सच्चा नागरिक बन्नु छ
हिम शिखर
ओहायो, अमेरिका
मैले च्याँ गरेर रुँदा
आमा मुस्कुराउँदै अठ्याउँदाको
माटो भुल्नै सकेको छैन
बा’ ले ताते गराएको
दाजुले दगुर्न सिकाएको
दिदीले खले गहरामा बियाँ
टिप्न सिकाएको
त्यो माटोको सुगन्ध
मेरो हृदय भरी मग्मगाई दिन्छ
भुल्ने दुस्साहस अहँ पटक्कै छैन ।
पर तिरको चप्लेटी ढुङ्गो
जहाँ मेरो बच्पन थाहै नपाई
खुसी-खुसी हुर्कियो
जहाँ मैले नजानेर जिन्दगीको
सानो पुर्वार्ध हाँसेर बिताई दिएँ
कुकु-देखेँ खेल्ने ढिस्किनाहरू …
जामपानीको पानी जस्तै
छचल्कि दिन्छन् आँखा भरी ..
हुन त पानीको आकार हुँदैन
र त मेरो हृदयभरि अटसमटस छ
नसा भरी धनसिरी बगेर
भुल्न दिए पो!!
मेरै आँगन मलाई पराई लाग्छ
मेरै गाउँ मलाई परदेश लाग्छ
छिमेकीका प्रत्येक ढोकामा
आफैँलाई हुलाकी जस्तो देख्छु
जामपानीको संग्लो पानीमा टल्किने
आफ्नै अनुहार नचिने जस्तै लाग्छ
माटो चहीँ मेरै लाग्छ
बाटो मेरै लाग्छ
मान्छे मेरै लाग्छन् ,
भुल्नेहरूले भुले होलान्
सम्झिनेले सम्झिएका होलान् ।
जीएनएच* हेर्नु छ
र खुब मुस्कुराउनु छ
यी ओठहरूमा जबरजस्ती
हाँसो ल्याउनु छ
जोमोलहरीलाई अङ्गाल्नु छ
दैफाम र साम्ची समेट्नु छ
अरे यार!
सपनामा सही म मेरो माटोकै
सच्चा नागरिक बन्नु छ।
______________
* कोरा राष्ट्रिय खुसी (ग्रस नेसनल ह्याप्पिनेस) जसलाई भूटानले आफ्ना नागरिकको खुसी मापन गर्ने मापदण्डका रुपमा अवलम्बन गरेको दाबी गर्नेगरेको छ।