सपनाझैं संसार
भीमप्रसाद तिमसिना
एट्लान्टा, अमेरिका
हिंजो मात्र मैले देखेको सपना,
आज यस्तो हुन्छ भन्ने थाहै थिएन ।
सबै सबैमा वैरभाव जीवनमा आफू एक्लै,
अर्काको बारेमा सोच्ने फूर्सद कसको ?
आफन्तासंगको मीठो गफ र हाँसो ,
व्यवहारको फरकमा उजाड जस्तो ।
परिवारसंगको मिलन र विछोड पनि,
पूर्णिमाको जून र औँसीको रात जस्तो ।
लोभ र तृष्णाले संसारै आफ्नो पारुँ जस्तो,
खोलाको बालुवाझैं परिणाम खस्रो ,
दुहुने गाईलाईझैं परिवारको व्यवहार ।
दुःखद विश्रृँखलित जीवनको सपना यस्तो ।
सबले लिन्छन् बाँच्ने रहर यहाँ,
सबै सुखका निम्ति भोलिका आशामा बाँचेका न हुन् ।
भोलि र आशा न हुँदो हो त यहाँ संसारै शून्य,
त्यसैले बचाइको पनि के अर्थ रह्यो र यहाँ ?
के पाए त्यागीले यहाँ ? एक मुठी भिखमा निराश ,
के पाए ती धनाढ्यले यहाँ ? सम्पत्तिमा विपद ।
नहुनेलाई हुनको रहर हुनेलाई जोगाउनको डर ,
यस्तै छ है सपनाझैँ सबको संसार ।