सपनाहरूको ब्यापार

माया भट्टराई
केन्टकी, अमेरिका

म मेरा अनगिन्ती सपनाहरू
असरल्ल फिँजाएर बसेकी छु,
यी सपनाहरूको व्यापार गर्न,
हो, म मेरा सपनाहरूको व्यापार गर्छु,
कति मिठा अनि सुन्दर सुन्दर सपना
सजाइन्छ जिन्दगीमा अनि यी आफ्नै
सपनाहरू बेचिन्छ, कति बहुमूल्य हुन्छन्
हरेक सपना तरपनि बेच्नुपर्ने स्थिति पर्छ,
म यसै गर्दै छु, तर आजकल व्यापार त्यति फस्टाएको छैन,
बेलाबखत ग्राहक ओहोरदोहोर गर्छन् अनि झुलुक्क नजर लाउँछन् यता,
अनि आएर हेर्छन् मेरा सपना
ओल्टाई-पल्टाई, भित्रैसम्म गहिरिएर हेर्छन्
अनि त्यही छोडेर नकिनीकन जान्छन्,
मेरा सपनाहरू कुनै मस्त जवानीका सपना छन्,
कुनै देशको मलिलो माटोको सुगन्धले सुसज्जित सपनाहरू छन्,
आफ्नो मायाको नौलो संसार सजाउने सपनाहरू छन्,
तर,
हिजोआजको बन्दले व्यापारले निक्कै ठुलो असर पुर्‍याएको छ,
सपनाहरू यत्रतत्र छरपस्ट छन् तरपनि
हेरिदिने ग्राहक पाएकोमा नै खुसी हुनुपर्छ,
यसरी आफ्नै सपनाहरूको व्यापार गर्न बाध्य हुनुपर्छ,
म पनि यसै गर्छु, यसरी नै मद्दत मिल्छ
फेरि नयाँ नयाँ सपना सजाउन,
म पनि खुसी नै छु मेरा सपनाहरूको व्यापार
भएकोमा, मेरा सपनाहरूको व्यापार यसै गरी भइरहोस्,
सपनाहरूको व्यापार चलिरहोस् निरन्तर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *