सपना र टाउकाहरू

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका

सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन
बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ।
भुँइचालोले ध्वस्त धरहरा
आज भुईँदेखि आधीसम्म उभिएको देखिन्छ
म आफूलाई त्यही धरहराको
कुनै एक सम्म ठाउँमा उभिएको पाउँछु।

म उभिएको ठाउँबाट चारैतिर नियाल्दा
सबै सुनसान – सन्नाटा मात्र देखिन्छ
पर – पर सम्म , कोही कतै देखिँदैन
तर यो सन्नाटाभित्र म भने सिङ्गो राज्य देखिरहेको छु।
मरो ठ्याक्कै अगाडि
दुई जिल्ला क्षेत्रफल जति जमिन
विपन्न जस्तै लाग्ने, सुकुम्वासी जमिन जस्तै लाग्ने
एकै नाशका घरहरू बनिएका देखिन्छन्।

एक्कासि , एकतमासको धुलो सहितको हावाको मुस्लो
त्यही ठाउँलाई नङ्ग्याएर हराउँछ
अनि यही आधि उभिएको धरहरालाई पनि
फेरि एक चोटि हल्लाएर जान्छ।
यो हावाले आफ्नो रूप झन्डै आधा घण्टा जस्तो देखाएर
सबै भताभुङ्ग भनाएर जान्छ,
तर अचम्म लाग्दो कुरो!
म जहाँ थिएँ, त्यही, जस्ताको त्यस्तै उभिएको पाउँछु।
त्यो बस्ती एक छिनमा उडाएर लग्यो, बगाएर लग्यो
यस्तो देखिन्छ कि मानौँ, त्यहाँ पहिला केही थिएन।
हावाको धेरै ठुलो बाढी आएजस्तै नाङ्गिएको देखिन्छ बस्ती।

आँखाको झलकमा फेरि केही सलबलाए जस्तो
मान्छेको आकारको, जीव जस्तो
धेरै ठुला हात खुट्टा भएको, तर अनुहार कतै नदेखिने
यता- उति सलबलाएको देखिन्छ।
दुई हात जति चौडाइ फाली भएको हलोले
त्यही जीव, त्यही बस्तीलाई उधिन्न थाल्छ
पुरै बस्ती उधिन्ने ऊर्जा लिएर आएछ क्यार!

मेरा आँखाले नपत्याउने
अचम्भीत मेरा दृष्टि!
जति जति फाली जमिनमा भासिन्छ
उति उति मसिना जीवित टाउकाहरू
जमिनबाट फुत्त फुत्त निस्किएका देखिन्छन्!
घाँटीदेखि मुनि सबै जमिनमै भासिएका देखिन्छन्
ती जीवित टाउकाहरूका आँखाहरूले
केही अपेक्षा गरेझैँ, केही मागेझैँ, बचाउने आग्रह गरेझैँ
म आफू भने दौडँदै ती टाउकाहरू बचाउन चाहन्छु
तर कसै गरे म छिटो कुद्ने ऊर्जा बटुल्न सक्दिन
मेरा खुट्टा खुम्चिएका थिए सायद,
घुँडा चल्नै सकेनन्।

सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन
बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ।।

घरको मूल ढोकाको घण्टीको आवाजले झलेस्स ब्युझिएं
समाचारमा राज्यमा सङ्क्रमण धेरै फैलिएको सुनियो
राज्य चलाउनेहरू भने आफू आफू बिच सत्ताको लागि घम्सा घम्सी गरिरहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *