शिवलाल दाहालको “जो स्मृतिमा मात्र बाँचिदिएका छन्”
गोविन्द रिजाल
म कहिले पुस्तकको शीर्षक हेरेर, कहिले पुस्तक भित्रका अक्षरको फन्ट हेरेर, कहिलेकाहीँ सिर्जनाको नाम हेरेर त कहिले आवरण आकर्षण हेरेर, समय, मूल्य, लेखकको नाम हेरेर पढ्ने पुस्तक छान्ने गर्छु । पुस्तक छान्ने विधिले इच्छा आकाङ्क्षामा असर पार्छ ।
सन् २०२२ मा साहित्य प्रवर्द्धक तथा सर्जक रमेश गौतमले मलाई एक थान पुस्तकहरू थमाउनुभयो । ती पुस्तकहरू मध्ये कवि शिवलाल दाहालकृत स्वच्छन्द कविता सङ्ग्रह “जो स्मृतिमा मात्र बाँची दिएका छन्” एक थियो । मैले पुस्तक छनौटको मानक प्रयोग गर्नु परेन । स्रष्टा शिवलाल दाहाल मैले खोजी-खोजी पढ्ने सर्जक मध्येमा पर्छन् । यो पुस्तक पढेर यसको समीक्षाको खेस्रा पहिले नै तयार भए पनि प्रचार गर्न चाहिनँ । मलाई लाग्यो यो कृतिको वेगको बगाइले उपयुक्त पाठकमाझ आफै पुग्न सक्षम छ । प्रकाशनको लगभग एक वर्षपछि यो पुस्तक पुग्नुपर्ने पाठक समक्ष नपुगेको कतै भए यस्ता टापुहरूलाई मध्यनजर गरी यो समीक्षाको जोगामेसो मिलाएको हुँ ।
यो सङ्ग्रहभरि मैले मानक कविता खोजेँ, कविताका नमुना खोजेँ, समाजका प्रतिनिधि कृतिको खोजेँ, नवीनतम प्रयोग र नयाँ ज्ञान खोजेँ, जुन म कवि शिवलालका कृतिहरूबाट सदा अपेक्षा गर्दछु । त्योभन्दा धेरै शिवलाल दाहाललाई चिनाउने कविताहरू खोजेँ ।
साहित्य परिषद् भूटानको प्रकाशन यो सङ्ग्रहमा ४७ कविताहरू छन् । कुनै छोटा छन्, कुनै मध्यम लम्बाइका छन् । लामा वा चार पृष्ठभन्दा धेरै तन्किएका कविता छैनन् । सङ्ग्रहको प्रथम कविता पेरियोडिक टेबल (पृष्ठ १-४) पढ्दा लाग्छ कवि बुढा भएछन्, विगत सम्झने, नयाँ सिक्न आँट नगर्ने, कोरिया, सिरियालाई पेरियोडिक टेबलको असर ठान्ने। मानव चीत्कार, हुङ्कार, गर्जनको स्रोतसँग पेरियोडिक टेबलको तुलना गरेर- एक अजंगको पर्यस्तापह्नुति अलङ्कार प्रस्तुत गरेका छन् । कविलाई लाग्या छ पेरियोडिक टेबल छ र नै संसार छ, विश्वास छ, ब्राह्मण छ (पृष्ठ ३)।
यस सङ्ग्रहमा गणित, कम्प्युटर (पृष्ठ ५५), एनेस्थेसिया ( पृष्ठ १०), समुद्री आँधी, सौर्य आँधी ( पृष्ठ १६) गणितका सूत्रहरू (पृष्ठ २५) जस्ता विज्ञानसम्मत शब्दहरू असरल्लै छरिएका छन् । कविता ‘एक दिनको दैनिकी’ मा अमेरिकी दिनचर्यालाई धुलोको कुहिरोले ढाकेको उपमा दिई अपह्नुति अर्थालङ्कार प्रयोग गरिएको छ (पृष्ठ २१-२२) । अमेरिकी जीवनशैलीका रमाइला पनहरू, विकासका धरोहरहरू, सभ्यताका शिखरहरू, सपनाका गन्तव्यहरू पूर्ण रूपले अनदेखा गरिएको छ । यो आंशिक मात्र सत्य हुनसक्छ । सुख-सयल, सुखमय भविष्यतर्फको परिवर्तनको कल्पना पाइँदैन- जुन पाठकको चाहना हुन्छ । त्यस्तै निराशै निराशा बटुलेका छन् महाभारत (पृष्ठ २६-२८) कवितामा ।
सुरुका कविताहरू निराशा प्रदायक छन्, त्रास, भय, अलिप्त, र शङ्कामा जोतिएका छन् । निराशाको मात्रा क्रमशः घट्दै जान्छन् पानाहरू पल्टाउँदै जाँदा ।
‘पहाड बोकेर हिँड्ने रहर’ (पृष्ठ ९४-९५), ‘पानीको दहमा देखिएको अनुहार’ (पृष्ठ ४२-४३) आसा प्रदायक, सुकिला र स्निग्ध छन् । ‘म एक झञ्झाको पर्खाइमा
छु…’, ‘ऊ आयो’ जस्ता कविताहरूमा केही आगमनको सङ्केतको आसा गरिएको छ। कुनै तानासाही मुलुकको त्रासद बन्धन भित्रबाट लेखिएका जस्ता छन् प्राय सबै कविताहरू । कविताका मूल उपमा र उपमेयहरू सर्वनाममा सीमित छन्, विकेन्द्रित छन् ।
केही लघु कविताहरू जस्तै, ‘भविताको अनुहार,’ ‘भुईँमा झर्ने पारिजात,’ ‘म पहाडी नदी,’ शास्त्रीय संरचनामा नबाँधिएको ताङ्का झैँ लघुक्ति पूर्ण लाग्छन् । ती कविताहरू छोटा छन् ।
मलाई लाग्छ कवि शिवलालका कविताहरू मनोरञ्जन र ज्ञानका साथसाथै विगत गम्न, जिन्दगी बुझ्न र संसार नियाल्न पढिनु पर्छ । यो पुस्तक थोरै पाठकले मात्र मन पराउने छन् तर जसले मन पराउने छन् अनमोल मन पराउने छन् । यो सङ्ग्रहमा मलाई मन परेका धेरै कविताहरू मध्ये ‘ऊ आयो’ पनि हो
‘… ऊ आयो यसरी
खास कसैलाई थाहा भएन
खडेरीपछिको एक झर पानी जस्तो
हुन सक्छ असङ्ख्य उद्वीजहरू उम्रिन बाँकी छ
यो धर्तीको काखमा
र त ऊ आयो सुस्तरी
घोडाको टाप नबजाई कनै …’ (पृष्ठ ६८-६९)
उनका आगामी पुस्तकहरूका नाम छोटा रहून् भन्ने सानो अपेक्षात्मक सुझाव छ । उनले अझ लेख्नु पर्छ । विषयमा अझ फैलिएर, लक्ष्यमा अझ गहिरिएर लेख्नु पर्छ । मलाई विश्वास लाग्छ उनी जन्मेको लेख्नलाई हो; उनले कविता ‘अक्षरहरू’मा जे लेखेका भए पनि ।
“तर यस मनेमा म हारेको छु।
अक्षरहरू त जिन्दगीमा लेखिनु पर्ने रहेछ
जो मैले लेख्नै सकिन
जो मैले गाउनै सकिन” (पृष्ठ ९)।।
कवि शिवलाल दाहालले जे लेखेका भए पनि म उनलाई चिनाउने उनका सिर्जनाहरू खोजिरहेछु, खोजिरहनेछु ।
***