शरणार्थी
डिल्लीराम शर्मा आचार्य
नर्वे
शरणार्थी शब्द नै कामु धेनु गाई हो ।
बसेर,उठेर,घुँडा टेकेर
यसलाई जसरी दुहे पनि हुन्छ
यसलाई दाना,घाँस,पानी केही दिनु पर्दैन
यो भोकाउँदैन अरू गाई जस्तो चर्दैन
बूढो हुने त डरै छैन,
रोग व्याध नलाग्ने भएको ले यो कहिल्यै मर्दैन ।
यसलाई जतैबाट दुहे पनि हुन्छ
यसको मल,मूत्र झर्दैन
रौँ-रौँबाट दूधका थोपाहरू झरिरहन्छन्
औषध उपचार केही गर्नै पर्दैन ।
यसको दूध कसैले गाएर झार्छन्
कसैले देखाएर झार्छन्
कसैले लेखाएर झार्छन्
कसैले नचाएर झार्छन्
कसैले हँसाएर झार्छन्
कला पनि विचित्र छ
कतै गोली बारुद पड्काएर झार्छन्
कतै शासकहरूले भड्काएर झार्छन्
ठुला र शक्तिशालीहरूले
गृहयुद्ध चर्काएर झार्छन्
सबैले दूध नै झार्छन् रमाएरै झार्छन् ।
भेतनाम होस् वा मेनमार्क,
रुवान्डा न बुरून्डी,
इराक न अफगानिस्तान
सिरिया होस् या लिबिया
युक्रेन होस् वा पेलेस्टाइन
आखिर कामु धेनु गाई जन्माइ छाड्छन् ।
जहाँ जसरी जन्माए पनि उही गाई
केवल रङ र स्वरूप मात्र फरक छ
यिनै गाईहरू जन्माउन
हतियारहरू बेच्नेको होडबाजी चल्छ
तिनै हतियारहरू अकासिए पिण्ड बर्सिएझैँ
पृथ्वीमा बर्सिन थाल्छन्
त्यसबाट निस्केको आगाको ज्वालाले
भुईँमा झर्न नपाउँदै
आमाको गर्भभित्रै बालबालिकाहरू
टुक्रा-टुक्रा भएर छरिन पुग्दछन् ।
भौतिक संरचना एवं प्राकृतिक सौन्दर्ययता नै
कुरूप बनेको देखेपछि
शासकहरू मुस्कुराएर रमाउन थाल्छन्
त्यो दारुण अवस्था देखेर
दाताहरूले समाउन थाल्छन्
त्यसमाथि पनि
दुष्टहरूले हैकम जमाउन थाल्छन्
केही सञ्चार माध्यम र बाठाहरूले
त्यसैलाई भाँडो बनाएर कमाउन थाल्छन् ।
आजकल कामु धेनु गाईको व्यापार खुब फस्टाएको छ
यसको दूध र बाछा-बाछीहरू
विश्व बजारमा बिक्री हुन थालेपछि
व्यापारीहरू खुब फस्टाएका छन्
यो शब्दरूपी गाईलाई कसैले कला बनाएर बेच्छन्
कसैले गला बनाएर बेच्छन्
कुनै देशले आफ्नै नागरिकलाई झोला बनाएर बेच्छन्
आजकल त कुकुर पनि निस्वार्थ भुक्न छाडेको छ
भुक्नुअघि एक फेरा उसले मालिकको मुखतिर हेर्ने गर्छ ।