उमराव जानको गायन र नृत्यशालामा आक्रमण गरेपछि उनका अविभावकहरूले भागेर नेपाल आउने योजना बनाएको कुरा जानकारीमा छ । यसै योजनाअनुसार उमराव जान नानी–सुसारेसहित आफ्ना अविभावकसँग नेपाल आएर बसेको उल्लेख पाइन्छ । भारतीय साहित्यमा यो कुरा उल्लेख भए पनि नेपाली साहित्यमा यसबारे केही लेखिएको पाइँदैन । बरु हिन्दी चलचित्र उमराव जानमा नेपाल जाने योजनाबारेको एउटा संवाद प्रयोग गरिएको छ । त्यस समय अरू मुसलमानहरू पनि नेपाल आएको अनुमान गर्न सकिन्छ ।
अर्को चरणमा जापानले बर्मामाथि आक्रमण गरेपछि त्यहाँको बाह्य र आन्तरिक राजनीतिका कारणले नेपाली भाषी बर्मेलीहरू जातीय पहिचान खोज्दै नेपाल प्रवेश गरेको देखिन्छ । तिनले भारतको आसामकै भूभागबाट निकै कष्टका साथ नेपाल प्रवेश गरेको इतिहास छ । यस विषयमा इन्द्रबहादुर राईको जयमाया आफूमात्र लिखापानी आइपुगी कथा निकै मार्मिक किसिमले लेखिएको छ । जयमाया नेपाल आइपुगेको घटना उल्लेख नभईकन टुङ्गिएको भए पनि राईले यस कथामा नेपाल नै आफ्नो मूलथलो हो र त्यतै जाने चाहना भएका अन्य पात्रहरूको कथनको प्रयोग यस कथामा गरेका छन् ।
चिनमा माओको विद्रोह सुरु भएपछि २०२२ सालतिर दलाई लामाले नेपालका राजालाई पत्र पठाएर शरण मागेका थिए तर राजा महेन्द्रले त्यसमा चासो नदेखाएपछि उनी भारतको अरुणाचलतिर लागेका थिए । पछि २०२७ सालतिर तिब्बती शरणार्थीहरू स्वयम्भूनाथ, जावलाखेल र बौद्धमा फैलिएर रहेका देखिन्छन् । दिनेश सत्यालको सीमावारि सीमापारि शीर्षकको कथा यिनै तिब्बती शरणार्थीका बारेमा लेखिएको उत्कृष्ट कृति मानिन्छ । यस कृतिले जर्मनीबाट दिइने डोयचेवेह्ला पुरस्कार पनि पाएको थियो ।
२०३२ सालतिर बङ्गलादेशीहरू भारत–पाकिस्तानको द्वन्द्वका कारण विस्थापित भएर नेपाल पसेका थिए र तिनलाई त्यसबेला पुतलीसडकको शङ्करदेव क्याम्पस अगाडिको स्थानमा राखिएको थियो । यसै क्रममा सत्रौँ शताब्दीदेखि भुटानमा वैधानिक रूपमा प्रवेश गरी त्यहीँका नागरिक अधिकार र कर्तव्य पालना गरेर देश र स्वयम्को उन्नतिमा समर्पित रहेका नेपाली भाषी भुटानीहरूलाई देशमा दमन गरी खेद्ने काम भुटान सरकारले गर्यो । ठूलो सङ्ख्यामा नेपाली भाषी भुटानीहरूको नेपाल प्रवेशपछि मात्र शरणार्थीप्रतिको चासो सर्वसाधारणका लागि पनि बढ्न गएको हो । यस विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट निकै छलफल र विचार मन्थनहरू भए, तर भारत सरकारका तर्फबाट कुनै सरोकार राखिएन । भुटानले आफ्ना नेपालीभाषी जनतालाई खेदेको खेदै गर्यो, कतिलाई जेलमै कुहायो, यातना दियो र समस्या यथावत रह्यो ।
छिमेकी शक्ति राष्ट्रको आड पाएर पनि भुटानले आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन कुनै प्रभावकारी सम्झौता गरेन । त्यसपछि अन्तर्राष्ट्रिय जगतमा नेपालमा रहेका भुटानी शरणार्थी समस्या समाधानका वैकल्पिक उपायको खोजि भइरहेको छ । भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरिँदैछ । तर समाज, संस्कृति र जीवनशैलीका सारा सूत्रहरूबाट बारम्बार अलग्गिनुको पीडा बोकेका भुटानी शरणार्थीका जीवन भोगाइ र विवशता तिनैका कलमले सिर्जेका साहित्य मार्फत प्रकट भइरहेका छन् । यसक्रममा डा. गोविन्दराज भट्टराईको मुग्लान उपन्यासलाई पृष्ठभूमिमा राख्दा कृष्ण धराबासीको शरणार्थी, ध्रुवचन्द्र गौतमको ज्यागा, डा. तारालाल श्रेष्ठको सपनाको समाधि र वाई.एन. चौलागाईको साक्षी गरी चार वटा औपन्यासिक कृति प्रकाशित देखिन्छन् । यसरी नै कविता र गीत गजलमा पनि उल्लेख्य सिर्जना भएका छन् । निबन्धमा आत्मकथनका रूपमा टेकनाथ रिजालको निर्वासन आएको छ, जसले भुटानी शासकका प्रवृत्ति र नेपाली भाषीमाथिको आक्रमणका कारण र परिणामसम्मको पूर्ण चित्र उतारेको छ । यसरी नै शिवलाल दाहालको अलविदा बेलडाँगी निबन्ध र समीक्षाको संयुक्त प्रकाशनले संस्मरण र चिन्तनमूलक निबन्धहरूलाई प्रकाशित गरेको छ । नाटक-एकाङ्कीका क्षेत्रमा लिखित साहित्य पाउन सकिएको देखिँदैन तर शरणार्थीको अनुभव सँगालेका एक बाल शरणार्थी (…)ले भुटानबाट आफूहरूलाई दिएको यातना र देशबाट पलायन हुनुपरेका दर्दनाक कुरालाई कमिक्सका रूपमा नाटकीकरण गरेर प्रभावकारी प्रस्तुति गरेको देखिन्छ ।
