सपना वृक्ष 

कवि
कवि

रूप पोखरेल
पिट्सबर्ग, अमेरिका

धेरै चोटि-
हरियो वननै ओइल्याउन सक्ने
भदौका घामबाट जोगाएको
पुष-माघमा खोलो जमाउने
ठीही, ठण्डी र बरफबाट बचाएको;
त्यति मात्र कहाँ हो र !!
हावा हुरी र दर्के झरीमा
प्लास्टिकको छाना मुनि
धुलिया र उडुसले सत्ता जमाएको
चिमको खाटमा
लामखुट्टे धपाउँदै
नवजात शिशु सँगै हुर्काएको,
व्याप्त अनिकालमा,
सुकौरो जीवन भोगाईमा
परिस्थिति सँग आशा सापटी मागेर
तत्कालीन वर्तमानलाई जाकटी राखेर
बचाएको मेरो सपना बीज-
टुसाउँन अनि हुर्काउन
मलाई अलिकति माटो चाइएको छ ।

मौसम अनुसार उमार्न,
आवश्यक्ता अनुसार फैलाउँन,
सोच अनुसार फुलाउँन,
गच्छे अनुसार फलाउँन
मलाई  मेरो सपना आँकुरा स्याहार्न
अलिकति माटो चाइएको छ ।

त्रासको बाढी अदृश्यरूपमा
खितिति- खितिति हाँसी रहेछ-
गाँउ बस्तीहरूमा छाडा चुनौती नांगै नाच्तै छन्
जुनसुकै बेला पनि सपना बिरुवा मुर्झाउँन सक्छ।
अझ-
चुनौतीलाई छेकाबार लगाएर
सपना बिरुवालाई वृक्ष बनाउन
म मनमनै चोया खिप्तै छु ।

सपना बृक्षका जरामा किरा लाग्न सक्छ,
डाँठमा ऐजेरू लाग्न सक्छ,
पातमा लाही लाग्न सक्छ,
समयका पलपल
मेरा लागि तोरीको फुलो,
स्वविवेकको पेचामा हाली
सम्यमताको कोलधारीमा पेल्नु छ ।
म-
असार पन्ध्रको हली हो
परिस्थितिको चट्टन जोत्नु छ,
मनमा मङ्सिर बोकेर
ज़िन्दगीका कान्ला फाँड्नु छ,
भत्किएका रोजीरोटीका चोक्टाहरूमा
पर्खाल लगाउनु छ,
वर्षौ पुरानो नासो-मेरो सपना वृक्ष हुर्काउन
एउटा सानो फोक्टो चाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *