सङ्घर्ष

खेम खनाल
ओहायो, अमेरिका

सोचेर काम गर्दा पुग्ने छ खानलाई
आलस्यता हटाए जानिन्छ उठ्नलाई
अल्छी गरेर कोही आशा गरी रहन्छ
मिल्दैन गाँस आफैँ नैराश्यले बहन्छ ।१।

जो कर्म गर्न थाले साथै बसी अघाए
उच्चा बिचार राखी सानन्दले रमाए
सङ्घर्ष गर्न लागे के हुन्न हो भलाईँ
लेथ्रो बनेर हिड्दा गारो छ बाँच्नलाई ।२।

जञ्जीर चिर्नलाई देखिन्छ हो हतार
आवाज उठ्न थाले उच्चा रहून् विचार
हाम्रो समाज भित्रै अन्यायछन् विचित्र
सङ्घर्षशील बन्दा पाइन्छ है स्वतन्त्र ।३।

गार्हस्थ्य धान्नलाई आँटेर कर्म थालौँ
तृष्णा निरोध पारी आवेग यो समालौँ
धोका दिएर ब्यर्थै खोटी,खुनी हुनेछौँ
सानन्द रम्न सक्ने मान्छे भएर बाँचौँ ।४।

इच्छा भए अनेकौँ निस्कन्छ है उपाय
उद्यान गर्न लागे हुन्छन् सबै सहाय
जञ्जाल थाम्नलाई कर्तब्य नै रहन्छ
आधार जिन्दगी हो सङ्घर्ष गर्नु पर्छ ।५।

छन्द- दिग्पाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *