सगरमाथा ढलेन, अझ अग्लो भयो
म कविताको प्रतीक्षामा थिएँ ।
कविताको भोकले रन्थनिएर अन्तर्राष्ट्रिय पेनको ७६ औँ कंग्रेसमा भाग लिन पेन नेपालको तर्फबाट अन्य दुई नेपाली प्रतिनिधि रामकुमार पाँडे र मुरारिप्रसाद सिग्देलसँगै टोकियो आइपुगेको थिएँ म । २६ सेप्टेम्बरमा वासेदा विश्वविद्यालयमा भएको भव्य औपचारिक उद्घाटन समारोहपछिदेखि नै संसारभरिका विभिन्न देशहरूबाट आएका कवि र लेखकहरूसँग परिचय, छलफल र भावना एवं अनुभूतिको आदानप्रदानमा व्यस्त थिएँ । तर यतिले मात्र मेरो कविताप्रतिको भोक मेटिएन । म औपचारिक र अनौपचारिक दुवै कार्यक्रमहरूमा कविता खोजिरहेको थिएँ ।
सेप्टेम्बर २८ मा लञ्चपछि कवितावाचन गर्ने कार्यक्रम तय भयो । हामी कविहरू उत्साहित हुँदै कियो प्लाजा होटेलको चौथो तल्लामा रहेको कार्यक्रमस्थलमा पुग्यौँ । त्यहाँ कोरिया, फ्रान्स, अष्ट्रेलिया, सर्बिया, अल्बानिया, अफगानिस्तान, इङ्ल्यान्ड, अमेरिका, भियतनाम, जापान, नेपाल आदि देशका कविहरू बडो उत्सुकतापूर्वक एकअर्काका कविताहरू सुन्न र सुनाउन जम्मा भएका थियौँ । नेपाली कविहरूमा रामकुमार पाँडे पेनको कुनै समितिको बैठकमा व्यस्त हुनुपरेको र जापानबाटै सहभागी हुन लाग्नुभएका दुबसु क्षेत्री कार्यव्यस्तताले गर्दा अनुपस्थित भएपछि मुरारिप्रसाद सिग्देल र म सहभागी थियौँ ।
उद्घोषकले घोषणा गरे – “यहाँ माइकको प्रयोग गरिने छैन । हामी मानिसको हृदयको आवाजलाई सुन्न चाहन्छौँ । त्यो वास्तविक होस् र सोभैm हाम्रो हृदय र मस्तिस्कमा झङ्क्रित हुन पुगोस् । प्रविधिले यसमा बाधा हाल्छ र कृतिम बनाइदिन्छ । आजको कार्यत्र mममा कृतिमतालाई निषेध गरिन्छ ।” उनले बरू कविहरूलाई अलि ठूलो स्वरमा कवितावाचन गरिदिन आग्रह गरे । प्रविधिको विकासमा अति उच्चतहमा पुगेको जापान प्रविधिको प्रयोग नगरी मानिसको हृदयलाई सुन्छु भन्दैछ । रमाइलो लाग्यो मलाई ।
उपस्थिति सानो थियो । स्रोता वर्गको आकारले पनि कविहरूमा कवितावाचन गर्ने उत्साह र जाँगरलाई तलमाथि गर्दछ । एक पटक कवि रमेश श्रेष्ठले कवि ईश्वरवल्लभलाई उहाँकै घरमा कविता सुनाउन आग्रह गर्दा उहाँले अस्वीकार गर्दै भन्नुभा’थ्यो – “यसका लागि वातावरण चाहिन्छ । कविता गर्नु भनेको पनि अनुष्ठान गरेजस्तै हो । पूजाअघि रेखी हालेर, दियो बालेर, कलस थापेर वातावरणको निर्माण गरिन्छ । कवितावाचनको लागि पनि वातावरणको निर्माण गर्नुपर्छ ।” म त्यस्तै वातावरण पर्खिरहेको थिएँ तर उद्घोषकले मेरो नाम बोलाइहाले ।
कविता बोकेर मञ्चमा गएँ । नेपालीहरूबीचमा अनेकौँ पटक कविता पढिसकेको भए पनि अङग्रेजीमा विदेशी कविहरूको बीचमा उभिएर कविता पढ्न लागेको पहिलो पटक थियो । यो मेरो मात्र होइन, नेपाली कविताको पनि परीक्षा थियो । कवितालाई सम्मान गर्दै सावधानीपूर्वक वाचन गरेँ । ताली राम्रै बज्यो । कवितागोष्ठी सकिने बित्तिकै सर्बियाका कवि भ्लादिमिर कोप्पीसिलले भने – “तपाईंसँग कविताको किताब छ ?”