२.१ भुटानी साहित्यमा महिलाको अवस्था र योगदान
भुटानी नेपाली साहित्यमा महिला लेखन (लीला निशा र सञ्जु गिरिजस्ता केही नाम बाहेक) मा चाहिँ खास उपलब्धि देखिँदैन । त्यहाँका नेपाली भाषी महिला कैयौँ साहित्यका विषय भएका छन् र स्रष्टा हुनसकेको देखिँदैन । अलविदा बेलडाँगीमा समावेश गरिएको भुटानी नेपाली साहित्यको इतिहास र भुटानी शरणार्थी साहित्यको इतिहास दुवैको अवलोकन गर्दा त्यहाँ साहित्यिकका रूपमा महिलाको वर्चस्व कायम हुन सकेको देखिँदैन । प्रस्तुत भएका कृतिहरूमा पनि महिला चरित्रलाई सबल पात्रका रूपमा पढ्न नपाइनुले भुटानमा महिलाको अवस्था निकै तल रहेको बुझ्न सकिन्छ, यद्यपि मूल समस्याका रूपमा यसप्रति कसैको चासो र चिन्ता भने देखिँदैन । महिला पछाडि पर्दा समाज कति पछाडि पर्छ भन्ने कुरा अब टड्कारो गरी देखिने विषय भइसकेको छ । भुटानको नेपाली परिवेशमा रहेका महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र बौद्धिक प्रतिनिधित्व कमजोर रहेकै कारण त्यहाँका युवाशक्तिमा सोचेर काम गर्ने र ज्यानको बाजी लगाएर प्रतिकार गर्ने क्षमता भएका नागरिक तयार हुन नसकेको अड्कल गर्न सकिन्छ । नारी आमा, दिदी, बहिनी, भाउजू, छोरी भन्दा बाहिर सामाजिक व्यक्तित्व बन्न सकेको देखिँदैन, कुनै महिलाले शोषणका विरुद्ध क्रान्ति छेडेको नपाइनु राजनीतिक पछौटेपनको निरासलाग्दो अवस्था हो । न त साहित्यमा नै महिला आउन सकेका देखिन्छन् । यी सबै तथ्यलाई शिवलाल दाहालले आफ्नो कृतिमा प्रस्तुत गरेको विवरणले प्रमाणित गरेका छन् । त्यहाँ नारीको बौद्धिक सहभागिता भेटिँदैन ।
वास्तवमा भुटानी महिलाभित्र लेख्नसक्ने आँट नभएको चाहिँ होइन रहेछ भन्ने कुरा प्रस्तुत अध्ययनमा आएका सम्बन्धित कृतिका आधारमा भन्न सकिने आधारहरू छन् । त्यहाँबाट खेदिएका महिलाहरू मध्ये तिम्सिना हजुरआमा र शान्ति गिरिजस्ता पात्रहरूमा इतिहासलाई साहित्यमा जिउँदो राख्नसक्ने चरित्र निर्माण भएको देखिन्छ । यसरी नै तारालाल श्रेष्ठको सपनाको समाधि उपन्यास लेखनको रचना गर्भका बारेमा प्रकाशित अभिव्यक्तिमा सही इतिहास त महिलाहरूबाट पाउन सकिनेरहेछ भन्ने भनाइबाट पनि यस अनुमानलाई पुष्टि गर्ने प्रशस्त आधारहरू मिल्छ । तर भोगाइलाई डायरीमा मात्र सीमित राख्न वाध्य भएका तिनले आफ्नो आर्थिक र सामाजिक परिस्थितिका कारण ती सजीव अनुभवलाई प्रकाशनको उज्यालो ल्याउन सहज नभएको वा नमिलेको भन्न सकिन्छ । पुरुषका चरित्रले महिलालाई के कति दमन र शोषण अनि हीनता र बाधाहरू पुगेका छन् ? त्यो इतिहास खोतल्न अबेर भइसकेको छ ।
शिक्षित पुरुषहरूले नै महिलाको समस्या घरभित्रको समस्या हो, यसको समाधानको जिम्मेवार उसको लोग्ने मात्र भएकाले यसलाई सामाजिक समस्या मान्नु नपर्ने हास्यास्पद कुरा पनि गरिरहेको सुनिन्छ । त्यसोभए महिलाहरूको परिचय श्रीमती भन्दा बाहिर छँदै छैन त ? यस्ता पात्रहरूले राजमाता राजेन्द्रलक्ष्मी, मीरा वाई र गायत्री स्पीभाकहरूलाई कत्तिको चिनेका छन् कुन्नि ! अचम्म लाग्ने कुरा त के हो भने दलितका समस्या जब दलित महिलामा जोडिन्छ, त्यसको निराकरणका लागि त्यही समुदायभित्रको पुरुष नै अनुत्तरदायी भइदिन्छ तर दलितका समस्यालाई पुरुषका मात्र समस्याजस्तो गर्ने प्रवृत्तिले महिलाहरू राज्यले सम्बोधन नगरेका सबैभन्दा सीमान्तीकृत नागरिक हुन् भन्ने तथ्य शरणार्थी साहित्यमा महिला लेखनको अवस्थाले प्रतिबिम्बन गरेको छ । भुटानी शरणार्थी समस्या र त्यसभित्र रहेका अन्य अगणित समस्याहरूलाई उप्काउन र समाधानमुखी सोच बनाउन ठूलै चुनौतीसँग जुध्नुपर्ने देखिन्छ । सांस्कृतिक रूपान्तरण र सामाजिक विकासका लागि सही सामग्रीको अध्ययन हुनु जरुरी छ । यसका लागि भुटानी शरणार्थी साहित्यमा वर्तमान स्रस्टाहरूले उठाएको कदम सम्मानयोग्य रहेको छ । प्रस्तुत अध्ययनमा उल्लिखित साहित्य कृतिहरूमा समग्र नेपाली भाषी भुटानी साहित्य र साहित्यकारको तस्बिर देखिएको छ । यसैका आधारमा महिला लेखनको अवस्था र योगदान नगण्य रहेको जानकारी मिलेको छ । अबका लेखनमा साहित्यिक सीमान्तीकृतलाई समेत केन्द्रतिर अभिसारित गर्नु जरुरी देखिन्छ । अलबिदा बेलडाँगी कृतिभित्र सचेततापूर्वक महिला समस्यामाथि सम्बोधन नगरिए पनि महिलाको अवस्थालाई आँकलन गर्नसक्ने निकै छिद्रहरू बनाइएका छन् । लेखकले टाल्न नसकेका ससाना प्वालबाट महिलाका अवस्था र योगदानको पूरै अन्धकारलाई चियाउन सकिने आधार मिलेको छ ।
३. सीमान्तीकृत साहित्य समालोचनाका कसीमा साक्षी उपन्यास
सन् १९६०को दशकपछि पाश्चात्य समालोचना प्रणालीबाट आरम्भ र विस्तार भएको बहुलवादी चिन्तनको एउटा वाद उत्तरआधुनिकताका विभिन्न कोणमध्ये सीमान्तीकृत अवधारणाका कोणबाट समालोचना गर्नका निम्ति पिछडिएका वर्गहरूको जीवनको प्रतिनिधित्व गर्ने आवाजविहीन वर्गको दैनिकीमाथि लेखिएको प्रस्तुत साक्षी उपन्यास उपयुक्त देखिएकाले यस कृतिलाई समालोचनाको केन्द्र बनाएर अध्ययन गर्ने प्रयास गरिएको हो ।
नेपाली समालोचनामा सीमान्तीकृत शब्दको प्रयोग उत्तरआधुनिक समालोचनाका सन्दर्भमा केही वर्ष यता हुन थालेको छ । सीमान्तीकृत शब्द पश्चिमी सवाल्टर्न शब्दको नेपालीकृत रूप हो । सीमान्तीकृत शब्दले मूलतः राज्यभित्रका पिछडिएका वर्गलाई बुझाउँछ । राज्यको शक्तिसम्म पहुँच नहुने, विस्थापित र आवाजविहीन वर्गहरू यसमा पर्दछन् । माक्र्सले राज्यमा दुई वर्ग देखाए । उनले आर्थिकरूपले सम्पन्नहरू बुर्जुवावर्ग र आर्थिकरूपले पिछडिएकाहरूको सन्दर्भमा सर्वहारावर्ग जस्ता शब्दको प्रयोग गरे तर एन्टोनिओ ग्राम्स्कीले उत्तर औपनिवेशिक उपभोक्तावादी संस्कृतिको सन्दर्भमा हेजिमोनी शब्द ल्याई सवाल्टर्न शब्दको प्रयोग गरे, जसको नेपाली अनुवादमा सीमान्तीकृत वा निमुखा भनिएको छ । हेजिमोनी शब्दले उपेक्षित वा अत्याधुनिक जीवनशैलीसँग घुलमिल हुन नसक्ने, छिनछिनमा परिवर्तन हुने प्रविधि, सूचना र विज्ञापनको संसारभित्रका उपभोक्तासँग प्रतिस्पर्धा गर्न नसक्ने, पिछडिएको भनी उपेक्षित भएको समुदायको अवस्था जनाउँछ । खासगरी कृषिमा श्रमजीवी अथवा गरिबीले गर्दा थिचिएका तल्लो वर्ग यसभित्र समेटिएका हुन्छन् ।
ग्राम्स्कीकै दृष्टिकोणलाई अझै विस्तार गर्ने काम गायत्री स्पीभाकले गरिन् । उनले सीमान्तीकृतका सन्दर्भमा आफ्नो वृहत् चिन्तन प्रस्तुत गरिन् । उनले आर्थिक सन्दर्भमात्र नभएर सांस्कृतिक कोणबाट पनि सीमान्तीकृतको चिन्तन अघि ल्याइन् । सीमान्तीकृत एउटा स्थिर विषय होइन, कुनै एक व्यक्ति कुनै परिवेशमा सीमान्तीकृतका रूपले व्यवहृत हुन्छ भने अर्को परिवेशमा ऊ सामान्य वा अझ कतै माथिल्लो दर्जाको पनि मानिन्छ भन्दै उनले सांस्कृतिक अभिप्रायलाई धेरै व्याख्या गरेकी छन् । जाति, लिङ्ग तथा रङ्गका आधारमा हुने उपेक्षालाई पनि उनले सीमान्तीकृतभित्रै उल्लेख गरेकी छन् । प्रशासनमा तल्लो तहका कर्मचारी, परिवारमा महिलाहरू, राजनीतिमा द्वन्द्वका बेला, क्रान्तिका बेला आवेगमा आएर लड्ने जनताको भीड, भूमिगत अवस्थाका नेताहरू सबै सीमान्तीकृतभित्र पर्दछन्, जबसम्म तिनको गन्तव्य निश्चित हुँदैन, ती उपेक्षित हुन्छन्, तिनको आवाज खेर गइरहेको हुन्छ । यसरी राज्यको नागरिक भएर पनि राज्यको जिम्मेवारी र अवसरबाट बञ्चित भएर अनागरिक बाँचिरहेका, आवाज विहिनहरूलाई बुझाउने सीमान्तीकृत वर्ग समकालीन साहित्यमा महत्त्वपूर्ण विषयका रूपमा प्रयोग हुने क्रम बढ्दो छ । शरणार्थी साहित्य मूलतः सीमान्तीकृत जनसमुदायको साहित्य हो । सीमान्तीकृतसम्बन्धी माथि उल्लिखित सैद्धान्तिक अवधारणाका आधारमा उपेक्षित पात्रहरूको भोगाइलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कोणबाट विश्लेषण गर्नु नै यस अध्ययनको उद्देश्य रहेको छ ।
३. १ उपन्यासमा प्रयुक्त सीमान्तीकृत चिन्तनको क्षेत्र
इतिहासको अध्ययन र समाजशास्त्रको अध्ययनमा प्रयोग गरिने एक पठनविधिको रूपमा सबाल्टर्नवाद आज उत्तरऔपनिवेशवादी सिद्धान्तमा प्रवेश गरिसकेको धारा हो । साहित्यमा मूलतः यो आख्यानको विश्लेषण गर्ने एक विशेष विधिको रूपमा अधिकतर प्रयोग गरिएको देखिन्छ (विचलन, सन् २०१० ः५६) ।
सीमान्तीकृत चिन्तनको जन्म आञ्चलिक परिवेशका आ–आफ्ना समस्याहरूका केन्दी्रयतामा हुने गरेको पाइन्छ । ती समस्याहरू आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्वरूपका हुन्छन् । अलग अलग भएर पनि यी समस्याहरू आपसमा अन्तःसम्बन्ध राख्छन् । तर साहित्यमा आउँदा ती समस्याहरूको सम्बन्ध लेखक वा पात्रका स्व–चेतनासँग रहन्छ । अरूबाट हामी शोषित छौँ भन्ने बोध कोलोनियल र हामी भित्रबाट हामी र अरूहरू पनि धेरै शोषित छौँ भन्ने बोध उत्तरउपनिवेशका तहमा विश्लेषण गरिने विषय हो । यो शोषण जाति, धर्म, रङ्ग, लिङ्ग, अर्थ आदिका आधारमा हुने गर्छ र शोषकका विरुद्धमा शोषितहरूका विरोधले परम्परागत मान्यतालाई भत्काएर नयाँ निर्माणको लागि आन्दोलन गर्छ । यो नवचेतनाको झिल्काले केन्द्र भङ्ग गर्नतिर आवाज उठाउँछ । सामाजिक संरचनाको रूपान्तरण हुन नसकेसम्म समाजमा दमित वर्गले मुक्तिबोध गर्न सक्दैनन् । आफ्नो अधिकारको रक्षार्थ सङ्गठित हुन नसक्नु र भए पनि तिनका आवाजलाई महत्त्व नदिने राज्यसरकार र सांस्कारिक रूढताले गर्दा सीमान्तीकृतका अवस्थामा परिवर्तन आउन धेरै समय र सङ्घर्षको निरन्तरता रहने देखिन्छ । नयाँ नयाँ स्वरूपका दासताले सीमान्तीकृतका नयाँ नयाँ अवस्थाहरू सिर्जित भइरहन्छन् यद्यपि तिनका तर्फबाट आवाज उठाउने काम विश्व साहित्यका विविध विधाका माध्यमबाट हुने गरेको पाइन्छ । यसलाई सीमान्तीकृत अवधारणाकै कोणबाट अध्ययन गर्ने काम नेपाली समालोचनामा भने पछिल्लो समयमा आएको देखिन्छ । यहाँ साक्षी उपन्यासको विषयवस्तुमा प्रकट भएको समस्या मूलतः राजनीतिक स्वार्थका कारण वर्गीकृत सीमान्तीकृत समस्या हो तापनि यससँग जोडिएर आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरू पनि प्रकट भएका छन् ।
३.२ राजनीतिक रूपले सीमान्तीकृत
राजनीतिले नागरिक हकहितलाई सम्बोधन गर्छ । राजनीतिले नै जनतालाई सार्वभौमसम्पन्न बनाउँछ र राजनीतिले नै जनतालाई स्वाधीन, स्वतन्त्र र राष्ट्रवादी बनाउँछ । तर जुन देशले राजनीतिलाई राज्यको नीति नभई राजाको नीतिका रूपमा कार्यान्वयन गर्ने धृष्टता गर्छ, तब देशमा वर्गीय भेदभाव र शोषण हावी हुनथाल्छ । साक्षी उपन्यासको कथानकले उठाएको केन्द्रीय कथ्यमा यही कुरा छ । राजनीतिक स्वार्थका कारण दमनमा परेका सीमान्तीकृत सोझा नेपाली भाषी जनता यस उपन्यासका मुख्य पात्र हुन् । नेपाली जीवन नेपालमा मात्र सीमित छैन, यो भाक्सु, दार्जिलिङ र आसामजस्ता भारतीय प्रदेशमा मात्र पनि सीमित छैन, सिक्किम र बर्मामा पनि छरिएको छ । तर सयौँ वर्षदेखि खोरिया फाँडी बस्ने श्रमिक नेपालीहरूलाई नीतिले आश्रय दिए पनि राजनीतिले बेला बेला धोका दिन्छ (अर्याल, २०४३ ः १५०–१५१) । यसरी जातीयताका आधारमा गरिएको अत्याचारले सीमा नाघेपछि ती देश छाडेर भाग्न विवश बनेका छन् । देश छाड्नुअघिको अवस्थामा नेपाली भाषी सर्वसाधारण जनताले भुटानका आदिबासी सरह नागरिक अधिकार भएर पनि विस्तारै विभेद महसुुस गर्न थालेका छन् । खासगरी दक्षिणी भुटानमा बसोबास गर्ने नेपाली भाषीलाई राज्यमा उपेक्षापूर्वक व्यवहार गर्न थालिन्छ । यसको कारण तिनले गरेको कडा परिश्रम र सफलताका कारण उनीहरूले समाजमा प्राप्त गर्दै गएको आर्थिक समृद्धि र सरकारी कार्यालयहरूमा रोजगारी प्राप्त गर्ने सामथ्र्यप्रतिको राज्यसरकारका तानाशाही आँखाले सहन गर्न नसक्नु नै रहेको देखिन्छ । त्यसैले नेपाली भाषीका निम्ति निषेधकारी नीतिहरू तय हुन थाल्छन्, जसले गर्दा सोझा सीधा जनताका पक्षमा चेतनशीलहरूले अधिकारका निम्ति विरोधको स्वर उठाउँछन् र त्यसलाई सुन्ने होइन, दबाउनेतिर राज्यसरकारको ध्यान केन्द्रित हुनथाल्छ । यसरी विस्तारै दमनको स्वरूप अत्याचारमा परिणत भएको छ । अत्याचार अन्यायमा परिणत भएपछि चरम यातनाबाट जनता भयभीत भएका छन् । कतिले ज्यान गुमाएका छन् । कति छोरी चेली बलात्कृत भएका छन् र ज्यान गुमाएका छन् । कतिको घरगोठमा आगो लगाइएको छ । यो हृदयविदारक बर्बरताको कारण साक्षी उपन्यासमा राजनीतिक स्वार्थले अभिप्रेरित भएर गरिएको तथ्यपूर्ण बयान छ ः
एउटा देशको गृहमन्त्रीजस्तो जिम्मेवार मान्छे । नेपाली मूलका जनतालाई पशुसरह व्यवहार गथ्र्यो । ऊ त आफ्ना कार्यकक्षमा सेवाग्राहीहरूलाई निषेध गरेर एक्लै निश्चिन्त बसिरहेको थियो । … … मन्त्रीले मेरा अनुहारमा थुकेर बोल्यो, “तँ गधालाई अर्थ चाहियो । अब म तँलाई अर्थ सम्झाइदिन्छु ।” उसले मेरा युनिफर्म, बर्दी र पेटी खोल्न अरू अफिसरलाई आदेश दियो । … केहीबेरमै म एउटा कट्टु र गन्जीमा मात्र उभिएँ । …(पृ.२२५–२२६)
३.३ आर्थिक रूपले सीमान्तीकृत
कमजोर आर्थिक अवस्था व्यक्तिगत जीवनको सर्वाधिक ठूलो समस्या हो भने सामाजिक हिसाबले उपेक्षित हुनमा पनि गरिबी पहिलो कारण नै बन्ने गर्छ । साक्षी उपन्यासमा आएका एकै पात्रहरू परिस्थितिले दुई किसिमका आर्थिक अवस्था भोगिरहेका देखिन्छन्— आर्थिक रूपले सम्पन्न र आर्थिक रूपले विपन्न । भुटानमा रहँदा आफ्नो खेती, किसानी, उद्यम–व्यवसाय गरेर आर्थिक विपन्नताबाट आर्थिक समृद्धि बनाएका नेपाली भाषीहरूको सामाजिक स्थानान्तरण जोङ्खा भाषी राज्यशक्तिलाई सह्य भएन । त्यसैले तिनले मिहेनती नेपाली भाषीलाई राज्यबाट खेदाएर तिनका सम्पत्ति हडप्ने दाउ खेले । ज्यान जोगाउन देश छोडेर शरणार्थी बनेपछि तिनले भोगेको विपन्नतासँग तुलना गर्न कुनै दृष्टान्ट छैन । उपन्यासकारले प्रस्तुत गरेका केही आर्थिक सन्दर्भहरू यहाँ उद्धृत गरिएका छन् ः
हामी कटेरोनजिकै पुग्यौँ । त्यहाँको दृश्य देख्ता हाम्रो आत्मा रोयो ।… दुई जना बालकलाई चिसो भुइँमै एउटा बोराको चट्टी बिछ्याएर सुताइएको थियो । एउटा अन्दाजी तीन वर्षको र अर्को पाँच वर्ष जतिको हुँदा हुन् । दुवै बालकलाई हनहनी ज्वरो आइरहेको थियो । … शरीरमा हाड र छाला मात्र अवशेषका रूपमा बाँकी बसेको देखिन्थ्यो । नाङ्गै चिसो भुइँमा लडेर ती काँपिरहेका थिए (पृ. १५–१६) ।
३.४ सांस्कृतिक रूपले सीमान्तीकृत
कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थ–व्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप नै संस्कृति हो । यसमा धेरै समयदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचारविचार, रहन–सहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन–मनन, भौतिक अभिव्यक्तिहरू, कला साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्परा समेतको समष्टि हुन्छ (नेपाली बृहत् शब्दकोश, २०४० ः १२८०) ।
