शास्त्रीय अर्थभेदः आस्तिक र नास्तिक
भक्त घिमिरेः
पूर्वीय दर्शनशास्त्रमा जम्मा नौवटा दर्शनहरु समावेश छन् । जसमध्ये छवटालाई आस्तिक र तीनवटालाई नास्तिक वर्गमा राखिएको छ । आस्तिक दर्शनमा पूर्वमीमांसा, उत्तर मीमांसा (वेदान्त), वैशेषिक, सांख्य, न्याय र योग पर्दछन् । यिनलाई ‘षडदर्शन’ भनेर चिनिन्छ । षडदर्शनभित्र ईश्वरको विद्यमानता, सर्वोपरिता मान्ने मतहरुमात्र छैनन् ! यसरी नै नास्तिक दर्शनशास्त्रमा चार्वाकदर्शन, बुद्धदर्शन र जैनदर्शन पर्दछन् । चार्वाकबाहेक नास्तिक दर्शनका बुद्ध तथा जैन मतले पनि कुनै न कुनै रूपमा अलौकिकतामा विश्वास गर्दछन् । षडदर्शनमा वेदबाहेक अन्य शास्त्रले ईश्वरको कुनै पनि अस्तित्वका बारेमा चर्चा गर्दैनन् !
यहाँनेर राम्रो ध्यान केन्द्रित गरेर बुझ्नुपर्ने कुरा छन् । पूर्व मीमांसाले धर्मको नाममा नैतिकता सिकाएको छ भने उत्तर मीमांसा (वेदान्त) ले ब्रह्मतत्वको खोज गर्न मान्छेलाई उत्प्रेरित गरेको छ । वैशेषिक दर्शन कणाद ऋषिले प्रतिपादन गरेको विज्ञान थियो । यसलाई नौलो विश्वमा Automic Research भनिन्छ । सांख्यदर्शन भनेको योग विज्ञान हो जसमा प्रकृति र पुरुषलाई द्वैत अस्तित्वमा गणना गरिन्छ । यसरी नै योगको कुरा पनि लागू हुन्छ । योगले शरीर विज्ञानसँगै अन्तिम मुक्ति (मोक्ष) को प्रसंग उठाउँछ । ‘अहं ब्रह्मास्मि, तत् त्वम असि’ (म नै ब्रह्म हूँ; तिमी पनि त्यही हौ) भन्ने शास्त्रीय मतसित योग पनि कता कता सम्बन्धित छ । तर, आफू स्वयंभन्दा अर्को छुट्टै विराट पुरुष वा आत्मातत्वको विरासतका बारेमा योगले कहिल्यै व्याख्या गर्दैन । न्यायदर्शन न्यायकै लागि भइहाल्यो ! यहाँनेर भन्नैपर्ने मूल कुरो के भने यी षडदर्शनमा ईश्वरको सर्वोपरिता नमान्ने मतहरु समेटिएर पनि यिनै छवटा दर्शनमात्र आस्तिक किन भए ??
यता नास्तिक वर्गमा जैन, बुद्ध र चार्वाक दर्शनका पक्षधरहरुलाई उभ्याइएको छ । चार्वाकको लोकायत भन्ने मतलाई पूर्वीय दर्शनको प्रथम विज्ञान मानिन्छ । यो आधुनिक विज्ञानसित मेल खाने अनिश्वरवादी मत भएकैले नास्तिक भनिएछ रे ल ठीकै छ ! तर, जैन र बौद्ध मत कसरी नास्तिक भए ? के उनीहरु ईश्वरमा आस्था राख्तैनन् ? बुद्धको अहिंसाको सन्देशले के आत्मातत्वलाई मान्दैन र ? हुन त बुद्धदर्शनलाई अनात्मवादी अथवा शून्यवादी भनिएको छ । आदि शंकराचार्यले अद्वैत वेदान्तका परिभाषित संस्करणहरुमा बुद्ध मतको कडा विरोध गरेका छन् । तर, एउटा डरलाग्दो विरोधाभास के छ भने, वैदिक सनातन पन्थका अनुयायीहरुले बुद्धलाई विष्णुको नऔं अवतार मानेका छन् । बुद्धलाई विष्णुको नऔं अवतार मानिएको यथार्थ र उनले बाँडेको अहिंसाको सन्देशलाई वेदकै महिमा ठान्नेहरुले उनको मतलाई अनात्मवादी वा नास्तिक भन्नु हुँदैन थ्यो ! अथवा उनको मतमा नास्तिकता भए उनलाई विष्णुको अवतार मान्ने पनि थिएनन् । समष्टिमा ईश्वर भएको मान्नेहरु आस्तिक हुने भए बौद्ध मतलाई नास्तिक मानिने थिएन अथवा बुद्ध मतलाई अनात्मवादी अथवा नास्तिक मानेपछि बुद्धलाई विष्णुको नऔं अंश मान्नुमा कुनै तुक रहने थिएन !
बुद्धजस्तै जैन मत पनि अहिंसाको बलियो पक्षधर हो । “प्राणीले सुख र दुःख आफ्नै कारणले भोग्ने हो । उसलाई अरुले सुख वा दुःख दिन सक्तैन”, भन्ने जैन मतको मूल सन्देश हो । वेदमा यज्ञ वा कर्मकाण्ड र वर्णाश्रमको अधिक पृष्ठपोषण गरिएको भन्दै जैनहरुले प्राणीमा अहिंसा र जगतकल्याणका लागि चेतनारूप नै कारक सिद्ध हुने ठहर गरी सो सिद्धान्त आविष्कार गरेका थिए । काल्पनिक विराट् पुरुषलाई ईश्वर नमानेर उनीहरुले चेतनालाई ईश्वर मानेका हुन् । आखिर ईश्वर नमान्ने भएर होइन, वेदप्रति सम्पूर्णरूपमा समर्पित नभएका कारण जैनहरुलाई नास्तिक भनिएको थियो ।
अतः बुद्धको “अप्प दीपो भव” भन्ने सन्देशको अर्थ हुन्छ,“आफ्नो लागि आफैं प्रकाश बन ।” बुद्धको यस सन्देशले पनि मानिसको त्यही चेतनरूपलाई संकेत गरेको छ, जसलाई जैन मतले ईश्वर ठान्दछ । “तिमी स्वयम् बुद्ध बन्न सक्छौ” भन्ने बुद्धको सन्देश र “अहं ब्रह्मास्मि…” भन्ने कृष्णको सन्देशमा आखिर के नै पृथकता छ र ?
बुद्धदर्शन र जैन दर्शनलाई षडदर्शनका पक्षधरहरुले नास्तिक मान्नुमा ईश्वरको अस्तित्व स्वीकार गर्नु वा नगर्नुसित कुनै साइनो छैन । यसको खास कारण वैदिकहरुबाट भएको कर्मकाण्डी उक्साहट र हिंसा नै थियो । कर्मकाण्डको अतिवाद र बलिजस्ता हिंसात्म गतिविधिबाट आजित भएर शुरु गरिएका जैन र बुद्ध पनि कुनै न कुनै रूपमा पूर्वजन्म, पुनर्जन्म, मोक्ष आदि कुरामा वैदिकहरु भन्दा अलग छँदै छैनन् । जैन र बुद्धले नकारेको कुरा वास्तवमा वेद होइन । यो त पछि समूहभेदले निकालेका कुतर्कमात्र हो ।
जैन र बुद्धले नकारेको वास्तविक कुरो वर्णाश्रमको विभेद र आपसी हिंसा हो; बलिप्रथा हो । यज्ञमा बलि दिइन्न’थ्यो भनेर कसैले दाबी नगरोस् । सतीप्रताको बेला वैदिक ब्राह्मणहरुले नै मन्त्रोच्चारण गर्दै जिउँदै आमा (नारी) लाई अग्निदाहमा होमेका कुरा छँदैछन् । हिँजोअस्तिसम्म ‘कुल पूजा’ को नाममा बाह्रवटा बोका, कुन्निकति राँगा र परेवाको बलि चढाउने हामी वैदिकका अग्रजहरु अझै सिद्धिएका छैनन् ! त्यतिबेला पनि कुनै न कुनै वैदिक ब्राह्मणले नै मन्त्रोच्चारणसहित त्यस्ता समारोह टुंग्याउँथे । यस्ता गलत सामाजिक चलनहरुलाई चुनौती दिन जैन र बुद्धको सत्प्रयास भएको थियो । यज्ञमा बलि दिने चलनलाई चुनौती दिन बुद्ध र महावीरलाई हम्मे परेका विभिन्न शास्त्रीय प्रसंगहरु छन् । अस्वमेध यज्ञ गरी घोडा छोड्ने अनि त्यो घोडाले टेकेको सबै धर्तीमा आफ्नो कब्जा गर्ने, त्यो घोडालाई कसैले रोकेमा उसले यज्ञकर्तासित युद्ध गर्नुपर्ने जस्ता तमाम शास्त्रीय उद्धरणहरु हामीसित छन् । त्यसैले फेरि पनि भन्दछु, बुद्ध र जैनलाई ईश्वरको सर्वोच्चता नमानेर होइन, यज्ञको नाममा वर्णभेद, बलिप्रथा, हत्याहिंसाको विरोध गरेका कारण नास्तिक मानिएको हो । नत्र ऋगवेदमा उल्लेख ऋषवदेवद्वारा प्रतिपादित जैन मतलाई किन नास्तिक भनिन्थ्यो ?
गीताको सन्देश “कर्मणयेवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।”
र,
“सबै इच्छा, आकांक्षाहरुलाई जितेर आफैंमाथि विजयप्राप्त गर्नु नै अन्तिम मोक्षप्राप्ति हो” भन्ने जैन मतमा के फरक छ र ? फलको आशा नगरी कर्म गर्नु वा इच्छा-आकांक्षालाई जित्नु भन्ने सन्देशमा भावगत् पृथक्ता कसले केलाउन सक्ला ?
संस्कृत भाषामा ‘अस्ति’ भनेको ‘छ’ र ‘नास्ति’ भनेको ‘छैन’ हो । यही अर्थबोधबाट आस्तिक वा नास्तिक शब्दावली बनेका हुन् । यी दुइ शब्दका अगाडि ईश्वर वा भगवान उपसर्ग थपेर जाली साहुले किर्ते तमसुक गरी गरीबहरुलाई ब्याजीमा फँसाएजस्तो आम मानिसहरुलाई कथित आस्थाको चर्को ब्याजमा डुबाइएको छ । ऐतिहासिक तथ्यहरुको विश्लेषण गर्दै जाँदा निष्कर्षमा के कुरा आउँछ भने, आस्तिक र नास्तिक दुवै शब्द संस्कृतमा भएकाले यी शब्दको आविष्कार वैदिकहरुबाटै भएको हो । यसर्थ आस्तिक भन्नाले कोही मानिस ‘छ’, ‘हाँजिर छ’, ‘उपस्थित छ’ वा ‘उसभित्र षडदर्शनप्रतिको विश्वास विद्यमान छ’ र नास्तिक भन्नाले ‘छैन’ वा ‘होइन’ भन्नेमात्र बुझिने भएपछि यसको तात्पर्य कोही मानिस आफ्नो मत वा समूहमा छ कि छैन भनेर पहिचान गर्ने सूत्रीय संकेतका रुपमा यी शब्दको प्रयोग भएको बुझ्नुपर्ने हुन्छ । अहिलेको चल्तीमा हेर्ने हो भने कोही मानिस आफ्नो दलमा छ कि छैन वा आफ्नो दलको हो कि होइन भन्ने कुराको टुंगो गर्नमात्रै यी शब्दको प्रयोजन भएको हो !
वास्तवमा यसरी यी दुवै शब्दावलीमा भगवान वा ईश्वरसितको कुनै सम्बन्ध छैन । कुनै बेला कुन अर्थ वा तात्पर्यमा बनेका शब्दहरु कालान्तरमा कति धेरै विकृत बन्दा रहेछन् भन्ने बलियो नमूना पनि हो यो !
कहिलेकाहीं पुराणका कथावाचन समारोहतिर ‘आस्तिक भनेको भगवान वा ईश्वरमा आस्था राख्ने व्यक्ति’ भनेर बबण्डर मच्चाइएको सुनिन्छ । अस्तिबाट आस्तिक बनेको ‘छ’ र नास्तिबाट बनेको ‘छैन’ मा टुंगिने शब्दावलीलाई व्यक्तिको आस्थासम्म पुऱ्याएर जोड्नु एउटा अज्ञानता हुनसक्छ भने अर्को जालसाजी हुनसक्छ ! छ भनेर कुनै कुराको विद्यमानतालाई स्वीकार गर्नु र आस्था राख्नु बेग्लै कुरा हुन् । आस्था राख्नु भनेको आशा गर्नु, भरोसा गर्नु हो ! एउटा देशको सर्वोच्च पद प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छेलाई हेरेर सबैले आफ्नो देशमा प्रधानमन्त्री भएको बुझ्न सक्छन् । प्रधानमन्त्रीको त्यो विद्यमानतालाई बुझेर उनीहरु त्यस सवालमा आस्तिक बन्नसक्छन् । तर, त्यही प्रधानमन्त्रीले आफ्नो लागि कुनै पनि कल्याणकारी काम नगरेको विश्वास उनीहरुमा भए त्यहाँ उनीहरुले त्यस प्रधानमन्त्रीप्रति आस्था राख्ने कुरै भएन ! त्यतिबेला ती तमाम मानिसहरुलाई आस्तिक भन्ने कि नास्तिक? त्यसैले आस्तिक शब्दले कसैप्रतिको आस्था जनाउने कुरा भ्रम सिर्जनाको कडीमात्र हो ।