उनलाई अंग्रेजीमा अनुवाद भएको “समुद्र र अन्य अविताहरू” तथा अल्बानियाका कविलाई “कवितामा पहाड” नामको एक, एक वटा किताबहरू हस्ताक्षर गरेर दिएँ ।
“के यसलाई हामी अनुवाद गर्न सकौँला ?” भ्लादिमिरले भने ।
“अवश्य । यसो भयो भने त मेरा लागि ठूलो खुशीको कुरा हुनेछ ।” भनेँ ।
“हामी तपाईंका कवितालाई सर्बियाली भाषामा अनुवाद गर्छौँ । थाहा छ ? अर्को सालको पेनको कंग्रेस सर्बियामा हुँदैछ नि । तपाईं आउनोस् है । हामी मेरो शहर नाभी शाद पनि घुम्न जाऔँला ।” उनले भने ।
मलाई २०१२ को कंग्रेस सियोलमा हुन्छ भन्ने थाहा थियो । २०११ को कंग्रेस बेलग्रेडमा गर्ने निर्णय गरेछ हिजोको मिटिङले ।
मैले उनीसँग हात मिलाएँ र आउन सक्दो प्रयास गर्छु भनेँ । उनले त्यहाँ कवितावाचन गर्ने अन्य कविहरूलाई केही भनेनन् । सोचेँ– यो मप्रतिको उनको स्नेह वा रूचि होइन, नेपाली कविताको सौन्दर्य र शक्ति हो ।
त्यस कविगोष्ठीले मेरो कविताप्रतिको भोक शान्त होला भनेको त झनै पो बल्झियो । सानो गोष्ठीमा बसेर सीमित मान्छेहरूबीचमा कवितालाई सीमित पारेको मलाई मन परेन । अभैm कति धेरै कविहरू यो कंग्रेसमा आएको भए पनि समितिका बैठकहरूले गर्दा आउन पाएनन् । अब म २९ तारिखको साँझमा हुने ठूलो कवितागोष्ठीलाई पर्खन थालेँ ।
यस बीचमा केही जापानी कविहरू, भियतनामी कवि, फ्रान्सका कवि, ताइवानका कवि, पाकिस्तानका कवि, अमेरिकाबाट आएका कविका किताबहरूका साथै कोरियाली कविका सिजो कविताहरू उपहार पाएको थिएँ । मैले आफ्ना किताबहरू पनि यसरी नै उपहार दिएँ उनीहरूलाई । तिनीहरूलाई अलिअलि पढ्दै पनि थिएँ । स्कटिस कवि टेस्सा रेन्सफोर्डले मायाले पठाएकी उनको चुनिएका कविताहरूको संग्रहको शक्तिसामथ्र्य र सौन्दर्यले मोहित भइरहेको थिएँ । कविता नशाजस्तै चढिरहेको थियो । त्यसैले २९ सेप्टेम्बरको साँझ जापानमा रहेका केही नेपाली कविहरूले हाम्रो सम्मानमा आयोजना गरेको साहित्यिक कार्यक्रममा रामकुमार दाइ र मुरारिजी जानुभए पनि म चाहिँ नगई त्यहीँ विश्वकविताको माझमा नेपाली कविताको अस्तित्व र स्थान खोज्न बसेँ ।
साँझ कियो प्लाजा होटेलकै अर्को सभाकक्षमा ठूलो कवितागोष्ठी शुरु भयो । साँझको मधुरो प्रकाशमा शान्तपूर्वक बसिरहेका अनेकौँ देशका कविहरू ध्यानमग्न रहेकाभैmँ देखिन्थे । वातावरण पूरै शान्त थियो । यस्तो शान्तिबीचमा यहाँ पनि प्रविधिलाई निषेध गरियो । कार्यक्रम सञ्चालकले भने – ”तपाईंहरू आफ्नो देशमा ठूलो र प्रख्यात कविहरू हुनुहोला । तर आज यहाँ सबै जना एकै स्तरको कवि मात्र हो । त्यसैले यहाँ सबै कविलाई एकै स्तरको सम्मान प्रदान गरिन्छ ।” कविहरू आफ्नो प्राकृतिक आवाजमै हृदयको बोली बोलिरहेका थिए । कविताबाचनकै बीचमा मेरो नाम उद्घोषकले बोलाएपछि सिङ्गै सगरमाथा उठेको अनुभूति गर्दै सगर्व उभिएँ र कवितावाचनको लागि अघि बढेँ । मेरो र नेपाली कविताकै लागि यो सर्वाधिक परीक्षाको घडी थियो । जीउ फुलेजस्तो र तातो भएको अनुभूति गरेँ । आपूmलाई सकेसम्म नियन्त्रण गर्दै कविताको भावलाई मर्न नदिई तर निष्फिक्रीसँग कवितावाचन गरेँ । जब अन्तिम शब्द पढेर टक्क अडिएँ, कसैले चिच्याएको सुनेँ – “वाह !” र, पूजापछिको आरतीजस्तो तालीको ठूलो सङ्गीत सुनेँ ।
यस्तै प्रतिक्रिया टर्कीका कवि तारिक गनेर्सल, अफगानिस्तानका युवा कवि र बंगलादेशका कवि र जापानकै कवि चिकाए तानिगुची र अन्य केही जापानी कविले पाएका थिए त्यहाँ । टर्कीका उनै कविले हात मिलाए र अफगानिस्तानका युवाकविले मसँग कविताको किताब माग्दै त्यसलाई उनको भाषामा अनुवाद गर्ने वचन दिए । भारतका कवि दाउजी गुप्ताले न्यूयोर्कबाट प्रकाशन हुने हिन्दी पत्रिकाको लागि कविता पठाइदिन आग्रह गरे । कार्यक्रम निर्धारित समयभन्दा आधा अन्टा अघि नै सकिने देखिएकाले अभैm इच्छुक कविहरूलाई कवितावाचनको लागि आग्रह गरिँदा केही जापानी कविहरूले मलाई पनि पुनः कविता पढ्न आग्रह गरे ।
यो प्रतिक्रिया नेपाली कविताको विजय हो । सगरमाथा अझ अग्लो भयो, ढलेन । यो प्रतिक्रियापछि के कुरा प्रष्ट बुभेmँ भने नेपाली भाषाका राम्रा कविताहरूको राम्रो अनुवाद हुनसक्यो र विश्वमञ्चमा पुग्न पायो भने सगर्व उभिनसक्ने सामथ्र्य राख्ने भएको छ । यो विश्वकवितागोष्ठीले दिएको अर्को सन्देश चाहिँ के थियो भने एउटा मात्र विषयलाई बोकेर सरल संरचनामा गम्भीर भाव अभिव्यक्त भएका कविता धेरै मन पराइँदो रहेछ । त्यस्ता कविताहरू मान्छेको आत्मासम्म पुग्ने रहेछन् र वेचैनीपूर्ण हलचललाई उत्पन्न गर्ने रहेछन् ।
नेपाल फर्केको केही समयपछि एकदिन सर्बियाका कवि भ्लादिमिरको इमेल पाएँ । उनले लेखेका थिए – “तपाईंका कविताको अनुवाद गर्दैछु । बेलग्रेड चाहिँ जसरी पनि आउनुहोस् है, ७७ औं कंग्रेसमा भाग लिन ।”