वर्तमान समय तिनै स्थापित मूल्यहरू भत्किँदै गएको समय हो । साक्षी उपन्यासमा संस्कृतिका विभिन्न कोणबाट सीमान्तीकृतका अवस्थाको अध्ययन गर्न सकिने विषयहरू सङ्केतित छन् । यहाँ धार्मिक संस्कृतिको पनि स्पष्ट चित्रण छ, सामाजिक पारम्परिक संस्कृतिले निम्त्याएका सीमान्तीकृत चेतनाको केही स्वतः स्फुर्त प्रयोग पाइन्छ । यसरी नै तथाकथित वर्गीयता बनाई दलित भएकाले भोग्नुपरेका असङ्ख्य चोटहरूको चित्रण यस उपन्यासमा गरिएको छ ः
मृत बच्चालाई बोकेर पुरोहित बाजे अघि लागे । पछि पछि एउटा दाउरोजस्तो उधिन्ने वा खन्ने काठको औजार र एउटा सिल्वरको थाल बोकेर अरू दुई तीन जवान पछि लागे । कटेरामा बच्चाकी हजुरआमालगायत परिवारका अरू सदस्यहरू कङ्कला शब्दमा लडीबुडी गरी रुँदै थिए । सिल्वरको थालले शरणार्थी झुपडीभन्दा अलिपर त्यही माई नदीको बगरमा केही बालुवा अन्साई पन्साई गरेर एउटा खाल्डो तयार गर्न निकै बेर लाग्यो (पृ.२०) ।
बाबुको किरिया बसेको दसौँ दिनसम्म नुनतेल नखाएर बसेको मानिसले बिनाअपराध त्यस्तो यातना भोग्नु…(पृ.७८) ।
… हाम्रो मुर्दा पोल्ने घाट त साह्रै दूषित भएछ कमलजी ! यी शरणार्थीहरूका बच्चाहरू मरेपछि बगरमा पुरपार पार्दा रहेछन् । बालुवामा पुरेको जेले पनि खोतल्न सक्ने नै भयो । हेर्नोस् न, स्याल र कुकुरहरूले खोतलेर चौपट रहेछ । दुर्गन्धले बसिनसक्नु छ (पृ.९४) ।
बिहान एकाएक उनका घरको पेटीमा उभिएर एक जना वृद्ध बाहुनले एकोहोरो शङ्ख फुकेको सुन्दा मेरो मनमा चसक्क झस्का पस्यो । गाउँ नै अचम्मित भयो । … त्यो ब्राह्मण परिवारका पुरूषहरू विभिन्न काला योजना बुन्न तल्लीन भएछन् । महिलाहरू सबै निदाएका बेला चार जना पुरूषहरूले एउटा भयङ्कर घिन लाग्दो कुकृत्यलाई अन्जाम सम्म पुर्याएछन् । मेरी मायालुको नीच पापीहरूले हत्या गरिदिएछन् (पृ.२१०–२११) ।
भाषा र भेषभुषा तथा सांस्कृतिक पर्व–उत्सवलाई पनि निषेध गरी भुटान सरकारले नेपाली भाषी आफ्ना नागरिकप्रति ठूलो अन्याय ग¥यो । जन्मैदेखि सिकेको भाषा र संस्कृतिलाई प्रतिबन्ध गरी प्रयोक्तालाई दण्डित गर्नु र कहिल्यै राम्ररी नसुनेको जोङ्खा भाषा बोल्न लगाइनु र बख्खुलाई अनिवार्य पोसाक बनाइनुले त्यहाँको सांस्कृतिक शोषणको पराकाष्ठालाई देखाउँछ ।
यसरी नै महिलालाई पुरुषको उपभोग्य वस्तुको रूपमा हेर्ने असभ्य जङ्गली पनाले कतिपय चेलीहरू बलात्कृत भए, ज्यान गुमाए र बाँच्नेले पनि अस्मिताको प्रश्न बोकेर समाजमा निरीहतापूर्वक बाँच्न विवश पारिए । यस्ता विषयहरू उपन्यासमा प्रशस्त छन्, जहाँ सांस्कृतिक शोषणको भयावह अवस्था रहेको छ ।
४. अभिघात समालोचना सिद्धान्तका कसीमा साक्षी उपन्यास
युद्धका बाह्य र आन्तरिक आघातका विषयलाई लिएर लेखिएका साहित्य अभिघात साहित्य मानिन्छन् । र, यस्ता साहित्यको समालोचना गर्ने सिद्धान्तलाई अभिघात सिद्धान्त भनिन्छ । सीमान्तीकृत पात्र र अभिघात बेहोरेको पात्र एकै होइनन्, तिनका बिच केही तात्विक भिन्नता छन्् तापनि साक्षी उपन्यासमा अभिव्यक्त परिस्थितिमा यहाँका विषय र पात्रलाई दुवैतिर अध्ययन गर्न सकिने देखिन्छ । युद्धमा दुःख पाउने जनता नै हुन् । नेतृत्वका तहलाई युद्धको विभिषिकाले कुनै असर पार्दैन । यस अर्थमा नेपाली भाषी भुटानी जनतालाई राज्यको नीति र अधिकारबाट अलग गरिनु र मानव अधिकारको समेत हनन गरिनु सीमान्तीकृत समस्या हो भने तिनलाई यसरी निरीह बनाएर उल्टो तिनमाथि आक्रमण गरी युद्धजन्य विभिषिकामा धकेलेर मानसिक र शारीरिक चोट पु¥याई भयभित बनाइनु अभिघातको समस्या हो । सीमान्तीकृत समस्या परम्परागत र दीर्घकालीन समस्या हो भने अभिघात तत्क्षणको समस्या हो तर यसको असर दीर्घकालीन हुन्छ र यसले थप सीमान्तीकृत जन्माउँछ । साक्षी उपन्यासले उठाएका विषयमा यी दुवै कुरा सँगसँगै आएकाले यहाँ अभिघातका कोणबाट पनि उपन्यासको विषय, पात्र र परिवेशलाई थोरै नियाल्ने प्रयास गरिएको हो ।
अभिघातभित्र हिंसा, त्रास, भय र करुणाका बाह्य र आन्तरिक दुवै किसिमका प्रतिक्रियाको रूप हो । यस सिद्धान्तले मान्छेमा लाग्ने भौतिक र आत्मिक दुवै किसिमका चोटहरूलाई अभिघात शब्दद्वारा अथ्र्याउने प्रयत्न गर्छ । अभिघात शब्दले युद्धका विभीषिकाको यातना, पलायन र विस्थापन आदिबाट जन्मिएको आघात बुझाउँछ । यसमा आफन्तको मृत्युबाट पुग्ने आघात, विभिन्न किसिमका धोका, घृणा र हिंसाबाट हुने आघातका साथै श्रम विनिमय, शरणार्थी हुनुपर्दा, विस्थापन हुनुपर्दा, बलात्कृत हुनुपर्दा, अस्तित्व संरक्षणका निम्ति सङ्घर्ष जस्ता कारणले पुग्ने शारीरिक र मानसिक आघातका विषयहरू पर्दछन् । साक्षी उपन्यासमा यी उल्लिखित अधिकांश कारकहरूले शरणार्थी बनेका पात्रहरूका आघात सम्बोधित छ । यस उपन्यासमा प्रकट भएको अभिघात व्यक्तिगत वा आन्तरिक अभिघात नभएर राजनीतिक वा सांस्कृतिक अभिघात मूल छ । भुटानको केन्द्रीय सरकारले स्थानीय प्रशासनद्वारा दक्षिणी भुटानका विभिन्न ग्रामीण परिवेशमा बसोबास गर्दै आएका सर्वसाधारण निर्दोष नेपाली भाषी नागरिकलाई अनाहकमा अत्याचार गरी तिनमा त्रासको वातावरण पैदा गरेको छ ।
मानव अधिकार बहालीको लडाईँमा लाग्ने देशद्रोही हुन् भन्दै तिनलाई चन्दा दिएको दोष लगाई भुटानी सरकारले सक्षम नेपाली भाषी जनतालाई विस्थापन गराउने योजनाबद्ध आतङ्क मच्चाएको छ । यसक्रममा कतिको ज्यान गएको, कति अपाङ्ग भएका र स्कुल–कलेज पढ्दै गरेका ससाना उमेरका छोरीहरू बलात्कृत भएर ज्यान गुमाउन पुगका (जीतबहादुर दर्लामीकी १५ वर्षीय छोरी), अस्मिताको प्रश्नले आघात पाएका (शान्ति गिरि बलात्कृत भएपछि गर्भ रहेर विक्षिप्त बन्न पुगेकी) छन् । यसपछि विदेशी महिलासँग विवाह गरेको भन्दै हर्कराज गजमेर जस्ता तथाकथित दलित भनी सांस्कृतिक शोषणमा परेका पात्रलाई सक्षम हुँदाहुँदै र सेनाकै जागिरमा रहँदारहँदै पनि पालैपालो दोहोरो अभिघात दिइएको कारण सपरिवार शरणार्थी बन्न पुगेका छन् ।
राजनीतिक–सांस्कृतिक अभिघात पनि बाह्य र भौतिक दुई किसिमका हुन्छन् । युद्धजन्य हिंसाबाट जन्मिने, वैचारिक द्वन्द्वबाट जन्मिने, धार्मिक आस्थामा परेका चोटका कारण जन्मिने अभिघात सांस्कृतिक अभिघात हुन् । साक्षी उपन्यासमा नेपाली भाषी भुटानीका भाषा, संस्कृति र धार्मिक आस्थामा प्रहार र निषेध गरिएकाले यसबाट जन्मिएको अभिघात सीमाहीन छ । विषयवस्तुको केन्द्रमा पूर्व अभिघातको सन्दर्भ छ, जहाँ भुटानमा नेपाली भाषीलाई निषेध, नेपाली भाषीका पोसाक र धार्मिक पर्वमा निषेध गरिँदैछ, होसियार भन्ने सूचनाले आतङ्क फैलाएको छ, पछि निर्दोष जनतामाथि जघन्य यातना दिएर त्रास फैलाई विस्थापन र पलायनका लागि प्रेरित गराइएको छ । यसरी छोटो समयमा नै कुनै उपाय गर्न नभ्याउँदै, कुनै ठोस छलफल र संवाद विना नै नेपाली भाषीलाई खेद्नु अभिघातको चरम अवस्था हो भने शरणार्थी भएर भारतीय भूमि हुँदैै नेपाल आएर कन्काई किनारदेखि खुदुनावारीसम्मको बसाइका क्रममा भुटानमा पाएका चोट, भोक, रोग र अभावले कङ्गाल बनेर ससाना केटाकेटी र वृद्धवृद्धाको ज्यान जानु, लास व्यवस्थापनसमेत कठिनाइ पर्नु, भोक र भोजनको व्यवस्थापनका चिन्ताले विक्षिप्त हुनु, परिचयको सङ्कट झेल्दै अन्तमा अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनलाई पछ्याउँदै अर्को अनिश्चित यात्राको थालनी हुुनु सबै आघातका विषय हुन् । जन्मेको माटो र आफ्नै परिश्रमले सिंचेको जमीनबाट विछोडिनु र ज्यान बचाउन आएका ठाउँमा अपमान र थप त्रास, विरोध र विपरिचयको प्रश्नले जेलिँदाका क्षणमा जुन मानसिक अभिघातले साक्षी र अलबिदा बेलडाँगीका पात्रहरू विक्षिप्त बनेका छन्, त्यसलाई अभिघात सिद्धान्तका सबै किसिमका उपकरणहरूले मापन गर्दा पनि विषयको अभाव हुने देखिँदैन ।
