शुभकामना नयाँ वर्षको
समय गतिशील छ । चलायमान छ । निरन्तर र अक्षुण्ण पनि । समयको यही गतिशीलता,चलायमानता, निरन्तरता र अक्षुण्णताभित्रै निमेष,पल,क्षण,घडी,दिन सप्ताह,पक्ष,महिना,ऋतु,साल,संवत् र युग हुँदै घुमिरहेको छ समयको चक्र । संसार नै समयको गर्भभित्र कैद छ । समयको बाहिर केही पनि छैन । छ त यही अदृश्य, असीमित र अनन्त समय चक्र । समयको गर्भभित्रै प्राणीहरूको जन्म र मृत्युको आरोह-अवरोह चलिरहेको छ,अनन्त युगदेखि । समय आफैँमा असन्तुलित र निरपेक्ष छैन र सापेक्ष र सन्तुलित पनि छैन । समयलाई निरङ्कुश र उपद्रवी त मानवले बनाएको हो । विज्ञान र प्रविधिको अन्तहीन प्रतिस्पर्धा र महत्त्वाकाङ्क्षा ले नै समयलाई असन्तुलित र प्रदूषित बनाएको हो ।
संसारमा फैलिने प्राणघातक रोग र महामारीहरू पनि मानव निर्मित प्रदूषण र खराब अभ्यासका दुष्परिणतिहरू हुन् , यसमा दोराय छैन । समयको गतिलाई कुनै पनि मानव निर्मित शक्तिले पराजित गर्न सक्दैन । समयलाई केही हदसम्म मानव निर्मित प्रविधिले चुनौती दिन सक्ला तर पराजय नै गर्न सक्छ भन्न सकिँदैन । मानवले जाति नै विज्ञान र प्रविधिको विकास र विस्तार गरे पनि अन्ततः ज्ञान कै विजय निश्चित छ । “ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ” यो त्यसै भनिएको अवश्य होइन । विज्ञान र प्रविधिको दुरुपयोगबाट जन्मिएको कोभिड-१९ले मानव सभ्यता नै खलबल्याएको छ, यति बेला ।
२०१९ को अन्तिमबाट सुरु भएको यस भाइरसले १४ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने करोडौँ मानिस यसबाट सङ्क्रमित छन् । संसारकै अर्थव्यवस्था डामाडोल भएको छ । यस महामारीबाट कथञ्चित् बाँच्नेहरू पनि भोक-भोकै मर्ने स्थिति छ । यस भाइरसको रोग-थाम र नियन्त्रणका लागि सरकारहरूले लामो प्रयासपछि भ्याक्सिन पनि बनाए । र त्यसको प्रयोग पनि भइरहेको छ । तर पनि २०को १९ हुने लक्षण नै देखिएन । बेलायतले सबैभन्दा पहिला भ्याक्सिन बनायो र प्रयोग पनि गर्यो । तर भ्याक्सिन सुरु गरेको हप्ता दिन पनि नबित्दै झन् भयङ्कर डर लाग्दो प्रकृतिको सङ्क्रमण फैलिन सुर भयो । बिस्तारै त्यो अनौठो र अद्भुत महामारी युरोप हुँदै अन्य देशहरूमा पनि फैलिन थालेको छ । यसबाट के स्पष्ट हुन्छ भने यो महामारीलाई परास्त गर्न मानव जातिले बनाएका विज्ञान र प्रविधिहरू सक्षम छैनन् ।
अब यस महामारीले एउटै मात्र पाठ सिकाएको छ कि प्रकृतितर्फ फर्किनु र अध्यात्मतिर झुक्नुको विकल्पै छैन मानव जातिले लागि । मानव जातिलाई २०२०ले अत्यासै अत्यास दिएर गयो,संसारलाई आतङ्क र कोलाहल दिएर गयो, खुसी र हाँसो लुटेर गयो। आँसु र क्रन्दन मात्र छोडेर गयो । तर २०२१ त्यस्तो नहोस् । खुसी र उमङ्ग लिएर आओस् । मानव जातिमा सुस्वास्थ्य,दीर्घायु र मङ्गलै मङ्गल लिएर आओस् । विश्वबन्धुत्व र वसुदैव कुटुम्वकंको भावना लिएर आओस्। सुख,शान्ति र समृद्धि लिएर आओस् । यही शुभकामना नयाँ वर्षको सबैलाई ।
गंगा लामिटारे
अध्यक्ष
साहित्य परिषद्, भूटान