समयको अवसान
यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया
वृद्ध र रुग्ण महाकल्पको अवसान भएको छ
एकोहोरो शङ्ख बजेको छ
शवयात्रामा हिँडेका मान्छेको मन अशान्त भए नि
वातावरणमा अलौकिक शान्ति छाएको छ
श्मशानकर्ममा चिताबाट निस्किएको धुवाँको मुस्लोले
प्रदूषित पारेको छ वायुमण्डल
आँसुले लछेप्रै भिजेका परेला पुछ्दै
मुखौटाको अभावमा आफ्नै हातले मुखावरण गरी
मलामीहरू मलिन अनुहार लिएर घर फर्केका छन्
शोकले सबै विलापीहरू व्याकुल बनेका छन्
कुनै कठोर तपस्यामा जस्तै
कुनै अनुष्ठानमा नियमपूर्वक बसे झैँ
मुण्डन गरेर कोरा बसेका छन् क्रियापुत्रीहरू
बाहिर गएपिच्छे हात-पाउ पखाल्छन्
मुख कुल्ला गर्छन्
बाहिरी तथा अपरिचित आगन्तुकसँग भरसक बोल्दैनन् उनीहरू
बोल्नै पर्ने बाध्यता भए पर्याप्त दूरीमा बसेर बोल्छन्
यति नगरे दिवङ्गतात्माले मोक्ष प्राप्त गर्ने छैन र
त्यसले प्रेतात्मा बनेर पिँढीयौँ पिरोल्छ भन्ने विश्वास छ उनीहरूलाई
दश दिनमा उठाइने छ ढिकुरो र समाप्त हुनेछ आशौच
१३ देखि १६ दिनसम्ममा सकिने छ काजक्रिया
र बारिने छ बरखी एक बर्खसम्म
त्यसपछि फेरि साधरण बन्नेछ परिमण्डल
साम्यावस्थामा फर्कनेछ उनीहरूको जीवन