५. निष्कर्ष
शरणार्थी समस्याको सबैभन्दा भयावह स्वरूप नेपालमा शरणार्थी भएर बसेका नेपाली भाषी भुटानी शरणार्थीको रहेको दृश्य शरणार्थी साहित्यले प्रस्तुत गरेको छ । इतिहासको सही जानकारी लिने हो भने वास्तवमा सम्बन्धित युगको साहित्य पढ्नुपर्छ भन्ने तथ्य भुटानी शरणार्थी समस्याका कारण र परिणामसम्मका विस्तारित विषयको प्रस्तुति दिएर साक्षी उपन्यास र अलबिदा बेलडाँगी निबन्धले प्रमाणित गरेका छन् । हुन त यस विषयमा नेपाली साहित्यकारहरू गोविन्दराज भट्टराई, ध्रुवचन्द्र गौतम, कृष्ण धराबासी, तारालाल श्रेष्ठ, इन्द्रबहादुर राई, दिनेश सत्याल आदिले गम्भीर तरिकाले कलम चलाएका छन् । तर पनि त्यही परिस्थितिका प्रत्यक्षदर्शी र भोक्ता पात्रहरू टेकनाथ रिजाल, वाई.एन. चौलागाई, शिवलाल दाहाल तथा अन्य कवि–गजलकार व्यक्तित्वहरूले रचना गरेका साहित्यमा प्रामाणिक र सजीव चित्रण पाउन सकिन्छ । आलोचनात्मक टिप्पणी गर्ने हो भने यी कृतिभित्रका प्रस्तुति र पात्रत्वका सन्दर्भमा अनेक प्रकारका समीक्षा समालोचना र टिप्पणीका सम्भावनाहरू खुलै छन् । यस छोटो अध्ययनमा पीडाले डामेका घाउहरूलाई पुनश्चः सीमान्तीकृत र अभिघात पीडाका आँसुले एकपटक धुने र धुलो परेका तस्वीरलाई स्पष्ट पार्ने प्रयास मात्र गरिएको छ । यस्ता गम्भीर विषयमा समालोचना गर्दा कला र शिल्पका विषयहरू अलि पर बस्दारहेछन् भने पात्रका अन्तर्र्विषयक पीडाहरूले जीवनको विवशता नै सबैभन्दा अघिल्लो लहरमा उभिँदारहेछन् । तसर्थ साहित्यिकताको कठघरामा नउभ्याईकन राजनीतिक, सांस्कृतिक र आर्थिक कोणबाट यी कृतिलाई चियाउने काम यस अध्ययनमा गरिएको छ ।
सन्दर्भ सामग्री
अर्याल, भैरव(सम्पा.). २०४३ पाँ.संस्क. साझा कथा. काठमाडौँ ः साझा प्रकाशन ।
गौतम, कृष्ण. २०५०. आधुनिक आलोचना ः अनेक रूप अनेक पठन. ललितपुर ः साझा प्रकाशन ।
गौतम, कृष्ण. २०६४. उत्तरआधुनिक जिज्ञासा. काठमाडौँ ः भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
गौतम, लक्ष्मणप्रसाद.२०६६. नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना. काठमाडौँ ः ओरियन्टल
पब्लिकेसन ।
––. सम्पा. २०६३. समकालीन नेपाली द्वन्द्व कथा, काठमाडौँ ः पैरवी प्रकाशन ।
चौलागाइँ. वाई.एन. २०७० दो.सं. साक्षी. काठमाडौँ ः डिस्कोर्स पब्लिकेसन ।
छेत्री, सुधीर र अन्य (सम्पा.). २०१०. विचलन. कालेबुङ ः विचलन प्रकाशन. ४÷८; ४३–५६ ।
त्रिपाठी, गीता. २०६७. कृति विश्लेषण ः प्रयोगिक आयाम. काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
दाहाल, शिवलाल. २०७०. अलबिदा बेलडाँगी. काठमाडौँ ः डिस्कोर्स पब्लिकेसन ।
धराबासी, कृष्ण.२०६५ ते.सं. शरणार्थी. ललितपुर ः साझा प्रकाशन ।
बराल, कृष्णहरि र एटम, नेत्र. २०५६. उपन्यास सिद्धान्त र नेपाली उपन्यास. ललितपुर ः साझाप्रकाशन ।
भट्टराइर्, गोविन्दराज. २०६४.उत्तर आधुनिक विमर्श. काठमाडौँ ः मोडर्न बुक्स ।
रिजाल, टेकनाथ. सन् २००५. निर्वासन. काठमाडौँ ः साप–नेपाल पब्लिसिङ हाउस ।
श्रेष्ठ, तारालाल. २०६८. सपनाको समाधि. काठमाडौँ ः डिस्कोर्स पब्लिकेसन ।
––. २०६७. शक्ति, स्रष्टा र सबाल्टर्न. काठमाडौँ ः डिस्कोर्स पब्लिकेसन ।
सुवेदी,राजेन्द्र तथा गौतम, लक्ष्मण (सम्पा.२०६८). रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड). काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
––. (२०६८). नेपाली समालोचना ः परम्परा र प्रवृत्ति. काठमाडौँ ः पाठ्यसामग्री प्रकाशन ।