सङ्कट – धर्म

Ohio, America

डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका 

यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र?
सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ।
अहिले पनि छ
र रहिरहने छ।
सही भन्ने हो भने
सङ्कट कहीँ कतैबाट कहिल्यै आउँदैन र जाँदैन
यो संसार नै आफैमा सङ्कट हो
हामीले यससँग लड्ने साहस मात्र गर्न सक्नु पर्छ।

जब जब धर्तीमा सङ्कट आउँछ
म अवतार लिनेछु
यो भनाई गीतामा श्री कृष्णको हो।
यसको तात्पर्य म चाहिँ बुझ्न सक्तिन-
अवतार केको र कहिले अनि किन?

उहाँले भनेअनुसार
पहिलो अवतार – साधु/सन्तको रक्षा:
साधुता आफैमा एक रक्षा हो
जो साधु आफ्नो साधुत्वको रक्षा गर्न सक्दैन
त्यो कसरी साधु हुन सक्छ?
आखिर साधुत्वको अर्थ के त?
मेरा बिचारमा साधुत्व सत्य हो
अनि सत्यको सधैँ जित हुन्छ भनिन्छ
“सत्यमेव जयते” –
अनि सत्यलाई जोगाउन कृष्ण नै आउनु पर्ने!
असत्य जहिल्यै हार्छ
असत्य हुनुमा नै हार लुकेको हुन्छ
सत्य बलशाली हुन्छ र जित्छ
यस्तै प्रेमले जित्छ, घृणा हार्छ
मैत्रीले जित्छ र वैर हार्छ
यो त साधुत्वको सूत्र नै हो
साधुत्व आफैमा कृष्णको रूप हो
फेरि यहाँ कृष्णै आउनु जरुरी किन?
साधुले आफ्नू रक्षा आफै गर्न सक्नु पर्छ
हैन भने त्यो कमजोर आवरण हो, साधु होइन।
साधुलाई सङ्कट हुँदा अवतार लिने कुरा
खासै सत्य साधुले लेखेको होइन
निरीह साधुले लेखेको हुनु पर्छ।।

दोस्रो अवतार – धर्मको स्थापना गर्न:
धर्म शाश्वत रहन्छ
न स्थापित गरिन्छ, न हुन्छ
धर्म यो जगतको नियम हो
धर्मले नै यस जगतको धारण गरेको छ
एउटा अस्तित्वको स्वभाव नै धर्म हो
जस्तै आगो बालेपछि गर्मी हुन्छ
आगोको धर्म नै तातो हो – यही अस्तित्व हो
मैले यसो भनिरहँदा तपाईँलाई लाग्दो हो
कि हिन्दु धर्मको स्थापना/ रक्षा गर्नलाई उहाँ आउने
तर म यसो भन्छु कि हिन्दु धर्म धर्म नै होइन
न इस्लाम धर्म धर्म हो
यो त सब राजनीतिको चलखेल हो
धर्म त मात्रै एक हुन्छ
न हिन्दु, न इस्लाम, न जैन, न इसाई, न बौद्ध
धर्म त त्यो हो जो म आफू भित्र
आफै परिपूर्ण शान्तिमा भएपछि प्राप्त हुने अनुभूति
त्यही अनुभूतिको नाम धर्म हो
धर्म त नित्य हो
यसको न स्थापना गर्न जरुरी हुन्छ
न कोही यसलाई मेटाउन सक्छ, सम्भव नै छैन
यदि मेटियो भने हामी रहँदैनौ
धर्म मेटिनु भनेको, सूर्य नउदाउनु हो
जुन र ताराहरू ननिस्कनु हो आकाशमा
पानी बहन छोड्नु हो
हावा बहन छोड्नु हो
फूल नफुल्नु, पक्षी नउड्नु, मानिस नहुनु इत्यादि
धर्मले त यो सारा संसारको अस्तित्व बाँधेको छ
त्यसैले यसलाई न कसैले स्थापित गर्न जरुरी
न त रक्षा गर्न जरुरी छ, यो शाश्वत रहन्छ।

तेस्रो अवतार – पापीलाई दण्ड दिन
खासै भन्नू पर्छ भने पापमा स्वयम् दण्ड निहित छ
जब म पाप गर्छु
या भनौँ पाप गर्ने कुरा मात्र पनि सोच्छु
यो सोचाइमा नै दु:ख मिल्ने छ
यसो गराइमा त झनै ठुलो पीडा मिल्ने छ
यो जगतमा अनेक प्रकारका
चोरी हुन्छन्, बेइमानी हुन्छ, झुट बोलिन्छ
हिंसा / हत्या हुन्छ
अरे यसका लागि कहाँ कृष्णलाई पर्खिनु जरुरी हुन्छ
यो जगतको व्यवस्था यस्तो छ कि
जसले गलत गर्छ, उसलाई दण्ड मिल्छ
कृष्ण आइरहनु पर्दैन
अरे यार कृष्णप्रति थोरै सद्भाव त राख
उहाँ यी धन्धाहरूका लागि खटाइनु भएको होइन
जसले जस्तो काम गर्‍यो उस्तै फल प्राप्त हुन्छ
मैले विष पिएँ भने म मर्छु
तर मैले अमृत पिएँ भने त म मर्दिन नि
यो एउटा नियम हो, रित हो

मलाई थाहा छ
मैले यसो भनिरहँदा म भगवान् विरुद्ध भएको ठानिन्छ
मलाई नास्तिकको संज्ञा दिइएला
तर मैले यति मात्र भन्न चाहेको हु कि
मनुष्य, जीव/ जन्तु, रुख/पात/ बिरुवा, पंक्षी, हवा, पानी यी सबै भगवान् हुन
र भगवत्ता हाम्रो सहज स्वभाव हो
सामान्य गुण हो
यसलाई चिन्न जरुरी हुन्छ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *