‘सडिएको मूर्दा’ नभन
विकाश धमला ‘प्राञ्जल’
एडिलेड, अष्ट्रेलिया
वर्षौँ लगाएर तपाईँले घोकेका
ती समानताका सुत्रहरु,
मानवताका गर्विला तपाईँका ती तर्कहरु
अनि मानव सभ्यतामा मरिमेट्ने
तपाईँका ती कवित्वहरु
आज असमानता र विभेदका
हतियार बनेछन्
सज्जन र सत्यहरुमाथि
प्रहार गर्ने क्षेप्यास्त्र बनेछन्
सत्य र धर्मको वकालत गर्ने
तिम्रा ती नौला सिर्जनाका आत्माहरु
आज मर्ने बेलाको
उही “पुरानो क्याँक-क्याँक”
सुगा रटाई मात्र भएछन्,
बाह्र वर्षको तपाईँको उन्यूको फूल
गुहुकै गन्ध भएछ।
महाशय !
वास्तवमा तपाईँ समयको गतिशिलतालाई
कत्ति पनि बुझ्न नसकी
धर्मलाई अधर्म भन्दै
सज्जनहरुलाई मुर्ख भन्दै
दिनलाई रात भन्दै
तिमी उच्च घरानीय आडम्बरको खाष्टो ओढेर
दीन-दु:खी र थिचिएकाहरुलाई
कुल्चन नखोज
मानव मस्तिष्कमा
वास्तविक सत्य र धर्मको
प्रादुरभाव गराउन
नौलो चेतनाको सन्देश बोकी
तरंगित भइरहेको नूतन विचारलाई
तिमी छेक्न नखोज
मध्यान्हको रातो घाम छेक्ने
तिम्रो निरर्थक प्रयास
अब भ्यागुताको धार्नी बराबर हुनेछ।
तिमी बुझ्दैनौ महाशय,
तिम्रो आँखा अगाडी कालो पर्दाले ढाकेको छ
तिमी झलमल्ल संसारलाई
पर्दाभित्रको अँध्यारोबाट हेर्छौ
मानव विकृति र विसंगतिलाई छेँड्दै
रफ्तारमा अघि बढिरहेको नयाँ संसारलाई
तिमी खिल्ली उडाउँदै
गँड्यौलाझैँ यथास्थितिको
मैलो, हिलो र फोहोरयुक्त दुलो नै प्यारो ठान्छौ
तिमी आधा गाग्रो छौ र त छचल्किन्छौ
अनि भ्रम पाल्छौ
शरदको जूनलाई ग्रहण भन्छौ
सत्यलाई तिमी कलंक ठान्छौ
आफ्नो अस्तित्वलाई मात्र सर्वोपरि ठान्ने
ए स्वार्थी महाशयहरु हो!
थाहा छ तिम्रा कारणले यहाँ
कति सोझाहरु आत्महत्या गर्न बाध्य छन् ?
थाहा छ तिम्रो सभ्यता भनिने
कलंकको अगुल्टोले कति सत्य र धर्ममा
डढेलो लागेको छ?
अब आफूभित्रको भ्रमको पर्दा हटाऊ साथी
अनि छर्लङ्ग हेर यो संसार
अनि द्वन्द र परिवर्तनको नियमलाई स्विकार गर
यो नै ब्रह्माण्डको प्रकृतिप्रद विशेषता हो
तिमी त्यसलाई उल्ट्याउन नखोज
परिवर्तन, समानता र सभ्यता
मानव मात्रको धर्म हो,
तिमी त्यसलाई ‘सडिएको मूर्दा’ नभन
भ्रातृत्व, बन्धुत्व र भाइचारा
हाम्रो धर्मको वास्तविक संस्कार हो
तिमी त्यसलाई सामाजिक विसंगतिको
पोकोभित्र पेवा पार्न नखोज।।
यो त युगको कविता रहेछ ! यी लेखकलाई व्यक्तिमा नचिने पनि आत्ममा चिनें…युग हाँक्ने र युगै बोक्ने सम्भावित शक्ति रहेछ . ! यही रफ्तारमा उनको साहित्यिक धरातल छिप्पिन गयो भने हाम्रो साहित्यमा आयाम ल्याउन समय लाग्ने छैन ।